तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सी जिन्पिङ: कसरी बने कसैले चुनौती दिन नसक्ने चिनियाँ नेता?
सी जिन्पिङ केही दशकमा सबैभन्दा सर्वस्वीकार्य चिनियाँ नेता बन्नेछन् भनेर थोरैले मात्र अनुमान गरेका थिए तर अहिले उनी ऐतिहासिक तेस्रो कार्यकाल सत्तासीन बन्नका लागि तयार छन्।
एक दशक अघिसम्म सीको बारेमा थोरै मात्र थाहा थियो। उनका पिता देशका क्रान्तिकारी नेतामध्ये एक भएकाले उनी "राजकुमार जस्तै" नेता पुत्र हुन् भन्ने मात्र चर्चामा थियो।
विरासतका कारण उनलाई पार्टीका वरिष्ठ नेताहरूको समर्थन पाउन सहयोग पुग्यो।
त्यो चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपि) भित्र शक्ति आरोहणका लागि महत्त्वपूर्ण थियो किनकि ती नेताहरूले प्राय: अवकाशपछि पनि राजनीतिक प्रभाव राख्थे।
बोस्टन विश्वविद्यालयका चिनियाँ सम्भ्रान्त राजनीतिबारेका विज्ञ जोसेफ फ्युस्मिथ भन्छन्, "उनको पदोन्नति हुनुअघि सी जिन्पिङलाई जोसँग पनि सम्झौता गर्न सक्ने व्यक्तिको रूपमा मानिन्थ्यो।"
तर १० वर्षपछि सीको आधिपत्य निर्विवाद देखिन्छ र उनको शक्ति अतुलनीय छ। त्यो कसरी सम्भव भयो त?
बन्दुकको नाल
कम्युनिस्ट चीनका संस्थापक माओ त्सेतुङले एक पटक भनेका थिए, "राजनीतिक शक्ति बन्दुकको नालबाट निस्कन्छ।"
सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि माओले पिपल्स लिबरेसन आर्मी (पीएलए) को नियन्त्रण राज्यले होइन, पार्टीले गर्ने भनेर सुनिश्चित गरे।
त्यस बेलादेखि सिसिपिका नेता केन्द्रीय सैन्य आयोग (सिएमसि) का अध्यक्ष रहने व्यवस्था भयो।
सी आफ्नो पूर्ववर्ती हु जिन्ताओ भन्दा भाग्यशाली थिए, किनभने उनी राष्ट्रपति बने लगत्तै सिएमसि अध्यक्ष बने र सेना भित्रको विपक्षी खेमालाई हटाउन कुनै समय खेर फालेनन्।
सबैभन्दा चकित पार्ने खालको कुरा सन् २०१४ र २०१५ मा भयो।
त्यस बेला पूर्व सिएमसि भूतपूर्व उपाध्यक्ष सु काइहोउ र पूर्व पीएलए जेनेरल गुओ बोसीयोङलाई भ्रष्टाचारको आरोप लगाइएको थियो।
"उनीहरूमाथि प्रहार हुँदा ती नेताहरू पहिले नै सेवा निवृत्त भइसकेका थिए तर सीको उनीहरूलाई निशाना बनाउने क्षमताले पीएलएमा भूतपूर्व चिनियाँ नेता जियाङ जेमिनको बाँकी बचेको प्रभावलाई कम गर्यो," पेन्टागनद्वारा अनुदानप्राप्त न्याशनल डिफेन्स युनिभर्सिटीका सिनियर फेलो जोअल वुथ्नोले भने।
"त्यसले सीको नियन्त्रणको प्रतिरोध गर्ने कोही पनि कष्टमुक्त छैन भन्ने हाल सेवारत सैन्य अधिकारीहरूलाई एउटा शक्तिशाली सङ्केत पनि पठायो," उनले थपे।
सन् २०१५ मा सीले सेनाको संरचनालाई पनि परिमार्जन गरे।
उनले कर्मचारी, राजनीति, रसद र हतियारसम्बन्धी चार वटा सैन्य मुख्यालयलाई खारेज गरेर १५ साना एजेन्सीहरूमा परिवर्तन गरिदिए।
नयाँ संरचनाले सिएमसिलाई सेनाका विभिन्न शाखाहरूमा सीधै आदेश जारी गर्न अनुमति दिन्छ।
वुथ्नोका भनाइमा वित्तीय लेखा परीक्षकहरूलाई पनि सिएमसिले निर्देशन दिन सक्छ र हाल तिनीहरूले पनि सिएमसि समक्ष प्रत्यक्ष जबाफदेही हुनु पर्दछ।
यी सबै कुरामा सी प्रति पूर्ण बफादारीता कायम गर्नमा गरिएको जोडबल झल्कन्छ र त्यस्तो क्रियाकलाप अझै दोहोर्याइएको छ।
गत महिना देशको आधिकारिक सैन्य अखबार पिपल्स लिबरेसन आर्मी डेलीले एउटा लेख प्रकाशित गरेर सिएमसिमा समग्र कमान्ड रहेको छ भन्ने कुरामा जोड दियो।
