प्रकाश सपूत: गीतबाट प्राप्त प्रशंसा, लोकप्रियता र विवादबारे के भन्छन्?

तस्बिर स्रोत, BBC
छोड्यौ चटक्कै, छोड्यौ चटक्कै, तिम्रै झल्कोले मुटु कटक्कै! प्रकाश सपुतको यो गीत एक महिना जति अगाडि रिलिज हुने बित्तिकै यूट्यूबमा ट्रेन्डिङ हुन पुग्यो। यो लेख तयार पारुन्जेल उक्त गीत ६४ लाख पटक हेरिसकिएको/सुनिसकिएको छ।
यूट्यूबमा २३ लाख सब्सक्राइबर रहेका प्रकाशका कतिपय गीतका भिउज करोड काटेका छन्।
सबभन्दा धेरै चलेकामध्ये एक ‘गलबन्दी च्यातियो’ भन्ने गीतको यूट्यूब भिउज छ करोड तीस लाख छ। ‘सकम्बरी’को पाँच करोड ७० लाख र ‘कुरा बुझ्न पर्छ’को चार करोड भिउज छ।
प्रकाश सम्झन्छन्- सुरुका दिनमा गीतहरू यूट्यूबमा हाल्दा दैनिक केही सय मात्र भिउज हुन्थ्यो। त्यो बढ्दै गएर दिनमा हजार/दुई हजार पुग्न थाल्यो।
“एकै दिन पाँच हजार भिउज पाएका दिन हामी यति खुशी भयौँ, म र श्रीमतीले उत्सव मनाएका थियौँ,” उनले प्रसन्न मुहार लगाएर भने।
कैयौँ परदेशिएका नेपालीका लागि उनका लोक भाकामा आधारित गीत गाउँ घर सम्झाउने, बलिन्द्र धारा आँसु झार्ने माध्यम हुन्। संसारका अनेकौँ कुनाबाट कमेन्ट गरेको बताउने उनीहरूका भक्कानिएका सन्दर्भ सपूतका हरेक जसो गीतका कमेन्ट पढ्दा थाहा पाइन्छ।
कतारबाट कमेन्ट गरेको बताउने एक जनाले भनेका छन्, "कति रुनु यार प्रकाश सपूतजी, तपाईँको हरेक गीतले हामी परदेशी…"
भिडिओका कमेन्ट पढ्दा अनेकौँले उनीमाथि गर्व गरेको पाइन्छ, कैयौँका उनी 'रोल मोडल' बनेका छन्। एक जनाले कमेन्ट गरेका छन्, “हामीलाई सयौँ यस्तै सपूत चाहिएको छ।”
काठमाण्डूस्थित बीबीसी कार्यालयमा अन्तर्वार्ता दिन आउँदा चिनियाँ नयाँ वर्षको सन्दर्भमा हङकङको कन्सर्ट तताउन घरबाट बिदावादी भएर आएका थिए सपूत।
हङकङ जाने विमान चढ्नुअघि र बीबीसीसँगको कुराकानीपछि पनि काठमाण्डूकै अर्को कार्यक्रममा सहभागी बन्नुपर्ने उनको त्यस दिनको कार्य तालिका थियो।

तस्बिर स्रोत, Prakash Saput/Facebook
उनको दैनन्दिन हिजोआज अति व्यस्त छ। उनलाई देश विदेशमा कन्सर्ट गर्न भ्याई नभ्याई छ।
उनी आफै गीत लेख्छन्, गाउँछन्, भिडिओ बनाउँछन्। फिल्म पनि बनाउँछन्।
उनी सगर्व भन्छन्, “पीँधबाट उठेको मान्छे म। अहिले सामाजिक र आर्थिक रूपमा पनि मेरो हैसियत बदलिएको छ।”
हेर्ने गीत कि सुन्ने गीत?
अधिकांश सन्देशमूलक भिडिओ गीत बनाउने भनेर चिनिँदै आएका प्रकाश सपूत आफूले बनाएका हेर्ने गीतहरू सुन्न पनि मिल्ने ठान्छन्।
तर गीतलाई व्यापारीकरण गरेको र गीत विधाको कलात्मक मर्मलाई आत्मसाथ नगरेको भन्ने आलोचना उनीप्रति उठ्ने हुने गरेको छ।
उनी भन्छन्, “भविष्यमा सुन्ने गीत मात्र पनि बनाउँला।”
“आफू जीवनभर गीत गाइरहने मात्र होइन आफ्ना सात पुस्तासम्मले गीतमै भविष्य देखून्” भन्ने आकाङ्क्षा उनले राखेको बताउँछन्।
उनले भोगेको र अन्तत: उनीबाट भागेको छुवाछुत
पश्चिम नेपालस्थित बागलुङको धम्जा गाउँमा तीस वर्षअघि एक दलित परिवारको गोठमा प्रकाश हुर्कँदै गर्दाको समाज तुलनात्मक रूपमा असाध्यै कट्टर र भेद भावी थियो।
स्कुलमा शिक्षक र सहपाठीबाट भोगेको फरक व्यवहार र पँधेरामा भोगेको छुवाछुतले उतर्सिएको मन उनले आफ्नी आमा सामुन्ने बिसाउँथे।
तीन दशक अघिकी आमाले बागलुङको गाउँमा अधिकार वा प्रतिरोधका कुरा बारे के भन्थिन्? “यो छुवाछुत गलत हो भन्ने नै थिएन, गैर कानुनी हो भन्ने चेत पनि थिएन। त्यो बेला गाउँका बाहुन/क्षेत्री वा अन्य जातिका मानिसहरू माथिकै हुन्, हामी तलकै हौँ भन्ने मनले मानेको थियो। त्यस्तै नै हुर्काइ भयो।”
छुवाछुत र उचनीचको जाँतोले पिल्सिँदाको त्यस्तै भोगाइ उनका थुप्रै गीतमा झल्किएका छन्।
त्यस्तै मध्येको एक गीत ‘यो देश मेरो पनि हैन र?’ को भिडिओको यूट्यूबमा आएको एक कमेन्ट छ - सदियौँ देखि अनागरिकको दर्जामा र जातीय विभेदमा रुमलिएर बाच्नु परेको समुदायहरूको पिडालाई रचनात्मक प्रतिकात्मक शैलीमा हृदय स्पर्शी तरिकाले प्रस्तुति गर्नु भएकोमा सपूत भाइलाई धन्यवाद!
उनका अधिकांश गीतहरू सन्देशमूलक हुन्छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, नेपाल टेलिकमदेखि एनजिओ, ब्याङ्क र व्यापारीले पनि उनलाई विभिन्न किसिमका विषयमा सन्देशका लागि प्रयोग गर्ने गरेका छन्।
अहिलेका सेलिब्रिटी कलाकारमध्ये एक उनले कम्तीमा देखिने गरी विभेद सहनु परेको छैन।

