‘स्टेज पर्फर्मेन्स’का उदाहरण बनेका रक गायक रबिन तामाङ

रबिन तामाङ

तस्बिर स्रोत, ROBIN TAMANG/FACEBOOK

    • Author, संजीव गिरी
    • Role, बीबीसी न्यूज नेपाली

सन् २००६ को आसपासमा काठमाण्डूको सानो गौचरनस्थित फुटबल मैदानमा आयोजित एक साङ्गीतिक कार्यक्रम हेर्न दर्शकहरूको ठूलो भिड उपस्थित थियो। ‍

रक विधाको सङ्गीतको ख्याति अहिले पनि कम त छैन, तर त्यसबेला ठूला ‘लाइभ’ कार्यक्रम र तिनमा रक गीत बजाउने परिपाटी अहिले भन्दा निकै बाक्लो थियो।

कार्यक्रममा नाम चलेका विभिन्न साङ्गीतिक समूहको उपस्थिति भएर पनि होला त्यसबेला सानो गौचरनमा ठूलो भिड जम्मा भएको थियो र गीत सङ्गीतमा रुचि राख्ने म (हाल बीबीसी संवाददाता) पनि त्यहाँ दर्शक थिएँ।

१९७४ एडी, कबवेव र एक्स मन्त्र जस्ता स्थापित साङ्गीतिक समूहले शनिवारको दिन प्रस्तुति दिँदै थिए। चर्चित साङ्गतिक समूहहरू एक साथ उपस्थित हुँदा प्रशंसकहरू पनि विभाजित देखिन्थे। त्यसको कारण थियो फरकफरक शैलीमा रक सङ्गीत प्रस्तुत गर्ने समूह र उनीहरूका ‘डाइ हार्ड’ प्रशंसक।

त्यसबेला लाइभ साङ्गीतिक कार्यक्रम अहिले भन्दा जोखिमपूर्ण हुने गर्थे। केही चित्त नबुझे दर्शकले ढुङ्गा वा बोतल फ्याँक्न ढिला गर्थेनन्।

त्यस दिन प्रस्तुति दिने प्रख्यात साङ्गीतिक समूहको सूचीमा रोबिन एन्ड द न्यू रेभोल्युशन पनि थियो।

रोबिन तामाङ

तस्बिर स्रोत, ROBIN TAMANG/FACEBOOK

आफ्नो पालो आएपछि उक्त ब्यान्डका फ्रन्टम्यान अर्थात् गायक रबिन तामाङ मञ्चमा उक्लिए।

‘‘नमस्ते काठमाण्डू’’ भनेर गितार भिर्दै गर्दा बजेका तालीमाझ उनलाई कम रुचाउने प्रशंसकहरूको विमति दबिएको थियो।

अग्लो कद, सेतो कपाल अनि ओजिलो उपस्थितिले मञ्चमा रबिनको उपस्थिति लोभलाग्दो हुन्थ्यो। त्यसैले होला मङ्गलवार बुढानीलकण्ठस्थित आफ्नै घरमा मृत्यु भएको बताइएका रबिन तामाङलाई नेपालको साङ्गीतिक जगत्‌का जानकारहरूले ‘पर्फर्मर’को संज्ञा दिन्छन्।

प्रायः साङ्गीतिक समूहभन्दा फरक कुन गीत कति बेला गाउने भन्ने कुरा रबिन दर्शकलाई छाडिदिन्थे। हरेक गीत सकिएपछि अब कुन गीत सुन्ने भन्दै माइक दर्शकतिर सोझाउँथे।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त

red line
red line

सानो गौचरन थर्किने गरी बजेको गितार र ड्रम सेटको आवाज एकाएक रोकियो। एकजना दर्शकले रबिनलाई साङ्केतिक रूपमा दुर्व्यवहार गरेपछि उनी रोकिएका रहेछन्।

त्यसपछि रबिनले भने, ‘‘ओ भाइ, कालो टिसर्ट लगाउने भाइ। एसीडीसी, एसीडीसी वाला टिसर्ट लाउने भाइ?’’

भिडबाट रबिनलाई ताकेर लोप्पा खुवाउने ती युवालाई मञ्च नजिकै डाकेपछि उनले भने, ‘‘मेरो अनुहार अलि ठूलो छ। एउटा हातले भ्याउँदैन, दुवै हात प्रयोग गर्नू।’’

लगत्तै सानो गौचरन दर्शकहरूको हाँसो अनि सङ्गीतले गुञ्जियो।

रक सङ्गीतमा अग्रणी भूमिका

सन् १९९० को दशकमा साङ्गीतिक यात्रा सुरु गरेका तामाङले रबिन एन्ड लुजा समूहमा बसेर तीन अनि रबिन एन्ड द न्यू रेभोल्युशनमार्फत् तीनवटा साङ्गीतिक एल्बम सार्वजनिक गरेका थिए।

जानकारहरू उनी रक विधाको सङ्गीतको एक अग्रणी हस्ती रहेको बताउँछन्।

उनले गाएका केटाकेटी, भुलमा भुल्यो, नेपाल, एकता अझै पनि सङ्गीत प्रेमीहरूले उत्तिकै रुचाएको पाइन्छ।

चिसोचिसो हावामा, जति माया लाए पनि र दम मारो दम जस्ता गीतका उनको भर्जन पनि उत्तिकै चर्चित छन्।

यो Facebook पोस्ट छोड्नुहोस्, 1
Facebook को सामग्रीलाई अनुमति छ?

