तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कहिलेसम्म नियुक्त हुन्छन् नयाँ प्रधानमन्त्री
निर्वाचन आयोगले समानुपातिक प्रणाली तर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको केही दिनभित्रै नयाँ प्रधानमन्त्री नियुक्त हुनसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले बताएका छन्।
चैत ५ गते समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूले प्रमाणपत्र पाइसकेपछि मात्रै रास्वपासँग औपचारिक रूपमा संसद्मा बहुमत सदस्यहरू हुन्छन्।
अहिले रास्वपाबाट प्रत्यक्ष प्रणालीतर्फ निर्वाचित १२५ जना सांसदहरूले मात्रै प्रमाणपत्र लिएका छन्।
यो दलबाट समानुपातिक प्रणालीतर्फ निर्वाचित ५७ जना सांसदले प्रमाणपत्र पाउन बाँकी नै छ।
प्रत्यक्षतर्फका १६५ सांसदलाई निर्वाचन क्षेत्रबाट तत्कालै प्रमाणपत्र दिएको निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नतिजा सोमवार मात्रै घोषणा गरेको थियो।
आयोगले बिहीवार समानुपातिक प्रणालीबाट दलहरूले पाएको मतका आधारमा निर्वाचित ११० जना सांसदहरूलाई प्रमाणपत्र दिए लगत्तै त्यही दिन राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ।
राष्ट्रपति कार्यालयका अनुसार आयोगले चैत ५ गते अपराह्न ४ बजे प्रतिवेदन बुझाउन समय माग गरेको छ।
निर्वाचन आयोगले राष्ट्रपतिलाई अन्तिम प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठन र संसद्को काम सुरु गर्ने बाटो खुल्ने बताइएको छ।
कहिलेसम्म नियुक्त गर्नुपर्छ प्रधानमन्त्री
प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।
त्यसकारण ढिलोमा पनि वैशाख १० गतेभित्र देशले नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको कानुनका जानकारहरू बताउँछन्।
नयाँ संविधान जारी भएपछि पहिलो पटक एउटै दलले स्पष्ट बहुमत पाएको र बहुमतप्राप्त दलले पनि निर्वाचन अघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गरिसकेका कारण नयाँ प्रधानमन्त्री बन्न अन्तिम समयसीमा पर्खन नपर्ने रास्वपा नेताहरू बताउँछन्।
उनीहरूका अनुसार आगामी साताको सुरुमै देशले नयाँ प्रधानमन्त्री पाइसक्ने सम्भावना छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका वरिष्ठ नेता तथा काठमाण्डू महानगरपालिकाका पूर्वमेअर बालेन्द्र शाह बालेनलाई नयाँ प्रधानमन्त्री बनाउने घोषणा गरेको थियो।
पार्टी सभापतिसँग भएको उक्त सम्झौतापछि स्वतन्त्र निर्वाचित मेअर बालेन रास्वपा प्रवेश गरेका थिए। माघ ५ गते मधेशको जनकपुरमा रास्वपाको सभालाई सम्बोधन गर्दै बालेनले भनेका थिए, "आइ एगो मधेशीया छौँडा प्रधानमन्त्री बनेला हई" अर्थात् 'अब मधेशको केटो प्रधानमन्त्री बन्नेवाला छ।'
रास्वपाको तयारी के छ
नेपालको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको नभएका करण रास्वपाले चुनावअघि घोषणा गरेर मात्रै पुग्दैन। नयाँ प्रधानमन्त्री चयनका लागि रास्वपाले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ।
संविधानको धारा ७६ को उपधारा १ ले बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था गरेको छ।
जसकारण अन्तिम निर्वाचन परिणाम प्राप्त भए लगत्तै आफ्नो संसदीय दलको नेता चयन गर्ने तयारी रास्वपाले गरेको नेताहरूले बताएका छन्।
रास्वपाको विधानले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया धेरै लामो राखेका कारण त्यसलाई संशोधन गर्ने विषयमा छलफल चलिरहेको विवरण आएका छन्।
बीबीसीले नयाँ प्रधानमन्त्रीको शपथ कहिले हुन्छ भनेर रास्वपाका केही नेताहरूलाई सोधेको थियो।
"मेरो व्यक्तिगत विचारमा छिटोमा चैत ९ वा १० गतेसम्म हुन सक्छ," रास्वपा नेता तथा पूर्वमन्त्री शिशिर खनालले बीबीसी न्यूज नेपालीसँग भने।
रास्वपाका अन्य नेताहरू पनि चैत ९ गते सोमवार नयाँ प्रधानमन्त्रीको शपथ हुन सक्ने बताउँछन्।
राष्ट्रपति कार्यालयको तयारी के छ
राष्ट्रपति कार्यालयले हालसम्म नयाँ प्रधानमन्त्रीको शपथको मितिबारे कुनै जानकारी नभएको बताएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले शपथ कार्यक्रमका लागि आफूहरू तयारी अवस्थामै रहेको बताए।
"हामी तयारी अवस्थामै छौँ। तर अहिलेसम्म कहिलेलाई तयारी गर्ने भन्ने कुनै जानकारी आएको छैन," शाक्यले भने।
प्रधानमन्त्री बन्ने व्यक्तिले पहिले सांसदको शपथ लिनुपर्छ कि पर्दैन भन्नेमा कतिपय विज्ञले प्रश्न उठाएका छन्। तर यसअघि सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्पष्ट बहुमत भएको अवस्थामा राष्ट्रपतिले संसद्को पहिलो बैठक बस्नुअघि नै प्रधानमन्त्री नियुक्त गर्न सक्ने बीबीसीसँग बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।