जुरासिक वर्ल्ड डोमिनिअन: सफल चलचित्र शृङ्खलामा गरिएका चर्चित वैज्ञानिक त्रुटिहरू के-के हुन्

जुरासिक पार्क

तस्बिर स्रोत, Universal Studios/Amblin Entertainment

    • Author, राफेल अबुचाइबे
    • Role, बीबीसी न्यूज मुन्डो

सन् १९९३ बाट सुरु भएको जुरासिक पार्क चलचित्र शृङ्खलाको अन्तिम भाग जुरासिक वर्ल्ड: डोमिनिअनको कथामा प्रागैतिहासिक पृष्ठभूमि रहेको छ।

गएको अक्टोबरमा उक्त चलचित्रको पहिलो पाँच मिनेट यूट्युबमा प्रकाशित गरिएको थियो।

त्यसले दर्शकहरूलाई यस्तो विश्वमा पुर्‍याउँछ जसमा डाइनसोरहरू पृथ्वीका मालिक र सर्वेसर्वा रहेका थिए।

त्यसको क्लाइमेक्समा एउटा भीषण लडाइँ देखाइएको छ जसमा टिरानोसोरसका राजाले जिगनोटोसोरससँग मुकाबिला गर्छ।

उक्त चार मिटर उचाइ र छ टन तौल भएको भीमकाय जिगनोटोसोरसले सबैभन्दा प्रसिद्ध डाइनसोरलाई सिंहासनबाट हटाउने लक्ष्य राखेको हुन्छ।

यसो हेर्दा हलीवुडले छ करोड ६० वर्ष पहिला हाम्रो पृथ्वी कस्तो थियो भनेर देखाउन सक्यो भनेर भन्न पनि सकिन्छ। तर वैज्ञानिकहरूका अनुसार त्यो वास्तविकता होइन।

"जुरासिक पार्क चलचित्रहरू वृत्तचित्रहरू होइनन्," प्रख्यात अमेरिकी जीवाश्मशास्त्री ज्याक होर्नर भन्छन्।

उनले उक्त चलचित्र शृङ्खलाअन्तर्गत सबैभन्दा सुरुमा बनाइएका दुई चलचित्रहरू जुरासिक पार्क र द लस्टी वर्ल्डको निर्माणको समयमा निर्देशक स्टीभन स्पीलवर्गलाई सल्लाह दिएका थिए।

होर्नरले बीबीसीसँग भने, "स्टीभन एउटा रमाइलो चलचित्र बनाउन चाहन्थे। हामी दुवै जना वृत्तचित्र प्रकृतिको केही पनि बनाउन चाहँदैन थियौँ।"

उसो भए यी चलचित्रहरू कतिको वास्तविक छन्? हामीले होर्नर र अन्य वैज्ञानिकहरूलाई सोधेका छौँ। उनीहरूका टिप्पणी यस्ता छन्:

१. टी-रेक्स र जिगनोटोसोरसबीच कहिल्यै भेट भएन

डाइनसोरको लडाइँ

तस्बिर स्रोत, Universal Studios/Amblin Entertainment

तस्बिरको क्याप्शन, टि रेक्स र जिगनोटोसोरसबीच कहिल्यै भेट नभएको हुनसक्छ

जुरासिक वर्ल्ड: डोमिनिअनमा टिरानोसोरस र जिगनोटोसोरसबीच देखाइएको भीषण लडाइँ कहिल्यै नभएको हुनसक्ने जीवाश्मशास्त्री राइली ब्ल्याक बताउँछिन्। त्यसको दुई वटा कारण रहेको उनको मत छ।

"यी दुई डाइनसोरहरू दशौँ लाख वर्षको अन्तरालमा अस्तित्वमा थिए र उनीहरू फरकफरक महादेशमा बसोबास गर्थे," चौथो चलचित्र जुरासिक वर्ल्डमा परामर्शदाताको रूपमा काम गरेकी उनले भनिन्।

टिरानोसोरस रेक्स छ करोड ८० लाख वर्ष पहिले अहिलेको उत्तर अमेरिकामा अस्तित्वमा थियो। जिगनोटोसोरस दक्षिण अमेरिकामा नौ करोड ९० लाख वर्ष पहिले पाइन्थ्यो।

जुरासिक वर्ल्ड: डोमिनिअन चलचित्रमा घटनाक्रम र भूगोलमा कलात्मक प्रयोग गरिएको यो एउटा दृष्टान्त मात्रै होइन।

ब्ल्याकका अनुसार चलचित्रमा अन्य कैयौँ जनावरहरू पनि देखाइएका छन् जुन वास्तविक जीवनमा अलग्गै काल र भूगोलमा अस्तित्वमा रहेका थिए।

२. भेलोसिराप्टरको प्वाँख थियो

भेलोसिराप्टर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भेलोसिराप्टर चलचित्रमा देखाइएको भन्दा ज्यादै सानो थियो

