तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रजिलको संसद्मा दङ्गाकारीले बोले धावा, यसरी विकसित भयो घटनाक्रम
- Author, भनिसा बुसस्लुटर
- Role, ल्याटिन अमेरिका सम्पादक, बीबीसी न्यूज अनलाइन
ब्रजिलका भूतपूर्व राष्ट्रपति जइर बोल्सोनारुका हजारौँ समर्थकहरूले देशको संसद, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा घुसपैठ गरेका छन्।
ब्रजिलको झण्डाको चम्किलो पहेँलो र हरियो रङ्गको सर्टहरू लगाएका उनीहरूले त्यहाँ महत्त्वपूर्ण निकायहरू रहेका भवनमा तोडफोड गरेका छन्।
किन यस्तो भइरहेको छ?
ब्रजिलमा दुई महिनाअघि तिक्ततापूर्ण चुनाव भएको थियो
सन् २०२२ को अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनमा तत्कालीन दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारुको प्रतिस्पर्धा उनका वामपन्थी धारका प्रत्याशी लुला अर्थात् लुइज इनासियो लुला दा सिल्भासँग भएको थियो।
चर्को र तिक्ततापूर्ण रूपमा भएको चुनावी प्रचारपछि ३० अक्टोबरमा, सन् २००३ ज्यानुअरीदेखि सन् २०१० को डिसेम्बरसम्म राष्ट्रपति रहेका, लुलाले बोल्सोनारुलाई झिनो अन्तरले जितेका थिए।
लुलाले घुसपैठलाई "कहिल्यै नभएको" घटना बताउँदै त्यसपछाडि रहेकाहरूलाई "बहुलट्टी "को संज्ञा दिए।
उनले सोसल मिडियामार्फत् बोल्सोनारुलाई दङ्गामा उत्रनका लागि उकासेको आरोप लगाएका छन्।
उनले भने, "पूर्व राष्ट्रपतिका कैयौँ भाषणहरूले यस अवस्थाका लागि बल दिएको कुरा सबैलाई थाहा छ।"
यो निकै गहिरोसँग विभाजित देश हो
ब्रजिल निकै विभाजित देश हो।
यो वामपन्थीविरूद्ध दक्षिणपन्थीको कुरा मात्र होइन बरु आफू अनुकूलको नतिजा नआउँदा प्रजातान्त्रिक निर्वाचनलाई स्वीकार गर्न नचाहनेहरूको कुरा हो।
जसले गर्दा उनीहरूले ब्रजिलको प्रजातन्त्रका प्रतीकहरूमा रोष पोखेका छन्।
दङ्गामा सहभागी भएकाहरू त्यस्तो वर्गका पनि अतिवादीहरू हुन्।
तर त्यहाँ लुलाका कैयौँ विरोधीहरू छन् जसले उनीबारेका दुष्प्रचार फैलाउँछन् र आइतबार भएकाजस्ता घटनाका लागि उक्साउने काम गर्छन्।
कसैका लागि लुलाको बन्दीदेखि राष्ट्रपतिसम्मको बाटो - असह्य भयो
यसअघि नै राष्ट्रपतिका रूपमा दुई कार्यकाल काम गरेका लुलाले जेलमा समेत समय बिताएका छन्।
र केही ब्रजिलका जनताहरूले जेलमा बसेको व्यक्ति पुनः राष्ट्रपतिका रूपमा फर्कनु "लज्जास्पद" भएको बताउँछन्।
सन् २०१७ मा भ्रस्टाचारमा दोषी पाइएपछि लुलाले ५८० दिन जेलमा बिताएका छन्।
लुला सहभागी हुन प्रतिबन्धित भएको सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा बोल्सोनारुले जित हासिल गरेका थिए।
लुलालाई लागेको दोषबाट पछि उनलाई मुक्त गरियो र उनी पुनः प्रतिस्पर्धामा सहभागी हुने बाटो खुल्यो।
तर लुलाका कैयौँ आलोचकहरूका तर्कमा ब्रजिलको सर्वोच्च अदालतले उनलाई सफाइ दिए तापनि त्यसको अर्थ उनी निर्दोष होइनन्।
उनीहरूले त्यसरी दोषमुक्त गर्ने काम प्रक्रियागत आधारमा भएको बताउँछन्।
अर्कोतर्फ लुलाका समर्थकहरूले लुलाविरूद्धको मुद्दा राजनीतिक भएको बताउँछन्।
