लकडाउनविरुद्ध चीनको मुख्य सहरदेखि तिब्बतसम्मै प्रदर्शन, सरकारलाई कस्ता चुनौती?

चीनमा कोभिड नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध सुरु भएको विरोध प्रदर्शन दोस्रो रातमै ठूला सहरहरूमा समेत फैलिएर व्यापक बनेको छ।

राजधानी बेइजिङ र वित्तीय केन्द्र साङ्घाई सहरमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका छन् र उनीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन्।

प्रदर्शनकारीहरूले सीको शून्य-कोभिड नीतिमाथि प्रश्न गरिरहेका छन् जसमा सामूहिक परीक्षण, क्वारन्टिन र लकडाउनहरू समाविष्ट छन्।

उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि त्यहाँ कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्।

लकडाउनका कारण आगलागी भएको भवनमा उद्धार प्रभावित भएको प्रदर्शनमा उत्रिएकाहरूको आरोप छ। यद्यपि, सरकारी निकायहरूले भने उक्त आरोपको खण्डन गर्दै आएका छन्।

अहिले प्रदर्शन चेङ्दु र सिआनका दक्षिण-पश्चिम सहरहरू र वुहानमा पनि सुरु भएको छ। करिब तीन वर्षअघि वुहानबाटै कोभिड सङ्क्रमण सुरु भएको ठानिन्छ।

साङ्घाईमा विरोध प्रदर्शनका एक जना पर्यवेक्षक, फ्रान्क साईले बीबीसीसँग “यति ठूलो विरोध प्रदर्शन देखेर आफू छक्क परेको" बताए।

आफ्नो साङ्घाई बसाइँको १५ वर्षमा यो स्तरको विरोध कहिल्यै नदेखेको उनले सुनाए।

उनले विगत दुई–तीन दशकमा श्रम अधिकार र अवैध जग्गा हडप्ने लगायतका सन्दर्भमा हजारौँ साना-ठूला आन्दोलन देखे। तर तीमध्ये निकै कमले केन्द्रीय सरकारलाई प्रश्न गरेका थिए।

खाली कागज बोकेर प्रदर्शन

प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीहरूले खाली ब्यानरहरू समातेको दृश्य देखिन्छ।

उनीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि सेतो कागज र खाली ब्यानर बोकेका हुन्।

खाली ब्यानरहरू चीनमा सेन्सरशिपको प्रतीक हुन्।

चिनियाँ सरकारले समाजमा अत्यधिक रोक लगाएको छ। त्यहाँ सरकार र त्यहाँका नेताहरूको आलोचना गर्नुले आम मान्छेलाई ठूलो जरिवाना लगाइन सक्छ।

बीबीसी संवाददाता टेसा वङका अनुसार अधिकारीहरूले विरोध प्रदर्शनको खण्डन गरे पनि सार्वजनिक आक्रोश र चिन्ता फैलिनबाट रोकिएको छैन।

लाखौँ मानिसहरू तीन वर्ष लामो प्रतिबन्धबाट आजित भएका छन् र अहिले उनीहरूको निराशा उत्कर्षमा पुगेको छ।

मानिसहरूको क्रोध चीनका प्रमुख सहरदेखि सिनजियाङ अनि तिब्बतजस्ता टाढाका क्षेत्रहरूमा समेत फैलिएको छ।

आन्दोलनले युवा, विश्वविद्यालयका विद्यार्थी, कारखानाका कामदारहरू र आम नागरिकलगायत धेरैलाई प्रभावित पारेको छ।

सरकारलाई चुनौती

चीनमा सरकारविरुद्ध असहमतिका प्रदर्शनहरू सामान्य दृश्य होइनन्। बेइजिङस्थित बीबीसी संवाददाता स्टेफन मक्डोनलले यो प्रदर्शन नेताहरूका लागि कसरी चुनौती बन्न सक्छ भन्ने कुरा व्याख्या गरेका छन्:

वर्षौँसम्म प्रदूषणदेखि अवैध जग्गा हडप्ने वा प्रहरीले दुर्व्यवहार गर्ने जस्ता मुद्दाहरूलाई लिएर स्थानीय स्तरका विरोधहरू भएका थिए।

तर यस पटक प्रसङ्ग फरक छ।

सरकारको शून्य-कोभिड नीति र सङ्क्रमण रोक्न जारी प्रतिबन्धहरूका कारण चिनियाँ जनता दिक्क भइरहेका छन्। र, त्यही प्रतिबन्ध तथा सामाजिक दूरीहरू तोड्ने सङ्घर्षको रूपमा हालैको आन्दोलन सुरु भएको छ।

साङ्घाईमा चिनियाँ नेता सी जिन्पिङको राजीनामा आह्वान भएको सुनिनु कति स्तब्ध पार्ने विषय हो भन्ने कुरा व्याख्या गर्न गाह्रो भएको उनले जनाएका छन्।

त्यहाँ कम्युनिस्ट पार्टीका महासचिवको सार्वजनिक आलोचना गर्नुले कसैलाई पनि जेलमा पुर्‍याउन सक्छ।

तर अहिले मानिसहरूले राष्ट्रपति र कम्युनिस्ट पार्टीको नाम लिँदै नारा लगाइरहेका छन्।

सत्तामा रहनुभन्दा ठूलो प्राथमिकता नभएको राजनीतिक सङ्गठनका लागि यो निकै ठूलो चुनौती हो।

शून्य कोभिड नीतिप्रति आम मानिसको असन्तुष्टिलाई सरकारले कम आँकेको देखिन्छ।

सी जिन्पिङले हालसालै उक्त नीतिबाट पछि नहट्ने बताएका थिए। किनकि सरकारले सामूहिक परीक्षण गर्न, लकडाउन र आइसोलेसन सुविधाहरू निर्माणमा ठूलो आर्थिक स्रोतहरू खन्याएको छ।

बीबीसीका पत्रकार पक्राउ

साङ्घाईमा जारी विरोध प्रदर्शनबारे रिपोर्टिङका क्रममा एक जना बीबीसी पत्रकारलाई चिनियाँ अधिकारीहरूले पक्राउ गरी हिरासतमा लिएका थिए। बीबीसी उनको उपचारप्रति निकै चिन्तित रहेको छ।

एड लरेन्सलाई पक्राउ गर्ने क्रममा कुटपिट गरिएको बताइएको छ। त्यस लगत्तै उनलाई हतकडी लगाइयो र केही घण्टा थुनियो।

बीबीसीका एक प्रवक्ताले मान्यता प्राप्त पत्रकारको हैसियतमा आफ्नो कर्तव्य निर्वाह गरिरहँदा लरेन्समाथि भएको आक्रमण निकै चिन्ताजनक रहेको बताए।

उनका अनुसार चिनियाँ अधिकारीहरूले उनलाई हिरासतमा लिनुबारे कुनै स्पष्टीकरण दिएनन् र माफी मागेनन्।