अन्तर्राष्ट्रिय नारी दिवस : किन मनाइन्छ र यसको महत्त्व के हो, पुरुष दिवस कहिले हो

तपाईँले सञ्चारमाध्यममा वा साथीहरूले अन्तर्राष्ट्रिय नारी दिवसबारे कुराकानी गरेको देख्नु वा सुन्नुभएको होला। नेपालमा पनि यो दिवस मनाउने गरिएको छ।

तर यो दिवस के का लागि हो र कहिले मनाइन्छ? यो उत्सव मनाउने दिन हो कि विरोधप्रदर्शन गर्ने दिन हो? के पुरुषहरूका लागि पनि त्यस्तै अन्तर्राष्ट्रिय दिवस छ?

एक शताब्दीभन्दा अघिदेखि ८ मार्च लाई मानिसहरूले महिलाको विशेष दिन मानेर विश्वभरि नारी दिवस वा महिला दिवस मनाउँदै आएका छन्।

यो सामग्रीमा हामी अन्तर्राष्ट्रिय नारी दिवसका विषयमा चर्चा गर्दै छौँ।

नारी दिवस कसरी आरम्भ भयो?

अन्तर्राष्ट्रिय नारी दिवसलाई श्रमिक आन्दोलनबाट सुरु भएको मान्न सकिन्छ। संयुक्त राष्ट्र सङ्घले पनि यसलाई मान्यता दिएको छ।

सन् १९०८ मा न्यूयोर्क सिटीमा १५,००० महिलाले दैनिक काम गर्ने समयावधि घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र आफूलाई मतदानको अधिकार प्राप्त हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। त्यसैबाट दिवसको बीजारोपण भएको थियो।

त्यसको एक वर्षपछि 'द सोशलिस्ट पार्टी अफ अमेरिका'ले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गर्‍यो।

उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेट्किन नाम गरेकी कम्युनिस्ट अभियानकर्मी तथा महिला अधिकारवादीले अगाडि सारेकी थिइन्।

उनले उक्त विचार कोपन्हागनमा 'कन्फरेन्स अफ वर्किङ विमिन' नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन्। त्यो सम्मेलनमा १७ देशका १०० महिला सहभागी थिए। उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए।

नारी दिवस पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेन्मार्क, जर्मनी र स्विट्जरल्यान्डमा मनाइएको थियो भने शतवार्षिकी सन् २०११ मा मनाइयो।

सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले नारी दिवस मनाउन सुरु गरेपछि त्यसले औपचारिक तथा अन्तर्राष्ट्रिय तहमा पुग्यो। राष्ट्रसङ्घले पहिलो नारा "सेलब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर अर्थात् विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने" भन्ने राखेको थियो।

अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरू समाजमा कति अगाडि बढे, राजनीति र अर्थतन्त्रमा कति अगाडि बढे भनेर मनाउने दिवस बनेको छ। अनि विद्यमान असमानताबारे चेतना बढाउन कतै विरोधप्रदर्शन र जुलुस गरेर यो दिवस मनाउने गरिन्छ।

अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चमा नै किन?

क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस प्रस्ताव गर्दा कुनै निश्चित दिन तोकेकी थिइनन्।

सन् १९१७ मा युद्धका बेला रुसी महिलाहरूले "शान्ति र रोटी" माग गर्दै चारदिने विरोधप्रदर्शन गरेपछि त्यस बेलाका शासकले सत्ता छोडे। त्यसपछि बनेको कामचलाउ सरकारले महिलालाई मतदानको अधिकार दियो।

त्यस बेला रुसमा प्रचलनमा रहेको जुलिअन क्यालेन्डरअनुसार २३ फेब्रुअरीको दिनमा महिलाको हडताल सुरु भएको थियो। ग्रेगोरिअन क्यालेन्डरका अनुसार उक्त दिन ८ मार्चमा परेको थियो। त्यसयता ८ मार्चमा नारी दिवस मनाउन थालियो।

विश्वभरि नारी दिवस कसरी मनाइन्छ?

धेरै देशमा यो दिन सार्वजनिक बिदा दिइन्छ। चीनमा महिलाले आधा दिनको बिदा पाउँछन्। विश्वभरि यो दिन विभिन्न कार्यक्रम गरिन्छ।

इटलीमा यो दिन लज्जावतीको फूल उपहार दिने चलन छ। यो दिन रुसमा फूलको बिक्री दुई गुनाले बढ्छ।

सर्बिया, आल्बेनिया, मेसेडोनिया र उज्बेकिस्तानमा नारी दिवसकै दिन 'आमा दिवस' पनि मनाइन्छ।

संयुक्त राज्य अमेरिकामा मार्चलाई 'महिला इतिहास महिना' मानिन्छ। राष्ट्रपतिद्वारा हरेक वर्ष अमेरिकी महिलाहरूले गरेको प्रगति विवरण उल्लेख गर्ने चलन छ।

किन मानिसहरू प्याजी रङ्गका कपडा लगाउँछन्?

