उत्तर कोरियाली फौज युक्रेनविरुद्धको रुसी युद्धमा सामेल हुने सम्भावनाको लेखाजोखा

    • Author, जेम्स वाटरहाउस र ओल्गा इभ्सिना
    • Role, बीबीसी किएभ संवाददाता र बीबीसी रसिअन

युक्रेनी सैन्य गुप्तचर स्रोतले रुसी सेनाले ३,००० जति उत्तर कोरियालीहरू सामेल एउटा एकाइ गठन गरिरहेको र पछिल्लो प्रतिवेदनले प्योङ्याङले क्रेम्लिनसँग घनिष्ठ सैन्य गठबन्धन गरिराखेको देखाएको बीबीसीलाई बताएका छन्।

अहिलेसम्म बीबीसीले रुसको सुदूरपूर्वमा त्यति ठूलो एकाइ गठन भएको कुनै पनि किसिमको सङ्केत देखेको छैन र क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोभले पनि उत्तर कोरियाको संलग्नतासम्बन्धी समाचारलाई खारेज गरिदिएका छन्।

"ब्रिटिश मात्रै होइन, अमेरिकी गुप्तचरले पनि त्यसै भन्छन्। उनीहरू सधैँ यसो भनिरहन्छन्, तर कहिल्यै पनि प्रमाण दिँदैनन्," उनले भने।

बढ्दो निकटता

मस्को र प्योङयाङले हालका महिनाहरूमा सहकार्यलाई घनीभूत पारेकोमा कुनै शङ्का छैन। उत्तर कोरियाली नेता किम जङ उनले गत सातामात्रै भ्लादिमिर पुटिनलाई "निकटका कमरेड" भन्दै जन्मदिनको शुभकामना पठाएका थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाले युद्धमा भाग लिने कुरा गरेका छन् भने दक्षिण कोरियाका रक्षामन्त्रीले यस महिना युक्रेनमा उत्तर कोरियाली तैनाथीको "उच्च सम्भावना" रहेको बताएका छन्।

सबैभन्दा ठूलो प्रश्न चिह्नचाहिँ उनीहरू कत्रो सङ्ख्यामा संलग्न हुन्छन् भन्नेमा हो।

सुदूरपूर्वी रुसस्थित सैन्य स्रोतले बीबीसी रसिअनसँग "निश्चित सङ्ख्यामा उत्तर कोरियालीहरू आइसकेका" र उनीहरूलाई भ्लादिभोस्तोकबाट उत्तरमा अवस्थित उस्सुरियस्क नजिकैको एउटा सैन्य आधारमा राखिएको पुष्टि गरेको छ। सङ्ख्या खुलाउन अस्वीकार गरेको उक्त स्रोतले तिनीहरू "३,००० को आसपास भने बिलकुलै नरहेको"जनायो।

सैन्य विशेषज्ञहरूले बीबीसीसँग रुसी सैन्य एकाइहरूले आफ्ना हजारौँ सैनिकका माझ उत्तर कोरियालीहरूलाई सफलतापूर्वक समावेश गराउन सक्लान् भन्नेमा शङ्का व्यक्त गरेका छन्।

"सुरुमा सयौँको सङ्ख्याका कैदीहरूलाई सामेल गर्ने बेला पनि सजिलो भएको थिएन। उनीहरू त रुसीसमेत बोल्थे," एक विश्‍लेषकले बीबीसीसँग भने। रुसमै बस्ने भएकाले उनले आफ्नो नाम प्रकाशमा ल्याउन चाहेनन्।

उनीहरूले ३,००० कै सङ्ख्यामा त्यसो गरे भने पनि युद्धभूमिमा त्यसले खासै फरक पार्नेवाला छैन। तर यसमा अमेरिका पनि युक्रेनजत्तिकै चिन्तित देखिएको छ।

"यसले उनीहरूको सम्बन्धमा उल्लेखनीय वृद्धि हुने छ," अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले भने। उनले यसलाई युद्धमैदानको हारसँग सम्बन्धित "रुसको नयाँ तहको छटपटाहट"का रूपमा हेरेको बताएका छन्।

उत्तर कोरियाले पहिल्यैदेखि सघाउँदै आएको थियो

गएको जुन महिनामा भ्लादिमिर पुटिनले किम जङ उनसँग "शान्तिपूर्ण र रक्षात्मक" सम्झौताको उत्सव मनाएका थिए।

उत्तर कोरियाले रुसलाई युद्धसामग्री उपलब्ध गराइराखेको पुष्टि गर्ने प्रशस्त प्रमाणहरू छन्। हालै युक्रेनको पोल्टाभा क्षेत्रमा भेटिएको एउटा क्षेप्यास्त्रले पनि त्यो देखाउँछ।

रुसको सैन्य समुदाय संलग्न 'टेलिग्राम च्याट'मा भएका कुराकानीका विवरणहरू सन् २०२३ को डिसेम्बरसम्मै पुग्छन्, जसमा प्योङ्याङद्वारा पठाइएका 'माइन' र 'शेलहरू'को आपूर्तिबारे चर्चा भएको छ।

युक्रेनमा तैनाथ रुसी सैनिकहरू प्रायश: हतियारको स्तरबारे गुनासो गरिराखेका हुन्छन् र त्यहाँ दर्जनौँ सैनिक घाइते पनि भएका छन्।

