नेपालद्वारा अफगानिस्तान पराजित

तस्बिर स्रोत, bbc
अफगानिस्तान विरुद्ध ९ रनको दुर्लभ जित हात पार्दे नेपालले पहिलो विश्वकप सहभागितालाई स्मरणीय बनाएको छ ।
बंगलादेशको चिटगोंगमा भइरहेको खेलमा समूह चरणबाट अगाडी बढ्न नसकेपनि नेपालले समूहको उपविजेता बन्दै विश्वकपमा राम्रो प्रभाव समेत छोडेको छ ।
चिटगोंग पुगेका हाम्रा खेल संवाददाताका अनुसार अन्तिम १२ बलमा अफगानिस्तानले ३० रन जोड्नु पर्ने भएपछि मैदानको दृष्य निकै तनावपूर्ण बनेको थियो ।
सफल
नेपाली टोलीका कप्तान पारस खड्का तेज बलरहरुको लागि सुहाउदो भनिएको पिचमा जितेन्द्र मुखिया र आफैले बलिंगको अभिभारा लिंदै विपक्षी ब्याट्सम्यानलाई रोक्न आएका थिए र उनीहरु यसमा सफल पनि भए ।
यति नै बेला अफगानिस्तानको ब्याट्सम्यान जितेन्द्रको बलमा पारस द्धारा क्याच आउट भए ।
खेल यतिखेर नेपालको पोल्टामा गइसकेको थियो ।
अन्तिम ओभरमा अफगानिस्तानलाई २४ रन चाहिएको थियो ।
ज्ञानेन्द्र मल्लले दुई चौका रोक्न नसकेपनि सोमपाल कामी उत्कृष्ट बल फ्याँक्दै नेपाललाई जित दिलाउन सफल भए ।
बीबीसीसँग कुरा गर्दै कप्तान पारस खड्काले बिहीबारको जित ऐतिहासिक भएको बताए।
सन् २००४ पछि नेपालले अफगानिस्तानलाई कुनै पनि शैलीको क्रिकेटमा हराउन सकेको थिएन ।
हावी
पूर्ण रुपमा अफगानिस्तान नै हावी हुंदै आएको थियो ।
दश वर्षपछि कथा बदलियो , त्यो पनि विश्वकपमा ।
अफगानिस्तानका खेलाडीहरु नेपालको तेज बलिंगको शिकार बन्न पुगेका थिए ।
चिटगोंगको जोहर अहमद चौधरी रंगशालामा तेज बलरहरु सोमपाल कामी र जितेन्द्र मुखिया तथा शक्ति गौचनले एसोसियट राष्ट्रको सबैभन्दा बलियो प्रतिद्वन्दीलाई रन लिनबाट रोकेका थिए ।
चोट बोकेका पारस आफै तेज बल फयाँक्न आएका थिए ।
१४२ रनको स्कोरलाई निकै सहज ढंगले लिएका अफगान ब्याट्सम्यानहरु शुरुमा एक रन लिन अल्छि गरिरहेका थिए ।
प्रभाव
तर त्यसपछि नै तेज बलरहरुले प्रभाव देखाउन थालेका थिए, विशेष गरी म्यान अफ द म्याच जितेन्द्र मुखियाले ।
खेल पछि अफगानिस्तानका ब्याट्सम्यान सफिक उल्लाहले हारको कारण ब्याट्सम्यानहरुको कमजोर प्रदर्शनलाई दिए ।
उनले नेपाली टोलीको प्रशंसा पनि गरे ।
यसअघि टस हारेर पहिलो ब्याटिंग पाएपछि नेपाली ब्याट्सम्यानहरु २० ओभरको खेलमा झन्डै १० ओभरमा रन बटुल्न असफल भएका थिए ।
यद्यपि प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेलको अर्धशतकीय इनिंग, शरद भेषावकरको ३७ रन र उपकप्तान ज्ञानेन्द्र मल्लको २२ रनको मदतले नेपालले १४१ रनको प्रतिस्पर्धात्मक स्कोर जोडेको थियो ।
पहिलो विश्वकप सहभागितामा प्रभावकारी ढंगबाट दुई खेल जित्दै समूह उपविजेता बन्नुलाई नेपालको ठूलो उपलब्धि मानिएको छ ।
बिहिबार हुने खेलमा बंगलादेश हंगकंगसँग हारेमा नेपाल दोस्रो चरणमा पुग्न सक्छ।
रणनीति
यसअघि नेपाली प्रशिक्षक पुबुदु दसानायकले चाँही विगतको भन्दा उत्कृष्ट खेल देखाउनु नै आफ्नो टीमको लक्ष्य भएको बताएका थिए ।
हंगकंग र बंगलादेशसँगको प्रदर्शनपछि त्यो सम्भव भएको उनको भनाइ थियो ।
“हामी राम्रो खेल्नेबारे मात्र सोचिरहेका छौं, चार अंक लिएर खेल टुंग्याउने हाम्रो चाहना हो,” दसानायकले भने।
यसअघि नेपाल बाँगलादेशसंग पराजित भएको थियो।








