के ब्रजिलका क्यासिमेरो 'संसारकै उत्कृष्ट मिडफिल्डर' हुन्?

    • Author, शमुन हफेज
    • Role, बीबीसी स्पोर्ट, कतार ९७४ रङ्गशाला

स्वीट्जर्ल्याण्डसँग सोमवारको खेल हुनु अघिसम्म उनलाई ब्रजिलका महत्त्वपूर्ण ‘अदृश्य खेलाडी’ भनिएको थियो।

खेल सकिने बेलासम्म आइपुग्दा उनलाई ‘विश्वकै उत्कृष्ट मिडफिल्डर’ भनिँदै छ।

निरस खेलमा जादू

स्वीट्जर्ल्याण्डसँगको खेल निरस बराबरीमा टुङ्गिने जस्तो देखिएको थियो। तर म्यान्चेस्टर युनाइटेड क्लबबाट पनि खेल्ने यी खेलाडीको मनमा भने अर्थोकै रहेछ।

खेल सकिन ७ मिनेट मात्र बाँकी थियो। कतिपय दर्शक फर्कने सुरसार गर्दै थिए।

त्यति नै बेला क्यासिमेरोले रोक्नै नसकिने प्रहार गरे र बल स्वीट्जर्ल्याण्डको गोल पोस्टको कुनामा पुग्यो। अचानक आइपरेको खुसीले दर्शकहरूको आवाज रङ्गशालाभरि गुञ्जियो।

उक्त गोलले ब्रजिललाई प्रतियोगिताको पहिलो चरणको एक खेल बाँकी छँदै दोस्रो चरणको अन्तिम १६ मा पुर्‍याइदिएको छ।

रङ्गशालामा खेल हेर्न सँगै उपस्थित ब्रजिलका महान खेलाडीहरू रोनाल्डो, रोबर्टो कार्लोस र काफुले पनि खुसी साटासाट गरे।

“मैले गोल गरेँ तर सारा टोलीलाई सघाउ पुर्‍याउनु मुख्य कुरा थियो,” प्लेयर अफ द म्याच क्यासिमेरोले भने।

“हामीले जित्दा सबैले जित्ने हो हार्दा सबैले हार्ने हो। यसले मेरो मनस्थिति बदलिँदैन

“यो एउटा टोली हो। ब्रजिलको राष्ट्रिय टोलीका खेलाडीका रूपमा हामीले सामूहिक भावनामा खेल्नुपर्छ। उपाधि जित्न यो नै सबभन्दा आवश्यक हुन्छ।”

क्यासिमेरोको कला

खेल सुरु हुनुभन्दा अघि देखि नै रङ्गशाला भित्र र बाहिर हुलका हुल मानिसहरू ब्रजिलकै जर्सी लगाएर अनि हरियो-पहेँलो स्कार्फ लगाएर यता उता गरिरहेका थिए।

दोहाको ‘रङ्गशाला ९७४’ मा खेल हेर्न आएका मध्ये ब्रजिलका प्रशंसक अत्यधिक सङ्ख्यामा थिए।

कैयौँ प्रशंसकले ब्रजिलका खेलाडी नेयमारको जर्सी लगाएका थिए। क्यासिमेरोको जर्सी लगाएका कोही देखिएनन्।

बीबीसी स्पोर्टका निम्ति लेख्दै ब्रजिलका पूर्व मिडफिल्डर गिल्बर्टो सिल्भाले क्यासिमेरोमाथि ठूलो जिम्मेदारी भएको बताए।

उनको रक्षा कौशलका कारण आक्रामक खेल सीप भएकाहरू चम्कन पाउने उनले बताए।

अन्तत: क्यासिमेरोले सबैथोक आफैँ गर्नु पर्‍यो।

विपक्षीलाई रोक्ने देखि लिएर आक्रमण पनि गरे। अनि उनले आफ्नो पहिलो विश्वकप गोल पनि गरे।

उनले गरेको गोलले निरस खेलमा जीवन भर्‍यो।

खेल सकिएपछि अन्य खेलाडीसँगै जोडिएर उनी पनि उत्सवमा उत्रिए।

जितपश्चात् ब्रजिल दोस्रो चरणमा पुगेको छ।

परिणामलगत्तै नेयमारले ट्वीट गरे: ‘लामो समयदेखि क्यासिमेरो संसारकै उत्कृष्ट मिडफिल्डर हुन्।’

रियल मड्रिड क्लबमा ९ सिजन खेलेपछि गत अगस्टमा ६ करोड पाउन्डको सम्झौतामा क्यासिमेरो म्यान्चेस्टर युनाइटेडमा आबद्ध भए।

उनी सम्बद्ध टोलीले लगभग सबै महत्त्वपूर्ण उपाधि जितेका छन् जसमा पाँचवटा च्याम्पियन्स लिग उपाधि, तीनवटा ला लिगा उपाधि र सन् २०१९ को कोपा अमेरिका उपाधि।

तर विश्व फुटबलको सबभन्दा विशिष्ट उपाधि अझसम्म उनको खातामा छैन।

चार वर्ष अगाडि ब्रजिल क्वार्टर फाइनलमा बेल्जियमसँग पराजित भएको थियो। त्यतिखेर क्यासिमेरोको साटो फर्न्यान्डिन्यो मध्यपङ्क्तिमा खेलेका थिए।

सन् २००२ यता यस पटक ब्रजिल विश्वकप उपाधि जित्ने होडमा अगाडि देखिन्छ।

त्यसको कारण बताउँदै क्यासिमेरोले भने, “नयाँ खेलाडीहरू छन्। यो वर्ष हामीसँग विकल्प पनि धेरै छन्। टोलीमा खेलाडी छान्न सहज छ। हामी खेल शैली पनि बदल्न सक्छौँ। त्यसैले सन् २०१८ मा भन्दा पक्का पनि धेरै विकल्प छन्।”