त्यो र यो ‘कन्दराको कथा’

तस्बिर स्रोत, KANDARA BAND
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज
लेककी हे माया, हङकङ पोखरा, डाँडापारी, रातै बिझायोजस्ता गीतकै कारण उनीहरूसँग श्रोताको अपेक्षा बढ्दो थियो। लोकपप शैलीको गीतका लागि चिनिइसकेको थियो साङ्गीतिक समूह कन्दरा।
चर्चा र सफलताको उत्कर्षमा रहँदा विदेशिने निर्णय गर्नु सहज थिएन गायक विवेक श्रेष्ठका लागि। त्योभन्दा कठिन थियो आफ्नो निर्णयका कारण ब्यान्डका अन्य सदस्यमा छाएको निराशा र असन्तुष्टिको सामना गर्नु।
तर, एकाएक गायक श्रेष्ठले देश छोड्ने भए। धेरैले पलायन हुन लागेको आरोप लगाए। उनको पारिवारिक कारण र बाध्यात्मक परिस्थितिबारे सायदै कसैले सोधे। त्यतिबेला उनीहरूको चर्चित गीतको अन्तरा गायक स्वयंको जीवनसँग मेल खायो:
विदेशिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा…
ब्यान्डकै कम्पोजर तथा ड्रमर सुनिल थापासँग स्कुल पढ्दा सबैभन्दा पछिल्लो बेन्चमा बसेर देखेको सपनामा ब्रेक लाग्ने भयो। ब्यान्डका अन्य सदस्यहरूसँग मिलेर बनाएको योजना अपूरो रहने भयो।
कति अन्तराहरू लेख्दालेख्दै छोडिए, केही सङ्गीत रच्दारच्दै थाती रहे।
सन् २००१ मा यूके जाँदै गर्दा श्रेष्ठले ठानेका थिए- केही वर्ष विदेश बस्छु। कमाउँछु। फर्कन्छु। पुनः ब्यान्डमै सक्रिय रहन्छु।
समय योजनाअनुरूप नै चल्यो। सन् २००४ मा उनी नेपाल फर्किए। ब्यान्डको चौथो एल्बम ‘वर्षौँपछि’ सार्वजनिक भयो। एल्बमको पहिलो गीत ‘तगारोमा रुमाल राखी’ले कन्दरालाई फेरि चर्चामा ल्यायो।
दुर्भाग्यवश यो पटक पनि गायक श्रेष्ठ त्यो उचाइपछिको यात्रामा साथीहरूसँगै रहन सकेनन्।
“मैले फेरि विदेश जाने कुरा सुनाउँदा साथीहरूको मुहारमा छाएको नैराश्य म आज पनि सम्झन्छु। मेरो अनुपस्थिति नै ब्यान्ड टुट्नुको प्रमुख कारण हो,” उनको बोलीमा स्वीकारोक्ति सुनिन्छ।
र पुराना दिन सम्झँदा उनलाई आङ सिरिङ्ग हुन्छ। उनले आफ्ना पाखुरामा उम्रिएका काँडा देखाउँदै भने, "यो कुरा गर्दा म आज पनि त्यही दिन सम्झन्छु। सबै जना सँगै हिँड्दाहिँड्दै बाटो मोड्न बाध्य भयौँ। त्यसको जिम्मेवारी मैले लिनै पर्छ।”
उनी स्वयंले नयाँ गायक राखेर ब्यान्डलाई निरन्तरता दिने योजना नसुझाएका होइनन्। यद्यपि सबैको एक मत थियो- कन्दरामा श्रोताले खोज्ने नै विवेक श्रेष्ठको आवाज र सुनिल थापाको कम्पोजिसन हो। जुन दिन विवेक फर्कन्छ, त्यो दिन कन्दरा पुनः जुरमुराउँछ।

तस्बिर स्रोत, KANDARA BAND
उनीहरूको शैली र नयाँ पुस्ता बीचको खाडल
श्रेष्ठलाई कहिल्यै पनि “अब ढिला भयो” भन्ने लागेन। यूकेकै एक मार्टमा सेल्स म्यानेजर भएर काम गर्थे उनी। उनलाई पहिचान दिलाएको सिर्जनात्मक कर्मभन्दा फरक क्षेत्र थियो त्यो। तर साहित्य र सङ्गीतसँगको सङ्गत कहाँ छुट्नु?
