संसद्‌मा महिला: दलहरूले संसद्‌को प्रत्यक्ष चुनावमा किन पुरुष उम्मेदवारनै रोज्छन्?

    • Author, स्वाति जोशी
    • Role, द भिजुअल जर्नलिजम टिम

आफूहरूमाथिको अन्याय अन्त्य गर्दै प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि महिलाको समान प्रतिनिधित्व सुनिश्चितता लागि विभिन्न राजनीतिक दलका महिला सांसदहरूले गत साउनमा कानुन संशोधनको माग अघि बढाए।

प्रत्यक्ष निर्वाचन प्रणालीमा पुरुषहरूलाई प्राथमिकता दिएर महिलाहरूलाई समानुपातिक प्रणालीमा मात्रै सीमित गर्न खोजिएको उनीहरूको आरोप थियो।

निर्वाचन परिणाम अन्तिमतिर आउँदै गर्दा बीबीसीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा पुगेका महिलाहरूबारे विश्लेषण गरेको छ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचन २०७९

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका २२५ महिलामध्ये शुक्रवारसम्म ९ जना मात्रै निर्वाचित भएका छन्।

मङ्सिर १६ सम्म १६२ निर्वाचन क्षेत्रको नतिजा आएको छ। जसअनुसार प्रत्यक्षतर्फको १६५ सिटमा ५.५ प्रतिशत मात्रै महिला निर्वाचित हुँदा पुरुष उम्मेदवारहरू ९३ प्रतिशत निर्वाचित भए।

देशभरबाट ५५ सिट जितेको नेपाली कांग्रेसबाट एक जना मात्रै महिला प्रत्यक्षमा निर्वाचित भइन्। कांग्रेसकी सीता गुरुङले तेह्रथुममा एमालेका विजय सुब्बालाई पराजित गरिन्।

प्रत्यक्षतर्फ ४४ सिट जितेको नेकपा एमालेबाट चार जना महिला निर्वाचित भए। यो निर्वाचनमा कुनै पनि दलबाट प्रत्यक्षतर्फ सङ्घीय संसद्‌मा महिला निर्वाचित भएको यो नै सबैभन्दा ठूलो सङ्ख्या हो।

हालै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जित्दा दुई जना महिला विजयी भएका छन्।

दलहरूले कति महिला उम्मेदवार उठाएका थिए?

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ सिटका लागि उम्मेदवारी दिएका २,४१२ जनामध्ये महिला ९.३ प्रतिशत र पुरुष ९०.६ प्रतिशत थिए।

निर्वाचनको करिब अन्तिम भइसकेको परिणाम हेर्दा पाँचवटा दलहरूबाट मात्र महिला उम्मेदवार निर्वाचित भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट महिला उम्मेदवार निर्वाचित भए।

प्रमुख राजनीतिक दलहरूमध्ये सबैभन्दा धेरै महिला उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको थियो। दोस्रो धेरै राष्ट्रिय स्वतन्त्र पार्टी र तेस्रो धेरै एमालेले उठाएको थियो।

तर बहुसङ्ख्यक महिलाहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

अघिल्ला निर्वाचनहरूको अवस्था

यसअघि विसं २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा छ जना मात्रै महिलाहरू प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

विसं २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुने महिला उम्मेदवारहरूको सङ्ख्या १० थियो। तर संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २४० निर्वाचन क्षेत्र थिए।

तर २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको तुलनामा दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका महिला उम्मेदवारहरूको सङ्ख्या ६६.७ प्रतिशतले घटेको थियो।

पहिलो संविधानसभामा ३० जना महिलाहरू प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

राजनीतिक दलहरूले प्रत्यक्षतर्फ किन पुरुष उम्मेदवार रोज्छन्?

नेपालको संविधानले धारा ८४ को उपधारा ८ मा सङ्घीय संसद्‌मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था गरेको छ।

तर प्रत्यक्ष निर्वाचन प्रणालीबाट महिला प्रतिनिधित्व झन् झन् खुम्चिँदो छ।

देशका संसद्हरूको संस्था इन्टर पार्लियामेन्ट युनियन (आइपीयू)का अनुसार दक्षिण एसियाली देशहरूका संसद्‌मा महिला उपस्थिति १६.८ प्रतिशत मात्रै छ।

यद्यपि अरू दक्षिण एसियाली देशहरूमाभन्दा नेपालको संसद्‌मा महिला प्रतिनिधित्वको अवस्था राम्रो छ। नेपालको अघिल्लो प्रतिनिधिसभामा ३३.६ प्रतिशत महिला प्रतिनिधित्व थियो भने राष्ट्रियसभामा ३७.३ प्रतिशत प्रतिनिधित्व थियो।

आशियाना अधिकारीले आफ्नो पुस्तक 'सब्सट्यान्टिभ रिप्रिजेन्टेसन अफ विमिन इन एसियन पार्लियामेन्ट'मा महिलाहरू पुरुष समकक्षीको तुलनामा कम सार्वजनिक जीवनमा उपलब्ध हुने लेखेकी छन्। उनले राजनीतिका लागि समय निकाल्न महिलाहरूलाई सहज नभएको उल्लेख गरेकी छिन्।

"पितृसत्तात्मक देश भएका कारण पनि नेपालमा महिलाहरू घरदैलोमा सीमित हुन्छन् र सार्वजनिक वृत्तमा जोखिम लिन सक्दैनन्," उनले लेखेकी छिन्।

राजनीतिशास्त्रकी प्राध्यापक मिना वैद्य मल्ल महिलाहरू राजनीतिमा पछि पर्नुमा पितृसत्तात्मक सोचसँगै धेरै कारणहरू वाधक बनेको बताउँछिन्।

"राजनीतिमा महिला सहभागिता भनेको विकासको राम्रो सूचक हो भन्ने जागरूकता अझै पर्याप्त भएको देखिएन," उनी भन्छिन्।

"समाज परिवर्तन हुन सोचाइ परिवर्तन हुन समय लाग्छ। तर हामी आशावादी छौँ महिलाहरूको सहभागिता निश्चय पनि भविष्यमा सुधार हुँदै जाने छ।"

चुनावमा हारजित जे भए पनि महिलाहरूको इच्छाशक्ति बढ्दै गएको उनको बुझाइ छ।

महिलाहरूले पनि राष्ट्र र समाजको लागि भूमिका खेल्न सक्ने विषय जागरणकै रूपमा आउनुपर्ने उनी बताउँछिन्।