तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिनियाँ कम्युनिष्ट पार्टी कङ्ग्रेसः सी जिन्पिङको तेस्रो पाँच वर्षे कार्यकालको तयारी
- Author, डेभिड ब्राउन
- Role, बीबीसी न्यूज भिजुअल जर्नलिजम टिम
चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले तेस्रोपटक पनि पार्टी नेताको पाँच वर्षे कार्यकाल सी जिन्पिङलाई नै हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।
उनी सन् १९७० को दशकका नेता माओत्सेदोङ पछि सम्भवतः सबैभन्दा शक्तिशाली चिनियाँ नेता हुन्।
सन् २०१८ मा दुईपटक मात्र पदमा रहन पाइने त्यसअघिको नियम खारेज गरिएपछि हुने त्यस्तो निर्णयले चीनमाथिको उनको पकडलाई थप बलियो बनाइदिनेछ।
६९ वर्षका सी आजन्म नै सत्तामा रहिरहन सक्ने सम्भावना पनि हुनसक्छ।
बेइजिङमा १६ अक्टोबरमा शुरु हुन लागेको कम्युनिष्ट पार्टीको अधिवेशन, कङ्ग्रेसका बेला त्यस्तो ऐतिहासिक कदम चालिन लागेको छ।
यो उक्त पार्टीको इतिहासमा नै सबैभन्दा महत्त्वपूर्ण बैठक मध्येको एक हुनेछ।
हाल सी जिन्पिङ तीनवटा शीर्षस्थ पदमा छन्
- पार्टी महासचिवका रूपमा उनी चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख हुन्।
- राष्ट्रपतिका रूपमा उनी चीनको राष्ट्र प्रमुख हुन्।
- चीनको केन्द्रीय सेना आयोगको अध्यक्षका हैसियतमा उनले देशको सशस्त्र सैन्यको सर्वोच्च नेताका रूपमा कमाण्ड गर्छन्।
उनलाई देशको सर्वोच्च नेता पनि भन्ने गरिन्छ।
हरेक पाँच वर्षमा हुने पार्टी कङ्ग्रेसमा सीले पार्टीको महासचिव र केन्द्रीय सेना आयोगको अध्यक्षका दुई पदलाई कायमै राख्ने सम्भावना छ भने सन् २०२३ मा हुने न्याशनल पिपल्स कङ्ग्रेसका बेला देशको राष्ट्रपतिको पदलाई।
पार्टी कङ्ग्रेसको बैठकमा के हुन्छ?
पार्टीका २३ सय प्रतिनिधिहरू तियानआनमेन स्क्वाएरमा अवस्थित सम्मेलन केन्द्र ग्रेट हल अफ द पिपलमा एक हप्ताका लागि जमघटमा सहभागी हुनेछन्।
ती मध्ये दुई सय जनालाई पार्टीको केन्द्रीय कमिटीमा चयन गरिनेछ, १७० जना जति वैकल्पिक सदस्य हुनेछन्।
केन्द्रीय कमिटिले २५ जनालाई पार्टीको पोलिट ब्युरोमा निर्वाचित गर्नेछ।
उक्त पोलिट ब्युरोले पोलिट ब्युरो स्थायी समिति चयन गर्नेछ। तिनीहरू शीर्षस्थका पनि शीर्षस्थ हुन्।
हाल त्यस्तो स्थायी समितिमा पार्टी महासचिव सी जिन्पिङ सहित सातजना सदस्य छन्। ती सबै नै पुरुषहरू छन्।
यो कङ्ग्रेसका बेला नै सबै कामहरू हुँदैनन्। कङ्ग्रेसको मुख्य बैठक समाप्त भएपछि केन्द्रीय कमिटीको बैठक बस्छ।
यो किन महत्त्वपूर्ण छ?
