नेपाल निर्वाचन: चुनावको बेला पनि चेपाङ समुदायलाई भोककै चिन्ता
"हाम्रो गाउँतिर त चुनाव लागेको छैन, भोकमरी पो लागेको छ," सात जनाको परिवारको खाना जुटाउने चिन्तामा जिङ्लाउ गाउँबाट सिद्धिबजारमा झरेका रिखिबहादुर प्रजाले भने।
गाउँमा अन्न नभएपछि त्यसको जोहो गर्न सिद्धिबजार झरेका प्रजा 'पेट नरमाएको'ले चुनावमा आफू रमाउन नसकेको बताउँछन्।
तीन घण्टा ओरालो झरेर सिद्धिबजार आइपुगेका उनले बेलुकीकै निम्ति परिवारलाई अन्नको जोहो गर्नुपर्ने भएकाले साहुसँग चामल माग्न आएको बताए।
आफ्नो परिवार आस गरेर बसेकाले जसरी भए पनि साहुलाई फकाउने उनले योजना सुनाए।
भोकको व्यथा
देशैभर निर्वाचनको रन्को चलिरहेको बेला चितवनको अति विपन्न चेपाङ समुदायलाई भने चुनावको भन्दा भोककै रन्को छ।
गाउँमा अनिकाल लागेपछि उनीहरूलाई निर्वाचनको भन्दा खानाको लागि उनीहरू दौडधुप गरिरहेका छन्।
यो समुदायलाई वैशाखदेखि साउनसम्म खानको लागि अन्नको समस्या हुने गर्दछ।
उक्त विकट पहाडी क्षेत्रमा मकै र कोदोको मात्र खेती हुने गर्दछ।
अलिअलि उम्रिएको साग बेच्न बजार आएकी अम्बिका चेपाङले गाउँतिर उब्जिएका अन्नपातले छ महिना पनि नपुग्ने बताइन्।
"चुनाव भनेर यसमा हाल उसमा हाल भनेर मानिसहरू आएका छन्। खोइ, अब हामी त के गर्ने," उनले भनिन्।
नेपालका अति विपन्न र अति पिछडिएका समुदाय चेपाङको मुख्य वासस्थान चितवन जिल्लाका विकट पहाडी भेगहरू हो।
अन्नले नपुग्ने भएपछि उनीहरू गिठ्ठाभ्याकुर खोजेर समेत पेट पाल्ने गर्छन्।
हेर्नुहोस् सञ्जय ढकाल र ईश्वर जोशीले तयार पारेको यो भिडिओ।