म्यान्मार-थाईल्यान्ड भूकम्प : भुइँचालोले भत्काएका भवनमुनि पुरिएका मानिस कति दिन बाँच्न सक्छन्

ब्याङ्ककमा भत्किएको भवनमा पुरिएका मानिसको खोजीका लागि प्रयोग गरिएको एक्स्क्याभेटर

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

म्यान्मार र थाईल्यान्डमा भूकम्पका कारण भत्किएका भवनहरूका अवशेषमुनि हराइरहेका मानिसको खोजी भइरहेको दुवै देशका अधिकारीहरूले बताएका छन्। गत मार्च २८ शुक्रवारका दिन मध्याह्न आएको शक्तिशाली भूकम्पका कारण सयौँ मानिसको मृत्यु भएको छ भने धेरै मानिस अझै हराइरहेका छन्।

भूकम्प गएको झन्डै ६० घण्टापछि म्यान्मारमा चार जनालाई जीवितै फेला पारिएको थियो। उनीहरू भूकम्पको केन्द्रबिन्दुनजिकै रहेको क्षेत्रमा एउटा विद्यालय भवनको भगग्नावशेषमा पुरिएका थिए।

तर यसरी भग्नावशेषभित्र फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन् त?

विज्ञहरूले बीबीसीलाई बताएअनुसार यसलाई निर्धारण गर्ने विभिन्न तत्त्वहरू छन्।

भवन वा संरचना भत्किँदा च्यापिएका, थुनिएका वा फसेका व्यक्तिको अवस्थिति, पानीको उपलब्धता र श्वास फेर्न सहजता , त्यहाँको मौसमको अवस्था र शारीरिक तन्दुरुस्ती लगायत विभिन्न कुराहरूले उनीहरू कति समय बाँच्न सक्छन् भन्ने निर्धारण गर्छ।

अधिकांश उद्धारका कामहरू विपद्‌को घटना भएको २४ घण्टाभित्र भइसक्छन्। तर भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न त्योभन्दा धेरै लामो समय लागेका उदाहरणहरू पनि छन्।

अब्लुलाइम मुआइनिलाई टर्कीको हटाईमा उद्धारकर्मीहरूले भग्नावशेषबाट निकालेका थिए

तस्बिर स्रोत, UMIT BEKTAS / REUTERS

तस्बिरको क्याप्शन, सन् २०२३ मा अब्लुलाइम मुआइनिलाई टर्कीको हटाईमा उद्धारकर्मीहरूले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए थिए

संयुक्त राष्ट्रसङ्घले विनाशकारी घटना भएको पाँचदेखि सात दिनसम्म खोजी र उद्धार जारी राख्ने गरेको छ।

यस्तो निर्णय पनि लगातार एक वा दुई दिनसम्म जीवित मानिसहरूको उद्धार हुन नसकेको अवस्थामा मात्रै लिइन्छ। त्यसो भए के-के तत्त्वले विपद्‌मा फसेका मानिसहरूलाई जीवित राख्छ?

सचेतना र पूर्वतयारी

भूकम्प वा कुनै पनि भवन अचानक ढल्ने कुरा अनुमान लगाउन सहज छैन।

तर यस्तो आपत्कालीन घटनामा आफ्नो शरीरको अवस्थिति तपाईँ घटनामा बाँच्ने अवस्थाको लागि सबैभन्दा महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्।

राम्रोसँग छनोट गरिएको बस्ने ठाउँले भग्नावशेषहरूबाट पुरिनबाट मात्रै बचाउँदैन सास फेर्नका लागि ठाउँ समेत पाइन सक्छ।

"'ड्रप, कभर र होल्ड' अर्थात् निहुरिनु, छेकिनु र रोकिनुको अभ्यास गर्दा बाँच्नको लागि र सास फेर्नको लागि बाटो बनाउन सकिन्छ," टर्कीको सबैभन्दा ठूलो उद्धार तथा खोजसम्बन्धी संस्थाका संयोजक मुरत हरुन अन्गोरेन भन्छन्।

म्यान्मारमा एउटा बौद्ध विहारमा उद्धारकर्मीहरू

तस्बिर स्रोत, EPA

'ड्रप, कभर र होल्ड' भनेको आफ्नो हातलाई तल पारेर घुँडा टेकेर बस्नु, शरीरलाई टेबल वा कुनै माथिबाट झर्ने वस्तुबाट जोगाउने बलियो सामग्रीमुनि छेकिनु र भूकम्पको झट्का नरोकिँदासम्म अडिनुलाई बुझाउँछ।

