मुखको ब्याक्टेरियाले 'भविष्यको मस्तिष्क स्वास्थ्यको सङ्केत गर्न सक्छ'

    • Author, अन्ना वार्ले
    • Role, बीबीसी दक्षिणपश्चिम स्वास्थ्य संवाददाता

विज्ञहरूले मानिसको मुखमा पाइने केही खास ब्याक्टेरियाहरू उमेरसँगै मानिसको मस्तिष्कले गर्ने काममा भएका परिवर्तनहरूसँग सम्बन्धित हुन सक्ने बताएका छन्।

यूनिभर्सिटी अफ एक्सटरले गरेको एउटा अध्ययनले केही किसिमका ब्याक्टेरियाहरू राम्रो स्मरण र ध्यानसँग सम्बन्धित रहेको अनि केही भने नराम्रो मस्तिष्क स्वास्थ्य र एल्जाइमर्स रोगसँग सम्बन्धित रहेको पत्ता लगाएको छ।

उक्त अध्ययन प्रतिवेदनका प्रमुख लेखक डा. जोआना ल'अरेएले भनिन्, "तपाईँको शरीरमा एल्जाइमर्सको जीन छ कि छैन भनेर समस्या हुनुभन्दा अगाडि नै वा जँचाउन डाक्टरकहाँ जानुभन्दा अगाडि नै हामी पूर्वानुमान गर्न सक्छौँ होला।"

'गहन प्रभाव'

नाइट्रेट धेरै भएका हरिया सागपातजस्ता केही खास खालका खानेकुराले खास खालका ब्याक्टेरियाहरू बढाएर मस्तिष्क स्वास्थ्यलाई प्रभावित पार्न सक्छ कि सक्दैन भनेर अनुसन्धान गरिँदै रहेको र त्यो प्रारम्भिक चरणमै रहेको अनुसन्धानको नेतृत्व गरिरहेकाहरूले बताएका छन्।

सहलेखक प्राध्यापक याना कर्बेटले भनिन्, "हाम्रो अनुसन्धानको प्रभाव गहन छ।"

उनले भनिन्, "यदि कुनै किसिमको ब्याक्टेरियाले मस्तिष्कले गर्ने कामलाई सघाउ पुर्‍याउँछ र कुनैले ह्रास आउन योगदान गर्छ भने उपचारले मुखमा हुने ब्याक्टेरिया सन्तुलित गर्दा त्यसले डिमेन्शाबाट जोगाउने समाधान दिन सक्छ।

"यी भनेका पोषणयुक्त खानामा आउने परिवर्तनहरू, प्रोबायोटिक्स, मुखको सरसफाइ वा लक्षित उपचारहरू पनि हुन सक्छन्।"

अध्ययन विधि

यो अध्ययनमा ११५ जना ५० वर्ष उमेर पार गरिसकेका स्वयंसेवीहरू सहभागी थिए। उनीहरूले यसअघि नै अर्को परियोजनामा भाग लिइसकेका थिए।

अनुसन्धानकर्ताहरूले तिनीहरूलाई दुई समूहमा विभाजित गरे। एउटा समूहमा मस्तिष्कको काममा ह्रास आइनसकेका मानिस थिए भने अर्कोमा थोरै बोधात्मक समस्या देखिएकाहरू थिए।

दुवै समूहका मानिसहरूलाई आफ्नो मुख सफा गरेको पानीको नमुना अनुसन्धानकर्ताहरूलाई पठाउन भनियो अनि तिनमा ब्याक्टेरियाको सङ्ख्या र तिनीहरू कस्ता हुन् भनेर विश्लेषण गरियो।

मुखको ब्याक्टेरिया र स्वास्थ्य समस्या

विश्वविद्यालयले नाइसेरिया र हिमोफिलस समूहका ब्याक्टेरिया धेरै भएका मानिसहरूको राम्रो स्मरण शक्ति, ध्यान दिन सक्ने क्षमता र जटिल कार्य गर्नसक्ने क्षमता भएको जनाएको छ।

अनि डाक्टर जोआना ल'अरेएलका अनुसार पोर्फाइरोमोनास ब्याक्टेरिया धेरै भएका मानिसहरूमा स्मरणसम्बन्धी समस्या पनि थियो।

त्यसै गरी प्रेभोटेला समूहको ब्याक्टेरिया कम नाइट्रेटसँग सम्बन्धित रहेको र त्यो एल्जाइमर्स रोगको खतरा रहेका व्यक्तिमा पाइने उनले बताइन्।

डा. ल'ओरएले भनिन्, "हामी तपाईँलाई चुकन्दर, पालुङ्गोजस्ता हरियो सागपात, सलाद खान र मदिरा तथा अत्यधिक प्रशोधन गरिएको चिनी भएका पदार्थ नखान सल्लाह दिन्छौँ।"

पालुङ्गो र अन्य पातदार सागसब्जीहरू नाइट्रेटका ठूलो प्राकृतिक स्रोतहरू मध्येका एक हुन्।

विश्वविद्यालयकी प्राध्यापक आनी भानहाटालोले भनिन्, "भविष्यमा हामी यी [मुख सफा गरेका पानीका] नमुनाहरूलाई कोही उच्च जोखिममा छ कि छैन भनेर प्रारम्भिक सङ्केतहरू दिनका लागि प्रयोग गर्न गर्न सक्छौँ।"

Related internet links

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।