यो लेखमा Facebook बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Facebook cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

Facebook पोस्ट समाप्त, 1

मुक्ति एन्ड रिभाइभल ब्यान्डका ‘फ्रन्टम्यान’ मुक्ति शाक्य रबिन तामाङबारे भन्छन्: ‘‘ऊ मान्छे नै रेभोल्युशअन (क्रान्ति) हो। उसले नेपालको रक म्युजिक सिनमा रेभोल्युशन ल्याएको हो।’’

‘‘उनी जो कसैसँग प्ले (गाउन बजाउन) गर्न सक्थे, भर्खरै सिकेकाहरूदेखि स्थापित नामहरूसम्म,’’ रबिनका निकै निकटका साथी रहेका शाक्यले भने।

रक विधाका सङ्गीतकारहरूले जस्तै रबिनका प्रायः गीत सङ्गीत परिस्थिति, जीवनका घटना, राजनीतिसँग जोडिएका हुन्थे।

गीत गाउने र गितार बजाउनेबाहेक गीत लेख्ने अनि त्यसलाई कम्पोज गर्ने कुरामा उनी उत्तिकै अब्बल रहेको उनी निकट व्यक्तिहरू बताउँछन्।

उदाहरणका लागि केटाकेटी एल्बमका समावेश एउटा गीतले भन्छ:

ठिकै छ, कुदाऊँ हाम्रो कति राम्रो गाडी

खुसीले बस्छु, भित्र चारतले घर

जाडो लाग्यो अन गर्‍यो बिजुलीको तातो पानी

जेसुकै चाहियो, निकाल्यो हाम्रो नेपाली रुपी

था 'छ मलाई उन्नति भयो फेर्‍यो हाम्रो जिन्दगी

भनन न मलाई कहाँ खेल्छ हाम्रो केटाकेटी, हाम्रो केटाकेटी?

काठमाण्डू विश्वविद्यालयको डिपार्टमेन्ट अफ म्युजिकका प्रमुख लोचन रिजाल रबिन लेखनमा निकै सशक्त रहेको बताउँछन्।

‘‘उनका गीतहरूको मर्म निकै गहन छन्। त्यसैले म उनलाई एक अब्बल म्यासेन्जरका रूपमा पनि हेर्छु,’’ उनले भने।

जानकारहरूका अनुसार उनी अन्तर्राष्ट्रिय स्तरमा परिचित सङ्गीतकार जिमी हेन्ड्रिक्स र डिप पर्पल जस्ता साङ्गीतिक समूहहरूबाट प्रेरित थिए।

राम्रो दखल राखेर नेपाली र अङ्ग्रेजी दुवै भाषामा गीत गाउन सक्ने ‘निकै कम नेपाली कलाकारमा उनी पर्थे’।

यो Facebook पोस्ट छोड्नुहोस्, 2
Facebook को सामग्रीलाई अनुमति छ?

यो लेखमा Facebook बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Facebook cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

Facebook पोस्ट समाप्त, 2

साङ्गीतिक समूह द मिडनाइट राइडर्सका सनी महतका अनुसार नेपालमा रक सङ्गीतलाई मेनस्ट्रिममा ल्याउने (मूलधारमा ल्याउने) र धेरैभन्दा धेरै मानिससम्म पुर्‍याउने कुरामा रबिन तामाङले महत्त्वपूर्ण योगदान गरेका छन्।

‘‘स्टेज पर्फर्मेन्स (प्रत्यक्ष प्रस्तुति) भनेपछि यस्तो हुनुपर्छ है, रक ब्यान्ड भएपछि अभिव्यक्ति कस्तो हुनुपर्छ, स्टेजमा कसरी इन्टर्याक्ट गर्नुपर्छ, कुन लेबलको साउन्ड ल्याउनुपर्छ जस्ता कुराको पायोनियर (अग्रणी व्यक्ति) मध्ये उहाँ एक हो,’’ महतले थपे।

त्यसैले व्यवसायको रूपमा साङ्गीतिक जगतमा प्रवेश गर्नुअघि ढुङ्गामुढा अनि लाठीचार्जसम्म हुने रबिनका साङ्गीतिक कार्यक्रमहरूमा आफू दर्शकका रूपमा पनि जाने गरेको उनी सम्झन्छन्।

