तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कस्तो थियो उत्तरकाशीको सुरुङमा १७ दिन फस्दाको पीडा?
- Author, चन्दनकुमार जाजवाडे
- Role, बीबीसी संवाददाता, पटना
उत्तराखण्डको उत्तरकाशीस्थित सिल्कियारा सुरुङबाट उद्धार भएर बाहिर निस्केका भारतको विहारका मजदुरहरूले १७ दिनसम्म कसरी आशावादी भएर समय बिताए भन्ने अनुभव बीबीसीलाई सुनाएका छन्।
उक्त सुरुङमा फसेका ४१ जना मजदुरहरूमध्ये विहारका पाँच जना थिए। उनीहरू आफ्नो घर फर्किसकेका छन्।
घर पुग्दा उनीहरूलाई भव्य स्वागत गरिएको थियो। उक्त स्वागत पछाडि यी मजदुरहरूले १७ दिनसम्म देखाएको साहस जोडिएको छ।
जुनसुकै लामो सुरुङभित्र सुनसानमा पनि आवाज आउँछ। त्यहाँ उत्तिकै अन्धकार, हिलो र चिप्लो हुन्छ। न सुत्ने ठाउँ हुन्छ न शौचालय नै।
त्यस्तो परिवेशमा १७ दिन बिताउँदाको आफ्ना डरलाग्दो अनुभव मजदुरहरूले सुनाएका छन्।
विहारको पेउर गाउँका सबा अहमद उत्तरकाशीको सुरुङ निर्माण गर्ने कम्पनीमा करिब १४ वर्षदेखि काम गर्दै आएका छन्।
साबा अहमद भित्र फसेका मानिसहरूमध्ये आफू सबैभन्दा अनुभवी र वरिष्ठ फोरम्यानको रूपमा काम गरिरहेको बताउँछन्।
यो परियोजना सन् २०१८ को अन्त्यमा सुरु भएको थियो।
जब इलेक्ट्रिसियन चिच्याउन थाले
दुर्घटना हुँदाको दिन अर्थात् १२ नोभेम्बरमा भारतमा दीपावलीको पर्व थियो।
नोभेम्बर ११ को रातिदेखि सुरुङभित्र सबै कामदार ड्युटीमा थिए र उनीहरू आफूलाई सुम्पिएको काम पूरा गर्न लागिपरेका थिए।
सबै कामदारले दीपावलीको तयारी गर्नका लागि त्यही अनुसार छिटो काम सक्न लागिपरेका थिए।
खासमा सुरुङ निर्माण गर्दा कुनै पनि काम बीचमै छोडिँदैन। त्यसो गर्दा कुनै दुर्घटना वा समस्या आउन सक्ने सोचिएको हुन्छ।
अचानक बिहान करिब ५ बजे एकजना इलेक्ट्रिसियनले सुरुङ भासिरहेको भन्दै चिच्याउन थाले।
यो सुनेपछि सबा अहमद सुरुङभित्र प्रयोग हुने गाडी (मेसिन) लिएर सुरुङ भत्किएको भनिएको ठाउँतर्फ जान हतारिए।
सबा अहमद भन्छन्: “म गाडी चलाउँदै अघि बढ्दै थिएँ। मैले कतै केही देख्न सकिनँ। म सुरुङबाट बाहिर निस्कने ठाउँको २५० मिटर भित्र थिएँ, त्यतिखेर सुरुङ भासिएको देखेँ।"
"हामीले तुरुन्तै फोन गर्ने प्रयास गर्यौँ तर सुरुङभित्र फोनहरूले काम गर्दैनन्। त्यस बेला सबै कामदारहरू कसरी बाहिर निस्कने भनेर चिन्ता गर्न थाले।"
सुरुमा यो सुरुङ करिब १० मिटर भासिएको थियो। र कतैकतैबाट बाहिरको केही प्रकाश भित्रपट्टि छिरिरहेको थियो।
केही समयपछि सुरुङमा रहेको पानीको पाइपबाट सङ्केत पठाउन सकिन्छ भनेर कामदारहरूले जुक्ति निकाले।
सुरुङ खन्ने क्रममा ढुङ्गा काट्दा मेसिन चिसो राख्नका लागि पाइपमार्फत बाहिरबाट ताजा पानी भित्र ल्याइने सबा बताउँछन्।
सुरुङभित्रको फोहोर पानी र हिलो अर्को पाइपमार्फत बाहिर निकाल्ने गरिन्छ।
कस्तो सङ्केत?
