प्यारिस ओलिम्पिक्समा हिंसाको धम्की दिइएका 'भाइरल' भिडिओसँग 'हमास' र रुसको सम्बन्धबारे तथ्यजाँच

    • Author, मारिआ कोरेन्युक र मारिआ रशिद
    • Role, बीबीसी ग्लोबल डिस्इन्फर्मेशन टीम र बीबीसी अरेबिक

हमास लडाकु भनिएका एक व्यक्तिले आफ्नो एक भिडिओमा आसन्न प्यारिस ओलिम्पिक्समा हिंसाको धम्की दिएको देखिएको छ। यो भिडिओ यतिखेर सामाजिक सञ्जालमा 'भाइरल' बनेको छ।

तर बीबीसीले सङ्कलन गरेका प्रमाणले त्यो भिडिओ उक्त खेलकुद प्रतियोगिता बिथोल्ने उद्देश्यले रुसीहरूले बनाएको क्लिप हुन सक्ने ठानिएको छ।

सो भिडिओलाई सामाजिक सञ्जालमा मिडियामा दशौँ लाखले हेरेका छन्। प्यारिस ओलिम्पिक्सको उद्घाटन शुक्रवार भएको हो।

अनुहार ढाकेका हमास लडाकु भनिएका ती व्यक्तिले फ्रान्सले इजरेललाई साथ दिएको भनिएपछि त्यसको जबाफमा त्यसो गरिएको जनाएका छन्।

अरेबिक भाषामा उनले दिएको धम्कीमा “प्यारिसका सडकमा रगतको खोला बग्ने” भनिएको छ।

सो भिडिओको अन्तिममा फ्रान्सेली गणतन्त्रको प्रतीक 'माहयान'को रगतपच्छे शिर देखिन्छ।

उक्त शिर र भिडिओ नक्कली देखिन्छ।

भाषाशैलीमा उल्लेख्य भिन्नता

उक्त भिडिओमा स्पष्ट रूपमा हमासको उल्लेख गरिएको छैन।

यद्यपि उक्त भिडिओ शेअर गर्ने 'एक्स' अकाउन्ट भने हमाससम्बद्ध रहेको भनिएको छ।

यसैबीच हमासको राजनीतिक नेतृत्वले उक्त भिडिओ 'मनगढन्ते' रहेको घोषणा गरेको छ।

हामीले उक्त फुटेजको विश्लेषण गर्दा हमासले आधिकारिक रूपमा जारी गर्ने भिडिओहरूसँग त्यसको भाषा र शैलीमा कैयौँ भिन्नताहरू फेला पार्‍यौँ।

हमासको टेलिग्राममा सक्रिय च्यानलहरू छन्। तिनबाटै उनीहरूले गाजा युद्धबारे विज्ञप्ति र भिडिओहरू सार्वजनिक गर्छन्।

उदाहरणका लागि ती कथित लडाकुको लबज प्यालेस्टिनीको जस्तो देखिँदैन।

आधारभूत शब्दमै उनको औपचारिक अरेबिकमा पकडको अभाव देखिन्छ। हमास प्रवक्ताका हकमा त्यस्तो पाइँदैन।

ती व्यक्तिको पूर्ण कालो रङ्गको पहिरन खास सैनिकको जस्तो देखिँदैन र त्यो हमासको सैन्य विभाग अल-कसम ब्रिगेडका प्रवक्तासँग समेत मेल खाँदैन।

प्यालेस्टिनी झण्डा राखिएको ठाउँसमेत अस्वाभाविक छ।

हमासका सैन्य प्रवक्ताले त्यो प्राय: बाउलामा लगाउने भए तापनि अनुहार ढाकेका ती व्यक्तिका हकमा भने त्यो छातीमा देखिन्छ।

'हमासको' अर्को भिडिओ

प्यारिस ओलिम्पिक्सलक्षित पछिल्लो भिडिओ र हमासलाई गलत रूपमा जोडिएको अर्को भिडिओसँग केही मिल्दाजुल्दा कुरा छन्।

