इरानमा युद्धबारे सरकारी सञ्चारमाध्यमहरूले के कस्तो जानकारी दिइरहेका छन्?

    • Author, रेहा कन्सारा
    • Role, बीबीसी ग्लोबल डिसइन्फरमेशन युनिट
    • Author, सोरोस नेगादरी
    • Role, बीबीसी मनिटरिङ
  • पढ्ने समय: ६ मिनेट

गत २८ फेब्रुअरीका दिन इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले तानाशाह अब रहेनन् भन्ने सङ्केत मिलेको छ भनेर इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई अमेरिका र इजरेलको संयुक्त आक्रमणमा मारिएको भन्ने समाचार इरान बाहिर देखिएकै बेला इरानको सरकारी टेलिभिजन हेरिरहेका इरानीहरूले भने त्यस्तो समाचार पाएनन्।

त्यतिबेला इरानी सरकारी अधिकारीहरूले खामेनेईको मृत्युको पुष्टि र इन्कार दुवै गरेनन्। सरकारी ब्रोडकास्टरमध्ये एक आईआरटीभी३ मा प्रस्तोताले दर्शकहरूलाई उनीसँग र सरकारसँग रहेको पछिल्लो जानकारीमाथि विश्वास गर्न आग्रह गर्दै उनले खामेनेईको मृत्युलाई "आधारहीन हल्ला" भने र सत्य "छिटै बाहिर" आउने बताए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोसल मिडियामार्फत् सार्वजनिक गरेको घण्टौँपछि इरानी सरकारी मिडियाले खामेनेईको मृत्यु भएको बतायो।

युद्ध सुरु भएयता इरानमा १,२०० भन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ र यो लेबननदेखि खाडीका अरब देशसम्म पनि फैलिएको छ। इरानी सरकारी सञ्चार माध्यमले भने तथ्यमा कथा मिसाएर आफ्ना घरेलु दर्शकलाई घटनाको औपचारिक जानकारी प्रवाह गरिरहेको पाइएको छ।

दशौँ लाख इरानीले विदेशस्थित फारसी भाषाका स्याटेलाइट टीभी च्यानल हेर्ने भए पनि स्वतन्त्र समाचार पाउन भने मुस्किल छ। इन्टरनेट बन्द, सेन्सरशिप र निश्चित च्यानलमा मात्र पहुँचका कारण इरानीहरू अशान्ति र लडाइँका दौरान बाहिरी दुनियाँबाट बेखबर छन्।

बीबीसीले इरानका सरकारी मिडियाद्वारा प्रेषित गरिएका युद्धका समाचारमध्ये पहिलो हप्तामा के भइरहेको छ भनेर हेरेको थियो। ति मिडियाले 'सर्वसाधारणले पाएको दुःख, दुश्मनका विरुद्ध बदला र इस्लामिक रिपब्लिकप्रति बफादारी' लाई आफूले प्रसार गर्ने विषयको केन्द्रमा राखेको पाइयो। त्यसमा सैन्य र सरकारी संरचनामाथि इजरेल र अमेरिकी आक्रमणबारे निकै कम भन्ने गरिएको थियो। हामीले गलत जानकारी प्रवाह भइरहेका उदाहरण पनि भेट्यौँ।

इरानको मिडिया संयन्त्र

मिडिया वाचडग रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार इरान प्रेस स्वतन्त्रता दबाउने मुलुकहरूमध्ये एक हो। सन् १९७९ को क्रान्तिपछि जब इस्लामिक रिपब्लिक अफ इरान बन्यो तबदेखि मिडियाले सरकारको कडा नियन्त्रणमा रहेर काम गरिरहेको छ। बीबीसी पर्सियनदेखि पश्चिमा मिडिया संस्थालाई इरानमा काम गर्न प्रतिबन्ध छ।

सरकारको मुख्य समाचार माध्यम टीभी र रेडियो भए पनि समाचार वेबसाइट र इन्स्टाग्राम, टेलिग्राम, एक्स जस्ता सञ्जालमार्फत् अनलाइनमा पनि उपलब्ध छ। तर सामाजिक सञ्जालमा पहुँच पाउन भीपीएन प्रयोग गर्नुपर्छ।

खासगरी इन्टरनेट बन्द गरिएका बेला सरकारका मिडिया संयन्त्र नै देशभित्रका इरानीहरूका लागि समाचारका मुख्य स्रोत हुन्। मानव अधिकारवादी संस्था विटनेसकी मासा अलिमर्दानी भन्छिन् "उनीहरूको सेना असाध्यै मजबुत छ र उनीहरू जितिरहेका छन् भन्ने कुरा फैलाइएको छ।"

इरानी सरकारी मिडियाले इरानी फौजले सयौँ अमेरिकी सेनालाई घाइते बनाएको र मर्नेको सङ्ख्या पनि बढाइ चढाइ गरेर बताएको पाइन्छ।

गत ३ मार्चका दिन तस्निम न्यूजले आईआरजीसीका प्रवक्तालाई उद्धृत गर्दै युद्धको पहिलो दुई दिनमा ६५० जना अमेरिकी सैनिक मारिएका बताएको थियो।

