टर्कीमा फेरि शक्तिशाली भूकम्प, दुई सातामा हजारौँ परकम्प

तस्बिर स्रोत, Reuters
भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि दुईवटा शक्तिशाली भूकम्प गएका छन्।
उक्त भूकम्पमा परेर कम्तीमा छ जनाको ज्यान गएको पुष्टि भएको छ।
स्थानीय समयानुसार सोमवार साँझ पहिला ६.४ म्याग्निट्यूडको र त्यसको केही मिनेटमै ५.८ म्याग्निट्यूडको भूकम्प गएको अधिकारीहरूले बताएका छन्।
यी भूकम्पका कारण टर्की र सिरियामा गरी ७६४ जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ।
टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमवार साँझ ८:०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्प मापन गरिएको जनाएको छ।


अहिलेका भूकम्पले भौतिक संरचनाहरूमा थप क्षति पुर्याएका छन्।
उद्धारकर्मीहरू भूकम्पले फेरि भत्काइदिएका भवनमा फसेका मानिसहरूको खोजीमा जुटेका छन्।
फेब्रुअरी ६ मा आएका विनाशकारी भूकम्पका कारण कमजोर बनेका धेरै भवनहरू सोमवार साँझ भत्किए।
पहिलेको भूकम्प र मृत्यु
उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७.८ म्याग्निट्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।
सोमवारको भूकम्पमा परी मृत्यु हुनेहरू अन्टाक्या, डफ्न र समन्डगीका बासिन्दा हुन्।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले मानिसहरूलाई जोखिम भएका भवनमा प्रवेश नगर्न आग्रह गरेका छन्।
उनले पछिल्लो भूकम्पका कारण टर्कीमा २१३ जना घाइते भएको बताए।
प्रत्यक्षदर्शीले रोयटर्स समाचारसंस्थालाई अन्टाक्यामा भवनहरूमा थप क्षति भएको बताएका छन्।
दक्षिणी टर्कीको हाटाईका मेयरले मानिसहरू भग्नावशेषमा फसेको बताएका छन्।
हजारौँ परकम्प

तस्बिर स्रोत, EPA
"मलाई गोडामुनि नै पृथ्वी फुट्छ जस्तो लाग्यो," आफ्नो सातवर्षीय छोरालाई बोकिरहेकी स्थानीयवासी मुना अल-ओमरले भावुक हुँदै रोयटर्सलाई भनिन्।
भूकम्प गएका बेला उनी मध्य अन्टाक्याको एउटा पार्कमा बनाइएको आश्रयस्थलमा पालमुनि थिइन्।
टर्कीका अधिकारीहरूले फेब्रुअरी पहिलो साताको भूकम्पपछि उक्त देशमा ६,००० भन्दाबढी परकम्पहरू आएको विवरण रहेको बताएका छन्।
त्यस क्षेत्रमा रहेको बीबीसीको टोलीले सोमवारको भुइँचालो यसअघिका परकम्पहरूको तुलनामा धेरै शक्तिशाली भएको महसुस भएको बताएको छ।

सिरियाको अवस्था
सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले भूकम्पपछि ४७० जना घाइते अस्पताल पुगेको बताएको छ।
पछिल्लो भूकम्प इजिप्ट र लेबननमा पनि महसुस भएको थियो।
अफादले सोमवारको भूकम्पपछि ३२ वटा परकम्प गएको जनाएको छ। त्यसमध्ये सबैभन्दा ठूलो ५.८ म्याग्निट्यूडको थियो।
उक्त क्षेत्रमा भूकम्पका कारण डर र अत्यास पैदा भएको छ।
एम्बुलेन्स र उद्धारटोलीहरू सडकमा लाइन लागेर सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन्।


राहतमा कठिनाइ
गत फेब्रुअरी ६ मा गएको भूकम्पमा नभत्किएका कतिपय संरचनाहरू अहिले भत्किएका छन्। त्यसमा एउटा पुल पनि पर्छ।
सडकमा गहिरा चिराहरू परेका छन्। त्यसले गर्दा कतिपय ठाउँमा आपत्कालीन सेवा पुर्याउन सकिएको छैन।
एएफपीका एक पत्रकारले हाटाई प्रान्तको राजधानी अन्टाक्यामा निम्तिएको अत्यासपूर्ण दृश्यबारे रिपोर्टिङ गरेका थिए।
उक्त सहरलाई यसअघिकै भूकम्पले ध्वस्त पारेको थियो। त्यहाँ पछिल्लो भूकम्पले सहरमा धुलोको मुस्लो उडाएको थियो।
त्यहाँ कैयौँ भवनहरू भत्किएका छन् भने धेरै घाइतेहरूले सहयोग मागेका छन्।














