टर्कीमा भत्किएको भवनमा फसेकी बालिकाको १७८ घण्टापछि उद्धार

उद्धार गरिएकी किशोरी

तस्बिर स्रोत, Turkish Energy and Natural Resources Ministry

तस्बिरको क्याप्शन, उद्धार गरिएकी किशोरी

विनाशकारी भूकम्प गएको एक सातापछि दक्षिणी टर्कीमा एउटा भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ।

मिरे नामकी ती बालिका भूकम्प गएको १७८ घण्टापछि भग्नावशेषमा फेला परेकी छन्।

एउटा भिडिओमा उनलाई अँध्यारोबाट बाहिर निकाल्दै गर्दा उद्धारकर्मीहरूले हर्षोल्लास गरिरहेको र "ईश्वर महान् छन्" भनेर चिच्याइरहेको देखिन्छ।

सोमवार नै भग्नावशेषमा १८२ घण्टासम्म फसेका अर्का एक १३ वर्षीय बालकसहित केहीलाई जीवितै उद्धार गरिएको थियो।

भग्नावशेषमा जीवित रहने सम्भावना कति?

उद्धारकर्ताहरू

तस्बिर स्रोत, EPA

मृतकको सङ्ख्या झन्डै ४०,००० पुगेका बेला जीवितै उद्धार गर्ने कुरा दुर्लभ बन्दै गइरहेको छ।

शरीरलाई पानी अत्यावश्यक हुने भएकाले पानीबिना मानिस कति समयसम्म टिक्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

त्यस्तै भग्नावशेषमा फस्दा व्यक्तिले सास फेर्ने ठाउँ कति छ र कस्तो खालको चोटपटक लागेको छ भन्ने कुरामा पनि ती मानिसहरू जीवित रहने वा नरहने निर्भर हुने आपत्कालीन उपचारमा संलग्न एक विशेषज्ञले बीबीसीलाई बताए।

प्राध्यापक टोनी रेडमन्डले टर्की र सिरियाको चिसो तापक्रम मानिसको जीवित रहने सम्भावनाका लागि “दुई धारको तरबार” बराबर भएको बताउँछन्।

उनका अनुसार धेरै चिसोमा रक्तनलीहरू सङ्कुचित हुन्छन्। त्यसले गर्दा चोटपटक लागेर पनि केही लामो समयसम्म मानिस जीवित रहन सक्छन्।

तर धेरै चिसो हुनु मानव शरीरका लागि हानिकारक मानिन्छ।

टर्कीमा भूकम्प

मृतकको सङ्ख्या अझ बढ्न सक्ने

टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या नाटकीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।

संयुक्त राष्ट्रसङ्घका सहायता मानवीय सहायतासम्बन्धी प्रमुखले त्यहाँ मृतकको सङ्ख्या दोबर हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

आडियामान सहरबाट उद्धार गरिएकी ती बालिकालाई स्ट्रेचरमा राखिएको थियो र उद्धारकर्मीले उनलाई लिएर गएका थिए।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उद्धारकर्मीहरू उनकी दिदीलाई पनि फेला पार्ने आशामा थिए।

रेड लाइन
रेड लाइन

लामो समयपछि जीवितै उद्धार

भूकम्पबाट अतिप्रभावित हाटाई प्रान्तमा कान नामक १३ वर्षीय बालकलाई भग्नावशेषमा फसेको १८२ घण्टापछि उद्धार गरिएको थियो।

त्यस्तै नाइड उमाय नामक महिलालाई १७५ घण्टापछि जीवितै भेटियो।

काहरामान्मारश सहरमा उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका तर जीवितै रहेका हजुरआमा, आमा र बच्चासँग सम्पर्क गरेका थिए र उनीहरूसम्म पुग्न काम गरिरहेका थिए।

उक्त क्षेत्रमा कोइला खानीमा काम गर्नेहरू र थर्मल क्यामरा तथा तालिमप्राप्त कुकुरहरू प्रयोग गर्ने विज्ञ सम्मिलित सयौँ टोलीले भग्नावशेषमा पुरिएर पनि बाँचेका मानिसको खोजी जारी राखेका छन्।

तर जीवित व्यक्ति फेला पर्ने आशा घट्दै गएको छ र उद्धार अभियान चाँडै सकिने ठानिएको छ।

टर्की र सिरिया

तस्बिर स्रोत, Reuters

राहतमा केन्द्रित

अधिकारीहरू अब राहत र पुनर्स्थापनामा केन्द्रित हुँदै गएका छन्।

ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान जानेगरी भएको उक्त प्राकृतिक विपत्ति मानवीय कारणले अझ बढेको हो कि होइन भन्ने प्रश्न उत्पन्न भएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले गत साता भूकम्प प्रभावित क्षेत्रको भ्रमणका क्रममा समयमै उद्धार गर्न नसेको स्वीकारेका थिए। तर उनले भाग्यलाई दोष दिए।

अधिकारीहरूले भूकम्पले भत्किएका भवनहरूको निर्माणका मामिलामा ११३ वटा पक्राउपुर्जी जारी गरिएको र ठेकेदारसहित १२ जनालाई हिरासतमा लिइएको बताएका छन्।