तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिण अफ्रिकाका अवैध खानीमा भइरहेको 'सुनका लागि बाल यौनशोषण' को नालीबेली
- Author, मेयानी जोन्स
- Role, बीबीसी न्यूज, जोहानिस्बर्ग
यस सामग्रीमा भएका भिडिओसहितका विवरणहरूले विचलित तुल्याउन सक्छन्।
दक्षिण अफ्रिकाको एउटा परित्यक्त सुनखानीमा छ महिना काम गरेका जोनाथनलाई नराम्ररी चकित पार्ने कुरा भनेको त्यहाँ केटाकेटीमाथि हुने दुर्व्यवहार हो। उनले भूमिगत कामदारका रूपमा त्यहाँ बिताएको समय थकित तुल्याउने किसिमको थियो।
त्यहाँ भित्र्याइने बालबालिकामध्ये केही सस्ता श्रमिकका रूपमा ल्याइन्थे भने अभियानकर्मीहरूका अनुसार बाँकी चाहिँ यौनका निम्ति लगिन्थे।
बीस वर्ष लागिसकेका जोनाथन सजिलै पैसा कमाइने कुरा सुनेर दक्षिण अफ्रिकाका बन्द भइसकेका दर्जनौँ खानीहरूमध्ये एउटामा काम गर्न पुगेका थिए। ती व्यावसायिक रूपमा अव्यावहारिक भएपछि बहुराष्ट्रिय कम्पनीहरूद्वारा बन्द गरिएका खानीहरू हुन्।
सञ्चारमाध्यमसँग कुरा गर्दा त्यस्ता अवैध खानी चलाउने खतरनाक आपराधिक गिरोहले बदला लिन सक्ने डर भएकाले उनको पूर्ण परिचय खुलाइएको छैन।
बालबालिकाहरूमाथि जे भइरहेको थियो, तिनको विवरण गत वर्ष सतहमा आएको स्टिलफोन्टेइन नगरनजिकैको खानीमा दर्जनौँ अवैध कामदारका मृत्युको घटनापछि जानकारीमा आएको थियो। त्यति बेला प्रहरीले खानीको प्रवेश नाका बन्द गरिदिएको थियो।
के हुन्थ्यो
शान्त र स्थिर स्वरमा जोनाथनले त्यहाँभित्रको गर्मी, सीमित खाना र काम गर्नुपर्ने लामो अवधि तथा सुताइका निम्ति उपलब्ध तरिकाहरूबारे वर्णन गरे। उनका अनुसार उक्त स्थितिले उनको शरीरमा प्रतिकूल असर पारेको छ।
तर आफू काम गर्ने उक्त खानीमा नाबालक कामदारहरूमाथि जे गरिन्थ्यो, जोनाथनको स्मृतिमा त्यसको अमिट छाप परेको छ।
"मैले उक्त खानीमा १५ देखि १७ वर्षका केटाकेटीहरूलाई देख्ने गर्थेँ।"
"अरूले कहिलेकाहीँ तिनीहरूको फाइदा उठाउन खोज्थे। त्यो अलिक डरलाग्दो किसिमको थियो र त्योसँग म सहज थिइनँ।"
उनका अनुसार ती बालबालिकाहरू त्यहाँका वयस्क कामदारहरूद्वारा पछि आफूले भेट्टाएकोमध्ये केही सुन दिने वाचामा बलात्कृत हुन्थे।
"पैसाका निम्ति व्याकुल कोही छ भने उसले त्यो जोखिम मोल्दथ्यो।"
जोनाथनले केटाकेटीहरू सुरक्षाको निम्ति सहायता खोज्दै खानी चलाउने समूहहरूसमक्ष कसरी पुग्थे र "तिनका सर्तहरू कस्ता हुन्थे" भन्ने पनि वर्णन गरे।
उक्त समूहद्वारा लगाइएका काम पूरा गर्न नसक्ने किशोरकिशोरीहरूलाई सजायका रूपमा समेत यौनकार्यमा लगाइन्थ्यो।
जोनाथनका अनुसार उनले काम गरेको खानीमा काम गर्ने सबै केटाकेटीहरू विदेशी थिए र उनीहरूलाई आफूले के गरिराखेको छु भन्ने महसुस नै थिएन।
बालबालिका निसानामा
खानीसम्बन्धी अनुसन्धानकर्ता तथा अभियानकर्मी मखोट्ला सेफुली त्यस कुरामा सहमत छन्।
