तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नाकका दुई प्वालबाट किन पालो गरेर सास फेरिन्छ
- Author, एडम टेलर
- Role, द कन्भरसेशन*
- पढ्ने समय: ५ मिनेट
दिनमा कैयौँ पटक हामीलाई थाहै नभईकन हाम्रो नाकको प्वालले पालैपालो सास तान्ने र फाल्ने काम गरिरहेका हुन्छन्।
यसलाई 'नासिका चक्र' भनिन्छ र यसले हाम्रो नाकको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।
रुघा लागेको बेला वा एलर्जी भएका बेला नाक बन्द भएर सास लिन र छाड्न मुस्किल पर्छ।
तर त्यस्तो विरामी नपरेको बेलामा पनि तपाईँले लामो सास तान्दा याद गर्नु भएको होला नाकको एउटा प्वालबाट मात्र हावा भित्र प्रवेश गरेको हुन्छ।
तर यो आत्तिनु पर्ने कुरा होइन तपाईँ जे अनुभव गरिरहनुभएको छ त्यो वास्तवमा एक स्वाभाविक शारीरिक प्रक्रिया हो।
हामी जागा रहेका बेला हरेक दुई घण्टामा हाम्रो नाकको प्वालबाट हावा भित्र जाने र बाहिरिने पालो
परिवर्तन भइरहने विज्ञहरू बताउँछन्।
तर निदाएका बेला भने त्यस्तो परिवर्तन हुने दर कम हुन्छ किनभने हाम्रो शरीरभित्र प्रवेश गर्ने र निस्कने हावाको मात्रा नै कम हुन्छ।
नासिका चक्रको दुई पक्ष हुन्छः एउटा नाक साँघुरो हुने र अर्को नाक फुक्ने।
साँघुरो अवस्थामा एउटा नाकबाट बहने हावाको मात्रा कम हुन्छ र खुलेको नाकको प्वालबाट भने हावाको प्रवाह धेरै हुन्छ।
धेरै हावा भित्र लगेको नाकको प्वाल थाक्छ हावाले त्यसलाई सुक्खा बनाइदिन्छ र त्यसमा कीटाणुहरू बस्ने सम्भावना बढ्छ। त्यसैले नाकको प्वालले सास फेर्ने कार्य पालै पालो गर्ने गर्छन्।
नाकको यो चक्र स्वचालित हुन्छ र मष्तिष्कमा रहेको हाइपोथलामसले यसलाई नियन्त्रित गरेको हुन्छ।
यद्यपि केही मानिसहरू जो चाहिँ हाइपोथलामसमा समस्या भएका हुन्छन् उनीहरूमा नासिका चक्र चलिरहेको हुँदैन।
दायाँ हात प्रमुख रहेर काम गर्नेहरूमा बायाँ नाकको प्वाल धेरै सक्रिय हुने गरेको बताइन्छ।
अध्ययनहरूले देखाएका छन्- जब नाकको दायाँ प्वाल सक्रिय हुन्छ त्यसबेला शरीर बढी सतर्कताको स्थिति या तनावको स्थितिमा रहेको हुन्छ।
जब बायाँ प्वाल सक्रिय हुन्छ त्यसबेला शरीर आरामको स्थितिमा रहन्छ।
धेरै कारणले 'नासिका चक्र' महत्त्वपूर्ण मानिन्छ।
पहिलो यसले नाक र श्वास प्रणालीको माथिल्लो तहलाई जोगाउँछ।
हाम्रो नाकबाट हरेक दिन १२,००० लिटर हावा भित्र बाहिर गरिरहेको हुन्छ र त्यसो गर्दा कीटाणुबाट जोगाउन भूमिका खेल्ने बचाउ प्रणालीको रूपमा यो प्रकृयाले काम गर्छ।
फरक फरक प्वालबाट हावा भित्र बाहिर गर्दा क्षतिको खतरा कम हुन्छ।
नाकलाई पनि आराम गर्न जरुरी हुन्छ। हावाको सम्पर्कमा आउने हुनाले हावाले यसलाई सुक्खा बनाइदिन्छ।
त्यसैले आराम नगर्ने हो भने कीटाणुले यसलाई नोक्सान पुर्याउने स्थिति बन्न सक्छ।
नाक बन्द हुँदा नाकका नशाहरूमा रक्त प्रवाह बढ्छ।
यसले गर्दा नाकको प्वालको सतह मर्मतका लागि भिजेकै रहिरहन्छ। र हावा यो सतह हुँदै बग्दा तातो र वाष्पयुक्त बन्न पुग्छ।