कुर्स्क क्षेत्रमा तैनाथ गरिनुअघि उत्तर कोरियाली सैनिकहरूको एउटा एकाइले मङ्गोलियाको सीमानजिकैको उलान-उडे क्षेत्रमा तयारी गरिरहेको किएभको आशङ्का छ। यो त्यही स्थान हो, जहाँबाट रुसी सेनाले अगस्टमा उक्त क्षेत्रलाई फिर्ता लिने कोसिस थालेको थियो।

"उनीहरूले रुस-युक्रेन सीमाका केही भागहरूमा पहरा दिन सक्ने छन्, जसले गर्दा रुसी सैनिकहरू अन्य ठाउँमा लड्न जानका निम्ति फुक्का हुने छन्," युक्रेनी प्रकाशन 'डिफेन्स एक्स्प्रेस'का सम्पादक भलेरी र्‍याबेइखले भने।

"म ती एकाइहरू तुरुन्तै अग्रपङ्क्तिमा देखा पर्ने सम्भावनालाई भने अस्वीकार गर्छु।"

यस्तो सोच्ने र्‍याबेइख एक्ला होइनन्।

उत्तर कोरियाली सेनाको सामर्थ्य

उत्तर कोरियासँग लगभग १२ लाख ८० हजार सैनिक छन्, तर रुसी सेनाको विपरीत उत्तर कोरियाली सेनासँग लडाइँमा सामेल भएको ताजा अनुभव छैन। प्योङ्याङले पुरानो सोभियत शैलीलाई पछ्याएको छ, तर उसको 'मोटराइज्ड इन्फन्ट्री'मा आधारित मूल फौज युक्रेनको युद्धमा कसरी समायोजित हुन सक्छ भन्ने स्पष्ट छैन।

त्यसपछि उनीहरूलाई भाषाको समस्या हुनुका साथै रुसी प्रणालीसँग घुलमिल नभएका कारण कुनै पनि भूमिकामा रहेर लड्नमा कठिनाइ हुने छ।

यद्यपि यी समस्याहरूले उत्तर कोरियाली सेनालाई युक्रेनमा रूसको पूर्णस्तरको युद्धमा भाग लिन रोक्दैनन्, तर विज्ञहरूको नजरमा लडाइँका निम्ति नभई इन्जिनियरिङ र निर्माण कार्यमा उनीहरूको दख्खल छ।

दुवैका आआफ्नै रुचि

सम्भावित सहकार्यमा रुस र उत्तर कोरिया दुवैका आआफ्नै रुचि छन्। प्योङ्याङलाई पैसा र प्रविधि चाहिएको छ, मस्कोलाई सैनिक र हतियारसम्बन्धी सामग्रीको खाँचो छ।

"प्योङ्याङलाई राम्रो भुक्तानी हुन सक्छ र उसले रुसी सेनाको प्रविधिमा समेत पहुँच हासिल गर्न सक्छ, जसको हस्तान्तरणबारे अन्यथा मस्को अनिच्छुक हुन सक्थ्यो," कोरिया रिस्क ग्रूपका निर्देशक आन्द्रेई ल्यान्कोभ भन्छन्।

"यसले उत्तर कोरियाको सेनालाई वास्तविक लडाइँको अनुभव पनि प्रदान गर्ने छ। तर सँगसँगै यसले उत्तर कोरियालीहरूलाई पश्चिमा जीवनशैलीसँग साक्षात्कार गराउन सक्ने जोखिम पनि छ, जसलाई तुलनात्मक रूपमा समृद्ध ठानिन्छ।"

पुटिनलाई साढे दुई वर्षभन्दा धेरै समयावधिको युद्धमा भएको महत्त्वपूर्ण क्षतिलाई यथाशीघ्र पूर्ति गर्नु छ।

बेलायतस्थित 'कन्फ्लिक्ट स्टडिज रिसर्च सेन्टर'का भ्यालेरी अकिमेन्कोका विचारमा उत्तर कोरियाली सेनाको तैनाथीले रूसी नेतालाई सैन्य परिचालनसम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत पुग्न सक्छ, जुन अघिल्लो चरणमा सहज भएको थिएन।

"तिनीहरू के सोच्छन् भने– युक्रेनले रुसी फौजहरूलाई पातलो पारिदिएका बेला किन उत्तर कोरियालीहरूलाई केही लडाइँमा भाग लिन नदिने? क्या गजबको विचार!"

युक्रेनका राष्ट्रपति जेलेन्स्की शत्रुपक्षको गठबन्धन कसरी विकसित हुन सक्छ भन्नेबारे स्पष्टसँग चिन्तित छन्। तनाव बढ्ने डरले नै युक्रेनका मैदानमा पश्चिमी 'बूट'हरू उत्रिएका छैनन्।

यद्यपि सयौँको सङ्ख्यामा उत्तर कोरियालीहरूको तैनाथीको तयारीसम्बन्धी विवरणहरू सही रहेछन् भने पनि यस द्वन्द्वमा विदेशी सेनाको प्रवेशको विषय भ्लादिमिर पुटिनका निम्ति कम चिन्ताको विषय हुने सक्ने देखिन्छ।

पोल किर्बी, केली एङ र निक मार्शको अतिरिक्त रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।