मस्कोमा 'स्कूटर बम' विस्फोटन हुँदा रुसी जेनरलको मृत्यु, 'युक्रेनको तारोमा' किन परे

रुसको राजधानी मस्कोमा 'स्कूटर बम' विस्फोटन हुँदा रुसी सेनाका एक वरिष्ठ अधिकारीको मृत्यु भएको छ। युक्रेनले उक्त आक्रमण आफूले गराएको दाबी गरेको छ।

मस्कोस्थित एउटा आवासीय क्षेत्रको द्वारमा दुईपाङ्ग्रे विद्युतीय सवारीसाधनमा लुकाइएको विस्फोटक पदार्थयुक्त उपकरण मङ्गलवार बिहानपड्किँदा लेफ्टिनन्ट जेनरल इगोर किरिलोफको ज्यान गएको हो।

किरिलोफ रुसको विकिरण, रासायनिक तथा जैविक सुरक्षा फौजका प्रमुख थिए।

पश्चिमा देशहरूले उनी युक्रेनमा जारी युद्धमा रुसी रासायनिक अस्त्रहरूको प्रयोगका लागि जिम्मेवार भएको आरोप लगाउँदै आएका थिए।

युक्रेनी सुरक्षा निकाय 'एसबीयू'ले आफूले किरिलोफमाथि आक्रमण गर्न विशेष कारबाही गरेको दाबी गरेको छ।

उक्त घटनामा परी किरिलोफसँगै उनका एक सहयोगीको पनि मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन्।

मस्कोको दक्षिणपूर्वी भेगमा अवस्थित आफू बसेको भवनबाट किरिलोभ बाहिर निस्किनासाथ विद्युतीय स्कूटरमा राखिएको बम विस्फोट भएको थियो।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार मङ्गलवार विस्फोटन भएको 'स्कूटर बम'मा ३०० ग्राम विस्फोटक पदार्थ प्रयोग भएको थियो।

रुसको माथिल्लो सदनका उपसभामुख कोन्स्टान्टिन कोसाचेफले किरिलोफको मृत्युलाई "अपूरणीय क्षति" भनेका छन्।

किरिलोफ को हुन्, किन तारोमा परे

किरिलोफ रुसी रक्षा मन्त्रालयले गर्ने 'अस्वाभाविक ब्रीफिङ'मा देखा पर्थे। यूकेको विदेश मन्त्रालयले उनलाई "क्रेम्लिनसम्बन्धी कुसूचनाका मुख्य प्रवक्ता"को सङ्ज्ञा दिएको थियो।

उनले आधारहीन दाबीहरूका कारण रुस-युक्रेन युद्ध सुरु भएदेखि नै किरिलोफ युक्रेन र पश्चिमा राष्ट्रहरूका आँखामा अप्रिय बनेका थिए।

उनी रुसी प्रवक्ता मात्रै थिएनन्। उनी रुसको तिमोशेन्को विकिरण, रासायनिक तथा जैविक सुरक्षा प्रतिष्ठानका प्रमुख पनि थिए। सन् २०१७ देखि उनले रुसी सेनाको विकिरण, रासायनिक तथा जैविक सुरक्षा फौजको नेतृत्व पनि गरे।

उक्त फौजले जोखिम पहिचान गर्ने र सैन्य एकाइहरूलाई दूषित हुन नदिने तथा "शत्रुलाई ज्वलनशील उपायबाट हानि पुर्‍याउने" काम गर्ने रुसको रक्षा मन्त्रालयले जनाएको छ।

यूकेको विदेश मन्त्रालयका अनुसार उनले नेतृत्व गरेको फौजले "युक्रेनमा रासायनिक अस्त्रको नृशंस प्रयोग" गरेको थियो। यूकेको विदेश मन्त्रालयले दङ्गा नियन्त्रणका लागि चलनचल्तीमा रहेका रासायनिक पदार्थको रुसी फौजबाट व्यापक प्रयोग भएको र "निसास्सिने गराउने विषाक्त पदार्थ क्लोरोपिक्रिन प्रयोग गरेको भन्ने विभिन्न विवरण"मा विशेष जोड दिएको थियो।

एक दिनअघि युक्रेनमा मुद्दा परेको थियो

पूर्वी र दक्षिणी युक्रेनस्थित युद्धमोर्चाहरूमा प्रतिबन्धित रासायनिक अस्त्रहरूको अत्यधिक प्रयोग गरेको अभियोगमा एसबीयूले किरिलोफविरुद्ध किएभस्थित एउटा अदालतमा सोमवार मुद्दा हालेको थियो।

उक्त निकायले रुसले सन् २०२२ को फेब्रुअरीमा धावा बोलेपछि युक्रेनी भूमिमा "४,८००० भन्दा बढी पटक रासायनिक हतियार" प्रयोग भएको दाबी गरेको छ।

एसबीयूका अनुसार ड्रोन र ग्रिनेडमा पनि विषालु पदार्थहरू प्रयोग गरिएका थिए।

'रुसलाई सन्देश'

किरिलोफले गरेको एउटा अपत्यारिलो दाबीमा संयुक्त राज्य अमेरिकाले युक्रेनमा जैविक अस्त्र बनाउने प्रयोगशालाहरू बनाइरहेको छ भन्ने थियो। उक्त दाबीलाई आधार देखाएर उनले रुसले युक्रेनमा आक्रमण गरेको तर्क गरेका थिए।

यो वर्ष उनले युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रहेको परमाणु ऊर्जा केन्द्र कब्जा गर्ने उद्देश्यसहित जबाफी सैन्य कारबाही गरेको दाबी गरेका थिए।

उनले युक्रेनले "डर्टी बम" अर्थात् निकै घातक परमाणुबम बनाउन खोजेको दाबी बारम्बार गर्दै आएका थिए।

उनको मृत्युबाट युक्रेनले रुसलाई आफूसँग मस्कोस्थित उच्चपदस्थ अधिकारीहरूलाई घात गर्न सक्ने सामर्थ्य भएको सन्देश दिएको जस्तो देखिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।