एक अमेरिकी थिङ ट्याङ्क र्यान्ड कर्पोरेसनका वरिष्ठ अन्तर्राष्ट्रिय रक्षा अध्ययनकर्ता टिमोथी हिथ भन्छन्, "कुनै दिन सीको विरोध गर्न सक्ने सम्भावना भएका पीएलएका वरिष्ठ नेताहरूप्रति बफादार हुने गरी सेनामा निर्माण हुन सक्ने प्रवृत्तिलाई प्रतिवाद गर्न यो सन्देश सहयोगी हुनसक्छ।"
"पार्टीप्रतिको बफादारीको अर्थ पीएलएले पार्टी र विशेष गरी सीलाई सत्तामा राख्नका लागि कुनै पनि र सबै आदेशहरू पूरा गर्ने अपेक्षा गरिएको छ।"
सबैभन्दा पहिले बफादारी
सी सत्तामा आएको दुई वर्षपछि अधिकारीहरूले आन्तरिक सुरक्षा मामिलाका भूतपूर्व प्रमुख झु योङकाङलाई भ्रस्टाचारको अभियोगमा गिरफ्तार गरिएको पुष्टि गरे।
उनी सीका प्रतिद्वन्द्वी र अर्का 'नेता पुत्र' बो सिलाइसँग निकटबाट सम्बन्धित थिए।
उक्त अनुसन्धानले राजनीतिक तरङ्ग नै सृजना गर्यो किनकि पार्टीको शक्तिशाली निर्णायक निकाय पोलिट ब्युरो स्थायी कमिटीका सदस्यहरूलाई फौजदारी अभियोग र दण्ड सजाय हुँदैन भन्ने अघोषित नियमलाई त्यसले चकनाचुर पारिदिएको थियो।
युरेसिया ग्रुपका एकजना वरिष्ठ चीन विश्लेषक नील टमस भन्छन्, "सी को उदयलाई समर्थन गरेका कम्युनिस्ट पार्टीभित्रका पुराना नेताहरू उनले सत्तामा जुन गतिले कब्जा जमाए त्यसबाट अचम्मित भएको हुनुपर्छ। "
विश्लेषकहरू भन्छन् सी को विशिष्ट भ्रस्टाचार विरोधी अभियान पार्टीभित्रका उनका राजनीतिक प्रतिस्पर्धी र अन्य गुटहरूलाई हटाउन पनि प्रयोग हुन पुग्यो।
गत दशकमा ४७ लाख मानिसहरूमाथि भ्रस्टाचार-विरोधी अधिकारीहरूले अनुसन्धान गरेका छन्।
युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगोका एक राजनीतिशास्त्री भिक्टर सिँह भन्छन्, "अहिले देशका सुरक्षा निकायहरूमा त्यस्ता अधिकारीहरू मात्र छन् जसको विगत सी सँग जोडिएको छ र तिनीहरू उनका विश्वासपात्र हुन् भन्ने ठानिएको छ।"
सी ले महत्त्वपूर्ण क्षेत्रीय पदहरूमा पनि आफूप्रति बफादारहरूलाई नियुक्त गरेका छन् तिनमा बेइजिङ, साङ्घाइ र चोङचिङ जस्ता महत्त्वपूर्ण सहरका पार्टी सेक्रेटरीहरू पर्दछन्।
व्यक्तिगत ब्रान्डको निर्माण
सन् २०१८ मा "नयाँ युगका निम्ति समाजवादका बारे चिनियाँ चरित्रसहितको सी जिन्पिङ विचारधारा" लाई चीनको संविधानमा समावेश गरिएको थियो।
पढ्नलाई जटिल सुनिए पनि आफ्नो नामको विचारधारा स्थापित गर्ने कार्यले सीको विरासतलाई बलियो बनाउने गर्छ।
सी भन्दा अघि माओले मात्र यसो गर्न सकेका थिए।
चीनको आधुनिकीकरणका आर्किटेक्ट भनिने देङ सियाओपिङको नाममा समेत एउटा "सिद्धान्त" मात्र कायम छ।
सी जिन्पिङ विचारधारा के हो भन्ने विषयमा बहस हुन सक्ला तर विश्लेषकहरू भन्छन् खास कुरो त्यो होइन - यो शक्ति हासिल गर्ने कदम हो।
प्रतिष्ठित पेकिङ विश्वविद्यालय र चिङहुआ विश्वविद्यालय सहित दर्जनौँ विश्वविद्यालय र अध्ययन संस्थाहरूले सी को नाममा अनुसन्धान केन्द्रहरू स्थापना गरेका हङकङको मिङ पाओ समाचार पत्रले जनाएको छ।
अगस्ट महिनामा देशको शिक्षा मन्त्रालयले चीनको राष्ट्रिय पाठ्यक्रममा नै सी जिन्पिङ विचारधारालाई प्रवर्धन गर्ने योजना सार्वजनिक गरेको थियो।
सन् २०१९ मा सी जिन्पिङ विचारधाराका बारेमा हाजिर जबाफ शैलीका प्रश्नोत्तरहरू भएका एउटा मोबाइल एप जारी गरिएको थियो।
सी को विश्वासमा "उनीसँग सही विचारधारा छ जसलाई सबैले स्वीकार गर्नुपर्छ" भन्छन् एन्ड्र्यू नेथन, उनी कोलम्बिया विश्वविद्यालयमा राजनीति शास्त्रका प्राध्यापक हुन्।
"जब जब माओले राजनीतिक अडान लिन्थे बाँकी सबैले त्यसको अनुसरण गर्नु पर्दथ्यो, अहिले त्यही कुरा सी ले गर्दै छन्।"
रेखाचित्र: डेभिस सुरिया