रुसमा युद्ध लडिरहेका उत्तर कोरियाली सेनाबारे हामीलाई के थाहा छ?

    • Author, केली एङ
    • Role, बीबीसी न्यूज

किएभ र वाशिङ्टनका अनुसार रुसमा रहेका उत्तर कोरियाली सैनिकहरू हताहत भएको पहिलो पटक पुष्टि भएको छ।

रुसको पक्षबाट युक्रेनविरुद्ध लड्न उनीहरू सामेल भएयता यसै महिनाको सुरुसम्ममा कम्तीमा १०० जना उत्तर कोरियाली सैनिकहरू मारिएको दक्षिण कोरियाका सांसद ली सुङ-क्वानले सोलको गुप्तचर निकायलाई उद्धृत गर्दै बताएका छन्।

मध्य डिसेम्बरमा कुर्स्क क्षेत्रमा भएको लडाइँमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकहरू मारिएको वा घाइते भएको युक्रेनी गुप्तचरहरूले बताएका छन्।

पेन्टागनका अधिकारीहरूले पनि त्यहाँ हताहत भएको पुष्टि गरेका छन् तर उनीहरूले कति मानिसहरू मारिए वा घाइते भए भन्ने विवरण दिएका छैनन्।

पेन्टागनले कुर्स्क क्षेत्रको सीमामा इन्फ्यान्ट्री (स्थल) सैनिकको रूपमा उत्तर कोरियाली सेना खटिएको जस्तो देखिएको जनाएको छ।

उक्त क्षेत्रलाई रुसले पुन: युक्रेनी नियन्त्रणबाट कब्जामा लिन खोजेको छ। त्यसको अर्थ के हो भने उत्तर कोरियाली सैनिकहरू युक्रेनको सबै सीमामा खटिएका छैनन्।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र दक्षिण कोरियाली अधिकारीहरूले प्योङयाङले रुसी अतिक्रणमलाई सघाउन आफ्ना सैनिकहरू पठाएको आरोप लगाएको करिब दुई महिनापछि यस्तो विवरण आएको हो।

तर त्यसपछि न्यून सूचनाहरू मात्र बाहिर आएका छन् र मस्को तथा प्योङयाङले उक्त आरोपबारे सीधै कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

पेन्टागनले झन्डै ११ हजार उत्तर कोरियाली सैनिकहरू रुसमा खटिएको अनुमान गरेको छ।

ब्लूम्बर्ग न्यूजले चाहिँ नाम नखुलाइएको स्रोतलाई उद्धृत गर्दै त्यहाँ बढीमा एक लाखसम्म उत्तर कोरियाली सैनिकहरू खटिएको जनाएको छ।

उत्तर कोरियाली सैनिकहरूलाई रणभूमिसम्बन्धी अनुभव कम भएकाले सुरुमा उनीहरूलाई गैर-लडाकू भूमिका दिइएको हुन सक्ने ठानिएको थियो।

तर अमेरिका र युक्रेनले उत्तर कोरियाली सैनिकहरू युक्रेनी सैनिकसँग लडाइँमा संलग्न भएको बताएपछि त्यो धारणाबारे पुनर्विचार गरियो।

उसोभए रुसी युद्धमा संलग्न उत्तर कोरियाली सैनिकहरूबारे हामीलाई हालसम्म के थाहा छ?

उत्तर कोरियाली सैनिक कति प्रभावकारी?

त्यसबारे भन्न निकै कठिन छ।

विश्वसामु खासै नखुलेको उत्तर कोरिया विश्वका सबैभन्दा धेरै सैनिकहरू भएको देशमध्येमा पर्छ। उक्त देशसँग १२ लाख ८० हजार सक्रिय सैनिकहरू छन् तर रुसी सेनाको जस्तो कोरियाली पिपल्स आर्मी (केपीए)सँग हालै कुनै युद्धको लडेको अनुभव भने छैन।

सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरन्याशनल स्टडीज (सीएसआईएस) का मार्क क्यान्सिअन प्योङयाङको सेना "पूर्ण रूपमा प्रशिक्षित तर कम तयारी अवस्था"को रहेको बताउँछन्।

तर उनी कमान्डरहरूले आफ्ना मातहतका सैनिकको ज्यानको वास्ता नगरी युद्धभूमिमा खटाएका सिपाहीका रूपमा मात्र उत्तर कोरियाली सेनालाई हेर्न नहुने बताउँछन्।

