तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्धमा बढी क्षति बेहोर्दै रुस, अहिलेसम्म '२.५ लाख रुसी सैनिकको मृत्यु'
- Author, ओल्गा इभ्शिना
- Role, बीबीसी न्यूज रसियन
विगत १० महिनामा रुसले युक्रेनसँगको युद्धमा तीव्र गतिमा क्षति बेहोर्नुपरेको बीबीसीले गरेको विश्लेषणमा देखिएको छ। रुसले सन् २०२२ मा युक्रेनमा पूर्ण स्तरमा आक्रमण गर्न थालेको थियो।
डोनल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी प्रशासनको दबावमा सन् २०२५ मा शान्ति स्थापना गर्ने प्रयास बाक्लियो। तर गत वर्षको तुलनामा यो वर्ष रुसी सञ्चारमाध्यम र अन्य मञ्चमा मृत्यु भएका सैनिकहरूको सम्झनामा ४० प्रतिशत बढी 'अबिच्युअरी' प्रकाशित भए।
बीबीसीले युक्रेनमा रुसको पक्षमा लड्न जाँदा ज्याउन गुमाउने झन्डै एक लाख ६०,००० जनाको नाम पुष्टि गरेको छ।
बीबीसी न्यूज रसियनले मानवाधिकारको क्षेत्रमा कार्यरत स्वतन्त्र संस्था 'मीडिअजोना' र स्वयंसेवकहरूको समूहसँग मिलेर सन् २०२२ को फेब्रुअरीयता रुसी युद्धमा भएको क्षतिको गणना गरिरहेको छ।
हामीले आधिकारिक विवरणहरू, पत्रपत्रिका, सामाजिक सञ्जाल र नयाँ स्मारक र चिहानहरूको विवरण सङ्कलन गरेर ज्यान गुमाएका मानिसको अभिलेख राख्दै आएका छौँ।
ज्यान गुमाउने सैनिकहरूको वास्तविक सङ्ख्या अत्यधिक भएको आकलन गरिएको छ। चिहान, युद्धस्मारक र अबिच्युअरीले कुल मृतकको ४५ देखि ६५ प्रतिशत मात्र समेट्ने सैन्य विशेषज्ञहरूको धारणा छ।
त्यसलाई आधार बनाउने हो भने रुसको पक्षमा मृत्यु हुनेहरूको सङ्ख्या दुई लाख ४३ हजारदेखि तीन लाख ५२ हजारको बीचमा हुन सक्छ।
कुनै निश्चित अवधिमा प्रकाशित हुने अबिच्युअरीको सङ्ख्याबाट मृत्यु पुष्टि भएका मानिसहरूको सङ्ख्याबारे प्रारम्भिक अनुमान गर्न सकिन्छ। मृत्युबारे प्राप्त हुने केही जानकारीहरू पुष्टि गर्न अतिरिक्त प्रमाण चाहिन्छ र तिनले पछि मान्यता नपाउन पनि सक्छन्। तर त्यस्तो सङ्ख्याले समयक्रममा लडाइँ कति चर्किँदै गएको छ भन्ने सङ्केत चाहिँ गर्न सक्छ।
सन् २०२५ को ज्यानुअरीमा विगतका महिनाभन्दा कम सङ्ख्यामा अबिच्युअरी देखिएको थियो। तर फेब्रुअरीमा सङ्ख्या वृद्धि भयो। त्यतिबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो पटक प्रत्यक्ष भेट गरेका थिए।
अगस्टमा अलास्कामा ट्रम्प र पुटिनबीच फेरि भेट भयो। त्यो भेटलाई अन्तर्राष्ट्रिय मञ्चमा एक्लिएको रुसको अवस्था सुधार गर्नका लागि पुटिनको "कूटनीतिक विजय"का रूपमा हेरियो।
अक्टोबरमा दुई नेताहरूबीच हुने भनिएको शिखरवार्ता स्थगित भयो अनि नोभेम्बरमा अमेरिकाले २८ बुँदे शान्तिप्रस्ताव अघि सार्यो। त्यस अवधिमा प्रतिदिन सरदर ३२२ वटा अबिच्युअरी प्रकाशित भए। त्यो सङ्ख्या सन् २०२४ को औसतभन्दा दुई गुना थियो।
रुसले बेहोरेको क्षतिको बढ्दो क्रम कुनै एउटा कारणबाट उत्पन्न भएको हो भन्न कठिन छ। क्रेम्लिनले युक्रेनी भूभाग आफ्नो नियन्त्रणमा रहेको भन्दै अमेरिकासँगको वार्तालाई आफ्नो पक्षमा पार्न खोजेको छ। केही समयअघि पुटिनका सहयोगी युरी उशाकोफले "ताजा सफलताहरू" बाट सकारात्मक प्रभाव परेको बताएका थिए।