"भूकम्प जस्तै विपद्‍बाट निम्तने आपत्कालीन अवस्थाबारे शिक्षा, तालिम र सचेतना महत्त्वपूर्ण भए पनि सधैँ बेवास्ता गरिने कुरा हुन्," उनले भने।

"त्यही कुराले भग्नावशेषभित्र तपाईँको बाँच्ने समय तय गर्छ।"

विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन परियोजनाकी प्राविधिक अधिकारी डा जेत्री रेग्मी पनि पूर्वतयारीको महत्त्वमा जोड दिन्छिन्।

"बलियो डेस्क वा टेबलमुनि छेकिएर बस्दा बाँच्ने सम्भावना बढ्छ। हरेक आपत्कालीन अवस्था फरक हुने भएकाले कुनै कुराको निश्चित हुँदैन तर प्रारम्भिक खोजी र उद्धार प्रयासहरू स्थानीय समुदायको पूर्वतयारी क्षमतामा पनि भर पर्छ," उनले भनिन्।

पानी र हावाको पहुँच

भत्किएको भवनभित्र फसेको मानिस जीवित रहन सा फेर्नको लागि हावा र खानेपानी सबैभन्दा जरुरी हुन्छ। तर बाँच्ने कुरा उसलाई लागेको चोटमा पनि भर पर्छ। रगत बगिरहेको छ भने कुनै पनि मानिस २४ घण्टापछि जीवित भेटिने सम्भावना कम रहन्छ।

ढलेको भवनमा फसेको मानिसलाई ठूलो चोट पनि लागेको छैन र सास फेर्ने ठाउँ पनि पाइरहेको छ भने उसलाई बाँच्नका लागि चाहिने अर्को महत्त्वपूर्ण कुरा शरीरलाई आवश्यक मात्रामा चाहिने पानी हो।

अमेरिकाको ड्यूक विश्वविद्यालयस्थित सघन उपचारसम्बन्धी विज्ञ प्राध्यापक रिचर्ड एडवार्ड मुनका अनुसार शरीरमा अक्सिजन र पानीको कमीले बाँच्न कठिन बनाउँछ।

"हरेक वयस्क मानिसको शरीरबाट पिसाब, पसिना, सास फेर्दा वा बाफको माध्यमबाट एक दिनमा १.२ लिटर पानी बाहिर जान्छ," उनले भने। "यसरी आठ लिटरसम्म पानी बाहिर गयो भने मानिस गम्भीर बिरामी हुन्छ।"

केही अध्ययनबाट मानिस पानीबिना तीनदेखि सात दिनसम्म बाँच्न सक्ने देखिएको छ।

चोटपटकको अवस्था

यदि कुनै मानिसको टाउकोमा आघात पुग्ने किसिमको चोट लागेको छ र सास फेर्नका लागि साँघुरो ठाउँ मात्रै छ भने विपद्को दोस्रो दिनपछि बाँच्ने सम्भावना निकै कम हुन्छ।

डा रेग्मीका अनुसार यस्तोमा फसेका मानिसहरूलाई लागेको चोटको अवस्थाबारे मूल्याङ्कन गर्नु पनि निकै महत्त्वपूर्ण हुन्छ।

"मेरुदण्ड, टाउको वा छातीमा चोट लागेका मानिसहरूलाई आघातसम्बन्धी तत्काल उपचार हुने अस्पतालहरूमा नपुर्‍याउँदासम्म नबाँच्न सक्छन्," उनले भनिन्।

रक्तस्राव, हड्डी भाँचिने र अङ्गभङ्ग हुने जस्ता चोटपटकले मृत्युको सम्भावना बढाउँछ।

टर्की भूकम्प

तस्बिर स्रोत, EPA-EFE

उद्धारपछि हुने हेरचाह पनि उत्तिकै महत्त्वपूर्ण हुने डा रेग्मी बताउँछिन्।

"भग्नावशेषबाट जीवित उद्धार गरिएकाहरूको पनि 'क्रश सिन्ड्रोम'का कारण मृत्यु हुन सक्छ। यस्तो अवस्था साधरणतया भूकम्पजस्ता विनाशकारी घटनामा च्यापिएका मानिसहरूमा हुने गर्छ।"

उनका अनुसार भग्नावशेषमा च्यापिएका कारण मांसपेशीमा क्षति पुगेका कारण शरीरमा उत्पन्न हुने एउटा विषाक्त पदार्थका कारण 'क्रश सिन्ड्रोम' हुने गर्छ।

जब शरीरलाई थिचेर राखेको भग्नावशेष हटाइन्छ यस्तो विषाक्त पदार्थ शरीरका अन्य ठाउँमा फैलिएर गम्भीर असरहरू देखा पर्न सक्ने डा रेग्मी बताउँछिन्।

