तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकाले यसै साता युक्रेनमा अर्बौँ डलर बराबरका अस्त्रलगायत सहायता पठाउने
अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई केही दिनभित्रै अस्त्र तथा उपकरणहरूको नयाँ खेप पठाइने बताएका छन्।
मङ्गलवार अबेर अमेरिकी सिनेटले ९५ अर्ब डलर बराबरको विदेशी सहायतसम्बन्धी विधेयक अनुमोदन गरेको छ।
उक्त सहायता प्याकेजमा इजरेल र ताइवानका साथै युक्रेनका लागि सैन्य सहायता पनि समेटिएको छ।
“यसै साता” सहायता पठाउन सकियोस् भनेर “आफ्नो टेबुलमा आउनासाथ” बुधवार विधेयकमा हस्ताक्षर गर्ने बाइडनले बताएका छन्।
महत्त्वपूर्ण विधेयक
रुसले अतिक्रमणमा तीव्रता दिइरहँदा युक्रेनले पश्चिमा सहायताका लागि ताकेता गर्दै आएको पृष्ठभूमिमा अमेरिकी अनुदान अनुमोदित भएको हो।
उक्त सहायता प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर बराबरको सैन्य सहयोग रहेको छ।
अनुदानसम्बन्धी विधेयकको पक्षमा व्यापक मत खसेसँगै कङ्ग्रेसमा जारी ६ महिनायताको गतिरोध अन्त्य भएको छ।
विधेयक पारित भएकोमा प्रशंसा गर्दै बाइडनले भनेका छन्, “महत्त्वपूर्ण विधेयक पारित भएसँगै हामीले हाम्रो मुलुक तथा विश्वलाई थप सुरक्षित तुल्याउनेछौँ किनकि हामीले हाम्रा मित्रहरूलाई सहयोग गरिरहेका छौँ जो हमासजस्ता आतङ्कवादीसँग र पुटिनजस्ता तानाशाहविरुद्ध लडिरहेका छन्।”
डेमोक्र्याटिक सिनेट मेजोरिटी लिडर चक सुमरले भनेः “छ महिनादेखिको कठिन परिश्रम तथा कैयौँ उतारचढाव एवं घुम्तीपछि अमेरिकाले सिङ्गो विश्वलाई सन्देश पठाउन सकेको छ- हामी तपाईँका लागि पिठयूँ फर्काउन्नौँ।”
इजरेल र ताइवानलाई छुट्टै
सहायता प्याकेजसम्बन्धी विधेयक अनुमोदन भएपछि प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “त्यसबाट लोकतन्त्र एवं स्वतन्त्र विश्वका निम्ति अमेरिकी भूमिका महत्त्वपूर्ण रहेको पुनः प्रमाणित भएको” टिप्पणी गरेका छन्।
गत फेब्रुअरीमा सिनेटले सोही प्रकृतिको एउटा सहायता प्याकेजलाई अनुमोदन गरेको थियो।
तर युक्रेनलाई नयाँ सहायता दिने कदमको विपक्षमा रहेका अनुदारवादी नेताहरूको एउटा समूहले तल्लो सदनमा मतदानका लागि त्यसलाई आउनबाट रोकेका थिए।
सन् २०२२ को फेब्रुअरीदेखि सन् २०२४ को ज्यानुअरीसम्म अमेरिकाले युक्रेनलाई ४० अर्ब डलरभन्दा बढीको सैन्य सहायता उपलब्ध गराएको एउटा जर्मन अनुसन्धान सङ्गठनले जनाएको छ।
पछिल्लो अमेरिकी विदेशी सहायतामा इजरेलका लागि १७ अर्ब डलर छुट्ट्याइनुका साथै गाजासहित युद्धग्रस्त क्षेत्रमा पीडा खेपिरहेका नागरिकका सहायताका निम्ति ९ अर्ब डलर निर्धारण गरिएको छ।
“कम्युनिस्ट चीनको सामना गर्न”का निम्ति ताइवानसहित एशिया प्यासिफिकमा ८ अर्ब डलर सहायता तोकिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।