निकोला टेस्ला: यस्ता वैज्ञानिक जसका आविष्कारले हाम्रो जीवन सहज बनाइदिए

    • Author, पेट्रा जिभिक
    • Role, बीबीसी विश्व सेवा

निकोला टेस्लाको आविष्कारले यी शब्दलाई तपाईँले पढिरहनुभएको उपकरणसम्म पुर्‍याउन मद्दत गरेको छ।

''म टेस्लालाई विद्युत् वा विश्वव्यापी सञ्चारको आविष्कारकका रूपमा मात्र हेर्दिन,'' इतिहासकार तथा चलचित्र निर्माता माइकल क्राउजले बीबीसीलाई भने, ''उनको विचार आफ्नो समयभन्दा अगाडिका थिए। उनी एक दूरदर्शी व्यक्ति थिए जसले मानवजातिको विकासमा योगदान पुर्‍याए।''

तर सन् १८९० को दशकको उत्तरार्द्धमा टेस्लाले 'ओसिलेटिङ् ट्रान्सफर्मर' सार्वजनिक गर्न न्यूयोर्कको कोलम्बिया कलेजस्थित मञ्चमा चम्किलो ट्युबहरू बोकेर हिँड्दा विश्व धेरै हदसम्म अन्धकारमै थियो।

''बिजुली भविष्यको कुरा थियो र धेरै मानिसहरू त्यो हेर्नका लागि प्रदर्शन गरेर राखिएको स्थानमा पुग्नुपर्थ्यो,'' इतिहासकार इवान रिस मोरुजले आफ्नो किताब 'निकोला टेस्ला एन्ड इलेक्ट्रिकल फ्युचर' मा लेखेका छन्।

तर त्यो अवस्था छिट्टै परिवर्तन हुने क्रममा थियो।

चम्किला बत्तीहरू

निकोला टेस्लाको जन्म सन् १८५६मा अस्ट्रिअन ह्याप्सबर्ग साम्राज्यमा (उनका परिवार सर्बियाका नागरिक भए पनि स्मीलजनस्थित उनको गाउँ हाल क्रोएशियामा छ) भएको थियो।

सन् १८८४मा उनी प्रख्यात आविष्कारक तथा व्यवसायी टमस एडिसनसँग काम गर्नका लागि अमेरिका पुगेका थिए। ''उनी प्राचीन संसारबाट आएका थिए र आधुनिक समयका नायक मध्ये एक भए,'' क्राउज बताउँछन्।

अर्का आत्मवृत्तान्त लेखक इनेज ह्विटेकर हन्टका अनुसार अमेरिका पुग्दा उनीसँग निकै कम पैसा अनि उड्ने उपकरणका लागि आवश्यक पर्ने हिसाबकिताब थियो।

तर त्यो टेस्लालाइ प्रसिद्ध बनाउने उड्ने उपकरण भने थिएन। वर्षौँ देखि उनी 'अल्टर्नेटिङ करेन्ट मोटर्स'लाई अझ सबल बनाउने काम गरिरहेका थिए।

विश्वव्यापी विद्युतिकरण

पुरै संसार विकसित हुँदै थियो र थप ऊर्जाको आवश्यकता थियो जस कारण बत्ती बाल्नका लागि आवश्यक उपकरणहरूमा विद्युत् उत्पादन गरी प्रसारण गर्नका लागि सबैभन्दा प्रभावकारी तरिकाको खोजी गर्ने दौड सुरु भएको थियो।

''विद्युतीय प्रसारणका दुई प्रतिस्पर्धी प्रणालीहरू थिए," मोरुजले बीबीसीलाई भने।

विद्युत् प्रसारणका लागि 'अल्टर्नेटिङ करेन्ट' (एसी) वा 'डाइरेक्ट करेन्ट' (डीसी) कुन प्रणाली स्थापित गर्ने भन्ने विषयमा अमेरिकी उद्यमी तथा इन्जिनियर जोर्ज वेस्टीङहाउस र टेस्लाका हाकिम टमस एडिसनबीच प्रतिस्पर्धा थियो।

टमस एडिसनको कम्पनीले 'डाइरेक्ट करेन्ट'मा लगानी गरिरहेको थियो जुन छोटो दुरीमा, निश्चित भोल्टेजमा एउटा दिशामा मात्रै प्रवाह हुन्छ।

