उत्तर कोरिया: किम जङ-अनकी छोरीबारे हामीलाई के थाहा छ?

उत्तर कोरियाली नेता किम जङ-अनकी छोरी एक साताभित्र दोस्रो पटक सार्वजनिक रुपमा देखा परेकी छन्। त्यसले कतै उनी उत्तराधिकारी त हुने हैनन् भनेर अनुमानहरू बढाएका छन्।

तर देशको सरकारी सञ्चारमाध्यमले किमकी छोरीको नाम र उमेर खुलाएको छैन। उनी किमकी "सबैभन्दा प्यारी" र "अनमोल" सन्तान भनि व्याख्या गरिएको छ।

केसीएनएले यो महिना प्रक्षेपण गरिएको ह्वासोङ-१७ क्षेप्यास्त्रमा संलग्न सेना, वैज्ञानिक र अन्यलाई आइतवार किम र उनकी छोरीले भेटेको जनाएको छ।

केसीएनएले हालै सार्वजनिक भएका तस्बिर कहिले को हो भनेर जनाएको छैन तर किम र उनकी छोरीले उक्त समूहले "उनीप्रति उच्च महिमा र श्रद्धा" व्यक्त गरेको भन्दै उनीहरू "असीमित जोस र खुसीले भरिपूर्ण" पाएको जनाएको छ।

त्यसो भए हामीलाई किम जङ-अनकी छोरीबारे के थाहा छ?

पहिलो पटक सन् २०१३ मा उल्लेख

विश्वकै अति गोप्य देशको नेतृत्व किम जङ-अनले गर्छन् र उनको व्यक्तिगत जीवनबारे एकदमै थोरै मात्रै थाहा छ।

सन् २०१२ को जुलाईमा उत्तर कोरियाले किमकी श्रीमति रि सोल-जु रहेको पुष्टि गरेको थियो। सार्वजनिक रुपमा किमसँग रि देखिएको एक महिनापछि उक्त कुरा पुष्टि गरिएको थियो।

त्यसयता, दक्षिण कोरियाली सञ्चारमाध्यमले उनीहरूको तीन सन्तान रहेको अनुमान गरेका छन्।

सन् २०१३ को सेप्टेम्बरमा अमेरिकी अवकाशप्राप्त बास्केटबल खेलाडी डेनिस रडम्यानले उत्तर कोरियामा "बास्केटबल कूटनीतिक भ्रमण" गरेपछि ब्रिटिश पत्रिका द गार्डियनमा उनलाई उद्धृत गर्दै "किमको छोरी रहेको" लेखिएको थियो।

"मैले उनीहरूको छोरी जू_ए लाई बोकेँ र किमकी श्रीमतिसँग पनि कुरा गरेँ। उनी असल पिता हुन् र उनको एउटा सुन्दर परिवार छ," रडम्यानले पत्रिकालाई भनेका थिए।

तर त्यतिबेला रडम्यानको टिप्पणीबारे उत्तर कोरियाले कुनै प्रतिक्रिया दिने वा पुष्टि गर्ने गरेको थिएन।

सन् २०२२ मा पहिलो पटक देखापरिन्

सन् २०२२ को नोभेम्बर १९ तारिखमा केसीएनएले पहिलोपटक बाबुछोरीका कयौँ तस्बिरहरू प्रकाशित गरेको थियो। उनको अस्तित्वबारे लामो समयदेखिको हल्ला भइरहँदा ती तस्बिरले उनीबारे पुष्टि गरेको थियो।

सरकारी सञ्चारमाध्यमले किमका बुवाछोरीले अधिकारीहरूसँग कुराकानी गरेको, क्षेप्यास्त्र निरीक्षण गरेको र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको प्रक्षेपण गरेको हेरेको जनाएको छ।

तर ती बालिकाको नाम र उमेर भने समाचारमा खुलाइएको छैन।

बीबीसीकी सोल संवाददाता जीन मक्कन्जीले भनिन्, "उत्तर कोरियाली विश्लेषकहरूलाई सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपणभन्दा पनि बढी रुची किम जङ-अनकी छोरीबारेको खुलासा भएको छ।"

"यसको अर्थ किम जङ् अनको उत्तराधिकारीका रूपमा उनकी छोरीलाई चयन गरिएको हो? र के उनले कुनै दिन उत्तर कोरियाको नेतृत्व सम्हाल्लिन्?"