उनीहरूले तीन–चार पटक पम्प चलाएर कहिले पानी बाहिर पठाउने त कहिले बन्द गर्ने काम गरेको सबा बताउँछन्।
यसले बाहिरका मानिसहरूलाई भित्रका कामदारहरू सुरक्षित छन् र केही भन्न चाहन्छन् भन्ने सङ्केत दियो।
कुनै पनि सुरुङ निर्माण गर्दा यस्तो पाइपलाइन नै सबै कामदारका लागि बाँच्नको लागि एक मात्र माध्यम हो भनेर तालिम दिइने सबाले बीबीसीलाई बताए।
त्यसैले सुरुङको एकातर्फ पानीको पाइप र अर्कोतिर विद्युतीय तारहरू राखिएको हुन्छ।
यो सबै गर्न कामदारहरूलाई करिब ११ देखि १२ घण्टा लागेको थियो।
त्यसपछि उनीहरू फेरि निराश भए।
मजदुरहरूलाई उनीहरूले पठाएको सङ्केतहरू बाहिर मानिसहरूले कसरी पाए र त्यसलाई कसरी बुझे भन्ने थाहा थिएन।
सबा सम्झन्छन्: “हामी सबै थाकेर पर्खिरहेका थियौँ, त्यसपछि सुरुङभित्र अचानक ‘स्वाँ–स्वाँ’ आवाज आउन थाल्यो र सबै कामदार डराए। केही समयपछि हामीले पानीको पाइपबाट भित्र अक्सिजन पठाइँदैछ र त्यो त्यसैको आवाज हो भन्ने थाहा पायौँ।”
यसबाट सबै मजदुरलाई पक्कै पनि राहत मिलेको थियो।
तर पनि त्यहाँ अझै धेरै समस्याहरू थिए। तिर्खाएका ४१ जना मानिसका लागि सुरुङभित्र करिब ५० लिटर खानेपानी बाँकी थियो। तर खानेकुरा भने केही थिएन।
विहारको खजुवान गाउँका सोनु साहका अनुसार पहिलो २४ घण्टामा उनी निकै आत्तिएका थिए।
त्यसपछि पनि आफूहरूलाई केही नभएपछि सबै जनाले बाँचिएला भन्ने सोचे।
यसैबीच सुरुङभित्र छ इन्चको पाइप लगेर कामदारका लागि केही खानेकुरा पठाउने तयारी भइरहेको थियो।
सुरुमा त्यो पाइप भग्नावशेषमा ठोक्किएर माथितिर गयो। तर पछि पाइप सहि ठाउँमा पुगेपछि काजू, किसमिस, चनालगायत धेरै खाले खानेकुरा फसेका मानिसहरूसम्म पुर्याइयो।
भित्रपट्टि खुला - दुई किलोमिटर
विहारकै सरैयाका बासिन्दा दीपक पनि सुरुङभित्र फसेका मजदुरमध्येमा थिए।
"दुई दिनसम्म हामी के होला, बाँचिएला कि मरिएला भनेर भनेर निकै डराएका थियौँ। तर खानेकुरा आउन थाल्यो र त्यसपछि हाम्रा वरिष्ठ फोरम्यानले केही हुँदैन, आत्तिनुपर्दैन भन्नुभयो। उहाँसँग यस्तो अवस्थाको केही पूर्व अनुभव पनि थियो।"
सबा अहमदले नोभेम्बर १२ मा सुरुङ पुरिएको ठाउँमा केही भग्नावशेष फेरि खसेको बताए।
भोलिपल्ट पनि यस ठाउँमा केही माटो खसेर सुरुङ पूर्ण रूपमा बन्द भएको थियो।
त्यसपछि त बाहिरबाट प्रकाश होस वा हावा भित्र छिर्ने ठाउँ नै बाँकी रहेन।
"मेरो अनुभवमा, यसले सुरुङको थप भत्काउने बाटो बन्द गर्यो, किनभने भग्नावशेष माथितिर गयो र त्यसपछि सुरुङ भत्किने कुनै ठाउँ बाँकी रहेन।"
सिल्कियारा सुरुङको निकास बिन्दु, भासिएको उक्त ठाउँबाट करिब २५० मिटर पर थियो ।
जबकि भित्रपट्टि भने दुई किलोमिटरभन्दा बढी खनिसकिएको थियो। यो खुला ठाउँले सबै मानिसहरूको जीवन बचाउन धेरै सहयोग पुग्यो।
सुरुङभित्र करिब डेढ किलोमिटरसम्म मेसिन प्रयोग गरेर केही खाल्डाहरू तयार पारिएका थिए जसलाई शौचका लागि प्रयोग गरिएको थियो।
सङ्क्रमण नफैलियोस् भनेर सरसफाइका बारेमा पनि सबैलाई निर्देशन दिइएको थियो।
वाटरप्रुफ ओछ्यान
त्यस्तो कठिन परिस्थितिमा समेत सुरुङको अर्को विशेषताले भित्र फसेका मानिसहरूलाई मद्दत गर्यो।
सुरुङभित्र धेरै ढलान भइसकेको थियो र मेसिनका लागि प्रयोग हुने पानी वा पहाडबाट निस्कने पानी अर्को छेउमा जम्मा भइरहेको थियो। त्यसैले सुरुङको बाँकी भागमा हिलो भएको अवस्था थिएन।
जसकै कारण सबैका लागि बस्न र आराम गर्न सुक्खा ठाउँ थियो। तर सुरुङ भित्र धेरै चिसो भने थियो।