तर 'अल्टर्नेटिङ करेन्ट' धेरै दिशाहरूमा प्रवाह हुन्छ, लामो दूरीमा पुग्न सक्छ र यसमा भोल्टेज बढाउन वा घटाउन मिल्छ। लामो दूरीसम्म पुर्‍याउन सकिने हुँदा यो प्रणालीमार्फत धेरै ठाउँहरूमा विद्युत् पुर्‍याउन सकिन्छ।

''यो घोडा र बग्गीलाई जेट विमानसँग तुलना गरे जस्तै हो,'' टेस्लाको आत्मवृत्तान्त लेखक मार्क साइफरले बीबीसीको एक कार्यक्रममा भने।

न्यूयोर्क पुग्दा टेस्लाको खल्तीमा पहिले नै 'जेट विमान' थियो। युरोपमा काम गर्दा उनले एसीबारे प्रयोगहरू गरिरहेका थिए र सन् १८८३मा आफ्नो पहिलो 'इन्डक्सन मोटर' तयार पारिसकेका थिए।

तर एडिसनले डीसी करेन्ट प्रसारणमा जोड दिएपछि उनीहरू छुट्टिए र वेस्टीङहाउसले टेस्लाको एसी ट्रान्सफर्मर र मोटरको सर्वाधिकार, पेटेन्ट, किने।

टेस्लाको डिजाइन मितव्ययी रूपमा लामो दूरीसम्म विद्युत् प्रवाह गर्न सक्षम थियो र यो प्रणाली अहिले पनि प्रयोगमा छ।

'सोम्यान टेस्ला'

''हामीले अहिले पनि 'अल्टरनेटिङ करेन्ट' प्रयोग गरिरहेका छौँ र विद्युतीय ऊर्जा उत्पादन अनि प्रसारण प्रणाली अझै पनि टेस्लाको विचारमा आधारित छ,'' बेलग्रेडस्थित निकोला टेस्ला सङ्ग्रहालयका संरक्षक आइभाना जोरिकले बीबीसीसँग भनिन्।

वास्तवमै, टेस्लाको प्रणाली अझै पनि विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरणको लागि अग्रणी विधि हो र आजका धेरै विद्युतीय उपकरणहरू उनको अन्य आविष्कारमा निर्भर छन्।

''त्यस बेला 'इन्डक्सन मोटर'हरू निकै नवीन थिए र अहिले पनि उद्योग र कैयौँ घरेलु उपकरणहरूमा यसको प्रयोग हुन्छ। विद्युतीय कारहरूमा पनि यसको प्रयोग हुन्छ,'' जोरिकले भने।

उनले सन् १८९१मा तार बिना बिजुली प्रसारण गर्ने प्रयासमा टेस्ला 'कोइल' विकाश गरे। हाल यो प्रविधि रेडिओ, टेलिभिजन अनि अन्य विद्युतीय उपकरणमा प्रयोग हुन्छ।

दुई वर्ष पछि टेस्ला र वेस्टीङहाउसले शिकागोमा भएको 'युरोपियन डिस्कभरि अफ अमेरिका' को ४००औ वर्षगाँठ समारोहका सन्दर्भमा आयोजना गरिएको विशाल प्रदर्शनी 'वर्ल्डस् कोलम्बिअन एकस्पोजिसन' मा उज्यालो पार्ने जिम्मा लिन सफल भए। र टेस्ला प्रख्यात बने।

''जब मानिसहरूले ती आविष्कारको शक्ति चाल पाए टेस्लाले नायग्रा फल्समा विद्युत् आयोजना निर्माण गर्ने जिम्मा पाए,'' जोरिकले भने। त्यो विश्वको पहिलो जलविद्युत आयोजना थियो र उक्त पूर्वाधार निर्माणमा प्रयोग गरिएका १३ वटा पेटेन्ट मध्ये ९ वटा टेस्लाको थियो।

लगत्तै उनले आफ्नै प्रयोगशाला निर्माण गरे र ताररहित सञ्चार अनि ऊर्जा प्रसारणको क्षेत्रमा प्रयोगहरू गर्न थाले।

तार रहित भविष्य

पुरा विश्व तारको प्रयोग गरी सन्देश आदान प्रदान गर्ने कुरामा भर पर्दै गर्दा टेस्लाले ताररहित सिग्नल प्रसारणमा प्रयोगहरू गर्न थाले।

तर ती सबै प्रयोगका लागि उनलाई लगानीको आवश्यकता थियो जुन उनले सन् १८९०को सुरुवाततिर अमेरिकी लगानीकर्ता जेपी मोर्गनबाट प्राप्त गर्न सफल भए। र लङ्ग आइल्यान्डमा तारबिनाको विश्व प्रसारण 'टावर' निर्माण गर्न सुरु गरे।