युक्रेनी तथा दक्षिण कोरियाली गुप्तचर निकायहरूले रुसमा खटाइएका उत्तर कोरियाली सैनिकमध्ये कैयौँ सैनिकहरू प्योङयाङका उत्कृष्ट सेनामा पर्ने बताएका छन्।

ती सैनिकहरूलाई इलेभेन्थ कोरबाट लिइएको छ र त्यसलाई 'स्ट्रोम कोर' पनि भनिन्छ।

उत्तर कोरियाली सेनाको उक्त इकाइलाई घुसपैठ गर्न, पूर्वाधारहरू ध्वस्त पार्न र गोप्य रूपमा हत्याहरू गर्न तालिम दिइएको छ।

उनीहरूलाई "उच्चस्तरको शारीरिक पीडा र मनोवैज्ञानिक यातनाको सामना गर्ने तालिम दिइएको" वाशिङ्टनको स्टिम्सन सेन्टरका उत्तर कोरिया विशेषज्ञ माइकल म्याडेनले बताए।

उनी भन्छन्, "लडाइँमा तिनको जे कमजोरी छ त्यसलाई तिनले शारीरिक र मानसिक रूपमा सहन सक्ने क्षमता विकास गरेर भर्पाइ गरेका छन्।"

क्यान्सिअन पनि त्यसमा सहमत हुँदै "यदि उनीहरू स्पेशल अपरेशन फोर्सका भएमा उनीहरू औसत उत्तर कोरियाली सैन्य इकाइका सैनिकहरूभन्दा निकै चुस्त भएका" हुन सक्ने बताउँछन्।

उनी भन्छन्, "रुसीहरूले उनीहरूलाई युक्रेनी युद्धको विशेष परिस्थितिमा थप प्रशिक्षण दिइरहेको पनि देखिन्छ।"

त्यसलाई सामाजिक सञ्जालमा पोस्ट भएका भिडिओहरूले पनि स्पष्ट पारेका छन्। त्यसमा रुसमा सैन्य प्रशिक्षण केन्द्र जस्तो देखिने स्थानमा रुसको बर्दीमा उत्तर कोरियालीजस्ता देखिने पुरुषहरूले तालिम लिइरहेको देखिन्छ।

युक्रेन युद्ध सुरु भएको तेस्रो वर्ष हुनै लाग्दा रुसमा भएका सैनिकमध्ये उत्तर कोरियालीहरू "सबैभन्दा सक्षम" हुन सक्ने दक्षिण कोरियाली सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जेनेरल चुन इन-बम बताउँछन्।

नेटोका अनुसार मस्कोले आफ्नो युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ प्रति महिना कम्तीमा २० हजार नयाँ सैनिकहरू भर्ती गरिरहेको छ र औसतमा दैनिक एक हजार जनाभन्दा बढी सैनिकहरू मारिएका वा घाइते भइरहेका छन्।

"[रुस] ले उचित तालिमविनै अग्रमोर्चामा सेना पठाउँदै आएको छ। त्यसरी गरिएको सैन्यभर्तीको तुलनामा उत्तर कोरियालीहरू प्रशिक्षित र उत्प्रेरित छन्। अहिले उनीहरू लडाइँको प्रत्यक्ष अनुभव प्राप्त गरेको अवस्थामा छैनन् तर चाँडै त्यस्तो हुने छैन," चुनले भने।

यद्यपि अहिले पनि केही विज्ञहरू भाषिक अवरोध र रुसी प्रणालीको ज्ञान कम हुँदा उत्तर कोरियाली सैनिकहरूका लागि लडाइँसम्बन्धी भूमिका जटिल हुने ठान्छन्।

उनीहरू प्योङयाङका सेनालाई उनीहरूका इन्जिनियरिङ तथा निर्माणसम्बन्धी क्षमताका निम्ति लिइएको हुन सक्ने ठान्छन्।

उत्तर कोरियाले किन रुसी युद्धलाई समर्थन गरिरहेको छ?

"उत्तर कोरियाका लागि [यस्ता तैनाथी] पैसा कमाउने राम्रो तरिका हो," कोरिया रिस्क ग्रुपका निर्देशक आन्द्रेई लान्कोभ भन्छन्।

दक्षिण कोरियाली गुप्तचरहरूको अनुमानमा मस्कोले प्योङयाङलाई हरेक महिना प्रतिसैनिक दुई हजार अमेरिकी डलर बराबरको रकम तिरिरहेको छ र त्योमध्ये अधिकांश रकम राज्यकोषमा जान्छ।

