खशोग्गी हत्या: टर्कीद्वारा सत्य खुलासा गर्ने प्रतिबद्धता

साउदी अरेबियाले इस्तानवुलस्थित उसको वाणिज्य दूतावासमा पत्रकार जमाल खशोग्गी मारिएको पहिलो पटक स्वीकार गरेपछि टर्कीले उनको हत्यासम्बन्धी सबै विवरणहरूको खुलासा गर्ने प्रतिबद्धता जनाएको छ।

टर्कीको सत्तारूढ दलका प्रवक्ताले टर्कीले ढाकछोपलाई कहिल्यै स्थान नदिने बताएका छन्।

शुक्रवार साउदी अरेबियाले आफ्नो एक प्रभावशाली आलोचक रहेका खशोग्गीको 'मुक्काबाजी'का कारण मृत्यु भएको जनाएको छ।

टर्कीका अधिकारीहरूले यसअघि खशोग्गीको हत्या वाणिज्य दूतावासभित्रै जानाजान गरिएको र उनको शव टुक्रा टुक्रा पारिएको बताएका थिए।

दबाब

यो हप्ताको सुरूमा नाम नखुलाइएका टर्कीका अधिकारीहरूले खशोग्गीको मृत्यु प्रमाणित गर्न आफूहरूसँग श्रव्यदृश्य प्रमाण रहेको सञ्चारमाध्यमलाई बताएका थिए।

खशोग्गी बेपत्ता भएको विषयलाई लिएर साउदी अधिराज्यलाई उनको अवस्थाबारे बताउन अत्यधिक दबाब परेको थियो।

आफ्नी पूर्वश्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित भएको कागजात लिन सेप्टेम्बर २८ मा पहिलो पटक उनी वाणिज्य दूतावास गए ताकी उनले कुरा छिनोफानो भएकी टर्कीकी महिलासँग विवाह गर्न सकून्।

तर त्यसका लागि उनलाई अक्टोबर २ तारिखमा पुन: वाणिज्य दूतावास आउन भनिएको थियो।

खानतलासी

हिजोसम्म साउदीले उनी कहाँ छन् भन्ने बारे अनभिज्ञ रहेको बताउँदै आएको थियो।

बरू उनले सकुशल वाणिज्य दूतावासको भवन छाडेको बताइएको थियो।

टर्कीका प्रहरी र अभियोजनकर्ताहरूले यो हप्ता वाणिज्य दूतावासमा खानतलासी गरेका थिए।

शुक्रवार उनीहरूले खानतलासीलाई तीव्र पार्दै एउटा नजिकैको जंगलमा पनि पुगे र नाम नखुलाइएका अधिकारीहरूले उनको शव त्यहाँ गाडिएको हुनसक्ने आशंका गरेका छन्।

प्रतिक्रिया

खशोग्गी र वाणिज्य दूतावासमा उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्युको घटना निम्त्याएको साउदीले जनाएको छ।

उसले छानविन जारी रहेको र १८ जना साउदी नागरिकहरूलाई गिरफ्तार गरिएको जनाएको छ।

रोयटर्स समाचार संस्था र न्यूयोर्क टाइम्ससँग कुरा गर्दै नाम नखुलाइएका अधिकारीहरूले साउदीले स्थानीय सहयोगीहरूलाई शव गाड्नका लागि दिएपछि शव कहानेर छ भनेर उनीहरूलाई थाहा नभएको बताएका छन्।

खशोग्गीको हत्या प्रकरणलाई लिएर एकजना उच्च गुप्तचर अधिकारी अहमद अल-असिरी र राजपरिवारका एकजना वरिष्ठ सल्लाहकार साउद अल-कतानीलाई बर्खास्त गरिएको छ।

साउदी अधिकारीहरूले यसको प्रमाण दिन भने अझै बाँकी नै छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जे भयो त्यो अस्वीकार्य रहेको बताउँदै साउदी अधिकारीहरूको गिरफ्तारी पहिलो महत्त्वपूर्ण कदम भएको जनाए।