नेपालमा लुकेर बसेकी श्रीलङ्काकी 'संदिग्ध अपराधी' पक्राउ, अवैध रूपमा नेपाल प्रवेश

श्रीलङ्कामा आठ महिनाअघि भएको शक्तिशाली आपराधिक गिरोहका नेता ठानिएका एक व्यक्तिको हत्यामा सघाएको आरोप लागेकी महिला नेपालबाट पक्राउ परेकी छन्।

इशारा सेववण्डी नामकी ती महिलालाई सोमवार भक्तपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बीबीसीलाई जानकारी दिए।

सेववण्डीमाथि श्रीलङ्काको अलुथकडे अदालत परिसरमा गोली हानी मारिएका गणमुला सञ्जीवको हत्यामा सघाएको आरोप छ। उक्त घटना गत फ्रेब्रुवरी १९ को हो।

ती महिलाविरुद्ध इन्टरपोलको 'रेड कर्नर नोटिस' जारी थियो।

उनीसँगै अन्य पाँच जना पनि पक्राउ परेका छन्। ती सबै श्रीलङ्काली नागरिक भएको प्रहरीले जनाएको छ।

कसरी पक्राउ परिन्

घटनापछि सेववण्डीसहित ६ जना "पहिले अवैध मार्गबाट भारत छिरेको र त्यसरी नै दुई साताअघि नेपाल पसेको देखिएको" प्रवक्ता घिमिरेले जानकारी दिए।

उनकाअनुसार सेववण्डीसँगै पक्राउ परेका अन्य पाँच जना उक्त घटनासँग सम्बन्धित भए नभएको खुलिसकेको छैन।

"बाँकी अन्यमाथि 'रेड कर्नर नोटिस' पनि थिएन,'' घिमिरेले भने, "ती महिला अहिले हाम्रो नियन्त्रणमा छिन् र अरु पाँचजना ट्राभल डक्यूमन्ट बनाउनका निम्ति काठ्माण्डूस्थित श्रीलङ्काली दूतावासमा पुर्‍याइएका छन्।"

इन्टरपोलको सूचनाका आधारमा नेपाल प्रहरीले केही दिनअघिदेखि भक्तपुरमा खोजी कार्य तीव्र पारेको थियो।

श्रीलङ्काले उपलब्ध गराएको सूचनाका आधारमा सेववण्डीविरुद्ध 'रेड कर्नर नोटिस' जारी गर्नुका साथै इन्टरपोल सचिवालयले नेपाललाई समेत सूचित गरेको थियो।

इन्टरपोल अन्तर्राष्ट्रिय तथा अन्तर-सरकारी प्रहरी सङ्गठन हो र यसमा नेपाल र श्रीलङ्कासहित १९६ वटा देश सदस्य छन्।

चार दिन लामो कारबाही

श्रीलङ्काका सार्वजनिक सुरक्षामन्त्री आनन्द विजेपालालाई उद्धृत गर्दै आएका विवरणमा उक्त (खोजी) अभियानमा श्रीलङ्काली अनुसन्धान निकायका अधिकारीहरू पनि संलग्न रहेका र त्यसमा ४ दिन लागेको जनाइएको छ।

"उनलाई नियन्त्रणमा लिने क्रममा त्यति समय त लाग्यो नै," प्रवक्ता घिमिरेले भने, "तर उक्त कार्यमा अन्य देशका अधिकारीहरू सामेल थिएनन्। उनीहरूले इन्टरपोललाई दिएको सूचनाको आधारमा हामीले नियन्त्रणमा लिएका हौँ।"

"ती महिलासहितका व्यक्तिहरू लुक्नकै निम्ति नेपाल छिरेको देखिन्छ। सँगै बसिरहेको अवस्थामा भेटिएका उनीहरू हवाई मार्गबाट नेपाल आएको देखिँदैन। उनीहरूमध्ये कसैसँग नेपालको भिसा पनि छैन। उनीहरूको यहाँ चिनजानका मानिसहरू भए नभएको वा अन्य कुनै सञ्जाल भए नभएको आदिबारे अनुसन्धान गरिरहेका छौँ।"

घटना के हो

सङ्गठित आपराधिक समूहका नेता ठानिएका सञ्जीवमाथि गएको फ्रेब्रुअरी १९ मा कोलम्बो मजिस्ट्रेट कोर्ट परिसरमा गोली हानिएको थियो।

उक्त घटनामा गोली चलाउने व्यक्तिलाई श्रीलङ्का प्रहरीको विशेष 'टास्क फोर्स'ले पुट्टलमको पलविया क्षेत्रबाट पक्राउ गरे पनि त्यसै सन्दर्भमा अर्की संदिग्ध सेववण्डी फरार रहँदै आएकी थिइन्।

प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएअनुसार हत्यामा प्रयोग भएको बन्दुक 'दण्डसंहिता'को किताबमा लुकाएर अदालत पुर्‍याइएको थियो र उक्त बन्दुक सेववण्डीले 'सूटर'लाई दिएकी थिइन्।

सञ्जीवविरुद्ध धन लुटेको, मानिसहरूलाई गोली हानेर मार्ने प्रयत्न गरेको वा मारेको, लागु औषधसहित पक्राउ परेको, हातहतियार राखेको लगायतका आरोपहरू थिए। उनी विदेशबाट नाम फेरेर आएका बेला कटुनायके अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२३ मा पक्राउ परेका थिए।

सञ्जीवमाथि गोली प्रहार भएको घटनापछि सेववण्डीलाई खोज्न प्रहरीले देशव्यापी अभियान चलाउनुका साथै उनी लुकेको हुन सक्ने ठानिएका स्थानहरूमा तलासी लिएको थियो। तथापि उनलाई पक्राउ गर्न प्रहरी असमर्थ रहँदै आएको थियो।

घटनाको आठ महिनापछि उनी नेपालबाट पक्राउ परेकी हुन्।

सेववण्डी पक्राउबारे जानकारी दिन मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरेका श्रीलङ्का प्रहरीका प्रवक्ताले नेपाल सरकार र 'कारबाहीमा सघाउने' नेपाल प्रहरीका अधिकारीहरूलाई धन्यवाद दिएका विवरणहरू आएका छन्।

श्रीलङ्कालाई 'सुम्पिने' प्रक्रिया

इन्टरपोलमार्फत् 'रेड कर्नर नोटिस' जारी भएका मामिलामा पक्राउ परेकाहरूलाई सम्बन्धित देशमा पठाउन जटिल नहुने प्रवक्ता घिमिरेले बताए।

"हामी उनलाई कानुनी तरिकाले नै पठाउँछौँ। यस्तो मामिलामा अन्तर्राष्ट्रिय कानुनले नै पठाउन दिन्छ," उनले भने, "यस्ता मामिलाहरूमा हामीले पनि त्यसरी नै ल्याउने गरेका छौँ।"

"अब उनको ट्राभल डक्यूमन्ट बन्छ। त्यसपछि उनीहरू (श्रीलङ्काली अधिकारी) आएर प्रक्रिया पुर्‍याएर लैजान्छन्।"

तर कहिलेसम्म पठाइसक्ने भन्ने यकिन नभइसकेको प्रवक्ता घिमिरेले बताए।

"ट्राभल डक्यूमन्ट बनाउने क्रममा दूतावासमा रहेका पाँच जनाका हकमा पनि अध्यागमन कानुनसहितका प्रक्रिया गरेर पठाउँछौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।