तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
घाम ताप्नुका फाइदा
वर्षौँदेखि हामीले चर्को घाममा 'सनस्क्रीन' नदली घरबाहिर निस्कँदा हानि हुन्छ भन्ने सुन्दै आएका छौँ। तर वास्तविकता के हो भने हाम्रो शरीरलाई घाम आवश्यक हुन्छ।
विशेष गरी उत्तरी गोलार्धमा बस्ने मानिसहरूलाई त घाम चाहिन्छ नै।
घामले तपाईँको मनस्थिति ठिक राख्न, रक्तचाप घटाउन, हाड र मांसपेशी बलियो बनाउन अनि समग्र प्रतिरक्षा प्रणालीलाई सहयोग गर्छ।
घामको शक्ति
बाहिर बस्नु, घाम ताप्नु र छालालाई न्यानो बनाउनु तपाईँको शारीरिक र मानसिक स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ।
तपाईँको शरीरले सीधै घाम नपरी तपाईँको हाड, मांसपेशी र प्रतिरक्षा प्रणालीका लागि अत्यावश्यक पर्ने भिटमिन डी बनाउन सक्दैन।
यूकेमा बसोबास गर्नेका लागि बाहिर निस्किएर घाम ताप्ने र भिटमिन डीको मात्रा बढाउने अहिले उपयुक्त समय हो। किनभने यूकेमा भिटमिन डी बनाउन पर्याप्त हुने घाम एप्रिलदेखि सेप्टेम्बरसम्म लाग्छ।
त्यसैले तपाईँले भिटमिन डी बढाउने हो भने यी गर्मी महिनाहरूमा नै बढाउनु पर्ने हुन्छ।
शीतनिन्द्रामा जाने जीवहरू जस्तो गरेर हामीले गर्मी महिनाहरूमा बनाएको भिटमिन डीलाई जाडोयाममा हाम्रो शरीरलाई सक्रिय राख्नका निम्ति हाम्रो बोसोको भण्डारणमा भण्डार गरेर राख्छौँ।
हामीमध्ये धेरैमा जाडोका बेला भिटमिन डीको मात्रा कम हुने गर्छ र त्यो विभिन्न रोगको कारक बनिदिन सक्छ।
त्यस्ता रोगहरूमा बिर्सने रोग, अटोइम्युन डिजिज् भनिने आफ्नै शरीरको प्रतिरक्षासँग सम्बन्धित र मधुमेहजस्ता रोगहरू पर्छन्।
त्यसले गर्दा स्वस्थ रहन हामीले गर्मी महिनामा भिटमिन डीको स्तर बढाउनु पर्ने हुन्छ। तर घाम ताप्दा हुने फाइदा भनेको भिटमिन डी मात्र होइन।
मनस्थिति राम्रो बनाउनुहोस्
घाम ताप्दा हामीलाई रमाइलो लाग्छ भन्ने हामी सबैलाई थाहा छ। त्यो किन हुन्छ भने घामको किरणले तपाईँको दिमागमा सेरटोनिन भनिने होर्मोनको उत्सर्जन बढाउँछ।
त्यसले तपाईँको मनस्थितिलाई चङ्गा बनाउँछ र शान्त रहन र एकाग्र हुन मद्दत गर्छ।
एउटा अध्ययनले पत्ता लगाएअनुसार बादल लागेको दिनको तुलनामा उज्याला दिनहरूमा मानिसको रगतमा सेरटोनिनको स्तर उच्च हुने गर्छ।
अनुसन्धानकर्ताहरूले मस्तिष्कमा सेरटोनिन उत्पादनको दर मौसम वा बाहिरको तापक्रमसँग नभई उज्यालो सूर्यको प्रकाशको अवधिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएको पनि पत्ता लगाएका थिए।
त्यसबाहेक केही अनुसन्धानहरूले सीधा सूर्यको प्रकाशले तपाईँको छालाका कोशिकालाई एन्डर्फिन उत्पादन गर्न पनि मद्दत गर्छ र त्यसले तपाईँलाई सुखद महसुस गराउँछ भन्ने देखाएका छन्।
रक्तचाप कम गर्न मद्दत
घामको किरणले रक्तचापलाई कम गर्ने पनि पाइएको छ।
एडीनबरा युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको एउटा प्रयोगमा यदि तपाईँको पाखुरालाई २० मिनेटका लागि मात्र पनि घामको किरणमा राख्नु भयो भने त्यसले तपाईँको छालामा नाइट्रिक अक्साइड उत्पादनलाई बढाउने देखाएको छ।
त्यसले तपाईँका रक्तनलीहरूलाई खुकुलो बनाउँछ र रक्तचापलाई घटाउँछ।
बलियो बन्नुहोस्
तपाईँको उमेर जुनसुकै भए पनि हाडको स्वास्थ्यका लागि भिटमिन डी महत्त्वपूर्ण हुन्छ र त्यसले तपाईँलाई अझ बलियो बनाउँछ।
एउटा पछिल्लो अध्ययनले भिटमिन डीले एथलीटहरूको मांशपेसी बलियो भएको पाइएको छ र सम्भवत: त्यसको कारण मांशपेसीका कोशिकाहरू बलियो भएर हुनुपर्छ।
भिटमिन डीले तपाईँलाई श्वासप्रश्वासको सङ्क्रमणबाट बचाउन र तपाईँको प्रतिरक्षा प्रणालीलाई अझ मजबुत बनाउन मद्दत गर्ने प्रमाणहरू पनि भेटिएका छन्।
त्यसैले गर्दा तपाईँले पर्याप्त घामका किरणहरू लिनुपर्छ भन्ने सुनिश्चित गर्नका लागि कैयौँ कारणहरू छन्।
भिटमिन डीको उत्कृष्ट माध्यम
तपाईँले खानेकुराबाट केही मात्रामा भिटमिन डी पाउनु हुन्छ भन्ने सत्य हो तर त्यो नै पर्याप्त हुँदैन।
खानामा भिटमिन डीका उपयुक्त स्रोत भनेका सालमोन, म्याकरल र सार्डिन जस्ता बोसोयुक्त माछाहरू हुन्।
यदि तपाईँ शाकाहारी हुनुहुन्छ भने अण्डाको पहेँलो भागमा र च्याउमा पनि यो केही मात्रामा पाइन्छ तर त्यसैबाट पर्याप्त हुन्छ भन्न कठिन छ।
तर यो सबैभन्दा सजिलो भनेको दैनिक केही समय बाहिर निस्कनु हो।
जब तपाईँको छालामा सूर्यका किरण पर्छन् तब तपाईँको शरीरले त्यसलाई सोसेर शक्तिशाली पोषणमा परिवर्तन गराइदिन सक्छ।
कति पर्याप्त?