हावापानी र मौसमको अवस्था

विपद्का घटना भएका क्षेत्रको मौसमले पनि भग्नावशेषमा फसेका मानिसहरू कति समयसम्म बाँच्छन् भन्ने कुरा निर्धारण गर्छ।

प्राध्यापक मुनका अनुसार सन् २०२३ मा टर्कीमा भूकम्प जाँदा जाडो मौसमका कारण परिस्थितिलाई झन् खराब बनेको थियो।

"एक वयस्क मानिसले २१ डिग्री सेल्सिअससम्मको तापक्रम आफ्नो शरीरको तातोपना नगुमाई सहन सक्छ। तर त्योभन्दा चिसो भयो भने स्थिति फरक पर्न सक्छ," उनले भने।

त्यस्तो अवस्थामा शरीरको तापक्रमले वरपरको तापक्रम पछ्याउन सुरु गर्छ।

"हाइपोथर्मिआ (शरीरको तापक्रम धेरै न्यून भएर जाने समस्या) हुने गति व्यक्तिको एकान्तपनामा र ओतको अवस्थामा पनि भर पर्छ। धेरै थोरै र कम भाग्यशालीहरूलाई मात्र यस्तो अवस्थामा हाइपोथर्मिआ हुन्छ," सघन उपचार विशेषज्ञले भने।

तर गर्मीका कारण वरिपरिबाट बन्द रहेको ठाउँ धेरै तातो भयो भने पनि च्यापिएको मानिसले शरीरमा रहेको पानीको मात्रा छिटो गुमाएर बाँच्ने सम्भावना कम हुँदै जान सक्छ।

मानसिक स्वास्थ्य

विज्ञहरूका अनुसार प्रायजसो अवमूल्यन गरिएको विषय मानसिक सुस्वास्थ्य र नियन्त्रण हो।

उनीहरूका अनुसार आफू जीवित रहने इच्छाशक्तिमा आफ्नो मनलाई अडिग राख्न सक्नु बाँच्नका लागि महत्त्वपूर्ण हुन्छ।

"डर हाम्रो प्राकृतिक प्रतिक्रिया हो, तर हामी आत्तिनु हुँदैन। हामी बाँच्नका लागि मानसिक रूपमा बलियो हुनुपर्छ," उद्धारविज्ञ अन्गोरेन भन्छन्।

यसका लागि दृढ सङ्कल्प पनि आवश्यक पर्छ।

भूकम्प

तस्बिर स्रोत, EPA

सन् १९९५ मा दक्षिण कोरियामा भूकम्पको १० दिनपछि एक जना मानिसलाई जीवितै उद्धार गरियो।

उनी वर्षाको पानी पिएर र कार्टुनको बक्सा खाएर बाँचेका विवरण आएका थिए। उनले आफ्नो मस्तिष्कलाई सक्रिय राख्न र मन बहलाउन बच्चाका खेलौना खेलेका थिए।

सन् २०१३ मा बाङ्ग्लादेशमा भत्किएको एउटा कारखानाबाट १७ दिनपछि एक महिलालाई जीवितै बाहिर निकालियो।

"मैले उद्धारकर्मीहरूको आवाज धेरै दिनदेखि सुनिरहेकी थिएँ। उनीहरूको ध्यान तान्न लौरो र डन्डीले भग्नावशेषमा हानिरहेँ तर कसैले मलाई सुनेन," आफ्नो उद्धार भएपछि उनले भनेकी थिइन्।

"मैले १५ दिनसम्म प्याकेटमा राखिएका खानेकुरा खाएँ। अन्तिम दुई दिन खानका लागि पानीबाहेक केही बाँकी थिएन।"

हेइटीमा दुई लाख २० हजार मानिसहरूको ज्यान जाने गरी सन् २०१० मा आएको भूकम्पपछि एक जना एउटा पसल रहेको भग्नावशेषभित्र १२ दिनसम्म बाँचेका थिए।

पछि अर्का एक मानिस भूकम्पपछि बनेको भग्नावशेषमा फसेर २७ दिनसम्म बाँचेको विवरण आयो।

सन् २००५ मा पाकिस्तान नियन्त्रित कश्मीरमा भूकम्पको दुई महिनापछि ४० वर्षकी महिलाको भान्साबाट जीवितै उद्धार गरिएको थियो। ती महिला मांसपेशीहरू सुकेको र बोल्न नसक्ने अवस्थामा फेला परेकी थिइन्।

"हामीले मरिसकेको ठानेका थियौँ तर बाहिर निकाल्दै गर्दा उनले आँखा खोलिन्," उनकी एक आफन्तले बीबीसीसँग भनेकी थिइन्।