उनका अनुसार आपराधिक गिरोहहरूले दक्षिण अफ्रिकाका खानीहरूमा काम गर्न विशेष गरी केटाकेटीलाई निसाना बनाउँछन्।
तिनीहरूमध्ये धेरै छिमेकी देशहरूबाट अपहरण वा अवैध ओसापसारमार्फत् ल्याइएकाहरू छन्। उनीहरूलाई आधिकारिक खानीहरूमा काम मिलाइदिने निराधार वाचा गरेर झुक्याइएको हुन्छ।
"दक्षिण अफ्रिका पुग्नासाथ तिनीहरूको राहदानी जफत गरिन्छ...त्यसपछि ती किशोरहरूमाथि दुर्व्यवहार हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो," सेफुली भन्छन्।
कम्तीमा अन्य दुई वटा अवैध खानीमा काम गर्ने कामदारहरूसँग बीबीसीले गरेको कुराकानीमा उनीहरूले आफूले काम गर्ने खानीमा बालबालिकामाथि दुर्व्यवहार भएको देखेको बताए।
शेपो (वास्तविक नाम होइन)ले भूमिगत खानीमा आफूले वयस्क मानिसहरूले किशोरहरूलाई उनीहरूसँग यौन सम्बन्ध राख्न जबर्जस्ती गरेको देखेको बताए।
"केही घटनामा चाहिँ उनीहरूले पैसाका निम्ति त्यसो गर्थे। भूमिगत यौन व्यवसायबाट आर्थिक लाभ प्राप्त हुने भएकाले केहीलाई त केवल त्यही प्रयोजनका निम्ति काममा लिइएको हुन्थ्यो।"
उनी त्यस किसिमका दुर्व्यवहारबाट बालबालिकामा गहिरो असर परेको बताउँछन्।
"तिनीहरूको व्यवहारको प्रवृत्ति बदलिन्थ्यो र विश्वासको प्रश्न उठ्थ्यो। उनीहरू कोही पनि नजिक आएको नरुचाउने हुन्छन् किनिकि उनीहरूले कसैको पनि भर पर्न सकिँदैन भन्ने महसुस गरिराखेका हुन्छन्।"
उत्तरपश्चिम प्रान्तको स्टिलफोन्टेइन नगरनजिकैको बफल्सफोन्टेइनको सुनखानीमा कामदार र प्रहरीबीच झडपको स्थिति सिर्जना भएपछि दक्षिण अफ्रिकाका खानी उद्योगहरू गत वर्ष सर्वत्र चर्चामा आएका थिए।
समाधानको प्रयास
सरकारले त्यहाँका अवैध खानीहरूमाथि रोक लगाउने कोसिस गर्दै आएको छ। सरकारका अनुसार त्यस्ता खानीहरूका कारण गत वर्ष दक्षिण अफ्रिकाको अर्थतन्त्रले तीन अर्ब २० करोड डलर गुमाएको थियो।
सरकारले सन् २०२३ को डिसेम्बरमा त्यहाँका गिरोहहरूमाथि कडा कदम चाल्ने बताउँदै "भाला अमगोडी" अर्थात् 'सुरुङ बन्द गर्ने' अभियान सुरु गर्यो।
उक्त अभियानको हिस्साका रूपमा प्रहरीले स्टिलफोन्टेइनको सुरुङभित्र लगिने खाना र पानीको परिमाणलाई सीमित गरिदियो। उक्त अभियानबारे टिप्पणी गर्दै एक मन्त्रीले अवैध कामदारलाई "धुँवा लगाएर" बाहिर निकाल्न खोजिएको बताए। अधिकारीहरूले पक्राउ पर्ने डरले कामदारहरूले बाहिर निस्कन अस्वीकार गरेको बताएका थिए।
लगत्तै खान नपाएर दुर्बल बनेका मानिसहरू ज्यानको रक्षाका निम्ति याचना गरिराखेको देखिने भिडिओहरू बाहिरिए। ती भिडिओहरूमा शवका थैलाहरूको लस्कर समेत देखिन्थ्यो। अन्तत: अदालतले तिनीहरूको उद्धारका निम्ति सरकारलाई आदेश दियो।