तपाईँलाई पर्याप्त हुने भिटमिन डी उत्पादनका लागि कति घामको आवश्यकता पर्छ भन्ने तपाईँको छालाकको प्रकार, तपाईँ कहाँ बस्नुहुन्छ र तपाईँ कति संवेदनशील हुनुहुन्छ भन्नेले निर्धारण गर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको छाला डढ्नु भएन।
गाढा छालामा मेलानिन नामक पिग्मेन्ट बढी हुन्छ। त्यसले प्राकृतिक सनस्क्रिनका रूपमा काम गर्छ।
त्यसकारण त्यस्तो प्रकारको छालाले विकिरणलाई सोस्छ र छालामा हुने क्षतिबाट जोगाउँछ।
त्यसले अन्ततः भिटमिन डीलाई सजिलै उत्पादन हुनबाट रोक्छ।
केही छाला घामलाई देखाउनुहोस्
तपाईँलाई अनुहारमा मात्र घाम पर्दा पनि त्यो पर्याप्त हुन्छ भन्ने लागेको हुन सक्छ तर तपाईँले पाखुरा र खुट्टा पनि घाममा देखाउनु पर्ने हुन्छ।
यदि केही मात्रामा बादल लागेको छ भने पनि तपाईँ बाहिर निस्कनु उपयुक्त हुन्छ किनभने हल्का बादलमार्फत् तपाईँले केही यूभी प्राप्त गर्न सक्नु हुन्छ।
घाम लागेका बेला दिनमा बाहिर जानु भनेको अलि विरोधाभाषपूर्ण लाग्न सक्छ किनभने त्यस बेला सूर्यका किरणहरू तेजिला हुन्छन्।
तर खाजाको समयमा हिड्नु तपाईँका लागि भिटमिन डीको दैनिक खुराक प्राप्त गर्ने उत्तम तरिका हुन सक्छ।
म्यानचेस्टर युनिभर्सिटीका प्राध्यापक एन वेब भन्छिन्, "वास्तवमा तपाईँले दिनमा धेरै मात्रामा भिटमिन डी पाउनु हुन्छ। त्यस बेला तपाईँले कम से कम छालाको क्यान्सरको जोखिमबाट बच्नका लागि सबैभन्दा धेरै भिटमिन डी पाउनु हुन्छ।"
तर यो घाम मज्जाले लाग्ने अन्य देशहरूमा लागु नहुन सक्छ तर यूकेका लागि लागु हुन्छ।
यदि तपाईँ लामो समयका लागि बाहिर जाँदै हुनुहुन्छ भने जल्ने जोखिम हुन सक्छ। त्यसैले तपाईँले आफ्नो छालाको ख्याल राख्नु पर्छ।
थोरै तर सधैँ
थोरै बेर तर सधैँजसो घाममा बस्नु उपयुक्त हुन्छ।
तपाईँलाई घाममा बसेर पसिनै पसिना हुन मन लाग्न पनि सक्छ तर भिटमिन डी बन्ने भनेको सुरुमै तपाईँको शरीरमा पर्ने घामले हो।
लामो समय बस्दा तपाईँको छाला जल्न सक्छ त्यसैले थोरै समय घाममा बस्नु भनेको त्यसबाट बच्नु पनि हो।
यदि तपाईँको छाला संवेदनशील छ भने त्यसको ख्याल गर्नु होला।
यदि तपाईँले कुनै स्कीन केअर उत्पादनहरू छालामा लगाउनु भएको छ र घाममा निस्कनु भयो भने त्यसले पनि भिटमिन डी उत्पादनलाई प्रभावित पार्न सक्छ।
माइकल मोसली पडकास्ट 'जस्ट वन् थिङ'को सम्पादित अंश
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।