उनीहरूको दृष्टिकोणलाई त्यति बेला धेरैले ध्यानपूर्वक हेरे जतिखेर सर्वोच्च अदालतमा उक्त निर्णय सुनाउने व्यक्ति बोल्सोनारु सरकारमा मन्त्री बने।
उनीहरूले लुलाको सुनुवाइमा ती व्यक्तिले पक्षपात गरेको ठान्छन्।
बोल्सोनारुका कैयौँ समर्थकहरूले उनको हारलाई अस्वीकार गर्छन्
जइर बोल्सोनारुका कैयौँ समर्थकहरूले उनलाई "संरक्षक"का रूपमा हेर्छन् जसले, उनीहरूका भनाइमा, उनीहरूका मूल्यको बचाऊ गर्छन्।
ती मूल्यलाई उनीहरूले "ईश्वर, पितृभूमि, परिवार"का रूपमा हेर्छन्।
उनीहरूले लुलाको जितलाई ती मूल्यहरूमाथिको जोखिमका रूपमा हेरेका छन्।
जसका पछाडि वामपन्थी नेताविरुद्धका अफवाहहरू छन् जुन चुनावी अभियानका बेला लुलाले जितमा गिर्जाघरहरू बन्द गरिने भन्दै फैलाइएका थिए।
ती मतदाताहरू लुला पराजित हुनेमा विश्वस्त थिए र उनले जित्ने बित्तिकै त्यसलाई स्वीकारिहालेनन्।
केही सैनिक ब्यारेकबाहिर समेत धर्ना बस्दै सेनालाई लुलालाई राष्ट्रपति बन्नबाट रोक्नुपर्ने भनिरहेका थिए जुन सम्भव हुनुको अर्थ सैन्य कू को माग भन्ने हुन्थ्यो।
यद्यपि सेनाले त्यसो गरेन र योजनाबद्ध ढङ्गले नै लुलाले राष्ट्रपतिको शपथ लिए।
लुला राष्ट्रपति भवनमा सर्दा बोल्सोनारुका समर्थकहरू मर्माहत
राजधानी ब्रजिलियामा दङ्गा भएको समय लुलाले शपथ लिएको मात्र एक सातापछि भएको थियो।
हार स्वीकार्न नमानेका बोल्सोनारु लुलाको शपथग्रहण समारोहमा सहभागी भएनन् बरु अमेरिका गए।
बोल्सोनारुले लुलालाई परास्त गर्ने पूरा आशासाथ बसेका व्यक्तिहरूको आक्रोश भने बढी मात्र रह्यो।
लुलालाई बारम्बार "ब्रजिलको कम्युनिस्ट खतरा" भन्दै आएका उनीहरूलाई लुला राष्ट्रपतिको शपथ र राष्ट्रपति भवन सरेको कुरा असह्य भयो।
सेनाले समेत निराश पारेको ठानेपछि उनीहरूले आफैँ अघि सर्ने निर्णय गरे र आफूहरूको प्रतिनिधित्व नगर्ने ठान्दै ती राज्यका संस्थामा हस्तक्षेप गरे।
हमलाकारीहरूले ती राज्यका निकायलाई आफूले बोकिरहेको मान्यताका लागि खतराका रूपमा समेत लिए।
अतिवाद र दुष्प्रचारको असर उनीहरूको जीवनसम्म पर्यो
जइर बोल्सोनारुको विभाजित पार्ने धारणा र उनले ब्रजिलको निर्वाचन प्रणालीको विश्वसनीयतामाथि उठाएको प्रश्नले आइतबारको दङ्गाको लागि ठूलो बल दियो।
चरणबद्ध रूपमा भएको निर्वाचनमा उनले बारम्बार ब्रजिलको मतदान प्रणाली छल हुने जोखिममा रहेको दाबी गरेका थिए।
उक्त दाबीलाई बारम्बार निर्वाचन अधिकारीहरूले खारेज गरिदिएका थिए।
तर कैयौँ ब्रजिलका नागरिकले गलत रूपले निर्वाचन आफूबाट "खोसिएको" भनाइमा विश्वास गरे।
बोल्सोनारुको दलले दर्ता गरेको एउटा चुनौतीलाई निर्वाचन सम्बन्धी अदालतले अस्वीकार समेत गरेको थियो।
दङ्गापछि बोल्सोनारुले ट्विटरमा राजधानीमा अस्थिरता फैलाउने गरी भाषणहरू दिएको भन्ने लुलाले लगाएको आरोपलाई अस्वीकार गरेका छन्।
उनले "आज भएजस्तो सार्वजनिक भवनहरू लुट्ने र घुसपैठ गर्ने काम" कानुन बाहिरको भएको बताएका छन्।
तर देशका प्रजातान्त्रिक संस्थाहरूमा धावा बोल्नेहरूको अतिवादी शैलीले उनीहरूकै जीवनमा असर पारेको छ जसलाई पूर्ववत् अवस्थामा फर्काउने काम कठिन हुनेछ।