अन्तर्राष्ट्रिय नारी दिवसको वेबसाइटका अनुसार प्याजी, हरियो र सेतो रङ्ग अन्तर्राष्ट्रिय नारी दिवसको रङ्ग हो।

"प्याजी रङ्गले न्याय र गरिमा जनाउँछ। हरियोले आशा जनाउँछ। सेतोले पवित्रता जनाउँछ तर यो धारणा विवादास्पद छ। यी रङ्गहरू यूकेको विमिन्स् सोशल एन्ड पोलिटिकल यूनिअन (डब्ल्यूएसपीयू)ले पहिलो पटक प्रयोग गरेको थियो।

यूकेमा महिलालाई मताधिकार खोज्ने अभियान थाल्ने उक्त समूह सन् १९०३ मा स्थापना भएको हो।

के अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ?

छ नि। नोभेम्बर १९ तारिखमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइन्छ।

तर यो दिवस सन् १९९० को दशकदेखि मात्र मनाउन थालिएको हो। यसलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरिसकेको छैन। तर यूकेसहित ८० देशमा यो मनाउन थालिएको छ।

यो दिनमा "पुरुषले संसार, उनीहरूका परिवार र समुदायलाई दिने सकारात्मक देन"को स्मरण गरिन्छ। आयोजकहरूका अनुसार यो दिवसले सकारात्मक र प्रेरक व्यक्तित्वहरूबारे जानकारी सार्वजनिक गर्ने, पुरुषको स्वास्थ्यजस्ता विषयमा चेतना जगाउने र लैङ्गिक सम्बन्ध सुधार्ने काम गरिन्छ।

अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को नारा के हो?

संयुक्त राष्ट्रसङ्घले यो वर्ष नारी दिवसको नारा "सबै महिला र युवतीका लागि। समानता। सशक्तीकरण" राखेको छ। यसको लक्ष्य नयाँ पुस्तालाई दीर्घकालीन परिवर्तनका संवाहक हुने गरी बलियो बनाउनु हो।

अन्तर्राष्ट्रिय नारी दिवसको वेबसाइटले यो वर्ष आफ्नो थीम #AccelerateAction छानेको छ। उक्त संस्थाले सामाजिक सञ्जालमा दिवस तथा महिला सशक्तीकरणका विषयमा लेख्दा #IWD2025 र #AccelerateAction प्रयोग गर्न आह्वान गरेको छ।

अन्तर्राष्ट्रिय नारी दिवस किन चाहिन्छ?

आयोजकहरू यो दिवसले लैङ्गिक समतालाई गति प्रदान गर्नका लागि कर्म गर्न प्रेरित गर्छ भन्ने मान्यता राख्छन्।

उसो भए के अझै काम गर्न बाँकी छ त? तथ्याङ्कले छ भन्ने सङ्केत गर्छ।

संयुक्त राष्ट्रसङ्घले द्वन्द्वसँग सम्बन्धित यौन हिंसा बढेको पुष्टि गरेको छ। अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत वृद्धि हुँदै सन् २०२३ मा त्यस्ता ३,६८८ घटना अभिलेखमा आए। पीडितमध्ये ९५ प्रतिशत महिला, युवती र बालिका थिए।

यूनिसेफका अनुसार झन्डै ११.९ करोड बालिकाहरू विद्यालय गएका छैनन्।

गत वर्ष प्रकाशित वर्ल्ड ब्याङ्क ग्रूपको एउटा प्रतिवेदनका अनुसार पुरुषको तुलनामा महिलाहरूले दुईतिहाइ कानुनी अधिकार मात्र प्रयोग गरेका छन्।

बीबीसी १०० विमिनका अनुसार सन् २०२४ मा विश्वको झन्डै आधा मानिसहरू निर्वाचनमा मतदाता थिए तर २० वर्षको अवधिमा महिला प्रतिनिधित्वमा त्यो वर्ष निकै सुस्त वृद्धि देखा पर्‍यो।

'यूएन विमिन्स् २०२४ जेन्डर स्न्याप्शट'ले सबै महिला र केटीलाई गरिबीबाट माथि उठाउन १३७ वर्ष लाग्ने जनाएको छ। सन् २०२३ मा २० देखि २४ वर्षका पाँचमध्ये एक महिलाको १८ वर्ष नपुगी बिहे भएको देखिएको थियो।

सन् २०२३ मा विश्वभरि झन्डै ५१,००० महिला र ‍युवतीको हत्या तिनका पती वा प्रेमी वा परिवारका अन्य सदस्यले गरेका थिए।