मानिसहरूले प्रोटीनप्रति देखाएको मोह कति उपयुक्त, फाइदा र बेफाइदा कस्ता

    • Author, द फूड चेन
    • Role, बीबीसी विश्व सेवा

शेक, बार, पाउडर र केही प्रकारका चिया र कफीमा पनि त्यो पाइन्छ। अहिले प्रोटीनमा धेरैको ध्यानकेन्द्रित हुन थालेको छ।

एकातिर सुपरमार्केटहरूले "उच्च प्रोटीन" भएका विभिन्न खालका खाद्यपदार्थ बेच्न राख्छन्। अर्कातिर टिकटक इन्फ्लुअन्सरहरूले प्रोटीन सेवनको मात्रा कसरी बढाउने भनेर उपाय सिकाउँदै गरेका हुन्छन्।

प्रोटीन हाम्रो स्वास्थ्यका लागि आवश्यक हुने पोषक तत्त्व हो। यसले शरीरमा मांसपेशी बनाउन सघाउँछ। लामो समयसम्म अडिलो महसुस गराउँदै तौल घटाउन पनि यसले सहयोग गर्छ।

तर के प्रोटीनप्रति हामी बढी नै मोहित भएका हौँ त? प्रोटीन मोहमा पर्दा हामीले कतै शरीरलाई अत्यावश्यक अर्को तत्त्व 'फाइबर' अर्थात् रेसालाई बेवास्ता त गरेका छैनौँ?

प्रोटीन के हो?

"प्रोटीन एउटा म्याक्रोन्यूट्रिएन्ट हो अनि त्यो अत्यावश्क हुन्छ। शरीरमा त्यो 'बिल्डिङ ब्लक' अर्थात् आधारभूत निर्माणखण्डको भूमिकामा हुन्छ," साउथ वेल्स विश्वविद्यालयमा पोषण विज्ञान प्राध्यापन गर्ने डा. एमा बेकटले भनिन्।

प्रोटीनयुक्त खानेकुरा सेवन गरेपछि हाम्रो पाचनप्रणालीमा रहेका पाचनरस (एन्जाइमहरू)ले प्रोटीनको अणुलाई अमीनो एसिडमा परिणत गर्छन्। त्यो प्रक्रियाबाट अमीनो एसिडहरू पुनः संयोजित हुन पाउँछन् र शरीरमा आवश्यक हुने विशिष्ट प्रोटीनहरू बन्ने बाटो खुल्छ। शरीरमा मांसपेशी र तन्तुहरू निर्माण र मर्मत गर्न त्यस्ता प्रोटीनको आवश्यकता पर्छ।

मानव शरीरमा २०,००० वटाभन्दा बढी प्रोटीन हुन्छन्। तिनले विभिन्न कार्य गर्छन्: हीमग्लोबिन (रगतमा हुने रातो कोषमा पाइने यो प्रोटीनले शरीरमा अक्सिजन प्रवाह गर्छ) बनाउने, एन्जाइम (हाम्रो शरीरमा रासायनिक प्रतिक्रियालाई तीव्रता दिन सघाउँछ) बनाउने, मांसपेशीको निर्माण तथा मर्मत र हाम्रो छाला तथा केशमा केराटिन उत्पादन गर्ने काम।

"प्रोटीन निकै रोचक हुन्छ किन भने हामीले प्रयोग गरिरहने चिजमा त्यसलाई भण्डारण गरिरहेका हुन्छौँ। त्यसैले यदि हामीले पर्याप्त मात्रामा त्यो पाएनौँ भने मांसपेशी र अरू उपयोगी संरचनालाई बिगार्नुपर्ने हुन्छ," डा बेकट भन्छिन्।

मासु, अण्डा, गेडागुडी, दाल, केराउ तथा दूध र दहीजस्ता दुग्धजन्य पदार्थमा प्रोटीन पाइन्छ।

