केपी शर्मा ओली: १४ वर्ष जेलदेखि चौथो पटक प्रधानमन्त्रीसम्म

केपी ‌ओली प्रधानमन्त्री बन्ने प्रस्तावित भएपछि आयोजित सचिवालय बैठकपछि

तस्बिर स्रोत, UML Secretariat

तस्बिरको क्याप्शन, केपी ‌ओली प्रधानमन्त्री बन्ने प्रस्तावित भएपछि आयोजित सचिवालय बैठकपछि
    • Author, रमा पराजुली
    • Role, बीबीसी न्यूज नेपाली

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) ओली चौथो पटक नेपालका प्रधानमन्त्री नियुक्त भएका छन्।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितको समर्थनमा दुई दिनअघि नै बहुमत दाबीसहितको हस्ताक्षर बुझाएका ओलीलाई आइतवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ।

शपथ ग्रहण समारोह भने सोमवार बिहान ११ बजेका लागि तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

विसं २०७२ मा करिब १० महिना, विसं २०७४ मा करिब ४० महिना र विसं २०७९ मा करिब ३ महिना गरी जम्माजम्मी साढे चार वर्ष जति प्रधानमन्त्री बनिसकेका ओलीका विभिन्न समयमा विभिन्न प्रधानमन्त्री अवतारका प्रशंसक र आलोचक उत्तिकै छन्।

केपी ओली भन्ने बित्तिकै उनका प्रशंसकका अगाडि आउने मुख्य बिम्ब हो- बारम्बार प्रधानमन्त्री बनेर देशलाई नेतृत्व दिएका, राष्ट्रवादलाई प्रश्रय दिने, दुई पटक मिर्गौला फेर्दा पनि सामान्य झैँ सक्रिय जीवन बिताउने एक जल्दो बल्दो नेता।

उनका आलोचक भने ‌ओलीलाई दुस्साहसी, आफू र आफ्नो पार्टी सत्तामा रहन हरदम रणनीतिक चाल चलिरहने, आफ्नो पार्टी निकट व्यवसायीका लागि नियम कानुनको व्यवस्था नै गरेर उनीहरूको फाइदा हुने काम गर्ने, आफ्नो पार्टीका नेतादेखि अन्य दलका नेताप्रति कतिपयका दृष्टिकोणमा छुद्र कटाक्ष गर्ने व्यक्तिका रूपमा चित्रित गर्छन्।

ओली आफैले आफूलाई भने एक चतुर राजनीतिक खेलाडीका रूपमा प्रस्तुत गरेको पाइन्छ।

कान्तिपुर दैनिकमा असार २०८०मा उनले ‘हार’ र ‘अपमान’ लाई मस्तिष्कबाट ‘डिलिट’ गरिदिएको छु भन्ने शीर्षकको लेखमा आफ्नैबारे भनेका छन्: “कहिलेकाहीँ म कसैद्वारा पछारिएँ भने, त्यो मलाई पछार्नेले खुसीयाली मनाइरहेको अवस्थामै प्रत्याक्रमणको तयारी गरिरहेको हुन्छु। यो मानवीय प्रवृत्ति हो । र, म जब पछारिन्छु तत्कालै उठिहाल्छु।”

हुन पनि विक्रम संवत् २०७९को चुनावमा उनको पार्टी संसद्‌मा पहिलोबाट दोस्रो पार्टी बन्न पुग्यो तर निर्वाचन परिणाम लगत्तै उनी सरकार बनाउने गोटी चाल्ने खेलमा अग्रसर भए।

उनले चुनावी गठबन्धन गरेर पहिलो र तेस्रो दल बनेका नेपाली कांग्रेस र माओवादीबीचको खटपटलाई उपयोग गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफ्ना सांसदलाई मन्त्री बनाए। खबरहरूमा सोही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई शक्तिशाली गृहमन्त्री दिलाए।

तर त्यसबेला राजनीतिक घटनाक्रममा तीव्रतर उतारचढाव भयो। कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा प्रचण्डले समर्थन गरेपछि एमाले माओवादी गठबन्धन भत्कियो।

एमाले विपक्षी बन्न पुग्यो तर त्यो धेरै महिना कायम हुन सकेन। फेरि ‌ओली समेतकै सक्रियतामा माओवादी कांग्रेसको गठबन्धन फुटाएर माओवादी नेतृत्वमा एमाले नेताहरू सरकारमा मन्त्री बन्न गए।

RSS
केपी ओलीको सिंहदरबार यात्रा

  • फेरि प्रधानमन्त्रीअसार ३०, २०८१

  • पहिलो पटक असोज २०७२ देखि साउन २०७३ सम्म प्रधानमन्त्री

  • दोस्रो पटकफागुन २०७४ देखि वैशाख २०७८ सम्म

  • तेस्रो पटकवैशाख २०७८ देखि असार २०७८ सम्म

OPMCM

एमाले माओवादीको सरकार बनेको केही दिनमै केपी ओली अन्तत: कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका छ्न्।

