मुम्बईको त्यो सिनेमाघर जसको नामबाट प्रभावित थिए ‘बादल, वर्षा, बिजुली’का सर्जक

नृत्य गर्दै कलाकारहरू

तस्बिर स्रोत, SUBRATRAJ ACHARYA

तस्बिरको क्याप्शन, बादल,वर्षा,बिजुली शीर्षकको गीत नयाँ भिडिओसहित पुन: सार्वजनिक भएको छ
    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

आगो लाग्यो दिलैमा दमकल बोलाइदेऊ...

२०५० को दशकको मध्यतिर शर्मिला बर्देवा र थुप्तेन भुटियाले गाएको यो गीत अत्यधिक चर्चामा आयो।

रेडिओमा पटकपटक बजिरहन्थ्यो। टीभीमा पनि त्यस समयका चर्चित कलाकारहरू शिव श्रेष्ठ र बिपना थापाले उक्त गीतको तालमा कम्मर मर्काएको दृश्य निकै प्रसारण भयो। गीतकै कारण चलचित्र ‘सगुन’को राम्रै प्रचार भएको जानकारहरू बताउँछन्।

सचिन सिंहको सङ्गीतमा शब्द भरेका थिए गीतकार करुण थापाले। त्यही गीतका कारण आफूकहाँ दर्जनौँ चलचित्र निर्माता र निर्देशकहरू “कमर्सिअल गीत लेखिदिने” आग्रह बोकेर आएको सम्झन्छन् थापा।

उनले बीबीसीसँगको कुराकानीमा भने,”प्राय सबैले हिट हुने गीत चाहियो भन्थे। केही समयसम्म मैले पनि लेखिदिएँ। तर त्यस्ता गीत केही दिन चल्थे, पछि सबैले बिर्सन्थे।”

“साहित्यमा रुचि भएकाले होला भाव अभिव्यक्तिभन्दा बढी बजारको मागलाई केन्द्रमा राखेर लेखेका त्यस्ता गीतहरू आफैलाई चित्त बुझ्दैनथे। बिस्तारै मैले कमर्सिअल भनिएका गीतहरू लेख्न छोडिदिएँ,” थापाले सुनाए।

शिव श्रेष्ठ र बिपना थापा

तस्बिर स्रोत, HiTechEntertainment

पेसाले कम्प्युटर सफ्टवेअरको क्षेत्रमा सक्रिय उनले साहित्य लेखनलाई- चलचित्रको दुनियाँबाट अलग रहेर, आफ्नो सन्तुष्टिअनुरूप निरन्तरता दिन थालेका थिए।

तर भिडिओ साझा गर्ने एप टिकटकले उनी लिखित अर्को फिल्मी गीत “बादल वर्षा बिजुली”लाई एकाएक चर्चामा ल्याइदियो। दुई दशक अघिको गीतमा आजको पुस्ता रमाइरमाइ नाचे, भिडिओ बनाए। गीत नेपालमा मात्र होइन भारतको इन्स्टा/फेसबुक रिल्समा पनि ट्रेन्डिङमा आयो।

थापा नोस्टाल्जिक भए। उनले फेरि एक पटक विगतलाई फर्किएर हेरे। गीत लेख्दाको क्षण सम्झिए र त्यसको रचना गर्भबारे केही कुराहरू बीबीसीसँग साटे।

मुम्बईको त्यो सिनेमाघर

चलचित्र ‘कर्तव्य’का लागि गीत लेखिदिन २०६० सालमा आग्रह गर्दै थापाकहाँ पुगेका थिए निर्देशक नारायण पुरी। उक्त चलचित्रका लागि एउटा मार्मिक शैलीको र अर्को मनोरञ्जनात्मक गीत लेख्न सहमत भएको थापाले सुनाए।

“उनीहरूको माग पनि पूरा गर्नु थियो र आफ्नो रहर पनि। त्यसैले दुई वटा गीत लेख्ने भएँ। मनोरञ्जनात्मक गीतका लागि चाहिँ मलाई प्रसङ्ग बताइएको थियो र सङ्गीतकार सचिन सिंहले सङ्गीत पनि बनाइसकेका थिए। सोहीअनुरूप शब्द भर्नु थियो,” उनले बताए।

करिब दुई सातासम्म आफूले त्यस सङ्गीतलाई “दिमागमा बोकेर हिँडेको” तर तत्काल उचित शब्द रच्न कठिन भएको उनले सम्झिए।

बादल-वर्षा-बिजुलीका सङ्गितकार, गायक/गायिका र गीतकार

तस्बिर स्रोत, KARUN THAPA

तस्बिरको क्याप्शन, बादल-वर्षा-बिजुलीका सङ्गितकार (सचिन सिंह), गायक/गायिका (आनन्द कार्की र प्राश्ना शाक्य) र गीतकार (करुण थापा)