“मैले फर्किएर ब्यान्ड, सङ्गीत र श्रोताप्रतिको जिम्मेवारी पूरा गर्नु थियो। बाहिर पनि म सङ्गीतबाट टाढा भने रहिनँ। कन्सर्ट, एकल प्रस्तुति वा बालबालिकालाई सिकाउने निहुँमा साङ्गीतिक अभ्यास जारी रह्यो।”
त्यहाँ उनले कन्दरा पर्फर्मिङ आर्ट्स सेन्टर खोलेर बालबालिकालाई सङ्गीत सिकाउने जमर्को गरेका थिए।
परदेशिएका श्रेष्ठलाई सधैँ “कन्दराको दोस्रो र लामो इनिङ्सको जिम्मेवारी मेरो काँधमा छ” भन्ने महसुस भइरह्यो। त्यसैले देश छोडे पनि सङ्गीत छोड्न नसकेको उनी बताउँछन्।

तस्बिर स्रोत, KANDARA BAND
करिब एक दशकको अन्तरालमा श्रेष्ठ नेपाल आए। सन् २०१६ मा कन्दराको नयाँ एल्बम ‘भेडीगोठैमा’ सार्वजनिक भयो। तर त्यसप्रति श्रोता प्रतिक्रिया “उत्साहजनक” नभएको बताउँछन् श्रेष्ठ।
“हामीले सोच्यौँ- कन्दराको आफ्नै शैली छ। श्रोता छन्। तर नेपाली सङ्गीत क्षेत्रमा धेरै परिवर्तन भएको कुरामा ध्यान दिएनौँ। पुरानै शैलीको गीत निकाल्यौँ जसले गर्दा नयाँ पुस्ताका श्रोताहरूसँग आफैलाई जोड्न सकेनौँ,” उनी यी विषयलाई कमजोरीका रूपमा व्याख्या गर्छन्।
उनले प्रस्तुतिमा नवीनता तथा नयाँ पुस्ताबीचको सम्बन्ध स्थापनालाई चुनौती साथै अवसरका रूपमा हेरे। तर त्योभन्दा ठूलो चुनौती थियो- कन्दराको तीस वर्ष लामो विरासत जोगाउनु। सङ्गीतसँग जोडिएको आफ्नो उद्देश्य पूरा गर्नु जुन क्षणिक चर्चासँग सम्बन्धित नभएको उनी इङ्गित गर्छन्।
वास्तवमा नेपाली सङ्गीत क्षेत्रको वर्तमान परिदृश्य आफ्ना लागि केही अस्पष्ट बन्नुमा विगतदेखि नै केही छुट्दै जानु हो भन्ने उनको ठम्याई छ।
“हाम्रा अग्रज स्रष्टाहरूले कालजयी गीत रच्न जुन लगनशीलता अपनाए सायद हामीले त्यही पो छुटायौँ कि?” भन्ने प्रश्नले उनलाई लखेट्यो। उत्तर खोज्दै जाँदा उनको स्मरणमा रेडिओ नेपालको त्यो स्टुडिओ आउन थाल्यो जहाँ दर्जनौँ नेपाली गायक गायिकाले गीत गाए। थुप्रै त्यस्ता गीत जुन दशकौँ पछिसम्म श्रोताले खोजेका छन्, सुनेका छन्।
न अटोट्यून, न त मल्टिट्र्याकलगायत प्रविधि। न घरघरमा स्टुडिओ, न जहाँबाट बिग्रियो त्यहीँबाट गाउन थाल्ने सुविधा। बस, स्वर, सङ्गीत, शब्द र साधना।
“त्यो सीमिततामा रहेर गाउन कति मेहनत गर्नुपर्थ्यो होला? हामी वा हामीपछिको पुस्ता त्यही मेहनत नगरेर पो कहीँ नबिझाउने गीत दिन चुक्यौँ कि?,” एउटा विन्दुमा पुगेर श्रेष्ठले आफैसँग उक्त प्रश्न दोहोर्याइरहे।
उनले जबाफ खोज्नुको साटो योजना बनाउन थाले।
कन्दराको नयाँ आकार
ती योजनाहरू उनले सुरुवातदेखि ब्यान्डमा निरन्तर रहेका अर्का सदस्य सुनिल थापासँग साटे। थापाको समर्थन र प्रतिबद्धता पाएपछि उनी निश्चित भए- अब कन्दरा अग्रज र नयाँ पुस्ताबीचको सेतु बन्ने कोसिस गर्नेछ।
