तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आफ्नै पत्नीद्वारा सयौँ पतिहरू मारिएको हङ्गेरीको एउटा गाउँ
- Author, बीबीसी न्यूज मुन्डो
हङ्गेरीको एउटा सानो नगर सोल्नोकस्थित त्यहाँको एउटा अदालतमा सन् १९२९ को डिसेम्बरमा सुनुवाइ भयो। मुद्दा नजिकैको गाउँ नागिरेभमा केन्द्रित थियो, जहाँका दर्जनौँ महिला आफ्ना पतिलाई नियतवश विष दिएको आरोपमा त्यहाँ उपस्थित थिए।
'द न्यूयोर्क टाइम्स'ले त्यस बेला प्रकाशन गरेको समाचारमा उक्त समुदायका करिब ५० जना महिलाले पुरुषलाई विष दिएको अभियोगको सामना गरेको उल्लेख छ।
पत्रिकाले नागिरेभ गाउँमा सन् १९११ र १९२९ को बीचमा ५० भन्दा धेरै पुरुषहरू आर्सनिकका कारण मारिएको जनाएको छ।
कृषिमा निर्भर उक्त गाउँ बुडापेस्टभन्दा १३० किलोमिटर दक्षिणतर्फ पर्छ। आरोपित ती महिलाहरूको पहिचान 'एन्जल मेकर्स्' को हुन पुग्यो।
सुनुवाइको क्रममा एउटा नाम बारम्बार आयो, उनी थिइन् गाउँकी एक सुँडेनी शुजाना फजेकस।
नागिरेभको जनजीवन
नागिरेभ कृषिमा निर्भर एउटा सानो गाउँ हो। त्यो हङ्गेरीको सबैभन्दा ठूलो वाइन उत्पादक क्षेत्र कुन्सगस्थित टिसा नदीको तटमा पर्छ।
त्यस क्षेत्रमा मागी विवाहको प्रचलन थियो। दुलहीभन्दा दुलहाको उमेर निकै पाको हुन्थ्यो। त्यस्ता विवाहका सम्झौतामा मुख्य रूपमा भूमि, वंश र कानुनी उत्तरदायित्वजस्ता कुरा समावेश हुन्थे। सम्बन्धविच्छेद असम्भव थियो।
त्यस बेला पनि गाउँमा अस्ट्रो-हङ्गेरियन साम्राज्यकालीन नियम चल्दथ्यो।
नागिरेभमा कुनै स्थानीय डाक्टर वा पूजारीहरू नभएकाले औषधिजन्य उपचार र रसायनहरूबारेको जानकारीका कारण शुजना फजेकसले सुँडेनीको मात्र नभई वास्तविक स्वास्थ्यकर्मीको रूपमा पनि काम गरिन्।
"'उनमा रहेको ज्ञानका कारण मानिसहरूलाई उनीसम्म जानुपर्ने र उनलाई विश्वास गर्नुपर्ने बाध्यता थियो," मारिया गुन्याले सन् २००४ मा बीबीसीलाई बताइएकी थिइन्।
गुन्या सानै हुँदा उनका बुवालाई प्रहरीले गाउँमा अज्ञात रहेको मृत्यु शृङ्खलाबारे अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको थियो।
सुँडेनी गाउँको एउटा सामान्य एकतल्ले घरमा बस्थिन्। महिलाहरू आफ्ना समस्या लिएर फजेकससम्म पुग्ने गरेको गुन्याको भनाइ थियो।
"उक्त घरभित्र धेरै कुराहरू भइरहेको सुनिन थाल्यो : पुरुषहरूले महिलाहरूलाई पिटिरहेको, बलात्कार गरिरहेको, तीमध्ये धेरै अविश्वसनीय, निकै दुर्व्यवहारयुक्त थियो," गुन्या सम्झिन्छिन्।
उनका अनुसार जब महिलाहरूले आफ्ना जँड्याहा वा हिंसक पतिबारे गुनासो गर्थे, फजेकसले आफूसँग त्यस्ता धेरै समस्याको एउटा सरल समाधान रहेको जबाफ दिन्थिन्।
