प्रधानमन्त्री ओलीले लिए शपथ: सिंह र पौडेल उपप्रधानमन्त्री, अरू मन्त्री को हुन्

तस्बिर स्रोत, RSS
नेकपा एमालेका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीको शपथग्रहण गराएका हुन्।
नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम ओली आइतवार प्रधानमन्त्री नियुक्त भएका थिए।
राष्ट्रपति कार्यालयका अनुसार ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ। मन्त्रिपरिषद्का अन्य सदस्यले पनि शपथग्रहण गरेका छन्।
नेपालको संविधानअनुसार उनले प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
शपथग्रहण समारोहमा संवैधानिक अङ्गका प्रमुख, भूतपूर्वप्रधानमन्त्री तथा विभिन्न देशका कूटनीतिज्ञहरू उपस्थित थिए।
समारोहमा ओलीका वयोवृद्ध पिता र ओलीकी पत्नी राधिका शाक्य पनि उपस्थित थिए।
यद्यपि पूर्वप्रधानमन्त्रीमध्ये माधवकुमार नेपाल भने राष्ट्रपति कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागी भएनन्।
मन्त्रिपरिषद्मा को-को छन्
प्रधानमन्त्रीको रूपमा ओलीले शपथग्रहण गरेलगत्तै शीतल निवासमा केही मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
कांग्रेसबाट उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रीको जिम्मेवारी लिएर पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंह सरकारमा सहभागी भएका छन्।
एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीका रूपमा विष्णु पौडेल सरकारमा सहभागी छन्।
राष्ट्रपतिले पहिला दुई उपप्रधानमन्त्रीलाई र त्यसपछि नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन्। उनी संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति हुन्।
देउवासँग निकट मानिने नेता रमेश लेखकले गृहमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै उनले "दुई देशको मित्रवत् सम्बन्धलाई थप अभिवृद्धि गर्न र जनताको प्रगति र समृद्धिमा दुवै पक्षलाई लाभ हुने गरी सहकार्य विस्तार गर्न आफूले चाहेको" उल्लेख गरेका छन्।

तस्बिर स्रोत, RSS
मन्त्रिपरिषद्मा एमालेका पृथ्वी सुब्बा गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरत्सिंह भण्डारी श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रिमण्डलको वरीयता क्रममा कांग्रेसका कतिपय पदाधिकारीभन्दा माथि परराष्ट्रमन्त्री नियुक्त आरजु राणा छिन्।
जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानीमन्त्री नियुक्त भएका छन् भने एमालेका बलराम अधिकारी भूमि व्यवस्थामन्त्री बनेका छन्।

तस्बिर स्रोत, RSS
प्रचण्ड सरकारमा उद्योग तथा वाणिज्यमन्त्री रहेका एमालेका दामोदर भण्डारीलाई उक्त पदमा नै निरन्तरता दिइएको छ।
कांग्रेसका प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अजयकुमार चौरसिया कानुनमन्त्री बनेका छन्।
कांग्रेस सहमहामन्त्री बद्रीकुमार पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्।
सहमति अझै सार्वजनिक हुन बाँकी
दुई साताअघि कांग्रेस र एमालेबीच मध्यरातमा भएको समझदारीअनुसार यो नयाँ सत्ता समीकरण बनेको हो।
उक्त सहमतिअन्तर्गत सुरुमा केपी शर्मा ओली र त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने नेताहरूले बताएका छन्।
दुवै दलले अनुमोदन गरेका उक्त सहमतिलाई हालसम्म सार्वजनिक गरिएको छैन।
तर त्यसमा सुशासन, भ्रष्टाचार नियन्त्रण र विकासका आकाङ्क्षा सम्बोधन गर्न र राजनीतिक स्थिरताका लागि संविधान संशोधन प्रक्रिया अघि बढाउन दुई दलले प्रतिबद्धता जनाएको नेताहरूले बताएका छन्।
दुई दलका कतिपय नेताले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीलाई एउटा मुख्य बुँदा बनाइने बताएका छन्।
कांग्रेस-एमाले सहमतिपछि बीबीसीले कुरा गरेका कतिपय जनजाति, मधेशी र माओवादी नेताले संविधान संशोधनबारे छलफल गर्न आफूहरू खुल्ला रहे पनि समावेशीकरणको प्रतिकुल हुने खालको परिमार्जन मान्य नहुने धारणा राखेका थिए।
राजनीतिशास्त्री कृष्ण खनालले संविधान संशोधनभन्दा पनि संविधानको समीक्षालाई सुरुमा ध्यान दिनुपर्ने धारणा राखेका थिए।
नयाँ समीकरणसँगै झन्डै एक दशकपछि नेकपा माओवादी केन्द्र सत्ताबाहिर पुगेको छ। उक्त दलका नेताहरूले आफूहरू प्रतिपक्षमा बस्ने बताइसकेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








