तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्राभिस किङ: कोरियाली सीमा पार गरेपछि उत्तर कोरियाले पक्राउ गर्यो एक अमेरिकी सैनिक
- Author, एन्टोनेट र्याडफोर्ड र साइमन फ्रेजर
- Role, बीबीसी न्यूज
उत्तर कोरियाले दक्षिण कोरियाबाट अनुमतिबिना कडा सुरक्षा संयन्त्र भएको सीमा पार गरेका एक बहालवाला अमेरिकी सैनिकलाई पक्राउ गरेको बताइएको छ।
उनी संयुक्त राष्ट्रद्वारा आयोजित दुई देशलाई विभाजन गर्ने क्षेत्रको सङ्गठित भ्रमणमा थिए।
यस्तो सङ्कटपूर्ण अवस्था विश्वको सबैभन्दा अलग राष्ट्रहरू मध्ये एक उत्तर कोरियासँगको तनावपूर्ण समयमा सिर्जना भएको हो। अमेरिकी नागरिकलाई त्यस देशमा नजान सल्लाह दिइएको छ।
एक वरिष्ठ अमेरिकी कमान्डरले ती सैनिकसँग अहिले कुनै सम्पर्क नभएको जानकारी दिएका छन्। अमेरिकी इन्डो–प्यासिफिक कमान्डका एडमिरल जोन एक्विलिनोले उत्तर कोरियासँगको सम्पर्कबारे आफूले “निगरानी नराखेको” बताएका हुन्।
उनका अनुसार ती सैनिक अनुमतिबिना स्वैच्छिक ढङ्गमा 'भागेर' त्यहाँ पुगेको र यस घटनाको अनुसन्धान कोरियामा रहेको अमेरिकी सेनाको समूह यूएस फोर्सेस कोरियाले गरिरहेको बताए।
ती सैनिकलाई हिरासतमा लिएको केही घण्टापछि उत्तर कोरियाले नजिकैको समुद्रमा दुई वटा शङ्कास्पद बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।
दक्षिण कोरियाली सेनाले ती क्षेप्यास्त्रहरू प्रक्षेपण भएको पुष्टि गरेको छ। कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका स्थितिमा घटनाक्रम यसरी अघि बढेको हो।
यद्यपि उक्त प्रक्षेपण सैनिकलाई हिरासतमा राख्नुसँग सम्बन्धित हो या होइन भन्नेबारे कुनै सङ्केत छैन।
उत्तरबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआउँदा ती व्यक्तिलाई उत्तर कोरिया पठाइयो वा उनी फर्किने आशामा छन् भन्ने स्पष्ट हुन सकेको छैन।
पेन्टागनले ती सैनिकलाई प्राइभेट सेकेन्ड क्लास ट्राभिस किङको रूपमा चिनाएको छ। पेन्टागनका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिका अनुसार पीटीई किङ सन् २०२१ को ज्यानुअरीदेखि सेनामा छन्।
यी घोडसवार सेना सुरुमा दक्षिण कोरियामा अमेरिकी सेनाको पहिलो बख्तरबन्द सम्बन्धी विभागको एक इकाईमा खटाइएका रणनीतिक विशेषता वा लक्ष्य पत्ता लगाउन सैन्य अवलोकन गर्ने विशेषज्ञ थिए।
एसोसिएटेड प्रेसका अनुसार पीटीई किङलाई दक्षिण कोरियामा हातपातको आरोप लागेपछि उनीमाथि अनुसन्धानात्मक कारबाही भइरहेको थियो।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार पीटीई किङले सोलस्थित विमानस्थलको सुरक्षा जाँच पार गरेका थिए तर उनी विमानस्थलबाट फर्केर उक्त घुमघाममा सामेल भए। त्यसपछि उनले सीमा पार गरेका हुन्।
प्रत्यक्षदर्शीले के भने?