ब्रिटिश हार्ट फाउन्डेशनका अनुसार हरेक वयस्क व्यक्तिका लागि प्रतिकिलोग्राम तौलका निम्ति दैनिक ०.७५ ग्राम प्रोटीन आवश्यक पर्छ (औसत महिलाका लागि ४५ ग्राम र पुरुषका लागि ५५ ग्राम प्रोटीन आवश्यक पर्छ)।

तर यदि हाम्रो शरीरलाई आवश्यक अरू तत्त्वहरूलाई असर पर्ने गरी प्रोटीन सेवन गरियो भने त्यसबाट हानि पनि पुग्न सक्छ।

फाइबर नबिर्सनुहोस्

हाम्रो शरीर (र शरीरबाट मलत्याग गर्ने प्रक्रिया) लाई चलायमान बनाइराख्न फाइबर निकै महत्त्वपूर्ण हुन्छ।

"त्यसमा विरेचक (मलत्याग गर्न सघाउने) गुण हुन्छ। आन्द्रामा पुगेर त्यसको तहतहलाई सफा गर्छ र कुचोले जस्तो काम गर्छ," सामाजिक सञ्जालमा स्वास्थ्य तथा खानपानबारे सल्लाह दिइरहने यूकेको न्याश्नल हेल्थ सर्भिसका करण राजनले भने।

त्यसले हाम्रो शरीरलाई नियमित रूपमा मलत्याग गर्न सघाउँछ र कब्जियत हुन दिँदैन।

पेटका जीवाणुहरूले भिन्नाभिन्नै तरिकाले फाइबर पचाएर त्यसबाट विभिन्न खालका यौगिकहरू बनाउँछन्। तिनले शरीरमा हुन सक्ने सुजन रोकथाम गर्छन् ।

उच्च फाइबरयुक्त आहाराले मुटुको रोग, मस्तिष्काघात र टाइप टू डाइअबीटीज (टाइप टू मधुमेह) को जोखिम कम गराउँछ।

यद्यपि फाइबरको महत्त्वबारे मानिसहरूलाई बुझाउन निकै कठिन भएको विज्ञहरू बताउँछन्।

"ऐतिहासिक रूपमा र अहिले पनि मेरो विचारमा राम्रो तहमा फाइबरको मात्रासम्म र त्यसभन्दा अगाडिसम्म पुग्न धेरै समय लाग्ला," डा राजन भन्छन्।

ब्रिटिश सरकारका निर्देशिकाहरूले स्वास्थ्यकर र सन्तुलित आहाराको अङ्गका रूपमा हरेक व्यक्तिले दैनिक ३० ग्राम फाइबर सेवन गर्नुपर्ने सुझाव उल्लिखित छ।

"पोषणसम्बन्धी पेसामा सन्तुलित आहाराबारे हामी धेरै कुरा गर्छौँ। अनि मानिसहरू दिक्क मान्छन्। किनकि कुनै निश्चित पोषणमा केन्द्रित हुनुजस्तो सन्तुलनलाई व्यवहारमा ल्याउन त्यति सजिलो हुँदैन," डा बेकट भन्छिन्।

प्रोटीन किन निकै लोकप्रिय भएको छ?

कतिपय विज्ञहरूका अनुसार प्रोटीन सेवनमा रुचि बढ्नुको कारण त्यसका नतिजा सहज रूपमा देखिनु पनि हो।

"हामीलाई के थाहा छ सौन्दर्यसम्बन्धी प्रयोजनका लागि प्रोटीनको सेवनले पुरुषहरूलाई उनीहरूले चाहे जस्तो मांसपेशी बनाउन सघाउँछ," संयुक्त राज्य अमेरिकामा प्रकाशन हुने 'मेन्स हेल्थ म्यागजीन'का उपसम्पादक पोल किटा बताउँछन्। यस्ता उत्पादनहरूमा देखावटीपन लुकेको हुन्छ जस्तो मलाई लाग्छ।"