त्यहाँबाट बाहिर ल्याइएकामध्ये धेरैजसोले आफू नाबालक भएको बताएका थिए। तर उनीहरूमध्येका कैयौँ उमेर पुष्टि गर्ने कागजात नभएका विदेशी कामदार भएकाले त्यसबारे अनुमान गर्न अधिकारीहरूले तिनको स्वास्थ्य परीक्षण गराउनु परेको थियो।
उक्त परीक्षणमार्फत् सामाजिक विकास विभाग (डीएसडी)ले स्टिरफोन्टेइनबाट उद्धार गरिएकामध्ये ३१ जना बालबालिका भएको पुष्टि गर्यो। तिनीहरू सबै मोजाम्बिकका नागरिक थिए र नोभेम्बारमा उनीहरूमध्ये २७ जनालाई फिर्ता पठाइयो।
दक्षिण अफ्रिकाको सेभ द चिल्ड्रेनले नाबालक कामदार र उद्धारकर्मीबीचका केही अन्तर्वार्ताहरूलाई अनुवाद गर्न मद्दत गर्यो।
"अरूमाथि यौनदुर्व्यवहार भएको समेत देखेकाले कोहीकोही गहिरो आघातबाट गुज्रिएका थिए," उक्त परोपकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गुगु जाबाले बीबीसीसँग भनिन्।
"यहाँबाट उम्किन सकिँदैन होला भन्ने भावनाले ती बालबालिकालाई मानसिक रूपमा ध्वस्त पारिदिन्थ्यो।"
"वयस्क कामदारहरू ती बालबालिकालाई मन पराएझैँ गरेर तिनलाई तयार पार्दथे।"
त्यसपछि तिनीहरूलाई वयस्कसँग यौनक्रिया गर्न बाध्य तुल्याइने र त्यसपछिका दिनमा उनीहरूमाथि बलात्कार हुने गरेको उनले बताइन्।
"त्यस्ता वयस्कले तीन वा चार जनालाई त्यसो गर्ने गरेको पाउन सकिन्छ।"
जाबाका अनुसार सस्तो पर्ने भएकाले र फकाइफुलाइ गर्न सजिलो हुने भएकाले खानीका गिरोहहरूले बालबालिकालाई काममा लिन्छन्।
"'म तिमीलाई दिनको एक डलर दिन्छु' भन्दा केटाकेटीहरूले बुझ्दैनन्। वयस्कहरूले कहिलेकाहीँ काम गर्न अस्वीकार गर्छन् तर बालबालिकाले आफूलाई निरुपाय पाउँछन्। त्यसैले पनि तिनलाई काममा लगाउन सजिलो हुन्छ। आफ्नो कुरा राख्न नसक्ने किसिमका केटाकेटीलाई त्यहाँ लैजान सजिलो हुन्छ।"
आर्थिक शोषणका अलावा त्यस्ता गिरोहहरू बालबालिकालाई यौनका निम्ति लैजान्छन्।
धेरै अवैध कामदारहरू कैयौँ महिना भूमिगत रहन्छन् र विरलै मात्र माथि सतहमा आउँछन्। उनीहरूका निम्ति चाहेका कुरा उपलब्ध गराउन भूमिगत बजार खुल्छन्।
"अधिकांश बालबालिकाको तस्करी उनीहरूलाई यौन दासदासीका रूपमा प्रयोग गर्नका निम्ति गरिन्छ। त्यसमा एक जना दलाल हुन्छ जसले पैसा लिन्छ र यसको अर्थ दिनहुँ उक्त बच्चालाई यौनकर्मीका रूपमा प्रयोग गरिन्छ भन्ने हो।"
यौन दुर्व्यवहारको आरोपमा कसैलाई कारबाही भए नभएबारे बीबीसीले राखेको जिज्ञासामा प्रहरी र डीएसडीद्वारा कुनै प्रतिक्रिया प्राप्त भएन।
स्टिफोन्टेइनसम्बन्धी मामिलामा कार्यरत एक स्रोतले केटाकेटीहरूले बयान दिन नचाहेको बताए।
यसबीचमा अवैध खानी उद्योग भने निरन्तर रूपमा मौलाइरहेको छ।
सम्भावित अन्वेषणका निम्ति लगभग ६,००० वटा खानीहरू उपलब्ध रहेको भन्ने आकलनले यो व्यवसाय बन्द हुने सङ्केत नदेखिनुका साथै हजारौँ नाजुक बालबालिकाको जीवन जोखिममा रहेको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।