एक प्रत्यक्षदर्शीले बताएअनुसार उनी सीमा क्षेत्र (स्थानीय सञ्चारमाध्यमका अनुसार पानमुनजोम गाउँ) मा रहेको एक भवनमा पुगेका थिए। “तब ती मानिसले ठूलो स्वरमा ‘हा हा हा’ गरे र त्यहाँ रहेका भवनहरूबीच कुद्न थाले।“
“मैले सुरुमा त उनी जिस्किएको ठानेँ तर उनी फर्किएनन्। त्यसपछि यो ठट्टा होइन भन्ने यकिन भयो। अरूले पनि घटनामाथि प्रतिक्रिया जनाए र अवस्था बिग्रँदै गयो।“
यसअघि डीएमजेड भनिने दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र व्यवस्थापन गर्ने राष्ट्रसङ्घीय कमान्डले यस घटनालाई सुल्झाउन उत्तर कोरियाली सेनासँग वार्ता गरिरहेको जनाएको थियो।
“हामीले अहिले ती सैनिक उत्तर कोरियाली हिरासतमा छन् भन्ने ठानेका छौँ र यस घटनाको समाधानका लागि हाम्रो केपीए (कोरियन पिपुल्स आर्मी– उत्तर कोरियाली सेना) समकक्षीहरूसँग काम गरिरहेका छौँ,” एक विज्ञप्तिमा भनिएको छ। पीटीई किङलाई कहाँ र कुन अवस्थामा राखिएको छ भन्ने स्पष्ट छैन।
वासिङ्टन डिसीस्थित कमिटी फर ह्युमन राइट्स इन नर्द कोरियाका कार्यकारी निर्देशक ग्रेग स्कार्लाटोइउले बीबीसीसँग भने, "उत्तर कोरियाली अधिकारीहरूले उनको सैन्य सेवाबारे "सूचना लिन प्रयास गर्ने" र "उनलाई प्रोपागान्डाको माध्यम बन्न बाध्य पार्ने प्रयास गर्ने" सम्भावना छ।
डिमिलिटराइज्ड जोन (डीएमजेड) ले दुई कोरियाको भूभाग छुट्ट्याउँछ र यो विश्वको सबैभन्दा बलियो सुरक्षा संयन्त्र भएको क्षेत्रमध्ये एक हो। यहाँ थुप्रै बारुदी सुरुङहरू छन् र विद्युत्त सहित तार बार तथा निगरानी गर्ने क्यामेराले घेरिएको छ। त्यहाँ सशस्त्र प्रहरीहरू चौबिसै घण्टा सतर्क रहनुपर्छ।
आम मानिसको भाग्ने प्रयास
सन् १९५० को दशकमा भएको कोरियाली युद्धपछि डीएमजेडले दुई देशलाई छुट्टाएको हो। त्यसयता अमेरिकाले दक्षिण कोरियालाई समर्थन गर्दै आएको छ। त्यस युद्ध एक शान्ति वार्तापछि अन्त्य भएको थियो। यद्यपि दुवै पक्ष अझै पनि प्राविधिक रूपमा युद्धमा छन्।
गरिबी र अनिकालबाट उम्कन हरेक वर्ष दर्जनौँ मानिसहरू उत्तर कोरियाबाट भाग्ने कोसिस गर्छन्। तर डीएमजेडमा पक्राउ पर्नु अत्यन्त जोखिमपूर्ण र दुर्लभ मानिन्छ। उक्त देशले सन् २०२० मा कोभिड–१९ महामारीको सुरुवातसँगै आफ्ना सीमाहरू बन्द गरेको थियो र अझै पनि खोलेको छैन।
दक्षिण कोरियाका अनुसार पछिल्लो पटक सन् २०१७ मा उत्तर कोरियाका एक सैनिकले गाडी चलाएर आएका थिए र सैन्य सीमा रेखा पार गरेर पैदलै भागेका थिए। ती सैनिकलाई ४० पटक गोली लागेको थियो तर उनी बाँच्न सफल भएका थिए। दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार महामारीअघि हरेक वर्ष उत्तर कोरियाबाट एक हजारभन्दा बढी मानिस भागेर चीन गएका थिए।
सैनिकलाई हिरासतमा राख्नु अमेरिकी राष्ट्रपति जो बाइडनका लागि कूटनीतिक टाउको दुखाइको विषय बनेको छ। पीटीई किङ उत्तर कोरियाको हिरासतमा रहेका एक मात्र अमेरिकी नागरिक भएको बताइएको छ। त्यहाँ छ जना दक्षिण कोरियाली नागरिक थुनामा छन्।
अमेरिकासँगको सम्बन्धमा चिसोपन
सन् २०१७ मा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध निकै बिग्रियो, कारण थियो- एक वर्षअघि उत्तर कोरियामा ‘प्रोपोगान्डा चिन्ह’ चोरेको आरोपमा पक्राउ परेका एक अमेरिकी विद्यार्थीलाई देश फर्काइनु। ती विद्यार्थीलाई अमेरिका फर्काइँदा उनी बेहोसी (कोमा)मा थिए र पछि उनको मृत्यु भयो। उनको परिवारले उनको मृत्युका लागि उत्तर कोरियाली अधिकारीलाई जिम्मेवार ठहर्याएको थियो।
यो घटनाले दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई थप तनावपूर्ण बनाएको हो।
सन् २०१८ मा डोनाल्ड ट्रम्पको कार्यकालमा तीन जना अमेरिकी नागरिकलाई हिरासतमुक्त गरिएको थियो। तर किम जोङ उन र पूर्व अमेरिकी राष्ट्रपतिबीच भएको श्रृङ्खलाबद्ध वार्तापछि पनि सम्बन्ध खासै सुधार हुन सकेन।
त्यसपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू बोक्न सक्ने दर्जनौँ शक्तिशाली क्षेप्यास्त्रको परीक्षण गरिसकेको छ जसमाथि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्।
सन् १९८१ पछि पहिलो पटक दक्षिण कोरियामा पारमाणविक क्षमता भएको अमेरिकी पनडुब्बी डुबेपछि अमेरिकी नागरिकलाई पक्राउ गरिएको थियो। यो पनडुब्बी विशेष गरी उत्तर कोरियाले निम्त्याएको पारमाणविक जोखिमविरुद्ध जुध्न देशलाई सहयोग पुर्याउने उद्देश्यले त्यहाँ पठाइएको थियो। त्यसअघि नै प्योङयाङका अधिकारीहरूले अमेरिकालाई कोरियाली प्रायद्वीपमा पारमाणविक हतियार पठाउँदा आफूले पारमाणविक सङ्कट निम्त्याउन सक्ने चेतावनी दिएको थियो।
पीटीई किङलाई हिरासतमा लिइएको केही घण्टापछि दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट दुई वटा बलेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको र त्यो जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको पुष्टि गरेको थियो।