त्यतिबेला चलचित्र सम्पादनसमेत गर्ने थापा बेलामौकामा साउन्ड मिक्सिङका लागि तत्कालीन बम्बई पुग्थे। हाल फिल्म सिटी भनिने मुम्बईको कुनै गल्लीमा एउटा सिनेमाघर छ जसको नाम थियो: बादल-बिज्ली-बर्खा।

हरेक पटक त्यो बाटो हिँड्दा उनको आँखा ठूला अक्षरले लेखेको त्यो नाममा पर्ने गर्थ्यो।

तीन वटा पर्दामध्ये आगलागीका कारण सन् १९८९ मा बर्खा बन्द भएकोबारे विभिन्न विवरणहरू सार्वजनिक छन्। बाँकी दुई वटा पर्दा त्यसपछिका वर्षहरूमा भिडिओ पाइरेसीको कारण देखाउँदै बन्द भएको बताइन्छ।

उक्त सिनेमाघरको बारेमा भारतीय पत्रकार तथा लेखक डा. शोमा ए चटर्जीले अपरस्टलमा लेखेकी छन्,”माटुङ्गा वेस्ट स्टेसन जाने बाटोमा मणिमाला ट्याङ्क रोडमा पालैपालो खुल्ने बादल–बिज्ली–बर्खा नाम दिइएका तीन वटा पर्दा थिए। अहिले त्यो मल्टिप्लेक्सका दर्शकलाई आकर्षित गर्ने झिलिमिली मल्टिप्लेक्स स्टार सिटी बनेको छ।“

अहिले त्यस हल रहेको ठाउँमा मुभीटाइम स्टार सिटी सञ्चालनमा छ। यद्यपि जहाँ अवस्थित छ त्यस संरचनालाई बादल–बिज्ली–बर्खा कम्प्लेक्स भनिन्छ।

करुण थापा
KARUN THAPA
धुन र सरल शब्दहरूका कारण यो गीतलाई आम मानिसले रुचाएका हुन् जस्तो लाग्छ...
करुण थापा
गीतकार

‍रोचक भएकै कारण स्मृतिमा बसेका तीनै शब्दहरूले थापालाई नयाँ गीतको स्थायी रचना गर्न मद्दत पुर्‍यायो।

“मैले ती शब्दलाई नेपालीमा गुनगुनाएर हेरेँ। सङ्गीतअनुसार बादल, वर्षा र बिजुली मीठो सुनियो। त्यसैमा साउनको पानी थपेँ,” उनले थप भने।

“कथासँग मिल्दो शब्दहरू जोड्दै गएँ। अन्तराहरू मलाई नै चित्त बुझेको थिएन तर श्रोताले मन पराए।”

सन् २००४ ताका आनन्द कार्की र प्राश्ना शाक्यले गाएको उक्त गीत हिट भयो। कारणवश त्यो नै चलचित्रका लागि थापाले लेखेको अन्तिम गीत बन्यो।

टिकटकबाट चर्चा

गत जेठको मध्यतिर निरन्तर पानी परिरहेको थियो। झरी पर्दा चिसिने काठमाण्डूमा यदाकदा उनले लेखेको त्यो गीतको स्थायी सुनिन थालेको थियो। एकदिन थापाकी कान्छी छोरी मोबाइल बोकेर बुबा नजिकै पुगिन् र भनिन्- ‘बाबा हजुरको गीतमा त दुई हजार जनाले भिडिओ बनाइसकेछन्।’

त्यो सङ्ख्या थापालाई खासै उल्लेख्य लागेन। त्यसको एक सातापछि भिडिओ बनाउनेको सङ्ख्या ६० हजार पुगिसकेछ। त्यो क्रम झन् झन् बढ्दै गयो।

हाल टिकटकमा अपलोड भएको मूल अडिओ करिब सात लाख पैँतिस हजार पटक प्रयोग भएको छ। त्यसबाहेक अन्य खाताबाट राखिएका अडिओहरू पनि हजारौँ पटक प्रयोग भएका छन्। गीतको चर्चा टिकटकमा सीमित रहेन। इन्स्टाग्राम र फेसबुकमा रिल्स बनाउने भारतीय प्रयोगकर्तामाझ पनि यो गीत उत्तिकै चर्चित ठहरिएको छ।

भारतकी चर्चित यूट्यूबर प्राजक्ता कोलीले यस गीतमा नाचेको भिडिओ झन्डै ३० लाख पटक हेरिएको छ र एक लाख तीस हजारले लाइक गरेका छन्। अर्को भारतीय यूट्यूब च्यानल जुमजुमले बनाएको कभर भिडिओ हालसम्म ९६ लाखभन्दा बढी पटक हेरिएको छ।