सी जिन्पिङले संसारको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो मध्येमा पर्ने सेनाको नेतृत्व गर्नेछन्।
केही विश्लेषकहरूको भनाइमा उनले आफ्नो तेस्रो पाँच वर्षे कार्यकालमा चीनलाई अझ बढी सर्वसत्तावादी राजनीतिक अडान तर्फ धकेलेर लैजाने सम्भावना छ।
"सी को नेतृत्वको चीन सर्वसत्तावादी दिशातर्फ बढिरहेको छ," लण्डन विश्वविद्यालयका स्कूल अफ ओरिएन्टल एण्ड अफ्रीकन स्टडीज सोएसका प्राध्यापक स्टिभ त्साङ भन्छन्।
"माओको नेतृत्वका बेला चीन पूर्ण सर्वसत्तावादी स्वरूपमा थियो अहिले नै त्यसो भैहालेको भने छैन तर त्यो दिशा तर्फ अघि चैँ बढिरहेको देखिन्छ।"
प्राध्यापक त्साङ भन्छन् आसन्न कङ्ग्रेसका बेला पार्टीको विधानमा परिवर्तन भएको हेर्न सकिन्छ जसमा "सी जिन्पिङ विचारधारा" लाई पार्टीको निर्देशक दर्शनका रूपमा थप संस्थागत गरिन सक्छ।
"सी जिन्पिङ विचारधारा" सी को धारणा अनुसारको चिनियाँ समाजवाद हो।
त्यसमा बलियो राष्ट्रवादी दर्शन पर्दछ जुन निजी व्यापारिक कारोबारप्रति कडा रूपमा सन्देहात्मक रहने गर्छ।
सीको कार्यकालमा चिनियाँ अधिकारीहरूले अर्थतन्त्रका कतिपय क्षेत्रका शक्तिशाली कम्पनीहरू विरुद्ध कारबाही गरेका छन्।
"यदि त्यस्तो भयो भने सी वास्तविक रूपमा नै एकजना तानाशाह बन्न पुग्नेछन्," प्राध्यापक त्साङ भन्छन्।
कङ्ग्रेसका बेला सार्वजनिक गरिने चीनको सर्वोच्च नेतृत्वको टोलीले ठूलो स्तरमा नीतिहरू निर्धारण गर्नेछ।
चीनले भविष्यका लागि निर्धारण गर्ने बाटोलाई संसारभरि नै नजिकबाट नियालिने छः विशेषगरी आर्थिक, राजनीतिक, कूटनीतिक र वातावरणीय जस्ता मुख्य चुनौतीहरूका सम्बन्धमा।
चीनको आर्थिक चुनौती
चीनको अर्थतन्त्र हालैका दशकहरूमा निकै फस्टाएको छ।
तर हाल उसले कोभिड लकडाउन, बढ्दो महँगी र घरजग्गा कारोबारमा देखिएको ठूलो सङ्कट जस्ता गम्भीर आर्थिक चुनौतीहरूको सामना गर्नु परेको छ।
युक्रेन युद्धले उब्जाएको विश्वव्यापी आर्थिक मन्दीका बारे बढ्दो आशंकाले पनि आत्मविश्वासमा क्षति पुर्याएको छ।
सीको नेतृत्वमा देखिएको आर्थिक वृद्धि पहिलेका राष्ट्रपतिहरू जियाङ जेमिन र हु जिन्ताओका बेलाको भन्दा न्यून छ।
केही विश्लेषकहरू भन्छन् कम्युनिष्ट सरकारहरूको वैधता तिनीहरूले चिनियाँ कामदारहरूलाई प्रदान गर्न सक्ने उच्च आम्दानी र असल रोजगारीको अवस्थामाथि ठूलो मात्रामा निर्भर रहने गर्छ।
त्यसैले आगामी पाँच वर्षमा हुन सक्ने खराब आर्थिक प्रदर्शनले सीका निम्त गम्भीर राजनीतिक संकट पनि उत्पन्न गराइदिन सक्छ।
कङ्ग्रेसमा हुने छलफलले देशका केन्द्रीय ब्याङ्कका गभर्नर अनि प्रधानमन्त्री जस्ता महत्त्वपूर्ण आर्थिक भूमिका भएका पदहरूमा हुनसक्ने परिवर्तनका लागि पनि मञ्च तयार पार्नेछन्।
थप रिपोर्टिङ वानयुआन सोङ।