रीभील: सबैभन्दा चतुर र धेरै पैसा कमाएको कम्प्युटर ह्याकर समूह इन्टरनेटबाट किन हरायो?

विश्वभर सयौँ व्यापार व्यवसायमाथि साइबर हमला गरेको आरोप लागेको रुससँग जोडिएको रीभील र्‍यानसमवेअर समूहको वेबसाइट बन्द भएको छ।

रीभील समूहले ह्याक गरेर मागेको पैसा बुझाउन सञ्चालन गरेको वेबसाइट मङ्गलवार हराएको अनुगमनकर्ताहरूले बताएका छन्।

उक्त समूहले गत साता एउटा साइबर हमलामा ठूलो रकम बीटकोइनमा माग गरेको थियो।

सो समूहले अमेरिकास्थित आइटी कम्पनी कसेया र विश्वभरका सयौँ व्यापार व्यवसायमाथि साइबर हमला गरिसकेको छ।

कम्प्युटर प्रणाली ह्याक गरेर त्यसलाई क्षति नपुर्याई खोल्नका लागि पैसा माग गर्ने समूहहरूमध्ये रीभील सबैभन्दा चतुर र नाफा कमाउने समूह मानिन्छ।

सो समूहको साँच्चै अन्त्य भएको भए यो अति नै महत्त्वपूर्ण उपलब्धि भएको बीबीसी प्रविधि संवाददाता जो टाइडीले बताएका छन्।

रीभील समूहको वेबसाइट एकाएक बन्द भएपछि यसका कारणबारे थरीथरीका सूचना फैलिरहेका छन्।

तर उक्त समूहसँग आबद्ध रहेको दाबी गर्ने एकजना ह्याकरले बीबीसी संवाददाताले केही भित्री कुरा भनेका छन्।

उनको सो समूहसँगको संलग्नता पुष्टि गर्न बाँकी नै छ तर अन्य अनुसन्धानकर्ताहरूले उनको दाबीलाई युक्तिसङ्गत भनेका छन्।

उनले अमेरिकाको 'सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले' आफ्ना वेबसाइटहरूबाट सामग्री हटाएको र त्यही कारणले यो बन्द गरेको उनले दाबी गरेका छन्।

उनले रुसबाट पनि दबाव रहेको बताउँदै थपे: "अमेरिका र अन्य देशको कोकोहोलोका कारण रुस दिक्क भएको छ।"

रुस दिक्क भएको दाबी पत्याउन सहज नभए पनि यदि सत्य भए यसले रुसको नीतिमा ठूलो परिवर्तन भएको देखिने टाइडीले बताएका छन्।

रुस अहिलेसम्म साइबर हमलाको विषयमा चुप रहँदै आएका कारण रीभीलजस्ता समूह हस्तक्षेपको डर नमानी सञ्चालनमा थिए।

साइबर अपराधलाई लिएर अमेरिका र रुसबीच बढ्दो दबावबीच यो आएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडनले गत महिना जिनिभामा भएको सम्मेलनमा रुसी राष्ट्रपतिसँग उक्त विषयमा छलफलपछि शुक्रवार फोन कुराकानीमा भ्लादिमिर पुटिनसँग उक्त मुद्दा उठाएको बताएका छन्।

बाइडनले संवाददाताहरूसँग सूचनाबारे "उनलाई एकदमै स्पष्ट पारेको... उनीहरूले त्यसमा काम गर्ने अपेक्षा गरेका" बताएका थिए।

बाइडनले अनुचित हस्तक्षेपका लागि प्रयोग भएका सर्भरमाथि अमेरिकाले प्रत्यक्ष डिजिटल बदला लिन सक्ने सङ्केत पनि गरेका थिए।

बन्द भएको मङ्गलवारको समयले अमेरिकी वा रुसी अधिकारीले रीभीलविरुद्ध कदम चालेको अड्कलबाजी भए पनि अधिकारीहरूले भने त्यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन्।

साइबर विज्ञहरूले एकाएक त्यस्ता समूहहरू हटाउनु अस्वाभाविक नरहेको बताएका छन्।

यो वर्ष अमेरिकी मुख्य व्यापार व्यवसायहरूमाथि उच्च स्तरका साइबर हमलाहरू शृङ्खलाबद्ध रूपमा भएका बेला यो घटना विकसित भएको हो।

एफबीआईले रीभीलमाथि गत महिना विश्वकै सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनी जेबीएसमाथि हमलापछाडि हात रहेको आरोप लगाएको छ।

यद्यपि रीभीलका सदस्यले सो समूहको अवकाश लिने योजना नरहेको र अर्को अज्ञात काम गर्ने योजना रहेको बताएका छन्।

"एउटा बन्द गरे अन्य थुप्रै पैदा हुन्छन्," उनले चेतावनी दिएका छन्।