आफ्नो सेना कालोसूचीमा पर्ने भएपछि इजरेल राष्ट्रसङ्घसँग आक्रोशित

संयुक्त राष्ट्रसङ्घले हमाससँगै इजरेलको सेनालाई बालबालिकाको गम्भीर मानवअधिकार उल्लङ्घन गर्ने निकायका रूपमा सूचीकृत गरेपछि राष्ट्रसङ्घ र इजरेलबीच तनाव चर्किएको छ।

संयुक्त राष्ट्रसङ्घका लागि इजरेली प्रतिनिधिले उक्त सूची राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा प्रस्तुत गरिनु एक साताअघि नै सो खबर चुहाइदिएका हुन्।

उनले एकजना राष्ट्रसङ्घका अधिकारीले गरेको फोन कललाई सार्वजनिक गरिदिएका छन्।

इजरेलका प्रधानमन्त्री बेन्जमीन नेतन्याहुले राष्ट्रसङ्घको निर्णय ‘भ्रममा आधारित’ रहेको बताएका छन्।

तर राष्ट्रसङ्घका महासचिवका प्रवक्ताले उक्त प्रतिवेदन तयार पार्ने पद्धति स्थापित र पारदर्शी रहेको टिप्पणी गरेका छन्।

इजरेलले गरेको भनिएको उल्लङ्घनमा विद्यालय र अस्पतालमाथिका हमला र सहायता पुर्‍याउन गरिएका अवरोध पनि छन्।

राष्ट्रसङ्घका प्रवक्ताले इजरेलका राजदूतले विवरण चुहाउनु आश्चर्यजनक र अस्वीकार्य भएको भन्दै आलोचना गरेका छन्।

कसले कस्तो प्रतिक्रिया दिइरहेका छन्?

राष्ट्रसङ्घका लागि इजरेली राजदूत गिलार्ड इर्दानले आफूलाई उक्त निर्णयबारे शुक्रवार जानकारी गराइएको बताएका थिए। उनले सो निर्णयलाई ‘लाजमर्दो’ भन्दै टिप्पणी गरेका छन्।

विदेशमन्त्री इजरेल कात्सले त्यसले ‘संयुक्त राष्ट्रसङ्घसँगको इजरेलको सम्बन्धलाई प्रभावित तुल्याउने’ बताए।

प्यालेस्टिनी राष्ट्रपतिका एकजना प्रवक्ताले रोएटर्स समाचार संस्थासँग कुरा गर्दै उक्त निर्णय ‘अपराध’ का लागि इजरेललाई जबाफदेही तुल्याउने दिशाको एउटा कदम भएको जनाएका छन्।

गाजामा इजरेलले हमासविरूद्ध गरेको सैन्य कारबाहीमा हजारौँ बालबालिकाको ज्यान गएको छ भने थप हजारौँ अत्यावश्यक मानवीय सहयोगको पर्खाइमा छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिवको वार्षिक सूचीले द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको मृत्यु र सहयतामा अवरोध अनि विद्यालय र अस्पतालहरूलाई निशाना पारिएको विषय समेट्छ।

आगामी हप्ता सो प्रतिवेदन राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा पेस गरिनेछ।

अहिले नै इजरेली सेनामाथि सो प्रतिवेदनमा कस्तो आरोप लगाइएको छ भन्ने खुलिसकेको छैन।

हमास र प्यालेस्टिनी इस्लामिक जिहादलाई पनि सूचीमा समावेश गरिने प्रतिवेदनमा जनाइएको छ।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्रसङ्घले आफूलाई ‘इतिहासको कालोसूचीमा राखेको’ र इजरेली सेना ‘संसारकै सर्वाधिक नैतिकवान सेना भएको’ बताए।

आफ्नो भूभागमा हमासले गएको वर्ष अक्टोबर ७ मा आक्रमण गरी १२ सय भन्दा बढीको ज्यान लिएपछि गाजामा आक्रमण सुरु भएको थियो।

हमासको आक्रमणमा ज्यान गुमाउनेमा ३८ जना बालबालिका रहेको र बन्धक बनाइएका २५२ मा ४२ जना बालबालिका रहेको इजरेलको बालबालिकासम्बन्धी राष्ट्रिय परिषद्ले जनाएको छ।

हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले इजरेली बमबारि र स्थल कारबाहीमा हालसम्म ३६,७३१ मारिएको जनाएको छ।

अघिल्लो महिना संयुक्त राष्ट्रसङ्घले हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पहिचान गरिएको शवको तथ्याङ्कका आधारमा जारी युद्धमा कम्तिमा ७,७९७ बालबालिकाको मृत्यु भएको उल्लेख गरेको थियो।

तर त्यही महिना राष्ट्रसङ्घले ज्यान गुमाउने महिला र बालबालिकाको अनुपातलाई ६९ प्रतिशतबाट घटाएर कुल मृत्युको ५२ प्रतिशतमा राखेको थियो।

उक्त कदमले संयुक्त राष्ट्रसङ्घ हमासले दिएको गलत आँकडामा निर्भर रहेको देखाएको इजरेलले टिप्पणी गरेको थियो।

संयुक्त राष्ट्रसङ्घले अहिले आफूले गाजामा हमासले चलाइरहेको सरकारको सञ्चार कार्यालय भन्दा हमासको सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई आधार मानिरहेको बताएको छ।

हमासले चलाइरहेको सरकारको सञ्चार कार्यालयले इजरेली आक्रमणमा १५ हजार भन्दा बढी बालबालिकाको ज्यान गएको बताउने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।