सोनु साह बताउँछन्: “सुरुङमा वाटरप्रुफिङका लागि प्लास्टिकका त्रिपाल राखिएको छ। ती सुरुङमा ठूलो परिमाणमा उपलब्ध थियो। त्यसलाई चक्कुले काटेर भुईँमा बिछ्याएर त्यसमा सुत्थ्यौँ र आफूलाई छोप्ने गर्थ्यौँ।”
सबा अहमद सम्झन्छन्, “केही मानिसहरू सुत्ने गर्थे। तर म गएको १८ दिनदेखि नाइट ड्युटीमा थिएँ त्यसैले राम्ररी निदाउन सकिनँ। म सुरुङमा सबैभन्दा सिनिअर व्यक्ति थिएँ र हरेक परिस्थितिमा नजर राख्नुपर्थ्यो। त्यसैले बिहान ५ बजेतिर सुत्ने गर्थे र ७ बजेदेखि बाहिरी सम्पर्क हुन थाल्थ्यो र त्यसका लागि उठ्नुपर्थ्यो।"
यसरी सबै कामदार बाहिरबाट पाइपबाट आउने खानामा निर्भर थिए। उनीहरू एक अर्कासँग कुरा गर्दै र एक अर्कालाई ढाडस दिँदै समय बिताइरहेका थिए।
एक पटक खाना र पानी आइपुग्दा, कामदारहरूले उनीहरू सुरक्षित रूपमा निस्कने ठानेका थिए।
वास्तवमा सुरुङभित्रको अवस्था र वातावरण बाहिरबाट बुझ्न गाह्रो थियो।
तैपनि भित्र दुई किलोमिटरभन्दा लामो सुरक्षित ठाउँ हुनु र सुरुङमा निरन्तर काम गर्दा त्यहाँको वातावरणसँग अभ्यस्त भएकाले पनि मजदुरहरूलाई हौसला मिलिरहेको थियो।
उनीहरू कुनै न कुनै बाटो भेटिन्छ र बचिन्छ भन्ने आशामा थिए।
तासको गड्डी माग
सबा अहमद भन्छन्: “मैले धेरै वर्षदेखि यस प्रकारको परियोजनामा काम गरेकाले हामी बाहिर निस्कन्छौँ भन्नेमा म विश्वस्त थिएँ। किनभने सुरुङबाट बाहिर निस्कने चार-पाँचवटा बाटो छन्। हामीलाई निकाल्न प्रयोग गरिएको तरिका सबैभन्दा राम्रो तरिका हो। ”
आफूलाई सकुशल बचाइन्छ भन्ने लागेपछि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसबेला समय बिताउनु रहेको सोनु बताउँछन्।
जसका लागि उनले ६-७ तासका गड्डी भित्र पठाउन माग गरे।
उनले बीबीसीसँग भने: “मैले यसका लागि जीएम सरलाई अनुरोध गरेँ र उहाँले मान्नुभयो। त्यसपछि तासहरू आए तापनि धेरै मानिसहरूलाई तास खेल्ने तरिका थाहा थिएन। त्यसपछि धेरैलाई तास खेल्न सिकाइयो र विभिन्न समूह बनाएर सुरुङभित्र तास खेलेर समय बिताउन थालियो।”
झण्डै एक सातापछि पहिलो पटक मजदुरको भिडिओ सार्वजनिक गरिएको थियो। जसले उनीहरूका परिवारलाई पनि केही राहत मिलेको थियो।
कामदारका परिवारका सदस्यहरूले उनीहरूलाई प्रत्यक्ष देख्न र उनीहरूसँग कुरा गर्न सकिरहेका थिए। यसले मजदुरहरूको समेत मनोबल पनि बढाएको थियो।
त्यसबीचमा नेता, मन्त्री, उद्धार टोली र धेरैले उनीहरूसँग कुरा गरेका थिए।
जब मजदुरहरूले मुख्यमन्त्रीलाई भने: ‘हतार नगर्नुस्’
सबा अहमद आफूहरू नबाचौँला जस्तो कुनै बेला पनि नलागेको बताउँछन्।
“त्यसैले हामीले उत्तराखण्डका मुख्यमन्त्री [पुष्कर सिंह] धामीजीलाई हतार गर्ने वा आत्तिनु नपर्ने भन्यौँ। हामी सबै सुरक्षित छौँ, आरामसँग काम गर्नुहोस् र हामीलाई सुरक्षित रूपमा बाहिर निकाल्नुहोस् भन्यौँ।"
यसरी भारत तथा विदेशका विज्ञहरूको सहयोगमा विभिन्न प्रकारका मेसिन र प्रविधिको सहयोगमा अन्ततः १७ दिनपछि नोभेम्बर २८ गते मङ्गलवार साँझ ती सबै कामदारलाई सकुशल बाहिर निकालियो।
सुरुङबाट बाहिर निस्कने बित्तिकै सबै मजदुरको अनुहार उज्यालो भयो र उनीहरूले आआफ्ना परिवारसँग कुरा गरे।
सबा अहमद सुरुङभित्र ४०० घण्टाभन्दा बढी समयसम्म सुरक्षित रहनका लागि पानी निकासका लागि राखिएको पाइपको सबैभन्दा ठूलो योगदान रहेको ठान्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।