तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
याह्या सिन्वार मारिएपछि अब हमासको नेतृत्व कसले गर्ला?
- Author, रुश्दी अबुअलुफ
- Role, बीबीसी न्यूज
प्यालेस्टिनी समूह हमासका दुई जना अधिकारीहरूले गत बिहीवार मारिएका आफ्ना नेता याह्या सिन्वारको उत्तराधिकारी चयन गर्नका लागि अब छिट्टै छलफल सुरु हुने बताएका छन्।
ती अधिकारीहरूले त्यसको सबैभन्दा बलियो उम्मेदवारका रूपमा गाजाबाहिर रहेका उक्त समूहका सबैभन्दा वरिष्ठ अधिकारी एवं सिन्वारका उपनेताका रूपमा काम गरेका खलिल अल-हायालाई हेरिएको बताएका छन्।
कतारमा बस्ने अल-हायाले हाल हमास र इजरेलबीचको युद्धविराम वार्तामा आफ्नो समूहको नेतृत्व गर्दै आएका छन्।
उनीसँग गाजाको अवस्थाबारे राम्रो ज्ञान, सम्बन्ध र बुझाई छ।
इजरेलद्वारा सबैभन्दा बढ्ता खोजिएका व्यक्तिका रूपमा रहेका सिन्वार मारिएपछि हमासको नेतृत्व गर्ने व्यक्तिको चयनका लागि हमासका नेताहरू जुट्न लागेका हुन्।
जुलाई ३१ मा इरानको राजधानी तेहरानमा पूर्व नेता इस्माइल हानिया मारिएपछि सिन्वार हमासका नेता बनेका थिए।
र उनी पनि मारिएपछि दुई महिनामै नयाँ नेता चयन गर्नुपर्ने अवस्था बनेको छ।
सिन्वार नहुँदा के फरक पर्छ?
एकजना वरिष्ठ हमास अधिकारीले सिन्वारलाई गत वर्षको 'अक्टोबर ७' हमलाको योजनाकार बताउँदै उनको नियुक्तिलाई इजरेलविरुद्ध अवज्ञाको एउटा कडा सन्देशको रूपमा प्रस्तुत गरेको बताएका थिए।
जुलाईयता युद्धविराम सम्बन्धी वार्ता अवरुद्ध छन् र धेरैले सिन्वारको नेतृत्व कुनै युद्धविराम सम्झौताका लागि अवरोधका रूपमा रहेको विश्वास गरेका थिए।
एकजना वरिष्ठ हमास अधिकारी सिन्वार मारिएपछि पनि आफ्नो अभियानको युद्धविराम सम्झौता र बन्धक रिहाइका सर्त मान्ने अवस्था नफेरिएको बताउँछन्।
गाजाबाट पूर्ण रूपमा इजरेल फिर्ता हुनुपर्ने, लडाइँको अन्त्य हुनुपर्ने, मानवीय सहायता पठाइनुपर्ने र युद्धले क्षति पुर्याएका क्षेत्रको पुर्निर्माण हुनुपर्ने आफ्नो मागमा हमास अडिग छ।
इजरेलले हमासले आत्मसमर्पण गर्नुपर्नेमा जोड दिँदै ती सर्तलाई प्रस्ट रूपमा अस्वीकार गरेको छ।
हमासले हतियार छाडेर आत्मसमर्पण गर्नुपर्ने इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको मागबारे प्रश्न सोधिँदा हमासका ती अधिकारीहरूले भने: “हामीले आत्मसमर्पण गर्नु असम्भव छ।”
उनीहरूको थप भनाइ छ: "हामी हाम्रा मानिसहरूको स्वतन्त्रताका लागि लडिरहेका छौँ, र हामीले आत्मसमर्पण स्विकार्नेछैनौँ। हामी सिन्वारलेझैँ अन्तिम गोली र अन्तिम सैनिक रहँदासम्म लडिरहनेछौँ।”
बन्धकको सुरक्षाका लागि गाजामा अब को जिम्मेवार छ?
सिन्वारको हत्या उक्त सङ्गठनका लागि दशकौँमा भएको निकै उल्लेख्य क्षति हो।
यद्यपि उनको ठाउँमा ल्याउने व्यक्तिको चुनौती रहँदारहँदै पनि सन् १९९० को दशकयता नै नेतृत्वको क्षति बेहोर्दै आएको इतिहास हमाससँग छ।
इजरेल अधिकांश हमास नेता र संस्थापकहरूको हत्या गर्न सफल हुँदै आए पनि सो समूह नयाँ नेता चयन गर्न सक्षम हुँदै आएको छ।
यस सङ्कट जारी रहिरहँदा गाजामा रहेका इजरेली बन्धकहरूको अवस्थाबाट प्रश्नहरू उत्पन्न भएका छन्। उनीहरूको सुरक्षाका लागि अब को जिम्मेवार रहन्छ भन्ने प्रश्न समेत यतिखेर छ।
यस सन्दर्भमा याह्या सिन्वारका भाइ मोहम्मद सिन्वार एक महत्त्वपूर्ण व्यक्तिका रूपमा देखा परेका छन्।
उनले हमासका बाँकी सशस्त्र समूहको नेतृत्व गरिरहेको ठानिन्छ र गाजामा उक्त अभियानको भविष्यका लागि एउटा अहम् भूमिका खेल्ने ठानिन्छ।
हमासले यस जटिल क्षणको मूल्याङ्कन गरिरहँदा जागामा युद्ध जारी छ।
शनिवार उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा भएका इजरेली हमलामा दर्जनौँ मानिसहरू मारिएका छन्।
इजरेलले हमास पुर्नसङ्गठित हुन खोजेपछि हमला तीव्र पारेको जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।