त्यो दाबीलाई भारत, टर्की र नाइजेरियाका समाचार संस्थाहरूले प्रयोग गरेका थिए।

त्यस बेलासम्म पेन्टागनले ६ जना अमेरिकी सैनिक मारिएको जानकारी दिएको थियो र १३ मार्चका दिन अमेरिकी सेन्ट्रल कमान्डले थप अर्को एक जनाको मृत्यु भएको बताएको थियो।

वास्तविकता बङ्ग्याउने

नयाँ प्रविधिले पनि सरकारी मिडियाबाट हल्ला फैलाउन मद्दत गरिरहेको छ।

एक फेसबुक पोस्टमा - जुन पछि डिलिट गरिएको थियो, सरकारी अङ्ग्रेजी न्यूज च्यानल पेस टीभीले जलिरहेको एउटा भवनको भिडिओ शेअर गरेको थियो जसमा हावामा धुँवाको मुस्लो उडिरहेको देखिन्थ्यो।

त्यसमा 'इरानको हमलापछि बाहरेनमा एक अग्लो भवनबाट धुवाँ उडिरहेको' भन्ने विवरण लेखिएको थियो।

तर ध्यान दिएर हेर्दा अनौठा तथ्यहरू देखिए जस्तो कि दुई कारलाई मिलाएर एक बनाइएको, त्यसले गर्दा भिडिओ नक्कली थियो र एआईको सहयोगमा बनाइएको थियो भन्ने थाहा भयो।

"यूकेको थिङ्क ट्याङ्क इन्टिट्यूट अफ स्ट्र्याटेजिक डाइलगका वरिष्ठ निर्देशक ब्रेट शफर भन्छन्, "युद्धका बेला हल्ला फैलाउन एआईको प्रयोग नयाँ कुरा नभए पनि ठूलो सरकारी मिडियाद्वारा एआईको नक्कली विषयवस्तु प्रयोग गर्नु आश्चर्यजनक कुरा हो। इरानी सरकारी मिडियाले डीपफेक प्रयोग बारम्बार गर्नुले यो उनीहरूको युद्धबारे बताउने तरिका बनेको देखिएको छ।"

एआईबाट बनेका विषयवस्तुको सोसल मिडियामा बाढी नै छ तर त्यो कसले बनायो र कहाँबाट आयो भन्ने स्पष्ट छैन।

युद्ध सुरु भएयता सरकारले आफ्ना भनाइ राख्न एआईका तस्बिर प्रयोग गरेका अन्य उदाहरण पनि बीबीसीले देखेको छ। धेरैजसो तस्बिरहरू अवास्तविक छन् र कसैले दिग्भ्रमित पार्ने भन्दा पनि आफ्नो भनाइलाई बढाइचढाइ गर्नु रहेको देखिन्छ।

ह्वाइट हाउस र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि त्यस्तै खाले आफ्ना गतिविधिको बढाइ चढाइ गर्ने तस्बिर र भिडिओहरू नियमित रूपमा प्रयोग गर्ने गरेका छन्।

हालै इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले इन्स्टाग्राममा एआई जेनेरेटेड तस्बिरमा आफू, ट्रम्प र दोस्रो विश्व युद्धका बेला प्रधानमन्त्री रहेका ब्रिटिश राजनीतिज्ञ विन्स्टन चर्चिल रहेको विजयी मुद्रा देखाउने पोस्ट राखेका थिए।

सत्यका अंश पनि

असत्य समाचारका साथमा केही सत्य अंश पनि घुसाउने इरानी सत्ताका कारण इरानभित्र र बाहिर संशय पैदा भएको छ।

३ मार्चका दिन इरानी सरकारी मिडियाले एक स्कुलमाथि भएको आक्रमणमा १६० बालबालिका र कर्मचारीहरू मारिएको बताए।

स्वतन्त्र विज्ञहरूले त्यसलाई अमेरिकाले नजिकैको सैन्य आधारमाथि गरेको आक्रमण भने।

समाचारमा अन्तिम संस्कारको तस्बिर पनि शेअर गरिएको थियो।

इरानी सरकारका विपक्षीहरूले अन्तिम संस्कारको फोटो एआई जेनेरेटेड हो भने।

तर तस्बिर साँचो थियो। हामीले स्कुलदेखि ३.७ किलोमिटर टाढा रहेको चिहानस्थल फेला पार्‍यौँ । तस्बिरमा देखिएका रुखहरू, सडक र नजिकैको भवन पनि त्यहाँ थिए।

स्याटेलाइट तस्बिरमा एकदिन अघि बाँझो रहेको जमिन र भोलिपल्ट नयाँ खनेको चिहान देखिन्थ्यो ।

विटनेसकी मासा अलिमर्दानी भन्छिन्, "हामीले एउटा समयमा दुई सत्य हेर्नु परेको छ। इरानी सत्ताले धेरैजसो अत्याचारको प्रमाण लुकाउँछ र युद्धका बेलामा उसले सर्वसाधारण मारिएको कुरा भने गहिरो तरिकाले दस्ताबेजीकरण गर्छ।

त्यस्तो दस्ताबेजले राज्यको युद्धको भाष्यलाई सहयोग गर्छ उनी भन्छिन् र त्यो स्वतः झुटो पनि हुँदैन।

इरानको सरकारी रिपोर्टिङको कुरा आउँदा केही "शङ्का" राखेरै बुझ्नुपर्ने अलिमर्दानी बताउँछिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।