त्यो समाधान थियो, ती सुँडेनीले 'डिस्टिल' गरेको आर्सनिक। पछि उक्त विषका सिसीहरू उनको बगैँचामा गाडिएको भेटिएको यूकेको पत्रिका 'द टाइम्स'को एउटा समाचारमा उल्लेख छ।
गिरफ्तारी
समय बित्दै जाँदा गाउँ चिहानले भरिन थाल्यो। सन् १९११ देखि १९२९ को बीचमा नागिरेभका चिहानमा करिब ५० जना पुरुषलाई गाडिएको थियो। तीमध्ये धेरै कसैका पति र कसैका पिता थिए।
अन्ततः अधिकारीहरूलाई शङ्का लाग्यो र उनीहरूले चिहान उत्खनन गर्न थाले। परीक्षण गरिएका ५० शवमध्ये ४६ वटा शवमा आर्सनिक फेला परेपछि त्यसले विष दिइएको शङ्का पुष्टि गर्यो।
त्यससँगै शङ्काको सुई फजेकसतर्फ मोडियो। प्रहरी उनलाई गिरफ्तार गर्न १९ जुलाई १९१९ मा उनको घर पुग्यो।
"जब उनले हतियारधारी पुगिरहेको देखिन्, उनलाई आफ्नो सबै कुरा सिद्धिएको महसुस भयो, हतियारधारीहरू उनको घर पुग्दासम्म उनको मृत्यु भइसकेको थियो, उनले आफैँले केही विष लिइन्," गुन्याले सुनाइन्।
पहिलो मृत्यु
प्रहरी प्रतिवेदनहरूले सन् १९११ देखि यसरी मानिसहरूको मृत्यु भएको देखाउँछन्। त्यसै वर्ष फजेकस उक्त गाउँमा बसोबास गर्न थालेकी हुन्।
दुई दशकसम्म चलेको विष दिने क्रम त्यही वर्ष सुरु भएको देखिन्छ। तर ती सुँडेनी फजेकस मात्र दोषी भएको देखिन्न।
नजिकैको सहर सोल्नोकमा सन् १९२९ यता २६ जना महिला सुनुवाइमा उभ्याइए। तीमध्ये आठ जनालाई मृत्युदण्ड दिइयो। अन्यलाई जेल पठाइयो, जसमध्ये सात जनाले आजीवन कारावासको सजाय पाए।
केहीले गल्ती स्वीकार गरे र उनीहरूको मनसाय कहिल्यै पूर्ण स्पष्ट भएन। उनीहरूको मनसायका सन्दर्भमा केही मतहरू छन्; गरिबी, लोभ र न्यास्रोपन तीमध्ये केही हुन्।
कतिपय रिपोर्टहरूमा ती महिलाहरूले पहिलो विश्व युद्धको अग्रमोर्चामा लडिरहेका आफ्ना पतिको अनुपस्थितिमा रुसी युद्धबन्दी प्रेमीहरूलाई लगेर कृषिमा लगाएको दाबी गरेको पाइन्छ।
पतिहरू फर्किएपछि भने ती महिलाहरू स्वतन्त्रता खोसिएकोमा क्रुद्ध हुन पुगे र हत्या गर्ने निर्णयमा पुगे।
नागिरेभभन्दा टाढाको दृश्य
सम्भवतः उनीहरू मात्र त्यसमा संलग्न थिएनन्। नजिकै तिस्जाकर्त नगरमा उत्खनन गर्दा अन्य शवहरूमा पनि आर्सनिक भेटियो। तर उनीहरूको मृत्युमा कसैलाई दोषी ठहर्याइएन।
केही आकलनका अनुसार त्यस क्षेत्रमा त्यसरी मारिएकाहरूको सङ्ख्या ३०० भन्दा धेरै हुन सक्छ।
समयसँगै बितेका वर्षहरूले नागिरेभ गाउँका अधिकांश पीडादायी स्मृति मेटाइसकेका छन्। त्यो गाउँको नामले त्यस क्षेत्रको आसपासका पुरुषहरूलाई असहजता जागृत गराउँदैन।
तर गुन्याले ठट्यौली पारामा विष दिइएका घटनापछि पुरुषहरूले पत्नीसँग गर्ने व्यवहारमा 'उल्लेखनीय सुधार' आएको औँल्याइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।