गत अक्टोबरमा सामाजिक सञ्जालमा फैलिएको अघिल्लो भिडिओमा हमासका भनिएका व्यक्तिहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई “हातहतियार आपूर्ति”का लागि धन्यवाद दिएका थिए, जुन युक्रेनविरुद्धको एउटा गलत आरोप थियो।

उक्त भिडिओको विश्लेषण गरेका साउथ क्यारोलाइनास्थित क्याम्सन यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार उक्त प्रचार क्रेम्लिनले फैलाएको मिथ्या सूचनासम्बन्धी अभियानको एउटा पाटो हो।

बीबीसीले ख्याल गरेको आवाज, पहिरन र खिचिएका ठाउँहरू “हमास”का भनिएका दुवै भिडिओमा उस्तैखाले छन्।

ती हमासले पछिल्ला नौ महिनामा जारी गरेका औपचारिक भिडिओ वक्तव्यभन्दा फरक छन्।

हमासका औपचारिक भिडिओ उत्पादनमा उक्त समूहका उच्च मूल्यमान्यता प्रस्तुत गरिन्छन्। ती प्रायजसो सादा पृष्ठभूमि वा उसको पहिचानयुक्त पृष्ठभूमिको स्क्रीनसाथ हुन्छन्।

यी भिडिओपछाडि को छ?

हमासको भनिएको उक्त पछिल्लो भिडिओमा त्यसका लागि इजरेल जिम्मेवार भएको भनिए तापनि त्यसका लागि प्रमाण दिइएको छैन।

यद्यपि उक्त फुटेज केलाउन प्रयोग गरिएका तौरतरिकाले त्यसका लागि क्रेम्लिनलाई नै जिम्मेवार देखाउने विज्ञहरू बताउँछन्।

फ्रान्सविरोधी क्लिप सबैभन्दा पहिले २१ जुलाईमा एक्समा @endzionism24 अकाउन्टमार्फत् पोस्ट गरिएको थियो, जसको प्रोफाइलको नाम "हमास फाइटर" लेखिएको छ।

यो अकाउन्ट एआईले तयार पार्ने तस्बिरहरू सेअर गर्न मात्र प्रयोग भएको देखिन्छ। यो अकाउन्ट यतिखेर बन्द गरिएको छ।

क्याम्सन यूनिभर्सिटीका प्राध्यापक डारेन लिन्भिलका अनुसार त्यसपछि सो क्लिपलाई क्रेम्लिनमैत्री अरब र फ्रेन्च पश्चिम अफ्रिकी समाचारसंस्थाहरूले प्रकाशन गरेका छन् र पछि ती टेलिग्राममा देखिन्छन्।

त्यसलाई सबैभन्दा पहिले शेअर गर्नेमा “असी कोस्याक” भनिने सिड्नीमा रहेका रुसका एकोहोरो प्रचार गर्ने सिमोन बोइकोभ छन्, जसलाई उक्त सामाजिक सञ्जालमा पछ्याउने ८० हजार छन्।

त्यस्तै १ लाख ७० हजारले पछ्याएका अर्का "गोलोस मोर्डोरा" छन्।

त्यसको केही घण्टामै अन्य हजारौँले पछ्याउने टेलिग्राम च्यानलले हुबहु त्यो पोस्ट गर्न थाले।

प्राध्यापक लिनभिल भन्छन्, “बारम्बार प्रयोग हुने गरेका [क्रेम#लिन कित्ताका] रुस पक्षधर अकाउन्टहरूमार्फत# त्यो फैलाइयो। त्यसबारे कुनै कुरा नयाँ थिएन। उनीहरूले हरेक पटक केही भिन्न लय प्रयोग गर्छन्।”

महिनौँदेखि फ्रान्सका अधिकारीहरूले प्यारिस ओलिम्पिकलाई कमजोर बनाउन रुसी मिथ्या सूचनाको अभियान चल्ने चेतावनी दिएका थिए।