सन् २०२२ मा दोस्रोपटक देखा परिन्

किम जङ-अन र उनकी छोरीको पहिलो पटक तस्बिर सार्वजनिक भएको एक सातापछि केसीएनएले गत आइतवार अर्को चरणका तस्बिरहरू प्रकाशित गर्‍यो।

फेरि पनि उनको उमेर र नाम उल्लेख गरिएन तर यसपटक उनलाई किमकी "अति प्यारी" र "अनमोल" सन्तान भनि व्याख्या गरियो।

"यो पक्कै पनि ध्यान खिच्ने विषय हो। आइसीबीएम प्रक्षेपणमा संलग्न प्राविधिक र वैज्ञानिकहरूसँग उक्त विषयबारे उत्सव मनाइरहँदा किम जू-ए आफ्नो बुवासँगै उभिएको तस्बिरले उनलाई सम्भावित उत्ताधिकारीका रूपमा अगाडि बढाइएको थालनीका रूपमा हेरिएको छ," अमेरिकाको एनबीसी न्यूज नेटवर्कले एकजना विज्ञलाई उद्धृत गर्दै लेखेको छ।

केही विश्लेषकहरूले भने उनी उत्तराधिकारी होलिन् भन्न अहिले निकै चाँडो हुने बताएका छन्।

उत्तर कोरियाली महिला नेताबारे लेखिएको पुस्तककी दक्षिण कोरियाली लेखक चुन सु-जीनलाई उद्धृत गर्दै रोयटर्सले उत्तर कोरियाली सम्भ्रान्तहरूले किमकी छोरीलाई शासकका रूपमा स्वागत गर्न सम्भावना झण्डै शुन्य रहेको बताएकी छन् भनेर लेखेको छ।

"महिलालाई नेताका रूपमा स्वागत गर्न उत्तर कोरिया तयार छैन," उनले भनिन्।

"[किम] क्षेप्यास्त्र प्रहार गर्ने निर्मम शासक मात्रै होइनन् एक प्यारा बुवा पनि हुन् भन्ने देखाइरहेका छन्।"

"उत्तर कोरियामा नेता हुन पुरुष हुन अझै महत्त्वपूर्ण छ," उत्तर कोरियाबाट भागेर आएर सोलस्थित यूहा इन्स्टिट्युट अफ युनिफिकेशनमा कार्यरत ह्यून इन-एइले भनिन्।

किमकी छोरी उत्तराधिकारीका रूपमा अगाडि बढाइएकी भए पनि नभए पनि किम शासनमा एकजना महिलाले केही वर्षदेखि अन्तर्राष्ट्रिय ध्यान तान्दै आएकी छन्।

किम यो-जोङ: एक शक्तिशाली बहिनी

सन् २०२० मा किम जङ-अनको स्वास्थ्यबारे हल्ला र अनुमानहरू उब्जिँदा र किमका आफ्नै सन्तानको उमेर नपुग्दासम्मका लागि उनकी बहिनीलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको थियो।

किम यो-जोङले केही समयदेखि वरिष्ठ भूमिका निभाउँदै आएकी छन्। उनले हालै प्रतिबन्धबारे दक्षिण कोरियामाथि धम्कीपूर्ण टिप्पणी गरेकी थिइन्।

तर बीबीसीका जिन मक्केन्जीले व्याख्या गरे अनुसार किम जङ-अनकी छोरी सार्वजनिक रुपमा देखिँदा यसले विश्वभर थप प्रश्नहरू उब्जाएको छ।

"उनलाई अहिले किन देखाइयो? उनी अझै धेरै कलिली छन्। यदि किमले उनलाई आफ्ना उत्तराधिकारीका रूपमा तयार गरिरहेका हुन् भने, ३८ वर्षीय उनमा स्वास्थ्यसम्बन्धी समस्या हुनसक्छ?

त्यस्तो अनुमान गरिनुको कारण उनको स्वास्थ्य हो किनभने त्यसलाई उनको शासनको स्थायित्वका लागि ठूलो खतराको रूपमा हेरिएको छ।