वैज्ञानिकहरूका अनुसार अर्को त्रुटि डरलाग्दो भेलोसिराप्टरको चित्रण पनि हो।

"हामीलाई थाहा छ कि सिकारी डाइनसोरको पक्कै पनि प्वाँख थियो," होर्नर भन्छन्।

"स्पीलवर्ग र मैले यसबारे छलफल पनि गर्‍यौँ तर प्राविधिक रूपमा प्वाँखहरू एनीमेट गर्न एकदमै जटिल थियो।"

ब्ल्याकका अनुसार भेलोसिराप्टरको चित्रण प्रागैताहिसिक कालमै चिनिएको अर्को जनावरसँग मिल्दोजुल्दो छ।

ती चलचित्रहरू माइकल क्राइटनले लेखेका उपन्यासहरूबाट प्रभावित छन्।

"क्राइटनका उपन्यास एउटै पुस्तक प्रिडेटोरी डाइनसोरस अफ द वर्ल्डबाट प्रभावित थियो जसमा डाइनसोरको एउटा प्रकार डाइनोनिकसका बारेमा चर्चा गरिएको छ।"

त्यो मानवको आकारको डाइनसोर थियो र उसले समूहमा सिकार गर्थ्यो।

त्योसँग मिल्दोजुल्दो जनावरलाई आफ्नो उपन्यासमा क्राइटनले 'भेलोसिराप्टर' का रूपमा वर्णन गरेका थिए।

वैज्ञानिकहरूको विश्वासमा भेलोसिराप्टर एउटा सानो जनावर थियो। आकारमा त्यो टर्की पन्छीभन्दा ठूलो थिएन र त्यो प्वाँखहरूले ढाकिएको थियो।

३. उनीहरू अझ रङ्गिन थिए

जुरासिक पार्क

तस्बिर स्रोत, Universal Studios/Amblin Entertainment

तस्बिरको क्याप्शन, वैज्ञानिकहरूले चराहरू जस्तै डाइनसोरमा पनि अझ धेरै रङ रहेका बताएका छन्

होर्नरका अनुसार जुरासिक पार्क चलचित्रका लागि आफूलाई सल्लाहकार किन बनाइयो भनेर बुझ्न सक्दैनन् किनभने स्पीलवर्गले आफूलाई जे ठिक लाग्यो त्यही गरे।

"उनीहरूले मलाई पनि साथ लिनु रोचक थियो किनभने उनीहरूले मेरा सुझावहरू मानेनन् तर मलाई लाग्छ उनीहरूलाई केही विश्वसनीयता आवश्यकता थियो र उनीहरू केही कुराहरूमा यो ठिक छ भनेर भनिदिने मान्छे चाहन्थे।"

होर्नर सहमत नभएको एउटा निर्णय उक्त जनावरको रङ पनि थियो।

"मलाई के लाग्छ भने (डाइनसोरहरू) हामीले बनाएकोभन्दा अझ धेरै रङ्गिन थिए। उनीहरूका वंशजहरू, चराहरू अधिकांश त्यस्तै छन्।"

उनी थप्छन्, "तर स्टीभन त्यस्तो गर्न चाहँदैन थिए किनभने धेरै रङका डाइनसोर डरलाग्दा नहुने डर थियो।"

४. डाइनसोरलाई क्लोनिङ गर्ने अवस्था छैन

लामखुट्टे

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वैज्ञानिकहरू डाइनसोरको क्लोनिङ गर्न अझै कैयौँ व्यवहारिक अप्ठेरा रहेको बताउँछन्

जुरासिक पार्कको मूल कथावस्तु डाइनसोरहरूको क्लोनिङ हो। तर वैज्ञानिकहरू यो अझै गर्न नसकिने अडानमै छन्।

त्यसको मूल कारण डाइनसोरको डीएनए हो।

"हामीलाई जानकारी भएसम्म डीएनए लामो समयसम्म रहँदैन," लन्डनको नेचुरल हिस्ट्रि म्युजियमका जीवाश्मशास्त्री पल ब्यारेट भन्छन्।

"जीवाश्मको अभिलेखमा हामीले थाहा पाएसम्म सबैभन्दा पुरानो डीएनए करिब २० लाख वर्ष पुरानो छ। र त्यो डीएनए ब्याक्टेरिया, माटो, ढुसी र त्यस्तै चीजहरूको हो।"

प्राध्यापक ब्यारेटका अनुसार ५० हजार वर्ष अघिसम्म ज्यान गुमाएका जीवहरूको आनुवंशिक तथ्याङ्कहरू फेला परेका छन्।

उनले थपे, "हामीसँग हाम्रो आफ्नै समयकालसँग नजिक रहेका बाहेक लोप भएको अन्य कुनै जनावर वा बोटबिरुवाको डीएनए छैन।"

"त्यही भएर मलाई त्यसबारे शङ्का नै छ।"