उमेर बढ्दै जाँदा प्राकृतिक रूपमै मांसपेशीहरू क्षीण हुन थाल्छन्। त्यसैले महिलाहरूले पनि प्रोटीन सेवन बढाउन चाहेका हुन सक्छन्।

'सार्कोपीनीआ' भनिने यो प्रक्रिया महिला र पुरुष दुवैमा हुन्छ, तर रजोनिवृत्तिपछि महिलाहरूमा नाटकीय ढङ्गले 'एस्ट्रजन' होर्मनको कमी हुँदा त्यस्तो स्थिति झन् बढ्न सक्छ।

रजोनिवृत्तिपछि होर्मनमा हुने परिवर्तनका कारण महिलाहरूमा हड्डी कमजोर हुने जोखिम पनि झन् बढी हुन्छ।

प्रोटीनले हड्डीको स्वास्थ्य सुदृढ गर्न सक्ने पृष्ठभूमिमा सुझाव दिइएकोभन्दा बढी मात्रामा प्रोटीन सेवन गर्दा कुनै फाइदा नहुने यूकेको सरी विश्वविद्यालयले सन् २०१९ मा गरेको एउटा अध्ययनले देखाएको थियो। उक्त अध्ययनले अघिल्ला १२७ वटा अध्ययनको विश्लेषण गरेको थियो।

उपभोक्ता बजारसम्बन्धी अनुसन्धान गर्ने एउटा कम्पनी स्पिन्सका एक वरिष्ठ निर्देशक स्कट डाइकरका अनुसार उच्च प्रोटीन हुने कतिपय खाद्यपदार्थहरू उपभोक्ताहरूलाई दिग्भ्रमित तुल्याउने खालका हुन सक्छन्।

"परम्परागत रूपमा हाइ-कार्ब (बढी कार्बोहाइड्रेटयुक्त) वर्ग वा जङ्क फूड मानिने खाद्यपदार्थमा अलिकति प्रोटीन पाउडर थपेपछि अहिले त्यसलाई आरोग्यवर्धक मान्न थालिएको छ। यो निकै रोचक धारणा हो।"

पैसा पनि एउटा प्रमुख पक्ष हो।

विश्वभरि सन् २०२१ मा प्रोटीन पाउडरको बजार ४.४ अर्ब डलर बराबरको थियो भने सन् २०३० सम्ममा त्यो बढेर १९.३ अर्ब डलर पुग्ने ठानिएको छ। प्रोटीन पाउडरको कारोबारबाट धेरै नाफा हुने छ।

सामाजिक सञ्जालमा "प्रोटीन म्याक्सिङ" जस्ता ट्रेन्डहरू पनि चलेका छन्। त्यस्तो अभ्यासमा प्रयोगकर्ताहरूले आफ्नो भोजनमा प्रोटीनको मात्रा बढाउने लक्ष्य राखेका हुन्छन्। त्यसबाट पनि प्रोटीन सेवनको चर्चा बढ्दै गएको छ।

के हामी धेरै प्रोटीन सेवन गर्न सक्छौँ?

आवश्यकताभन्दा बढी प्रोटीन सेवन गर्न हामी हौसिनुमा बजारमा उच्चप्रोटीनयुक्त खाद्यपदार्थ निकै लोकप्रिय हुनु पनि हो।

आफूलाई कति मात्रा प्रोटीन आवश्यकता पर्छ भन्ने कुरा तपाईँको उमेर, लिङ्ग, शरीरको आकार र कति व्यायाम गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्छ।

बजारमा धेरै प्रकारका उत्पादन देखा परेपछि किटाले तिनको प्रभाव हेर्न हाइ-प्रोटीन खाद्यपदार्थ तीन सातासम्म सेवन गरे।

सो क्रममा उनले दिनैपिच्छै हाइ-प्रोटीन ओटमील, हाइ-प्रोटीन दही, हाइ-प्रोटीन म्याकरोनी चीज र हाइ-प्रोटीन पानी