PSHAKYA/FACEBOOK
बादल-वर्षा-बिजुलीसँगै आफ्नो 'कमब्याक' महसुस गरेकी छु। यो गीतको अकल्पनीय चर्चा र श्रोताले देखाउनुभएको मायाप्रति म साह्रै आभारी छु...
प्राश्ना शाक्य
गायिका

गीतका केही अंश र कभर गायन तथा भिडिओहरू दर्शकले रुचाएको देखेपछि सम्बन्धित स्रष्टाहरू ‘बादल वर्षा बिजुली’ गीत नयाँ भिडिओसहित पुनः उत्पादन गर्ने निचोडमा पुगे।

“टिकटकले त बिर्सिइएको गीतलाई पुनर्जीवित गराइदियो। यो गीत त्यति बेला पनि टीभी र रेडिओहरूले निकै बजाउने गीत बनेको थियो। वर्षौँपछि फेरि त्यही समयमा फर्किएजस्तो लागेको छ”, गायिका प्राश्ना शाक्यले भनिन्।

भिडिओको गुणस्तरलगायत अन्य प्राविधिक पक्षलाई ध्यानमा राख्दै दुई साताअघि गीतको नयाँ संस्करण सार्वजनिक भयो। यस पटक पछिल्लो पुस्ताका चर्चित कलाकारहरू कविता नेपाली र विजु पार्की भिडिओमा देखिए। सुव्रतराज आचार्यद्वारा निर्देशित उक्त भिडिओ यूट्यूबमा हालसम्म करिब १५ लाख पटक हेरिएको छ।

“चर्चाका हिसाबले यो हाम्रा लागि कमब्याकजस्तै हो। यसै गीतका कारण केही स्थानीय कार्यक्रमहरूमा समेत सहभागी भएर आएँ। यो अकल्पनीय चर्चा र श्रोताले देखाउनु भएको मायाप्रति म साह्रै आभारी भएकी छु,” शाक्यले भनिन्।

रातो धर्सा
रातो धर्सा

चर्चाको कारण

आम मानिसमा इन्टरनेटको सहज पहुँचले आम मानिसलाई गीत र स्रष्टाहरूसँग नजिक बनाएको उनको बुझाइ छ।

“कुनै समय थियो गायकलाई अरूले बिरलै चिन्थे। धेरैले लिपसिङ्क गर्ने कलाकारले नै गीत गाएको हो भन्ने ठान्नुहुन्थ्यो। अहिले धेरैले मलाई ‘यो त तपाईँको गीत पो रहेछ है’ भन्दै मेसेज गर्नुहुन्छ। हामीले प्रत्यक्ष प्रतिक्रिया पाइरहेका छौँ,” शाक्यले आफ्नो अनुभव सुनाइन्।

गीतकार थापालाई भने गीतको चर्चाको कारण सरल शब्द, ध्यानाकर्षण गराउने ताल, मीठो आवाज हो भन्ने लाग्छ।

“वर्षाका कारण मौसम चिसोचिसो बन्यो। टिकटक बनाउने धेरैलाई परिवेश सुहाउँदो गीत भेटेजस्तो भयो होला। त्यसमाथि लाखौँ फलोअर्स भएकाहरूले यस गीतमा भिडिओ बनाएपछि चर्चा नचुलिने कुरै भएन,” उनले भने।

उनले जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडालाई इङ्गित गरेका हुन् जसले यस गीतमा पहिलो टिकटक भिडिओ बनाए। त्यसपछि बनेका हजारौँ भिडिओहरूमा उनीहरूले गरेकै नृत्यको चाल अनुसरण भएको देख्न सकिन्छ।

यद्यपि गीतका सर्जक तथा सर्वाधिकार रहेको साइराम पिक्चर्स यो गीत कहाँ कहाँबाट कति वटा च्यानलहरूमार्फत् सार्वजनिक भइरहेको छ भन्नेबारे अनभिज्ञ छन्। फरकफरक सञ्जालहरूमा लाखौँ पटक बजिरहँदा रोयल्टी परको कुरा क्रेडिटसमेत नपाएको उनीहरूको दुखेसो छ।

यस्ता विषयमाथि नियमन गर्ने निकाय नहुँदा केही च्यानल तथा व्यक्तिहरूलाई सर्जक स्वयंले मेसेज वा इमेल गरेका छन्। “कपिराइट दाबी गर्ने प्रक्रियामा छौँ तर के हुन्छ टुङ्गो छैन। तर ज-जसले प्रयोग गर्नुहुन्छ कम्तीमा लेखक, सङ्गीतकार र गायक/गायिकाको नाम राखिदिए हुन्थ्यो,” थापाले अपेक्षा अघि सारे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।