यसमा संसारको विभिन्न कुनामा छरिएर रहेका कन्दराका पुराना सदस्यहरूको पनि सहमति र सुझाव समेटियो। सबैको सल्लाहअनुरूप ब्यान्डका लागि नयाँ सदस्यहरू चयन भए। कन्दराले नयाँ आकार पायो।
यसलाई आवश्यकता र परिस्थितिको मागको रूपमा व्याख्या गर्छन् ब्यान्डका संस्थापक सदस्य थापा। उनलाई ब्यान्डलाई नयाँ स्वरूप दिनु अप्ठ्यारो बाटोमा हुइँकाइरहेको गाडीको गिअर परिवर्तन गर्नुसरह महसुस भएको रहेछ।
उनी प्रस्टयाउँछन्,"जानु पर्ने टाढा छ। समय कम छ। गाडीमा तेल सकिँदै छ। त्यस्तो अवस्थामा एक नम्बर गिअरमात्र चलाएर भएन। परिवर्तन गर्नै पर्यो। ब्यान्डको हकमा हामीले त्यस्तै गरेका हौँ।"

तस्बिर स्रोत, KANDARA BAND
पूरा ब्यान्ड तितरबितर हुँदा पनि सङ्गीत क्षेत्रमै जमेका थापालाई ब्यान्डको पुनरागमन "आशावादको परिणाम र ग्लानी मेट्ने अवसर" हो भन्ने लागेको रहेछ।
"श्रोताले माया गरेर जुन पहिचान दिनु भएको थियो सायद अब त्यसलाई न्याय गर्न सक्छौँ," उनले भने।
ब्यान्डको नयाँ सदस्यको रूपमा वर्षौँ सङ्गीत क्षेत्रमा योगदान पुर्याएका दिग्गजदेखि युवा पिँढीमाझ सयौँ फलोअर्स कमाएका सङ्गीतकर्मी जोडिएका छन्। उनीहरूको विवरण औपचारिक कार्यक्रममार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको छ।
यद्यपि नयाँ सदस्यहरूसँगको सहकार्यबारे खुलेर बताउँछन् गायक श्रेष्ठ।
“हामीले नयाँ तथा पुराना गीतहरू रेडिओ नेपालमा ‘वान टेक लाइभ रेकर्डिङ’ गरायौँ। यो प्रक्रिया चुनौतीपूर्ण रह्यो र रोचक पनि,” उनी व्याख्या गर्छन्।
वान टेक रेकर्डिङको अवधारणा किन?
आफूभन्दा अघिल्लो पुस्ताले रेडिओ नेपालमा प्रत्यक्ष गीत रेकर्ड गराउँथे भन्ने कुरा श्रेष्ठ स्वयंका लागि अनुभवभन्दा परको विषय थियो। उनीहरू उदाउँदै गर्दा नेपालमा ट्र्याकमा गीत रेकर्ड गर्ने चलन सुरु भइसकेको थियो।
“प्रत्यक्ष रेकर्डिङको सौभाग्य त्यति बेला पाएनौँ भन्ने लाग्थ्यो तर त्यो अवसर त सधैँ यथावत थियो। अग्रजहरूले कसरी गरेका रहेछन् भन्ने बुझ्ने अवसर। रेडिओ नेपालको साङ्गीतिक इतिहास सम्झाउने अवसर,” उनी आफ्नो विचार राख्छन्।
कुनै समय रेडिओ नेपाल अन्तर्गत रहेको सङ्गीत महाशाखा अहिले शाखामा खुम्चिएको छ। बिस्तारै यो विस्थापित भयो भने? यसको जबाफ सङ्गीतकर्मीसँग पनि मागिन सक्ने उनको अनुमान छ।
सङ्गीतको प्रत्यक्ष प्रसारण कन्सर्टमा सीमित नरहोस् भन्नु कन्दराको अर्को उद्देश्य हो।

तस्बिर स्रोत, KANDARA BAND
“नरोक्किई, नबिगारी प्रत्यक्ष गाउनु वा बजाउनुप्रति सङ्गीतकर्मीको चासो जाग्यो भने मेहनत पनि बढ्छ। त्यसपछि कालजयी गीतहरू रचना हुन्छन् भन्ने मेरो विश्वास हो,” उनी भन्छन्।