कांग्रेस एमालेको यो गठबन्धन कति दिन टिक्ला भन्ने संशय व्यक्त गर्नेमा स्वयं निवर्तमान प्रधानमन्त्री अगाडि सरेका छन्।

प्रचण्डले विश्वासको मतको सामना गर्दै गर्दा शुक्रवार संसद्‌मा दिएको भाषणमा ओलीप्रति कटाक्ष गर्दै भने, “कृपया संसद् समाप्त चाहिँ नपार्नुहोला।”

त्यो कटाक्ष ओलीले उनी प्रधानमन्त्री छँदा अल्पमतमा परेपछि सिफारिस गरेका संसद् विघटनका दुई सन्दर्भप्रति लक्षित थियो।

राजनीतिशास्त्री हरि शर्माको टिप्पणी छ, “ओलीजी दुस्साहसी र साहसी दुवै हो, दुस्साहसी नभै कसरी कसैले दुई दुई पटक संसद् विघटन गर्न सक्छ?”

फाइल तस्बिर

तस्बिर स्रोत, Getty Images

त्यसबेला प्रधानमन्त्रीमा एमालेकै नेता केपी ओली र एमालेकै नेतृ विद्या भण्डारी राष्ट्रपति रहेको समय थियो।

ओलीले ५ पुस २०७७ मा पहिलो पटक प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि तत्कालीन राष्ट्रपति भण्डारीले विघटन गरेको घोषणा गरेकी थिइन्। त्यस कदमविरुद्ध विपक्षी दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरे। ११ फागुनमा सर्वोच्चले उनको विघटनलाई असंवैधानिक भन्ने फैसला दियो।

७ जेठ २०७८मा दोस्रो पटक ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गरे। फेरि दलहरू रिट दायर गर्न सर्वोच्च अदालत पुगे। अदालतमा ओलीको कदम फेरि गलत ठहरियो।

त्यसै क्रममा मनमुटाव बढ्दै जाँदा उनको पार्टीका वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहित २१ सांसद पार्टी छोडेर जाँदा एमाले फुट्न पुग्यो एकीकृत समाजवादी पार्टी जन्मिन पुग्यो।

त्यसैबेला अदालतमा एक मुद्दामाथि सुनुवाइ भएर फैसला आउँदा एमाले माओवादीबीच भएको एकता पनि हठात् टुङ्गियो। त्यसपछि ओली नेतृत्वको एमाले एकातिर, एकीकृत समाजवादी अर्कोतिर र माओवादी अर्कोतिर गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन टुक्रा भयो।

तिनै घटनाक्रमलाई औँल्याउँदै वामपन्थीहरूको एकता बचाउन नसकेको र झन्डै दुई तिहाइ बहुमत भएको सरकार पनि सम्हाल्न नसकेको भनेर ओलीको आलोचना हुने गरेको छ।

राष्ट्रवादी छवि

केपी ओली-सी जिन्पिङ

तस्बिर स्रोत, ETIENNE OLIVEAU/GETTY IMAGES

आलोचना धेरै खाले भए पनि उनको राष्ट्रवादी छविको खासगरी उनकै पार्टीका नेताहरू खूब प्रशंसक देखिन्छन्।

ओलीका एक कट्टर विरोधी नेताका रूपमा हेरिने माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार रहेका तर नेपालले नयाँ पार्टी बनाउँदा एमाले नछोडेका नेता रघुजी पन्त भन्छन्, “संविधान जारी गर्दाका बखत भारतले नाकाबन्दी गर्दा के पी ओली र एमालेका नेता कार्यकर्ता मात्र त थिए त्यसलाई नाकाबन्दी भनेर ठोकुवा गर्ने।”

केपी ओली अहिले उपलब्ध समग्र नेताहरूमा अलि बढी राजनीतिक नेता पनि लाग्छ रघुजीलाई। आफू कुनै कुरामा 'कन्भिन्स' भएपछि त्यसबारे अडान लिन नधकाउने नेता पनि ओली हुन् भन्छन् रघुजी।

उनी भन्छन्, “चुच्चे नक्सा पनि त केपी ओलीजीको प्रधानमन्त्रीत्व कालमा संसद्‌मा पारित गराइएको हो।”

ओलीले ठाउँ नदिएकै कारण लामो समय काम गरेका माधवकुमार नेपालदेखि झलनाथ खनाल र घनश्याम भुसालसम्म एमालेमा अटाउन नसकेको स्वीकार्छिन् कुनैबेलाकी चर्चित एमाले युवा नेतृ जो पार्टी विभाजनमा एकीकृत समाजवादीतर्फ लागिन्।

तर उनी पनि ओलीको नेतृत्व क्षमताबाट प्रभावित छन्। उनी भन्छिन्, “हो हामी ओलीजीकै कारण पार्टी छोडेर जान बाध्य भएका थियौँ तर पनि अहिलेको राजनीतिक परिदृश्यमा ओली राजनीतिक नेता त हुन् भन्ने म मान्छु।”

