कोभिडः अहिले अमेरिकामा फैलिरहेको कोरोनाभाइरसको एक्सबीबी.१.५ सब-भेरिअन्ट कति खतरनाक

कोभिड

तस्बिर स्रोत, Getty Images

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको नयाँ सब-भेरिअन्ट तीव्र गतिमा फैलिन थालेका कारण त्यसप्रति चिन्ता र चासो व्यक्त भएको छ।

हामीलाई यो नयाँ भेरिअन्ट XBB.1.5 (एक्सबीबी.१.५) बारे के थाहा छ त?

एक्सबीबी.१.५ के हो र यसका लक्षण के-के हुन्?

यो ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रकार हो। ओमिक्रोन विश्वभरि सबैभन्दा बढी सक्रिय कोरोनाभाइरसको प्रकार हो।

ओमिक्रोनको उत्पत्ति त्यसअघिका अल्फा, बीटा, गामा अनि डेल्टा भेरिअन्टबाट भएको हो।

सन् २०२१ को अन्त्यतिर देखा परेको ओमिक्रोन भेरिअन्ट कोरोनाभाइरसका त्यसअघिका सबै सब-भेरिअन्ट भन्दा सक्रिय हुन पुग्यो।

अनि यो भेरिअन्टबाट अन्य कैयौँ सब-भेरिअन्टहरू पनि बन्दै गए जुन थप सङ्क्रामक छन्।

एक्सबीबी.१.५ का कारण हुने सङ्क्रमणका लक्षणहरू ओमिक्रोन भेरिअन्टले कोभिड गराउँदा हुने जस्तै रहेको ठानिएको छ।

तर यसबारे अझै टुङ्गोमा पुगिहाल्ने अवस्था भने बनिसकेको छैन।

यसबाट सङ्क्रमण हुँदा अधिकांश बिरामीलाई चिसो लाग्दा उत्पन्न हुने समस्या देखा पर्ने बताइएको छ।

कोभिड खोप

तस्बिर स्रोत, Getty Images

के एक्सबीबी.१.५ कोरोनाभाइरसका पुराना प्रकारभन्दा सङ्क्रामक वा घातक छ?

एक्सबीबी.१.५ आफैँ XBB (एक्सबीबी) भेरिअन्टबाट विकासित भएको हो। उक्त भेरिअन्ट सन् २०२२ को अगस्ट महिनामा भारतमा पहिलो पटक पहिचान गरिएको थियो।

तर यो भेरिअन्टलाई त्यहाँका स्वास्थ्यसम्बन्धी निकायहरूले “भेरिअन्ट अफ कन्सर्न” अर्थात् चिन्ताजनक भेरिअन्टका रूपमा वर्गीकृत गरेका छैनन्।

एक्सबीबी कोरोनाभाइरसको उत्परिवर्तित स्वरूप हो। त्यसले शरीरको प्रतिरक्षा प्रणालीलाई असफल गराउन सहयोग गर्छ।

तर उत्परिवर्तनकै कारणले यो भाइरसको सङ्क्रमण गर्ने क्षमता पनि कम हुन्छ।

इम्पिअरिअल कलेज लन्डनकी प्राध्यापक वेन्डी बर्कका अनुसार एक्सबीबी.१.५ मा F486P (एफ४८६पी) नामक उत्परिवर्तन भएको छ। त्यसले भाइरसलाई मानिसको प्रतिरक्षा प्रणालीबाट जोगिँदै कोशिकाहरूमा टाँसिने क्षमतालाई पुनर्स्थापित गर्छ।

त्यसले गर्दा यो अझ सहजै रूपमा फैलिन्छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका वैज्ञानिकहरूका अनुसार अरू सब-भेरिअन्टको तुलनामा एक्सबीबी.१.५ लाई फैलिने अनुकूल परिस्थिति बढी हुन्छ।

तर ‌ओमिक्रोन भेरिअन्टभन्दा गम्भीर वा हानिकारक रहेको भने कुनै सङ्केत देखा परेको छैन।

बिरामीहरूमा पर्ने प्रभावबारे थप जानकारी प्राप्त गर्न आफूहरूले प्रयोगशालामा भइरहेका अध्ययन, अस्पतालहरूको तथ्याङ्क अनि सङ्क्रमण दरलाई नजिकबाट नियाल्ने डब्ल्यूएचओले जनाएको छ।

एक्सबीबी.१.५ कहाँ फैलिरहेको छ?

अमेरिकामा देखा परेका ४० प्रतिशतभन्दा बढी कोभिड बिरामीमा एक्सबीबी.१.५ फेला परेको पुष्टि भएको छ।

कोभिड खोप

तस्बिर स्रोत, Getty Images

डिसेम्बर महिनाको आरम्भतिर यो भेरिअन्टले बिरामी पारेका मानिसको सङ्ख्या चार प्रतिशत मात्रै थियो। अर्थात् यसले ओमिक्रोनका अन्य भेरिअन्टलाई निकै कम समयमा उछिनेको छ।

अमेरिकामा केही सातायता कोभिडका कारण अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेको छ।

के वैज्ञानिकहरू एक्सबीबी.१.५ बाट चिन्तित छन्?

खोप लगाएका मानिसहरूबारे आफू खासै चिन्तित नरहेको प्राध्यापक बर्कले बताउँछिन्।

तर कोभिडको जोखिममा रहेका मानिसहरू अनि प्रतिरोध प्रणालीमा समस्या रहेका बिरामीहरूमा पर्न सक्ने प्रभावबारे भने उनी चिन्तित छिन्।

प्राध्यापक हन्टरले एक्सबीबी.१.५ झन् खतरनाक रहेको आफूले तथ्य फेला नपारेको बताए।

त्यसको अर्थ यसले ओमिक्रोन भेरिअन्टको तुलनामा “अस्पतालमा पुर्‍याउने वा ज्यान लिने” सम्भावना कम रहन्छ।

कोभिड

तस्बिर स्रोत, Getty Images

“सबैले चीनबाट आउन सक्ने सम्भावित नयाँ भेरिअन्टहरूमा ध्यान केन्द्रित गरेका छन्। तर एक्सबीबी.१.५ भने अमेरिकाबाट आएको छ,” उनले थपे।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक डेभिड हेइमनले पछिल्लो भेरिअन्टबारे अझै जानकारी प्राप्त गर्न बाँकी नै रहेको तर्क गरेका छन्।

तर विगतमा सङ्क्रमण फैलिएका र धेरै मानिसले खोप लगाइसकेका देशहरूमा व्यापक प्रभाव पार्ने सम्भावना कम रहेको उनी बताउँछन्।

उनी चीनजस्ता देशहरूबारे बढी चिन्तित छन् जहाँ खोप लगाउनेहरूको सङ्ख्या कम छ र लामो समयसम्म लकडाउन गरिएका कारण प्राकृतिक प्रतिरोध क्षमता पनि कम छ।

“खोप नलगाएका मानिसहरूमा भेरिअन्टले कसरी प्रतिक्रिया जनाउँछ भन्ने कुरा थाहा दिन चीनले सङ्क्रमित मानिसहरूबारे क्लिनिकल सूचना साझा गर्नुपर्छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड: किन केही मानिसलाई अहिलेसम्म सङ्क्रमण भएको छैन?