रेडिओ नेपालमा गीत रेकर्ड गराउने परम्परा ब्युँताउँदा राज्य सङ्गीतकर्मीसँग प्रत्यक्षरूपमा जोडिन सक्ने उनको मत छ। “कुनै व्यावसायिक स्टुडियोमा गएर रेकर्ड गराउने गायकले भोलि राज्यको ठूलो लगानी भएको रेडिओ नेपालमार्फत् व्यावसायिक रेकर्डिङ गर्लान्। तर त्यसका लागि संस्थाले प्राविधिक पाटो अद्यावधिक गर्नुपर्ने देख्यौँ किनकि त्यहाँ अहिले एउटा ठूलो मिक्सर र केही थान माइकहरू मात्र छन्।“
कन्दराले रेडिओ नेपालमा तीन वटा नयाँ र दुई वटा पुराना गीतहरू प्रत्यक्ष रेकर्डिङ गर्नका लागि बाहिरबाटै प्राविधिक उपकरणहरू लगेका थिए।
फेरि बामे सर्दै
यी प्रक्रियाहरू सहज सुनिए पनि आफूहरूले साङ्गीतिक यात्राको सुरुवाती दिनहरूमा भन्दा “हजारौँ गुना बढी सङ्घर्ष” अहिले गर्नुपरेको उनी सुनाउँछन्।
“वर्षौँमा हामीले छुटाउँदै हिँडेको हरेक कुरा समेट्नु नै पहिलो चुनौती हो, चाहे ती श्रोता हुन् या उनीहरूको बद्लिँदो रुचिबारे ज्ञान। फेरि श्रोताले केही समयका लागि जे रुचाउँछन् त्यो दिने भन्दैमा हामीले सङ्गीतमाथि खेलबाड गर्न पनि मिल्दैन,” उनी प्रस्ट्याउँछन्।
“एकदम सन्तुलित भएर अघि बढ्नु छ किनकि कन्दराले आफ्नो काँधमा एउटा युगको सङ्गीत बोकेर हिँडेको छ,” उनले भने।
सङ्गीतसँग उद्देश्य मिसाउनु र त्यो उद्देश्य पूरा गर्ने अभियानमा छ कन्दरा। र, यो समूहको उद्देश्य “नेपाली गीत र सङ्गीतमा मौलिकतालाई पुनर्जागृत” गराउनु भएको उनको भनाई छ।
पुस्तान्तरणको कुरा गरिरहँदा उनले आफू पनि हिजोआजका प्राय गीतसँग "कनेक्ट हुन नसकेको" उल्लेख गरे। "आज भाइरल हुने प्राय: गीत केही महिनापछि सम्झन सकिँदैन। यहाँ पक्कै केही छुटिरहेको छ। के छुटिरहेको छ त? भन्नेबारे चाहिँ विमर्श आवश्यक छ। हामी त्यसका लागि नेतृत्व लिन तयार छौँ।“
उनले आफ्नो योजना सुनाइरहँदा एउटा प्रश्न बिझाइरहन्छ। पटक पटक देश-परदेश गरेका यी गायक फेरि हराउँछन् कि?
यस प्रश्नको निश्चित जबाफ छैन उनीसँग। तर आफू जहाँ रहे पनि कन्दरा सङ्गीत क्षेत्रमै रहने वचन दिन्छन् उनी।
उनी भन्छन्, "म अब विदेश जाँदिनँ भन्दिनँ। अहिले नेपालमा छु र यहीँ हुन चाहन्छु। यहाँ मेरो खुसी अडिएको छ र अब यसलाई गुमाउन चाहन्नँ।”
यो पटक आफ्नो सपनामा परिवारको पूर्ण साथ र समर्थन भएकाले यात्रा लामो दूरीसम्म अघि बढ्नेमा भने उनी निश्चिन्त सुनिन्छन्।
अब गीत/सङ्गीत रहरको मात्र विषय रहेन। सङ्गीत क्षेत्र व्यावसायिक बन्नुले पनि आफूलाई “अब यहीँ बसेर धेरैथोक गर्न सकिने” भरोसा दिलाएको छ उनलाई।
अब कन्दराको अर्को गन्तव्य सङ्गीत साधना र श्रोतासँगको सम्बन्धभन्दा पर नभएको सङ्केत गर्छन् उनी।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
