मुरत मुकाशेफको कथा
शान्ति सम्झौता हुन सक्ने ठानेर जोखिम मोल्दै सेनामा भर्ती भएका मुरत मुकाशेफले ज्यान गुमाए।
उनी अभियानकर्मी थिए। उनले भ्लादिमिर पुटिनका नीतिहरूको कहिल्यै समर्थन गरेनन्।
प्रहरीले गर्ने हिंसा र दिने यातनाविरुद्ध आयोजित प्रदर्शनमा उनी वर्षौँ सहभागी भए। उनी एलजीबीटी समुदायको अधिकार र सन् २०२४ मा जेलमा मृत्यु भएका विपक्षी नेता एलेक्सी नभाल्नीको रिहाइको लागि र्यालीमा सहभागी भएका थिए।
उनले बारम्बार रुसले युक्रेनमा गरेको आक्रमणको सन् २०२२ देखि नै सामाजिक सञ्जालमा निन्दा गर्दै आएका थिए। त्यसपछि सन् २०२४ को सुरुमा उनलाई मस्कोस्थित उनकै घरनजिकैबाट पक्राउ गरियो। उनीमाथि ठूलो परिमाणमा लागुपदार्थ कारोबार गरेको अभियोग लाग्यो।
उनको परिवार र साथीभाइका अनुसार मुद्दा चल्दै गर्दा मुकाशेफलाई रक्षा मन्त्रालयसँग एउटा सम्झौता गर्ने प्रस्ताव आयो।
उनीहरूले मुकाशेफविरुद्ध लगाइएका गम्भीर अभियोगहरू उनलाई सेनामा भर्ती गर्ने कुटिल चाल भएको आशङ्का गरे। सन् २०२४ को कानुनले सेनामा गए अभियुक्तलाई आपराधिक दोषबाट बाहिर निस्किने बाटो दिन्छ। मुद्दा लागेका एक प्रतिशतभन्दा कमले सफाइ पाउने देशमा त्यो एउटा आकर्षक विकल्प हो।
मुकाशेफले त्यो प्रस्ताव अस्वीकार गरे। अदालतले उनलाई १० वर्षको जेल सजाय सुनायो।
जेल परेपछि सन् २०२४ को नोभेम्बरमा उनको धारणा फेरियो। ट्रम्पले युद्ध चाँडै अन्त्य गर्ने वाचा गरेपछि उनी सेनामा जान तयार भएको उनका साथीहरू बताउँछन्। मुकाशेफले शान्ति सम्झौता हुनुअघि नै जतिसक्दो चाँडो सेनामा भर्ती हुँदा आफू जेलमुक्त हुन सक्ने ठाने।
"उनले त्यसलाई १० वर्षको कठोर जेल सजायभन्दा राम्रो अवसर ठाने," उनको समर्थन गर्ने समूहले एउटा विज्ञप्तिमा भनेको छ। यद्यपि अरूलाई मार्न अनिच्छुक व्यक्तिले कसरी युद्धमा होमिन तयार भए र सम्झौता गरे भन्ने कुरा चाहिँ स्पष्ट छैन।
सन् २०२५ को जुन ११ मा मुकाशेफ उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा भएको लडाइँमा मारिए।
हताहत हुनेमध्ये स्वयंसेवकको सङ्ख्या धेरै
बीबीसीको तथ्याङ्कले देखाएअनुसार युद्ध सुरु हुँदाखेरि सेनासँग कुनै सम्बन्ध नभएका मुकाशेफजस्ता कैयौँ रुसीहरूले सन् २०२५ मा ज्यान गुमाए।
तर सन् २०२३ को अक्टोबरमा अभ्डीयिभ्का सहर नियन्त्रणमा लिन भएको लडाइँको बेलादेखि हताहत हुने "स्वयंसेवक"को सङ्ख्या निरन्तर वृद्धि भएको छ। युक्रेनमा रुसले आक्रमण थालेपछि स्वेच्छापूर्क सैनिक बनेका मानिसलाई रुसी पक्षले स्वयंसेवक भन्ने गरेको छ।
रुसले भर्ती गरेका नयाँ सैनिकहरूमा उनीहरूकै बाहुल्य छ। उनीहरू युक्रेन युद्ध सुरु हुनुअघि सेनामा सहभागी भएका वा पछि सैन्य सेवामा खटेका अरू व्यक्तिभन्दा भिन्न छन्।