काल कोठरीदेखि हेलिकोप्टरमा केकको सयरसम्म

चार वर्षअघि ओलीले तेह्रथुमको आठराईस्थित ओलीको पुर्ख्यौली थलोमा जन्मदिन मनाए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चार वर्षअघि ओलीले तेह्रथुमको आठराईस्थित ओलीको पुर्ख्यौली थलोमा जन्मदिन मनाए

पञ्चायत कालमा पञ्चायती तानाशाही र बुर्जुवा मासेर कम्युनिस्ट शासन व्यवस्था स्थापना गर्ने सपना देखेका कारण करिब १४ वर्ष जेलको काल कोठरीमा झन्डै ज्यानै गुमाएका भन्ने ओलीको विम्ब उनको पार्टी नेकपा एमालेको औपचारिक वेबसाइटमा गर्वसाथ प्रस्तुत गरिएको छ। उनको प्रशंसामा मात्र उनको पार्टीको वेबसाइटमा ३६ सय शब्द खर्चिएको छ।

उनको त्यो क्रान्तिकारी र समाजवादी बिम्बलाई प्रजातान्त्रिक नेपालका विभिन्न सन्दर्भले ओझेलमा पारिदिएको कतिपय ठान्छन्।

आफू जन्मेर करिब दश वर्ष बिताएको तर धेरै वर्षदेखि सधैँजसो बन्द रहने तेह्रथुम आठराईस्थित उनको जन्मघर नजिकै ‘निजी खर्च’मा जन्म दिन मनाउन चार लाख रुपैयाँ खर्च गरेर हेलिप्याड बनाएको त्यसबेलाका समाचारमा उल्लेख गरिएका छन्।

हेलिकोप्टरमा ओली निकटका व्यवसायी हाल दिवङ्गत आङ छिरिङको सौजन्यमा भनिएको नेपालको नक्साको आकारमा बनेको विशाल केकसहित सुरक्षाकर्मीको घेराभित्र ‌ओलीले ‘ह्याप्पी बर्थडे’ मनाएका खबर सार्वजनिक भएका थिए।

तिनै खबरमा ओलीलाई सुरक्षाकर्मीले घेरेको र सर्वसाधारणले भेट गर्न नपाएको भनेर आलोचना भएको थियो। सुरक्षाकर्मी र आफन्तको एक घेरालाई केक बाँडेपछि भने उनले तेह्रथुमकै दुखीदाखीलाई पाखी बाँडेको खबर पनि छापिएको थियो।

७२ वर्ष अगाडि नेपालको पूर्वी जिल्ला तेह्रथुम जिल्लामा मोहनप्रसाद ओली र आमा मधुमाया ओलीबाट जन्मिएका केपी ‌ओलीको परिवार उनी दश वर्षको उमेर हुँदा झापा बसाइ सरेको थियो।

करिब १४ वर्षको उमेरमा उनले राजनीतिमा लाग्न सुरु गरेको नेपालको परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको जानकारीमा उल्लेख छ। १४ वर्षको जेल बसाइ पछि उनी रिहा भएका थिए।

ओली

तस्बिर स्रोत, RSS

खासमा ओली फेरि प्रधानमन्त्री किन?

किन फेरि कांग्रेसबाट प्रधानमन्त्री भन्ने बित्तिकै शेरबहादुर देउवाको नाम आउँछ र किन माओवादी भन्ने बित्तिकै माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड? भनेर प्रशस्त प्रश्न उठ्ने गरेको छ। तर कुनै पनि नेताले अघि सरेर त्यसको जबाफ दिने गरेका छैनन्।

ओलीले आफूले "सुखी नेपाली समृद्ध नेपाल"को सपना देखेको र त्यही पूरा गर्न प्रधानमन्त्री बन्नुपर्ने बताउँदै आएका छन्।

अहिलेको नयाँ गठबन्धन बनाउँदा एमाले र कांग्रेसबीच सहमति गरिएको भनिएका मुख्य बुँदामा मिश्रित निर्वाचन प्रणालीमा फेरबदल र सङ्घीयतामा देश गएपछि खासगरी प्रदेशको संसद्को स्वरूपमा फेरबदल गर्न संविधान संशोधन गर्ने भन्ने छ।

तर गिरीबन्धु टी स्टेटको ठूलो भूमि अपचलन काण्डमा केपी ओली र नक्कली भुटानी शरणार्थी मुद्दामा देउवा पत्नी आरजु तानिन सक्ने भन्ने त्रासमा यो गठबन्धन बनेको भनेर प्रश्न उठाउनेहरू छन्।

कांग्रेस एमालेको सम्झौता गर्दा आवरणमा लेखिएका कुराहरूमा यदि उनीहरू प्रतिबद्ध भए र आफूहरूमाथि लागेका आरोपलाई अनुसन्धानका आधारमा किनारा लगाउन सके भने यति पटक प्रधानमन्त्री बने भन्ने गणीतीय इतिहासमा उपलब्धि पनि सामेल हुनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।