‘‘उनले दिन सक्ने त्यो एक्सपेरिअन्स (अनुभव) कै कारण हो धेरै मानिस उनका प्रशंसक छन्,’’ उनले थपे।

साङ्गीतिक यात्राको सुरुवाती चरणमा रबिन एन्ड लुजा ब्यान्डमा उनी आबद्ध थिए। तर त्यो सहकार्य लामो समयसम्म टिक्न सकेन।

उक्त समूहमा मनमुटावका कारण टुक्रिएको विवरण त्यसबेला सार्वजनिक भएका थिए।

‘‘तर दुवै पक्षको कुरा बुझ्दा खास उहाँहरूबीच सङ्गीतको कुरामै मतभेद भएको थियो,’’ पूर्वपत्रकार समेत रहेका महतले भने।

red line
red line

अभिनय यात्रा

सङ्गीतबाहेक पछि उनले सिनेजगत्‌मा पनि आफ्नो पहिचान बनाए।

सन् २०१३ मा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र छड्केमार्फत् उनी अभिनयको दुनियाँमा प्रवेश गरे।

त्यसपछि उनले चिसो एस्ट्रे, नाका, वान वे र छड्के २ लगायतका चलचित्रमा पनि काम गरे।

अमेजन प्राइमले सार्वजनिक गरेको हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा पनि उनले खलनायकको भूमिका निर्वाह गरेका थिए।

साङ्गीतिक यात्रासँगै रबिनले ठमेलमा ब्याम्बु क्लब पनि खोलेका थिए। नेपालमा लाइभ (प्रत्यक्ष) म्युजिक सुन्ने प्रचलन बढाउनमा उनले निकै ठूलो योगदान गरेको जानकारहरू बताउँछन्।

विगतमा उनको क्लबमा प्रस्तुति दिने कतिपय युवा हाल नेपालको साङ्गीतिक बजारमा स्थापित नाम रहेको शाक्य बताउँछन्।

उतारचढावपूर्ण पारिवारिक जीवन

रबिन तामाङ

तस्बिर स्रोत, ROBIN TAMANG/FACEBOOK

सार्वजनिक विवरणहरूका अनुसार उनको मूलघर पोखरा हो। उनका बुवा ब्रिटिश सेनामा कार्यरत थिए।

रबिनको जन्म सन् १९६३मा सिङ्गापुरमा भयो अनि बाल्यकाल सिङ्गापुर, हङ्कङ र ब्रुनाईमा बितेको बताइन्छ।

शाक्यका अनुसार कलेज तहको अध्ययन गर्दा उनी क्यानडामा बस्थे।

पछि परिवारका सदस्यको नेपालमै हवाई दुर्घटनामा परी ज्यान गुमाएपछि उनी नेपाल आए र क्रमिक रूपमा नेपालमै बस्न थाले।

उनका नजिकका साथी भाइका अनुसार पारिवारिक जीवन निकै उतार चढावपूर्ण थियो।

‘‘उसको जीवनमा धेरै दुःखद घटना घटेका थिए,’’ शाक्यले भने।

‘‘उहाँको ट्याजिक (दुःखद) छ फ्यामीली स्टोरी (पारिवारिक कथा)। ह्याप्पी (सुखी) वा स्ट्रगलको (सङ्घर्ष) कथा भएको भए सुनिन्थ्यो, तर एकमै ट्रयाजिक स्टोरी भएकाले त्यो कुरा हुँदैन थियो,’’ उनको पारिवारिक जीवनबारे धेरैलाई थाहा नहुनुको कारण खुलाउँदै महतले भने।

रबिनका दुई छोरी छन्। दुवै हाल फ्रान्समा बस्ने जानकारहरू बताउँछन्।

पत्नीसँग सम्बन्धविच्छेद भएका उनी पछिल्लो समय भने एक विदेशी महिलासँग प्रेम सम्बन्धमा रहेको बताइन्छ।

‘‘उ निकै खुसी थियो। पछिल्लो समय बाहिर पनि त्यति आउँदैन थियो। आफ्नो काममा ध्यान दिने र कन्सर्ट गर्ने गर्थ्यो। मदिरा सेवन पनि गर्दैन थियो,’’ शाक्यले भने।

पछिल्लो समय उनले स्वस्थ जीवनशैली अपनाउन थालेका उनलाई नजिकबाट चिन्नेहरू अन्यले पनि बताउँछन्।

‘‘हेर सनी म त बूढो भइसकेँ। रातभरि रमाइलो गर्न सक्दिनँ,’’ उनले केही समय अघि मात्र भनेको महत सम्झन्छन्।

अपरिचित व्यक्ति कुराकानी गर्न हिचकिचाउने किसिमको उनको व्यक्तित्व भए पनि उनीनिकट मानिसहरूसँग भने निकै सरल र सहज रहने गरेका उनका साथीभाइ बताउँछन्।