नासिका चक्रको कार्य
नाकको नियमित कार्यलाई कैयौँ कारकले प्रभावित पार्छन्।
रुघा लागेका बेला नाकमा सिँगानको मात्रा बढी हुन्छ। यसले नाकको प्वाललाई पालैपालो काम गर्नमा समस्या आउन सक्छ।
पराग कण या धुलोका कण जस्ता पदार्थले नाकको कोशिकामा गम्भीर सुजन गराउन सक्छन् यसले गर्दा पनि नासिका चक्रको काममा बाधा उत्पन्न हुन्छ।
केही औषधिहरू - जस्तो कि उच्च रक्त चापको उपचारमा प्रयोग हुने जस्ता औषधिले नाकको सतहमा समस्या पैदा हुन सक्छ। त्यो किनभने त्यस्ता औषधिले शरीरभरिका कोषिकामा प्रभावित पारेका हुन्छन्।
नाक बन्द भएका बेला प्रयोग गरिने औषधिहरू पाँच दिनभन्दा बढी प्रयोग गर्ने हो भने राइनिटीस मेडिकामेन्टोसा भन्ने स्थिति बन्न सक्छ जुन औषधि धेरै प्रयोग गरेका कारण नाक बन्द हुने स्थिति हो।
नाकमा अचानक सुजन भयो भने पनि नासिका चक्रमा समस्या आउँछ।
नाकभित्रको संरचनाले पनि नासिका चक्रलाई प्रभावित पार्छ।
नासिकामा हुने पोलिपहरू जसबाट ४ प्रतिशत मानिसहरू प्रभावित भएका हुन्छन् त्यसले पनि नासिका चक्रलाई प्रभावित पार्छ।
यस्तो अवस्थामा नाकको दुवै प्वालबाट हावा भित्र बाहिर गर्ने प्रक्रियामा समस्या ल्याउँछ र नाक बन्द हुने अवस्था आउँछ।
नाकभित्रको कुनै अंश सामान्य भन्दा फरक रहेको अवस्थामा पनि सधैँ नाक बन्द हुने स्थिति बन्न सक्छ। यस्तो अवस्थामा सास फेराइ सहज बनाउन र निन्द्रा गुणस्तरीय होस् भनेर कहिलेकाहीँ शल्यक्रिया गर्नुपर्ने हुन सक्छ।
विछ्यौनामा पल्टिरहेको अवस्थामा वा झुकेको अवस्थाले पनि नाकमा हावा प्रवाह प्रभावित पार्न सक्छ। पल्टेका बेला तपाईँको नाकमा रगत जम्मा हुन पुग्छ। र गुरुत्वाकर्षणका कारण तपाईँको नासिकाको साइनस तकियातर्फ ढल्किन सक्छ। यसले एउटा नाकको प्वाल बन्द गर्न सक्छ। जसले गर्दा नासिकामा हुने हावा बहने कार्य प्रभावित हुन सक्छ।
यदि तपाईँमा नाक बन्द हुने समस्या छ भने धेरैजसो चाहिँ रुघा लागेको हुन सक्छ। त्यो मार्ग खुला हुन दुई हप्तासम्म लाग्न सक्छ। पिनास भयो भने चाहिँ चार हप्तासम्म त्यो अवस्था हुन सक्छ।
पराग कण पनि नासिकामा समस्या ल्याउने कारक बन्न सक्छ। यसको लक्षण पनि हप्तौँ रहन सक्छ। त्यसैले एलर्जी नियन्त्रण गर्ने औषधि लिने हो भने पनि नाकको प्वाल खुला राख्न सहयोग गर्न सक्छ।
यदि तपाईँको नाकको एउटा प्वाल दुई हप्ता भन्दा बढी समयसम्म बन्द रह्यो भने तपाईँले डाक्टरको परामर्श लिनु ठिक हुन्छ। खासगरी तपाईँको नाकबाट निस्कने सिँगान सामान्यभन्दा फरक मात्रामा छ भने त परामर्शमा जानु नै ठिक हुन्छ।
*एडम टेलर संयुक्त अधिराज्यस्थित ल्याङ्कास्टर विश्वविद्यालयमा एनाटोमी विषयका प्राध्यापक हुन्
*यो लेख मूल अंग्रेजी रूपमा द कन्भरसेशन पत्रिकामा प्रकाशित छ र यहाँ क्रिएटिभ कमन्स लाइसेन्स अन्तर्गत अनुवाद गरेर पुनः प्रकाशन गरिएको हो। मूल अंग्रेजी लेख पढ्न यहाँ क्लिक गर्नुहोस्
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।