तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप फुटबलमा मोरोक्कोसँग हारेपछि बेल्जियममा दङ्गा
कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा बेल्जियमको टोली अफ्रिकी टोली मोरोक्कोसँग २-० ले हारेपछि बेल्जियम तथा छिमेकी नेदर्ल्याण्ड्सका कतिपय सहरहरूमा दङ्गा फैलिएको छ।
बेल्जियमको राजधानी ब्रसल्समा एक दर्जन मानिस पक्राउ परेका छन् भने एन्टवर्प सहरमा थप ८ जना पक्राउ परेका छन्।
दर्जनौँ फुटबल प्रशंसकहरूले पसलका झ्याल फुटाइदिए, पटाखा पड्काए अनि गाडीहरूमा आगजनी गरे।
छिमेकी देश नेदर्ल्याण्ड्सको राजधानी एम्सटर्डममा सयौँ फुटबल प्रशंसक जम्मा भएर आतसबाजी पड्काउँदै आगो समेत लगाइदिएपछि त्यहाँ दङ्गा प्रहरी खटाइएको छ।
बेल्जियममा मोरोक्को मूलका पाँच लाख मानिसको बसोबास रहेको छ।
रोटरड्याम तथा द हेग सहरमा पनि हिंसात्मक घटनाहरू भएका छन्।
बेल्जियमको हार
आइतवारको खेलमा बेल्जियमविरुद्ध मोरोक्कोले २ गोल गरेर जितेको थियो।
उक्त हारपश्चात् पनि बेल्जियम विश्वकपबाट बाहिरिसकेको भने छैन।
तर हारपछि बेल्जियमको टोलीका कमजोरीलाई लिएर भने धेरै चर्चा भइरहेका छन्।
बेल्जियमको फुटबल टोलीको ‘सुनौलो पुस्ता’का दुई खेलाडी यसपाली थोरैथोरै समयमात्र खेलिरहेका छन् भने अर्का चर्चित खेलाडी केभिन डे ब्रोइनले पनि उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन्।
एडन हाजार्ड तथा बेल्जियमका कीर्तिमानी गोलस्कोरर रोमेलु लुकाकु चोटपटकका कारण थोरै समयमात्र खेल्न पाइरहेका छन्।
अनि टोलीको मनस्थिति पनि सकारात्मक नभएको चर्चा छ।
बिहीवार क्रोएशियासँगको खेल जितेमा भने बेल्जियम अन्तिम १६ मा छनोट हुनेछ।
उसले पहिलो खेलमा क्यानडालाई १ गोलले जितिसकेको छ।