कांग्रेसले रामचन्द्र पौडेलको ‘नेता’ हैसियत अब कसलाई देला?

नेपाली कांग्रेसमा सभापतिपछिको दोस्रो वरिष्ठ ‘नेता’ को हैसियत पाउन सक्ने नेताबारे चासो बढेको पाइएको छ।

सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सभापतिका दाबेदार भए पनि प्रतिस्पर्धाको मैदान छाडिदिएका रामचन्द्र पौडेललाई पार्टीमा ‘नेता’ हैसियत दिएका थिए।

पौडेल राष्ट्रपति नियुक्त भएपछि उनलाई दिइएको ‘नेता’को हैसियतमा पुग्ने नेताबारे चर्चा बढेको हो।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी र पूर्व पदाधिकारीहरूभन्दा माथि ‘नेता’लाई राखिएको थियो।

उक्त ‘नेता’ पद पार्टीको विधानमा भने व्यवस्था छैन।

शेखर कोइराला किन हकदार?

कांग्रेसमा महाधिवेशनबाट निर्वाचित सभापतिका निकटतम प्रतिद्वन्द्वीलाई वरिष्ठ नेताको हैसियत दिने प्रचलन पाइन्छ।

त्यसैले महाधिवेशन लगत्तै देउवाका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालालाई उक्त सम्मान दिनु पर्ने आवाज उनी पक्षका नेताहरूले उठाएका थिए।

तर देउवाले कोइरालालाई ‘नेता’को हैसियत दिएनन्, उनलाई पूर्वपदाधिकारीहरूभन्दा पनि तल राखिदिए।

कोइराला निकट नेता गुरुराज घिमिरेले त्यसलाई अपमानजनक ठानेका छन्।

पौडेल राष्ट्रपति बनिसकेपछि त्यो निर्णय लिन सजिलो भएको र कोइरालालाई उक्त हैसियत दिँदा राम्रो हुने उनको तर्क छ।

“पहिला सभापतिले मर्यादाक्रम मिलाउनु भएन, त्यसैले यसका निम्ति दौडधुप गर्ने हुन्न तर उहाँलाई राख्दा स्वाभाविक र प्राकृतिक हुन्छ”

‘न्याय खोज्दै’ गोपालमान श्रेष्ठ

उक्त हैसियतमा उक्लिन खोज्ने एक नेता गोपालमान श्रेष्ठ पनि मानिन्छन्। उनी पदाधिकारीहरूपछिका केन्द्रीय सदस्यहरूमा पहिलो नम्बरमा छन्।

नेपाली कांग्रेस प्रजातान्त्रिक छँदा सभापति देउवालाई शाही कालमा गिरफ्तार गरिएका बेला उनी कार्यवाहक सभापति थिए।

माओवादी र तत्कालीन सात दलबीच भएको १२ बुँदे समझदारीमा उनैले हस्ताक्षर गरेका हुन्।

राष्ट्रपति नबनाएर देउवाले अन्याय गरेको प्रारम्भिक प्रतिक्रिया दिएका उनी अब ‘नेता’ बनाइएर न्याय पाउने आशामा देखिन्छन्।

उनले भने, “म त स्वतः त्यसको हकदार हुँ, १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने एक मात्र जीवित नेता मै हो।”

उनले कांग्रेसभित्र आफूलाई देउवा र रामचन्द्र पौडेलसँगको नेता भन्दै आएका छन्।

त्यसबारे उनले सभापति देउवासँग पनि आग्रह गरेको बताइएको छ।

सभापतिका प्रतिस्पर्धी नेता

कांग्रेसमा २ जना उपसभापति, २ जना महामन्त्री र ८ जना सहमहामन्त्रीपछिका केन्द्रीय सदस्यहरूमा श्रेष्ठपछि पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र शशाङ्क कोइराला छन्।

त्यसपछि पूर्वपदाधिकारीहरू चित्रलेखा यादव, रामशरण महत, अर्जुन नरसिंह केसी, प्रकाशशरण महत र सुनिल थापा छन्। शेखर कोइरालालाई उनीहरूभन्दा पछि राखिएको छ।

पछिल्लो महाधिवेशनमा सिंह र निधि अनि गत महाधिवेशनमा सिटौलाले देउवालाई सभापतिमा चुनौती दिएका थिए।

तर दोस्रो चरणको मतदान हुँदा उनीहरूले देउवालाई साथ दिएका हुन्।

पछिल्ला दिनहरूमा देउवाले मुख्य राजनीतिक वार्ताहरूमा पौडेलसँगै सिटौलालाई पनि राख्ने गर्दथे। राष्ट्रपतिमा उनको नाम पनि चर्चामा थियो।

देउवाले सल्लाह गर्दै छन्?

सभापति देउवा निकट नेताहरूका अनुसार ‘नेता’को हैसियतबारे चर्चा चलिरहेको छ।

‘गोपालमान श्रेष्ठले हरेक पटक देउवा समक्ष आफ्नो आकाङ्क्षा प्रकट गर्ने गरेको’ उल्लेख गर्ने एक नेताले बताएअनुसार बुधवार कोइरालाबारे पनि एउटा वृत्तमा चर्चा भइरहेको थियो।

पौडेल राष्ट्रपति बनिसकेपछि संस्थापन खेमामा ‘नेता’ बनाउनेबारे कुनै परामर्श सुरु भएको छ?

देउवा निकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, “त्यसबारे छलफल चलेको मेरो जानकारीमा छैन।”

‘नेता’ पार्टीको कुनै ‘पद’ नभएको उनको भनाइ छ। परम्पराको रूपमा राखिए पनि नियुक्त गर्नै पर्ने बाध्यता नरहेको उनको ठम्याइ छ।

असन्तुष्टिको जोखिम?

“कुनै पदाधिकारी वा केन्द्रीय सदस्य रिक्त हुँदा जस्तो होइन, त्यसैले नियुक्त गर्दै पर्ने बाध्यात्मक व्यवस्था छैन,” कार्कीले बताए।

कतिपय नेताहरूले विधान अनुसारका विभाग र भातृ संस्थाहरूको गठन, पूर्णता र तीनको महाधिवेशन समयभित्र नगरिने पार्टीमा देउवाले तत्कालै त्यसबारे हतारो गरिहाल्नेमा विश्वास गरेका छैनन्।

एक जना नेताका बुझाइमा आन्तरिक सन्तुलन मिलाउनु पर्ने निर्णायक अवस्था आउँदा देउवाले त्यसबारे सोच्न सक्छन् तर अहिले त्यो किचलोमा हात नहाल्न सक्छन्।

देउवा निकट ती नेताले भने, “किन कि स्वाभाविक हकदार शेखर कोइराला देखिन्छन्। तर उनलाई अहिले नै ल्याउँदा आफ्नै खेमाभित्र असन्तुष्टि थपिने जोखिम पनि हुनसक्छ।”

देउवा खेमा र उक्त खेमामा नरहे पनि उनलाई साथ दिइरहेका कतिपय नेताहरूले समेत कोइरालालाई कनिष्ठ ठान्ने गर्छन्।