तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गुर्जा हिमाल: आरोहीहरूको 'खोजी कार्य आइतवार बिहानै'
खराब मौसमका कारण शनिवार उद्धारका लागि काठमाण्डूबाट गएको हेलिकोप्टर अवतरण गर्न नसकेपछि म्याग्दी जिल्लामा पर्ने गुर्जा हिमालमा देखिएका आरोहीहरूको शव ल्याउन तथा हराइरहेकाहरूलाई खोजी गर्न आइतवार बिहानै देखि तालिमप्राप्त व्यक्तिहरू पठाइने अधिकारीहरूले बताएका छन्।
धौलागिरि हिमश्रृंखलामा पर्ने कम नाम सुनिएको गुर्जा हिमाल आरोहणमा गएका पाँचजना दक्षिण कोरियाली र चारजना नेपालीमध्ये सातजनाको शव देखिएको र थप दुईजना अझै हराइरहेको अधिकारीहरूले बताएका छन्।
आरोहीहरू, हिमाल आरोहणपश्चात् वा आरोहणमा जाने क्रममा, कुन अवस्थामा दुर्घटनामा परेको हुन् त्यो प्रष्ट भइसकेको छैन।
खराब मौसमका कारण शनिवार उद्धारका लागि काठमाण्डूबाट गएको हेलिकप्टर अवतरण गर्न नसकेकाले आइतबार बिहानैदेखि तालिमप्राप्त उद्धारकर्ता सहित शव ल्याउन र हराइरहेकाहरूलाई खोजी गर्न प्रयास गरिने अधिकारीहरूले बताए।
धौलागिरि हिमश्रृंखलाको दक्षिण पश्चिममा पर्ने झण्डै सात हजार दुई सय मिटर अग्लो गुर्जा हिमालको आधार शिविरमा शवहरू छरिएको अवस्थामा रहेको अधिकारीहरूको भनाइ छ।
उचाइ
म्याग्दी जिल्लास्थित धौलागिरि गाउँपालिका-१ मा पर्ने घटनास्थल करिब तीन हजार पाँच सय मिटर उचाइमा रहेको बताइएको छ।
हिम पहिरो, हिमताल बिस्फोट वा हिम आँधीमध्ये के कारणले उक्त दुर्घटना भएको भन्ने पुष्टी हुन नसकेको अधिकारीहरू बताउँछन्।
हालै आरोहरणका लागि खुला गरिएको उक्त हिमालको आधार शिविरका उच्च भागमा त्रिपालहरू टाँगिएकाले आँधीका कारण उक्त घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
उद्धारका लागि काठमाण्डूबाट गएको एउटा हेलिकप्टर अवतरण गर्न नसकेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए।
प्रयास
उनले भने, "सेना पनि तयारी अवस्थामा छ। आइतबार तालिमप्राप्त जनशक्ति सहित हेलिकोप्टरबाट उद्धारको प्रयास हुन्छ।"
आरोहण दलमा ८ हजार मिटरका १४ वटा हिमालहरू विना अक्सिजन चढिसकेका एकजना कोरियाली आरोही किम चाङ हो समेत रहेको बताइएको छ।
दुर्घटना गत बुधवार वा बिहीवार भएको हुनसक्ने अधिकारीहरूको अनुमान छ।
ती पर्वतारोहीहरू ट्रेकिङ क्याम्प नेपाल नामक एजेन्सी मार्फत् आरोहणका लागि गएका थिए।
जानकारी
उक्त संस्थाका प्रबन्ध निर्देशक वाङ्चु शेर्पाले भने, "एकजना ७५ वर्षका वृद्ध भएकाले उनी एकजना गाइड लिएर तलै बसेका थिए। एकजना भरिया र एकजना गाइड माथि आधार शिविरमा गएकामा बिहीवारसम्म फर्कनु पर्ने नआएपछि खोजिनीति गर्दा घटना पत्ता लाग्यो।"
पर्वतारोहीहरूका अनुसार धौलागिरि श्रृंखलामा पर्ने हिमालहरूवरपर प्राय: हिमआँधी आउने गर्छ।
नेपालको हिमाली क्षेत्रमा अझै पनि भरपर्दो पूर्व सूचना प्रणाली नभएकाले हिमआँधी, हिम पहिरो वा हिमताल फुट्ने जस्ताबाट विपदबाट निम्तिने जोखिम धेरै रहेको भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्।