मङ्गोलियामा फेला परेको करोडौँ वर्ष पुरानो जीवाश्म 'दुर्लभ दुईऔँले डाइनसोरको'

जङ्गलमा एउटा डाइनसोरको चित्राङ्कन

तस्बिर स्रोत, Artist's impression by Masato Hattori

तस्बिरको क्याप्शन, डुओनाइकस शोग्ट्बातरीसँग बोटबिरुवा समात्न सक्ने क्षमता भएको ठानिएको छ
    • Author, टिम डड
    • Role, जलवायु तथा विज्ञान संवाददाता

मङ्गोलियाको गोबी मरुभूमिमा फेला परेको जीवावशेषका आधारमा उक्त जीव हातमा दुइटा औँला भएका डाइनोसरको एउटा दुर्लभ प्रजातिको भएको निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्।

वैज्ञानिक नाम 'डुओनाइकस शोग्ट्बातरी' (Duonychus tsogtbaatari ) दिइएको उक्त डाइनसोर 'थेरिजाइनसोर' (Therizinosaur) समूहमा पर्ने नितान्त भिन्न जीव हो। उक्त समूहमा पर्ने डाइनसोरहरू पछाडिका खुट्टामा उभिन्थे र तिनका खुट्टामा प्रायः तीनवटा खुर वा औँला हुन्थे।

डुओनाइकस शोग्ट्बातरी मध्यम आकारको थियो। त्यसको तौल झन्डै २६० केजी भएको अनुमान गरिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार उक्त डाइनसोरका औँलाहरू लामा र बाङ्गा थिए।

ती औँला दोबार्न मिल्ने खालका भएकाले उक्त जीवसँग वनस्पतिहरू सजिलै समात्ने क्षमता भएको ठानिएको छ।

थेरिजाइनसोर समूहमा भएका कुनै जीव शाकाहारी थिए भने कुनै शाकाहार र मांसाहार दुवै गर्थे।

आजभन्दा १४.५ करोड वर्षअघि सुरु भई ६.६ करोड वर्षअघि टुङ्गिएको 'क्रिटेशस' युगमा ती डाइनसोर एशिया र उत्तर अमेरिकामा विचरण गर्थे।

उत्खनन गर्नुअघि ढुङ्गामा डुओनाइकस शोग्ट्बातरीको एउटा औँलाको जीवाश्म

तस्बिर स्रोत, Yoshi Kobayashi, Hokkaido University

तस्बिरको क्याप्शन, अनुसन्धानकर्ताहरूले डुओनाइकस शोग्ट्बातरी झन्डै २६० केजीको भएको ठानेका छन्

'जुरासिक वर्ल्ड डोमिनिअन' चलचित्रमा भीमकाय र लामा नङ्ग्रा भएका थेरिजाइनसोरस देखाइएको छ। ती जीव त्यस्तै हुने र तिनको स्वरूप अस्वाभाविक देखिने यो शोधका एक लेखक डा डार्ला जेलेनित्स्कीले बताइन्। उनी यूनिभर्सिटी अफ क्यालगरीमा सहायक प्राध्यापक छिन्।

डाइनसोरको जीवाश्म मङ्गोलियास्थित गोबी मरुभूमिको बायान्शिरी फर्मेशनमा फेला परेको थियो। उक्त नमुना क्रिटेशस युगको उत्तरार्धतिर (६.६ करोड देखि १०.०५ करोड वर्षअघि) को हो।

डाइनसोरका जीवाश्मको 'ठूलो भण्डार'

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन यूनेस्कोले मङ्गोलियाको गोबी मरुभूमिलाई डाइनसोरका जीवाश्मको विश्वभरिकै सबैभन्दा ठूलो भण्डार मानेको छ।

उक्त क्षेत्र क्रिटेशस युगको उत्तरार्धतिरका जीवाश्मका लागि महत्त्वपूर्ण मानिन्छ।

क्रिटेशस युग डाइनसोर युगका तीन मुख्य युगमध्ये अन्तिम हो। त्यही कालखण्डमा डाइनसोरको अन्तिम क्रमविकास भएको थियो।

जीवावशेष किन विशेष

डाइनसोरको औँला र नङ्ग्राका जीवावशेष

तस्बिर स्रोत, Kobayashi et al

तस्बिरको क्याप्शन, डाइनसोरले आफ्ना औँला र नङ्ग्रा अरूलाई तर्साउन प्रयोग गरेको हुन सक्छ

अनुसन्धानले गोबी मरुभूमिमा फेला परेका डाइनसोरका 'औँला' त्यसमुनि रहेका हड्डीभन्दा पनि लामा अर्थात् झन्डै एक फुट लामा भएको देखाएको छ।

डाइनसोरले दुइटा औँला भएका हात समाउनबाहेक देखाउन, खन्न र अरूलाई तर्साउने अस्त्रका रूपमा पनि प्रयोग गरेको हुन सक्छ।

'टाइरानसोरस रेक्स' पनि समाविष्ट 'टाइरानसोरिड्स' समूहभित्रका थेरोपडहरू दुइटा औँला भएका हातका लागि प्रसिद्ध छन्। तर डुओनाइकसमा विकसित दुई औँलासँग तिनको सम्बन्ध छैन।

अहिले अध्ययन गरिएको नमुनामा पहिलो पटक थेरिजाइनोसोरको पहिलो केराटिनयुक्त आवरण सुरक्षित अवस्थामा भेटिएको छ। मानिसका नङमा जस्तै उक्त डाइनसोरका नङ्ग्रा छोपेको थियो। त्यसबाट तिनलाई प्रतिरक्षा, हिँडडुल र सिकार समात्न सजिलो हुन्थ्यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।