"सुरुमा स्वाद लिँदा अचम्म लाग्यो," खाएपछि महसुस गरेको अतिगुलियोपनबारे किटाले सुनाए।

बजारमा पाइने उच्चप्रोटीनयुक्त उत्पादनहरूमा अमीनो एसिडको तीतोपन कम गर्नका लागि चिनी मिसाइएको हुन्छ।

आफूले सेवन गरेको प्रोटीनसँगै अरू केही गर्नुपर्छ भन्ने महसुस गरेर उनले सामान्य गर्दै आएकोभन्दा बढी व्यायाम गर्न थाले।

उनले त्यस्ता पदार्थ सेवन गर्नुअघि र गरिसकेपछिको अवस्थाको हिसाबकिताब राखे। तौल नबढे पनि उनोक छाती हल्का बढेको त्यो प्रयोगमा देखियो।

"त्यो चाहिँ सम्भवतः किन भयो भन्दाखेरि मैले धेरै प्रोटीन खाइरहेको थिएँ र धेरै गह्रुँगो सामान उचालिरहेको थिएँ। यो विज्ञानमा पनि प्रमाणित कुरा हो।"

मांसपेशीमा भएको थोरै वृद्धि के साँच्चै त्यो पूरा प्रयासका लागि उपयुक्त थियो त?

"थिएन। त्यो समग्र प्रक्रियाभरि म पीडामा थिएँ," उनले भने। किटा निराश भए।

पर्याप्त पोषण पाउनका लागि मानिसहरूले स्वास्थ्यकर, सन्तुलित आहारामा ध्यान दिनुपर्ने विज्ञहरू सुझाउँछन्।

धेरै मात्रामा प्रोटीन प्रशोधन गर्नुपर्दा मिर्गौलालाई भार पर्नेतर्फ सचेत हुनुपर्ने विज्ञहरू औँल्याउँछन्।

जीवजन्तुको मासुबाट प्राप्त हुने प्रोटीनले मिर्गौलामा पत्थरी गराउन सक्छ भने पुरानो समस्या भएका बिरामीमा मिर्गौलासम्बन्धी रोग थपिन सक्छ।

ब्रिटिश डाइअटेटिक असोशिएशनका अनुसार अत्यधिक प्रोटीन सेवनले हाडको स्वास्थ्यमा असर पार्न सक्छ। अत्यधिक मात्रामा प्रोटीन सेवनले बान्ता आउनेजस्ता दुष्प्रभाव पनि निम्तिन सक्छन्।

सेवनकर्ताहरू प्रोटीनको स्रोतबारे पनि सतर्क हुनुपर्छ।

"म्याक्रोन्यूट्रिएन्टहरूबारे उपलब्ध सुझावहरू हामी कति कार्बोहाइड्रेट, प्रोटीन र चिल्लो पदार्थ सेवन गर्छौँ भन्नेमा आधारित छैनन्," डा बेकट भन्छिन्।

"त्यो हामीले सेवन गर्ने खानेकुराहरूबाट आउने पोषक तत्त्वहरूमा आधारित हुन्छन् र बजारमा हामीले हेर्दै आएका उच्चप्रशोधित प्रोटीनयुक्त खानेकुराहरू त्यो सन्तुलनसँग मेल खान्छन् भन्ने जरुरी छैन।"

प्रोटीनमा धेरै ध्यान दिँदा स्वास्थ्यसम्बन्धी हाम्रो धारणा ठूलो जोखिम" पर्न सक्ने भन्दै उनी सबैलाई बृहत्तर दृष्टिकोण राख्न र फाइबरबारे सोच्न सुझाव दिन्छिन्।

"हामी इन्धन बाल्ने इन्जिन हैनौँ - हाम्रो शरीर एउटै इन्धनमा निर्भर हुन्न। स्वास्थ्य र अस्तित्व जोगाउन हामीलाई धेरै प्रकारका पोषक तत्त्वहरू चाहिन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।