उनको महान् लक्ष्य विश्वव्यापी सञ्चार प्रदान गर्नु थियो - एक तार रहित प्रणाली जसले तत्काल विश्वव्यापी भिडियो र भोइस सञ्चार गर्न सकिने बनाउँथ्यो, जहाँ सूचना जो कोहीलाई जहाँकहीँ उपलब्ध हुने थियो।

तर मोर्गनले आफ्नो लगानी फिर्ता लिए।

"दुर्भाग्यवश, उनको सबैभन्दा ठूलो सपना, मानिसहरूलाई बिजुली र सञ्चार प्रणाली उपलब्ध गराउने अन्तर्राष्ट्रिय प्रणालीले काम गरेन किनभने उनी त्यो चरणसम्म पुगिसकेका थिएनन् वा प्रविधि उपलब्ध थिएन," क्राउज भन्छन्।

टेस्लाले विभिन्न परियोजनाहरूमा काम गर्न जारी राखे। तर प्रायः उनीसँग लगानीको अभाव हुन्थ्यो जसकारण उनका धेरै योजना टिपोटमै सीमित हुन्थे किनभने उनले विज्ञान र इन्जिनियरिङ धेरै मानिसहरूलाई संलग्न गर्दै अत्यधिक सहकार्य गर्नुपर्ने प्रक्रियाहरू हुन् भन्ने कुरा बुझ्न सकेनन्।

मृत्यु

सन् १९४३मा न्यूयोर्कस्थित एक होटेलको कोठामा टेस्लाको मृत्यु भयो जहाँ उनले आफ्नो जीवनको अन्तिम दशकमा अधिकांश समय बिताएका थिए।

''सन् १९५१मा भतिजाको सहयोगमा उनको सरसामान सर्बियाको बेलग्रेड पुर्‍याइयो,'' जोरिकले भने।

त्यसको चार वर्षपछि बेलग्रेडमा निकोला टेस्ला सङ्ग्रहालय सञ्चालनमा आयो जहाँ अझै पनि बर्सेनि हजारौँ मानिस पुग्छन्।

टेस्लाका १६०,००० दस्ताबेज, योजनाहरू, चित्र अनि तस्बिरहरू राखिएकोले सयौँको सङ्ख्यामा त्यहाँ अध्येयताहरू पनि पुग्छन्।

टेस्लाको अभिलेखहरू अनलाइन मार्फत पहुँचयोग्य भए पनि उनका धेरै व्यक्तिगत सामानहरू सङ्ग्रहालयमा पर्याप्त प्रदर्शनीस्थल नभएकाले दराजहरूमा राखिएका छन्।

"हामीले हाल टेस्लाको ओछ्यान, फ्रिज, दराज, उनका १३ वटा सुट, ७५ वटा टाई अनि ४० जोडा पन्जा सहित अन्य सामाग्री राखेका छौँ जोरिकले भने। "हामी आशा गर्छौँ कि हामीले ठूलो ठाउँ पाएपछि ती प्रदर्शनमा राख्न सक्षम हुनेछौँ।"

सन् १९५६मा सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको एक वर्षपछि चुम्बकीय क्षेत्र अर्थात 'म्याग्नेटिक फिल्ड'को शक्ति मापन गर्ने एकाइलाई टेस्लाको नामबाट नामकरण गरिएको थियो।

सर्बियामा सडक, विद्यालय अनि विमानस्थलमा टेस्लाको नाम राखिएको छ भने सर्बिया र क्रोएशियाका नोट अनि सिक्कामा उनको तस्बिर छापिएको छ।

अमेरिकाको एक प्रसिद्ध सवारीसाधन उत्पादकले पनि टेस्ला नाम राखेको छ र सन् २०१८मा स्पेस एक्सले फाल्कन रकेटमा राखेर 'टेस्ला रोड्सटर' कार मङ्गल ग्रहमा पुग्ने गरी प्रक्षेपण गरेको छ।

तर हाम्रो भविष्यबारे टेस्लाले के सोच्ने थिए होला त?

"मलाई लाग्छ कि टेस्लाले आजको मानवता भविष्य र त्यसले ल्याउन सक्ने समस्याहरूमा भन्दा आराममा केन्द्रित छ भन्ने थिए," जोरिकले भने।