तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तराखण्डमा १७ दिनदेखि सुरुङभित्र फसेका सबै ४१ जना मजदुरलाई बाहिर निकालियो
विगत १७ दिनदेखि उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको एउटा निर्माणाधीन सुरुङमा फसेका सबै ४१ जना मजदुरलाई बाहिर निकालिएको राज्य सरकारले जनाएको छ।
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन्।
उनीहरूको उद्धार सुरु भएसँगै सुरुङ आसपासमा खुसियाली मनाइएको छ।
सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाइएको थियो र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई तयार अवस्थामा राखिएको थियो।
उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक-एक गर्दै निकालेका थिए।
नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए। उनीहरू सबै जना सकुशल भएको ठानिएको छ।
गत नोभेम्बर १२ देखि भारतको उक्त निर्माणाधीन सुरुङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्नका लागि सुरुङमा पाइप जडान गर्ने काम केही घण्टाअघि सकिएको उक्त राज्यका मुख्यमन्त्रीले बताएका थिए।
फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए।
अधिकारीहरूले एउटा बेग्लै सानो पाइपमार्फत् भित्र फसेका ती मानिसहरूलाई अक्सिजन, खानेकुरा र पानी पठाइरहेका थिए।
उत्तरकाशीको सिल्क्यरास्थित सुरुङमा फसेका ती मजदुरका आफन्त तथा परिवार सुरुङबाहिर भेला भएका छन्।
फलामे रडहरू छिचोलेर अघि बढ्नुपर्ने तथा खुकुलो माटो र कडा चट्टान भएका कारण उनीहरूसम्म पुग्न उद्धारकर्ताहरूलाई समय लागेको थियो।
घटना
अधिकारीहरूका अनुसार नोभेम्बर १३ मा स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो।
उत्तरकाशी जिल्लामा निर्माणाधीन उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको अङ्ग हो। कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू छन्।
मजदुरहरूले काम गरिरहेको अवस्थामा सिल्क्यारा सुरुङको मुखदेखि २०० मिटरभित्रको भाग भत्किएको थियो।
पहिरोले सुरुङको मुख थुनिएपछि त्यहाँ अक्सिजनको आपूर्ति पनि काटिएको थियो।
तर घटना भएकै दिन राति वाकीटकी यन्त्रको माध्यमबाट सुरुङमा फसेका मजदुरहरूसँग सम्पर्क स्थापित भएको थियो।
गत शुक्रवार नै अधिकारीहरूले ती मजदुरहरूलाई केही घण्टामै बाहिर निकालिने बताएका थिए। तर सुरुङभित्र प्वाल पार्ने उपकरण भाँचिएपछि उद्धारको प्रयास अवरुद्ध भएको थियो।
त्यसैले हाते उपकरणका भरमा उद्धार प्रयास सुरु गरिएको थियो।
अधिकारीहरूले त्यहाँ दुई दर्जनको सङ्ख्यामा साँघुरा सुरुङमा काम गर्न प्रशिक्षित "र्याट होल माइनर"हरू झिकाएर काम अघि बढाएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।