तस्बिर स्रोत, Prakash Saput/Facebook
उनी अन्तर्गत अहिले अनेक जातिका मानिसहरू कार्यरत छन्। कसैले दलित भएका कारण भेदभाव गरेको उनले पाएका छैनन्।
तर उनी जस्तै दलित समुदायका मानिसलाई राजधानी काठमाण्डूमा समेत थरकै कारण डेरा पाउन अझै मुस्किल छ।
त्यस्ता प्रवृत्तिबारे सचेत उनी गीत मात्र होइन सामाजिक सञ्जालमा पनि सन्दर्भ पर्दा न्याय माग गरिरहन्छन्।
सपूत थरको अन्तर्य
के उनले त्यस्तै विभेद भोग्नु नपरोस् भनेर आफ्नो वास्तविक थर लुकाएर सपूत लेखेका हुन्?
“साहित्यमा रुचि छ। त्यसैले कुनै बेला साहित्यिक नाम सपूत राखेको हुँ। अहिले सार्वजनिक जीवनमा त्यही चलेको छ तर नागरिकता र पासपोर्टमा मेरो नाम प्रकाश विश्वकर्मा हो।”
थर लुकाएको भन्नेहरूलाई उनको जबाफ हो यो।
उनले गीतमा प्रयोग गरेका विषयवस्तु र दृश्यहरूबारे पनि बारम्बार जबाफ दिनुपरेको छ।
गीत लेख्ने, गाउने र ती गीतमा दृश्य थप्ने काम उनी आफै गर्छन्।
उनको 'पिर' गीतमा राखिएको दृश्य सार्वजनिक भएपछि ठूलै विवाद निम्तियो। गीतमा माओवादी सशस्त्र द्वन्द्व कालमा क्रान्ति गर्न हिँडेकाहरू शान्ति प्रक्रिया सुरु भएपछि कसरी बिचल्लीमा परेका छन् भनेर भिडिओ दृश्य र संवादहरू थपिएका थिए। त्यसमा थियो वैदेशिक रोजगारी र देह व्यापारको कुरा पनि।
उनी भन्छन्, “कुनै बेला गाउँ गाउँ गएर क्रान्तिका गीत गाउने माओवादी कार्यकर्ताहरू म सँगसँगै काठमाण्डूका दोहोरी रेस्टुराँमा गीत गाउन आएपछि उनीहरूले मसँग साटेका बेथा समेटेर बनाएको हुँ त्यो गीत।”
तर गीत रिलिज भइसकेपछि त्यसमा उनले देखाएको एक दृश्यबारे विवाद बढ्दै गयो। अनि उनले आफैले पहिले राखेको दृश्य काट्ने निर्णय गरे र सामाजिक सञ्जालमा त्यसको सफाइ दिँदै लेखे:
तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक श्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने रहेछ कि जस्तो महसुस गराएको छ।…
पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले, पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो।
त्यसपछि उनको अर्को गीत ‘सकम्बरी’ ले पनि हलचल मच्चायो। पढ्न या कामका सिलसिलामा घर गाउँ छोडेर शहर पसेका नारीका केही सन्दर्भ थिए त्यसमा।
नारीलाई होच्याएको वा वस्तुका रूपमा प्रयोग गरेको भन्नेबारे विवाद बढ्दै जाँदा उनले त्यसै गरी सामाजिक सञ्जालमा जबाफ दिनुपर्यो:
मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छदै छैन, कसैलाई असफल बनाएर आफू सफल हुनु छदै छैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन । …
म पनि यही समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यही निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिनँ। छ।...
के कतिपयले भनेको जस्तो जानाजान भिउज धेरै आउन् भनेर विवादास्पद दृश्य समेट्छन् आफ्ना गीतहरूमा कि उनले नजानेर नै हो?
उनको जबाफ छ “कुनै बेला थियो होला आफूले गाएका गीत धेरैले हेरिदिउन् भन्ने भोक पनि। तर अहिले त हाल्ने बित्तिकै लाखौँले हेर्छन्। सकेसम्म गल्ती नगरौँ भन्नेमा झन् बढी सचेत हुनुपर्छ भन्ने मलाई चेतना भएको छ।”