एक वर्षअघि ज्यान गुमाउने रुसी सैनिकमध्ये १५ प्रतिशत त्यस्ता स्वयंसेवक थिए। तर सन् २०२५ मा उनीहरूको सङ्ख्या एकतिहाइ पुग्यो।
भर्ती बढाउन अभियान
सेनामा नयाँ भर्ती हुने सैनिकहरूको प्रवाहलाई कायम राख्न स्थानीय सरकारहरू दबावमा छन्। तिनले आकर्षक तलब दिने विज्ञापन, ठूलो ऋण भएका मानिसहरूसँग भेटघाट र विश्वविद्यालय तथा कलेजहरूमा भर्ती अभियान सञ्चालन गर्दै आएका छन्।
यसको अर्थ राजनीतिक दृष्टिकोणबाट जोखिमयुक्त बृहत्तर सैन्य परिचालनबाट जोगिँदै क्रेम्लिनले लडाइँको अग्रमोर्चामा भएको व्यापक क्षतिलाई कुनै न कुनै तरिकाले पूर्ति गरेको छ भन्ने लाग्छ।
रुसको राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेद्भेदेभका अनुसार अक्टोबरसम्ममा तीन लाख ३६ हजार जना सेनामा भर्ती भएका थिए। त्यो भनेको एक महिनामा सरदर ३० हजार जना भर्ती हुनु हो।
उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव मार्क रूटका अनुसार प्रत्येक महिना २५ हजार रुसी सैनिकको मृत्यु हुने गरेको छ।
यदि यी दुवै कुरा सही हुन् भने रुसले आफूले गुमाएकाभन्दा बढी सैनिक भर्ती गरिरहेको छ।
धेरै आय हुने लोभमा भर्ती
अबिच्युअरी र मृत्यु भएका सैनिकहरूका आफन्तले दिएको विवरणका आधारमा लडाइँका लागि सेनामा गएकामध्ये अधिकांश स्वेच्छापूर्वक भर्ती भएका हुन्।
तर दबाव दिइएको र जबरजस्ती गरिएको भन्ने विवरणहरू पनि छन्। खास गरी नियमित भर्तीका बेला र आपराधिक आरोप लागेका व्यक्तिहरूले त्यस्तो खेप्नुपरेको बताइएको छ।
केही व्यक्तिहरू एक वर्षमा प्रशस्त पैसा कमाएर सामान्य जीवनमा फर्किने लोभले भर्ती हुन आएको देखिन्छ।
नयाँ भर्ती हुनेले एक वर्षमा एक करोड रुबल (१.२८ लाख अमेरिकी डलर) सम्म कमाउन सक्छन्। तर सन् २०२२ को सेप्टेम्बर महिनादेखि रक्षा मन्त्रालयसँग सम्झौता गरेर सैनिक बनेका सबै जनाको करार स्वतः युद्ध नसकिँदासम्म नवीकरण हुन्छ र लम्बिन्छ।
नेटोका अनुसार युद्धमा ज्यान गुमाउने र घाइते हुने रुसीको सङ्ख्या ११ लाख पुगेको छ। नेटोका एक अधिकारीले अनुमान गरेअनुसार तीमध्ये मृतकको सङ्ख्या अढाई लाख पुगेको छ।
उक्त सङ्ख्या बीबीसीले गरेको गणनासँग मिल्दोजुल्दो छ। यद्यपि हाम्रो सूचीमा पूर्वी युक्रेनका दुई अधीनस्थ क्षेत्रमा ज्यान गुमाएका लडाकुहरूको सङ्ख्या समाविष्ट छैन।
ती क्षेत्रमा २१ हजारदेखि २३,५०० लडाकुको मृत्यु भएको हाम्रो आकलन छ।
युक्रेनको स्थिति
युद्धमा युक्रेनले पनि ठूलो क्षति बेहोरेको छ।
फेब्रुअरी २०२५ मा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बताएअनुसार रणभूमिमा ४६ जनाको मृत्यु भएको थियो भने तीन लाख ८० हजार जना घाइते भएका थिए।
उनका अनुसार लडाइँका बेला हराउने वा रुसको नियन्त्रणमा पर्ने सैनिकहरूको सङ्ख्या दशौँ हजार थियो।
अन्य आकलन र विभिन्न तथ्याङ्कलाई आधारमा जारी युद्धमा मृत्यु हुने युक्रेनीहरूको सङ्ख्या एक लाख ४० हजारजति भएको हाम्रो अनुमान छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।