प्योङयाङले रुसी सैन्य प्रविधिमा पहुँच पनि प्राप्त गर्न सक्ने लान्कोभ बताउँछन्। त्यस्तो प्रविधि अन्यथा सहजै उत्तर कोरियालाई हस्तान्तरण गर्न मस्को इच्छुक हुँदैन थियो।

मस्कोका निम्ति चाहिँ उसले भोगिरहेको भनिएको जनशक्तिको अभाव उत्तर कोरियाली सैनिकहरूबाट पूर्ति गर्न मद्दत पुगेको छ।

अमेरिकी अनुमानमा सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेयता ६ लाख जनाभन्दा बढी रुसी सैनिकहरू मारिएका वा घाइते भएका छन्।

सीएसआईएसका क्यान्सिअनका अनुसार मस्कोले स्वयंसेवा गर्न चाहने र आफ्नो देशको नागरिकता दिने वाचासहित विदेशीहरूलाई भर्ती गरेर (युद्धका कारण हुने) "घरेलु राजनीतिक प्रभावलाई न्यूनीकरण" गर्ने प्रयास गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत सेप्टेम्बरमा पुन: आफ्नो सेना विस्तार गर्ने आदेश जारी गरेका छन्। युक्रेन युद्ध सुरु भएपछि जारी गरेको यस्तो खाले यो तेस्रो आदेश हो।

"रुसले युद्ध मैदानमा एक हजार जना भन्दा बढी [उत्तर कोरियाली] सैनिक मारिएको अवस्था भोग्दा, त्यसले (विदेशी सैनिक प्रयोग) पुटिन सत्तालाई दबाब केही कम गर्न सक्छ," ड्यानिअल के इनोए एशिया-प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडीजका प्राध्यापक लमी किम भन्छन्।

दक्षिण कोरियाले के सोचिरहेको छ?

यी पछिल्ला घटनाक्रमले सोललाई चिन्तित तुल्याएको छ र विशेषगरी कोरियाली प्रायद्वीपमा तनाव बढेको छ।

गत अक्टोबरमा प्योङयाङमाथि ड्रोन उडाएको आरोप लगाएको केही दिनपछि उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएका दुईवटा सडकखण्डहरू ध्वस्त गरिदिएको थियो।

उक्त घटना दुवै देशहरूले एक अर्काको क्षेत्रभित्र "जस्तालाई त्यस्तै गर्ने" अभियानस्वरूप विभिन्न प्रचारहरू गर्दै हजारौँ बलुनहरू उडाएपछि भएको थियो।

उत्तरले दक्षिणलाई "एक नम्बरको शत्रु" घोषणा गरेको केही समयपछि दुवै कोरियाले सैन्य तनाव कम गर्ने उद्देश्यले भएको सम्झौतालाई पनि स्थगित गरेका छन्।

त्यसले गर्दा उत्तर कोरियाले नयाँ सैन्य क्षमता हासिल गरेको देख्दा दक्षिण कोरिया चिन्तित बनेको छ।

सन् १९७५ मा सकिएको भियतनाम युद्धपछि दक्षिण कोरियाका सैनिकहरूले पनि ठूलो युद्ध लडेका छैनन्।

त्यसले गर्दा युद्ध मैदानमा खटिएका आफ्ना सैनिकको अनुभवका आधारमा "आफ्नो प्रमुख विरोधीले शत्रुतापूर्ण क्षमताको दम्भ देखाउन सक्ने" डर सोललाई भएको चुन बताउँछन्।

दक्षिण कोरियाले उत्तरले रुसलाई अस्त्रहरू आपूर्ति गरेको पनि आरोप लगाएको छ। अझ फौज नै पठाउनु झन् ठूलो कुरो भएको उसको भनाइ छ।

उसले प्योङयाङ र मस्को बीच भएको सम्झौताप्रति "गम्भीर चिन्ता" पनि व्यक्त गरेको छ।

उक्त सम्झौता अन्तर्गत यी दुई देशमध्ये कुनै मुलुकविरुद्ध कसैले गरेको "आक्रमण"को अवस्थामा एकले अर्कोलाई मद्दत गर्ने विषय उल्लेख गरिएको छ।

उसले "प्रतिरक्षा गर्ने उद्देश्यका लागि" युक्रेनलाई सहयोग गर्ने विचार गरेको पनि बताएको छ।

यदि त्यस्तो भएमा प्रत्यक्षरूपमा सक्रिय द्वन्द्वमा संलग्न देशहरूलाई अस्त्र आपूर्ति नगर्ने दक्षिण कोरियाको लामो समयदेखिको नीतिमा परिवर्तन ल्याउनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।