एप्रिलमा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले मस्कोले फ्रान्स उक्त आयोजना गर्नका लागि अक्षम रहेको वा खेल जोखिममा रहेको भन्ने धारणा प्रवर्धन गर्न खोजेको आरोप लगाएको छ।

क्रेम्लिनले उक्त दाबीलाई “अस्वीकार्य” बताएको छ।

युक्रेनविरुद्धको युद्धका कारण रुस र बेलरुसलाई औपचारिक रूपमा प्यारिस ओलिम्पिक्समा सहभागी हुन प्रतिबन्ध लगाइएको छ।

तटस्थ झण्डासाथ त्यहाँबाट केही सीमित खेलाडीहरू मात्र ओलिम्पिक्समा सहभागी हुने छन्।

‘त्रास फैलाउने काम’

एनबीसी न्यूजको आग्रहमा उक्त क्लिपको समीक्षा गरेको माइक्रोसफ्ट थ्रेट अन्यालसिस सेन्टरले यस घटनालाई रुसी समूह 'स्ट्रोम- १५१६' सँग जोडेको छ।

माइक्रोसफ्टका अनुसन्धानकर्ताहरूका अनुसार उक्त समूह यसअघि येभ्गेनी प्रिगोजिनको नेतृत्वमा रहेको भाडाका सैनिक उपलब्ध गराउने वाग्नर लडाकु समूहको मिडिया संरचना र मस्कोस्थित एक थिङ्कट्याङ्कसँग सम्बन्धित छ।

उक्त समूहको उद्देश्य “युक्रेनलाई अस्त्र र सहायताको पश्चिमा साथलाई कमजोर पार्ने” हुन सक्ने माइक्रोसफ्ट थ्रेट अन्यालसिस सेन्टरले बीबीसीलाई जनाएको छ।

“तर कहिलेकाहीँ उनीहरू अन्य तर रुसी प्रभावका उद्देश्यलाई किनारा गर्ने उद्देश्यका काम गर्छन्। जस्तो, कहिले उनीहरू घरेलु विपक्षी नेतालाई बदनाम गर्ने गर्छन् भने यस अवस्थामा डर फैलाएर सन् २०२४ को प्यारिस ओलिम्पिक्का खेलहरूमा बाधा पुर्‍याउन खोजिरहेका छन्।”

फ्रेन्च इन्स्टिच्यूट अफ जिओपलिटिक्सका सहप्राध्यापक केभिन लिमोनिअरका अनुसार ओलिम्पिक्स बिथोल्ने कुराले युक्रेनलाई साथ दिएर प्राप्त गरेको महत्त्वपूर्ण भूमिका आर्जन गरेको फ्रान्सलाई कूटनीतिक र सैन्य शक्तिका रूपमा निसानामा पारिएको छ।

प्यारिसको ग्रीष्मकालीन ओलिम्पिक्सलाई लिएर रुसीहरूले गलत दाबी फैलाएको यो पहिलो पटक भने होइन।

सन् २०२३ मा क्रेमलिन पक्षधर टेलिग्राम च्यानलहरूले उक्त प्रतियोगिताको आलोचना गरिएका शृङ्खलाबद्ध भिडिओ सेअर गरेका थिए।

त्यस्तो पहिलो “ओलिम्पिक्स ह्याज फलन”ले एआईले बनाएको अभिनेता टम क्रूजको मिथ्या वर्णन थियो भने अन्यले एलोन मस्कको दुरुपयोग गरेका थिए।

माइक्रोसफ्ट थ्रेट अन्यालसिस सेन्टरले ती फिल्मलाई अर्को भिडिओमा केन्द्रीत अर्को रुसी प्रोपागान्डिस्ट समूहसँग जोडेको थियो।

त्यसबेला क्रेम्लिन प्रवक्ता दिमित्री पेस्कोभले माइक्रोसफ्टले लगाएका आरोप “कुनै आधार नभएका” “साँगोपाँगो आलोचना” भएको बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।