स्पाइन‍सोरस: 'सबैभन्दा विशाल मांसाहारी डाइनसोर नदीमा बस्थे'

स्पाइनसोरस
तस्बिरको क्याप्शन, अनुसन्धानकर्ताहरूका अनुसार प्रागैतिहासिक नदीमा पाइएका अवशेषको ४५ प्रतिशत स्पाइनसोरसका दन्त अवशेषहरू थिए

प्रागैतिहासिक जीवावशेष अध्ययनमा संलग्न विज्ञहरूले कुन मांसाहारी डाइनसोर सबभन्दा ठूलो थियो भन्ने विवादको निर्क्योल भएको विश्वास गरेका छन्।

यूनिभर्सिटी अफ पोर्ट्स्मथका अनुसन्धानकर्ताहरूले डाइनसोरका १,२०० वटा दाँत फेला परेपछि 'नदीमा बस्ने स्पाइनसोरस प्रजातिको भीमकाय जीव नै सबभन्दा ठूलो मांसाहारी डाइनसोर भएको विषय विनाशङ्का प्रमाणित भएको' बताएका छन्।

उनीहरूका अनुसार प्रागैतिहासिक नदीमा पाइएका अवशेषको ४५ प्रतिशत स्पाइनसोरसका दाँतका अवशेषहरू थिए।

यी निष्कर्षहरूलाई क्रेटासियस रिसर्च जर्नलमा प्रकाशित गरिएको छ।

मोरोक्कोमा भेटिएका थिए धेरै अवशेष

स्पाइनोसरसका जीवावशेष ठूलो परिमाणमा अहिले मोरोक्को रहेको ठाउँमा प्रागैतिहासिक कालमा नदी बगेको स्थानमा भेटिएको थियो।

त्यहाँ १० करोड वर्षपहिले सहारा मरुभूमि भएको ठाउँ भएर उक्त नदी बग्ने ठानिएको छ।

वैज्ञानिकहरूका अनुसार यो खोजले ती १५ मिटर लामा अनि छ टन तौल भएका डाइनसोरहरू स्थलचर नभएको बरु ती जीव नदीमा बस्ने गरेको सङ्केत गर्छन्।

यो निष्कर्ष स्पाइनसोरसको पुच्छर जाँचेर अनुसन्धानकर्ताहरूले एप्रिलमा दिएको निष्कर्षसँग मेल खान्छ।

स्पाइनोसरस

तस्बिर स्रोत, Davide Bonadonna

तस्बिरको क्याप्शन, स्पाइनसोरस, टाइरानसोरस रेक्सभन्दा पनि ठूलो थियो

उक्त विश्वविद्यालयका पेलिओबायोलजीका प्राध्यापक डेभिड मार्टिलले भने, "हामीलाई हड्डीमिश्रित चट्टानमा यति धेरै डाइनसोरको दन्त अवशेष पाइएको अर्को स्थान थाहा छैन।"

"अन्य डाइनसोरको तुलनामा स्पाइनसोरसको दाँत यति धेरै त्यहाँ पाइनुको अर्थ ती जीव पानीमा बस्थे भन्ने नै हो।"

"केवल पानी पिउन नदी धाउने वा नदीवरपर समय व्यतीत गर्ने जीवको तुलनामा धेरै समय पानीमा बिताउने जीवको नै दन्त अवशेष नदी सुकेपछि बाँकी रहेका ती स्थानमा भेटिने हो।"

स्पाइनोसरस

'स्पाइनसोरस एजिप्टियाकस'का अवशेषहरू सुरुमा १०० वर्ष पहिले इजिप्टमा फेला परेका थिए।

तिनलाई म्युनिखको सङ्ग्रहालयमा लगिएको थियो तर द्वितीय विश्वयुद्धका बेला ती नष्ट भए।

त्यसपछि स्पाइनसोरसको हाडका केही टुक्राटाक्री मात्र फेला परे। सन् २०१४ मा अलि ठूलो जीवावशेष भेटियो।

स्पाइनसोरस सन् २००१ देखि निकै चर्चामा आएको छ।

त्यतिबेला हलीवुडको चलचित्र जुरासिक पार्क तेस्रोमा उसले टाइरानसोरस रेक्सलाई चुनौती दिएको देखाइएको थियो।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, डाइनसोरको चिहान