लेबननमा जारी इजरेली हमला 'नरसंहार' भएको लेबननी स्वास्थ्यमन्त्रीको भनाइ

तस्बिर स्रोत, Reuters
- Author, हुगो बचेगा र डेभिड ग्रिटन
- Role, बीबीसी न्यूज
लेबननका स्वास्थ्यमन्त्रीले आफ्नो देशमा जे भइरहेको छ त्यो “नरसंहार” भएको बीबीसीलाई बताएका छन्।
दुई दिनदेखिका हिजबुल्लाह लक्षित व्यापक इजरेली हवाई हमलामा हताहत भएकाहरूको उच्च सङ्ख्यासँग जुझ्न अस्पतालहरूले सङ्घर्ष गरिरहँदा स्वास्थ्यमन्त्री डा. फिरास अबियादले त्यसो भनेका हुन्।
डा. अबियादले बीबीसीसँग कुरा गर्दै सोमवारको हमलामा मारिने ५५० जनामध्ये अधिकांश बालबालिका र महिलासहित सर्वसाधारण रहेको “प्रस्ट” भएको बताएका छन्।
इजरेलले सयौँ हिज्बुल्लाहका निशानामा प्रहार गरेको जनाउँदै उक्त लडाकु समूहले सर्वसाधारणको बसोबास क्षेत्रमा अस्त्रहरू लुकाएको आरोप लगाएको छ।
मङ्गलवार इजरेली सेनाले हिज्बुल्लाहको 'रकेट फोर्सेस'का प्रमुखलाई मारिदिएको जनाएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हिज्बुल्लाहले लेबननलाई “खाल्टोमा जाक्ने” बाटोतर्फ लगिरहेको जनाएका छन्।
लेबननी स्वास्थ्यमन्त्रीले मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै मारिने ५५८ जनामध्ये ५० जना बालबालिका, ९४ जना महिला र कैयौँ स्वास्थ्यकर्मीहरू रहेको बताएका छन्।
लेबननमा ५० भन्दा धेरै अस्पतालमा हाल १,८३५ जना घाइतेहरूको उपचार भइरहेको उनले बताए।
'कूटनीतिक समाधान अझै सम्भव'
हिज्बुल्लाहले उत्तरी इजरेलतर्फ ३०० भन्दा धेरै जबाफी रकेट प्रहार गर्दा छजना मानिसहरू घाइते भएको इजरेली सेनाले जनाएको छ।

तस्बिर स्रोत, Getty Images
दुई पक्ष लडाइँबाट रोकिने मनस्थितिमा रहेको नदेखिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडन संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै पूर्ण आकारको द्वन्द्व “कसैको पनि स्वार्थमा नरहेको” बताएका छन्।
उनले “कूटनीतिक समाधान अझै सम्भव रहेको” बताएका छन्।
राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरसले विश्वले “लेबनन अर्को गाजा भएको अवस्था थेग्न नसक्ने” बताएका छन्।
गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरेल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ। जसमा मारिने सयौँ मानिसहरूमध्ये अधिकांश हिज्बुल्लाह लडाकु छन्।
दुवैतर्फ दशौँ हजार मानिस विस्थापित अवस्थामा छन्।
हिज्बुल्लाहले हमासलाई साथ दिनेगरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमा पार हमलाहरू रोक्ने जनाएको छ।
इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरेल, यूके र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्।
'नरसंहार'
बीबीसीसँगको एक अन्तर्वार्तामा स्वास्थ्यमन्त्री लेबननमा जारी अवस्थालाई “नरसंहार” बताए।

तस्बिर स्रोत, Reuters
“यदि तपाईँले 'इमर्जेन्सी रुम'मा ल्याइएका मानिसहरू हेर्नुहुन्छ भने ती सर्वसाधारण रहेको प्रस्ट हुन्छ। ती इजरेलीले दाबी गरेजस्तो लडाकुहरू होइनन्,” उनले भने।
“हामीलाई हमलाका पीडितहरूबारे थाहा छ किनकि हाम्रा एम्बुलेन्सहरूले तिनलाई यहाँ ल्याइरहेका छन्... [ती] आफ्ना सामान्य काम गरिरहेका सर्वसाधारण थिए।”
अहिलेको लडाइँको अवस्थालाई सन् २००६ मा इजरेल र हेज्बुल्लाहबीच भएको युद्धसँग तुलना गर्दै उनले भने: “खासगरी जसरी सर्वसाधारणलाई निशाना बनाइएको छ, अवश्य पनि हामी अझ क्रूर युद्ध देखिरहेका छौँ।”
राष्ट्रसङ्घीय मानवाधिकार कार्यालयले समेत सोमवारका हमलामा मृत्यु हुनेको सङ्ख्याप्रति चिन्ता व्यक्त गर्दै त्यसमा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको हुनसक्ने जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








